राजनीतिमा युवा : रूपान्तरणको चुनौती

- जेबी विश्वकर्मा | 2025-06-12

अराजकता, बेथिति, भ्रष्टाचार, अनियमिततामा पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति संलग्न छन् । देशका ठूला–ठूला भ्रष्टाचार र तस्करी काण्डमा पार्टीको नेतृत्व सामेल छन् । तर, युवा नेतृत्व यस्ता गम्भीर अपराध र बेथितिमा संलग्न नेतृत्वको बचाउमा समय र ऊर्जा खर्चिन विवश छन् ।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई नेपालमा युवाका रूपमा लिइन्छ । यो उमेर समूहको जनसंख्या नेपालमा करिब ४० प्रतिशत हाराहारी छ । यो नेपालका लागि निकै ठूलो ऊर्जावान् शक्ति मात्रै होइन चुनौतीको समना र यथास्थितिलाई बदल्ने सामर्थ्य राख्ने शक्ति हो ।

त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओले युवा र विद्यार्थीलाई सम्बोधन गर्दै भनेका थिए, ‘यो संसार तपाईंको हो, हाम्रो पनि हो । तर अन्तिम विश्लेषणमा तपाईंको हो । .... हाम्रो आशा तपाईंमाथि छ ।’ यसको अर्थ जनताले मात्रै होइन, नेतृत्वले पनि देशको भविष्य युवाको आँखामा देख्छ । देशको उन्नतिको आधार मूलतः युवाको गतिशीलता, समर्पण र योगदानमा भर पर्छ ।

नेपालका अधिकांश राजनीतिक परिवर्तनमा युवाको अत्यन्तै ठूलो भूमिका र योगदान छ । ३३ वर्षको उमेरमा बीपी कोइरालाको सक्रियतामा भारतमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना भएको थियो । विद्यार्थीकालदेखि नै भारतको स्वतन्त्रता आन्दोलनमा जोडिएका बीपीले निरंकुश राणा शासनको अन्त्यका लागि संगठित आन्दोलन सुरु गरेका थिए । यसैगरी २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलाल श्रेष्ठ २५ वर्षका मात्रै थिए । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा सक्रिय सबैजसो राजनीतिक पार्टीको नेतृत्वले जीवनको उर्वर र महत्त्वपूर्ण युवा उमेर राजनीतिक रूपान्तरणका लागि नै समर्पण गरेको देखिन्छ । तथापि, सबैजसो राजनीतिक पार्टीको मुख्य नेतृत्व युवालाई नेतृत्वका रूपमा स्थापित गर्न र परिवर्तित समयको नेतृत्व सुम्पन तयार छैनन् । अर्कोतिर युवा नेतृत्व पनि अहिलेको राष्ट्रिय संकट, चुनौती र समस्या हल गर्ने स्पष्ट दृष्टिकोण, रणनीति र योजनासहित आउन सकेका छैनन् ।

युवाको भूमिका

युवा सिर्जनशील, गतिशील, आलोचनात्मक र प्रतिरोधी चेतनायुक्त हुन्छन् भन्ने गरिन्छ । स्वाभाविक रूपमा युवाले बाँचिरेको जीवन, भोगिरहेको वर्तमान र भविष्यको सम्भावित परिदृश्यलाई सचेततापूर्वक हेरिरहेको हुन्छ । युवा पुस्ता विश्वमा भइरहेको विज्ञान, प्रविधि, अर्थतन्त्र र मानव विकासको रफ्तारसँगै अगाडि बढ्न चाहन्छ । युवाका ती आशा, अपेक्षा र आवश्यकता सम्बोधन गर्ने राजनीतिक परिवेश भएन भने युवामा निराशा, आक्रोश र असन्तुष्टि बढ्छन् । अहिले नेपालमा भइरहेको पनि यही नै हो । तर, युवाले चाहेजस्तो राजनीतिक परिवेश आफैं बन्नेवाला छैन, त्यसैले युवाले सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा सशक्त राजनीतिक हस्तक्षेप गर्नुपर्छ । यसका लागि युवा राजनीतिमा सशक्त रूपमा जोडिने मात्रै होइन, विचार र योजनासहित नेतृत्व लिन तयार हुनुपर्छ ।

राजनीतिक व्यवस्था निर्माण र रूपान्तरणमा युवाको भूमिका सशक्त हुन्छ । नेपालमा गणतन्त्र स्थापित गर्न युवा शक्तिको भूमिका निकै महत्त्वपूर्ण थियो । गणतन्त्रमाथि प्रश्न उठ्न थालेपछि युवा/विद्यार्थी जनताले आर्यघाटमा पुर्‍याइसकेको राजतन्त्रले शिर उठाउन खोज्दा त्यस्तो प्रतिगमनविरुद्ध सशक्त रूपमा उठिरहेका छन् । यति मात्रै होइन, राजनीतिक नेतृत्वले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई संस्थागत गर्न जिम्मेवारपूर्ण भूमिका नखेलेकोमा पनि रुष्ट छन् । स्वाभाविक रूपमा राजनीतिक नेतृत्वको हर्कतको आलोचना स्वाभाविक आवश्यकता हो । साथै, गणतन्त्रलाई उन्नत बनाउने, समुन्नत लोकतन्त्र र समाजवादी व्यवस्था निर्माणको नेतृत्व युवाले गर्नुपर्छ । सत्ताबाट अकूत फाइदा लिइरहेको राजनीतिक नेतृत्व युवाले चाहेजस्तो आमूल परिवर्तन चाहँदैन, त्यसैले युवा पुस्ताले राजनीतिक हस्तक्षेप गर्नैपर्छ ।

नेपाल गम्भीर आर्थिक संकटको यात्रामा छ । देशलाई श्रम, पसिना र योगदान गर्न सक्ने युवा वैदेशिक भूमिका सस्तोमा श्रम गर्न बाध्य छन् । खाडीदेखि अफ्रिकासम्म श्रम बेच्न बाध्य छन् । अझ कतिपय युवायुवती मानव तस्करको जालोमा परेर बेचिनुपरेको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउने रेमिट्यान्स पठाउने युवाका पीडा, समस्या र सरोकार समधान गर्ने दिशामा राज्य जिम्मेवार छैन । बरु बिचौलिया बनेर भिजिट भिसाबाट पैसा उठाउन तल्लीन छ । युवा शक्तिलाई देशमा टिकाउने विधि न त राज्यसँग छ न पार्टीहरूसँग । यतिसम्म कि राजनीतिक युवा संगठनसँग पनि युवाका मूलभूत समस्याको पहिचान, समाधानको दृष्टिकोण विचार र रणनीति छैन । त्यसैले यस्तो परिस्थितिको विश्लेषण गरी राजनीतिलाई सही बाटोमा ल्याउन राजनीतिमा युवाको सशक्त भूमिका जरुरी छ ।

नेपालमा ‘राजनीति फोहोरी खेल हो’ भन्ने भाष्य जबर्जस्त स्थापित छ । मानव समाज नै राजनीतिको उपज हो, त्यसैले राजनीति आफैंमा फोहोरी खेल होइन । राजनीतिबिना राज्य सञ्चालन सम्भव छैन भने जनताले अधिकारको उपभोग गर्न पनि सम्भव छैन । त्यसैले राजनीति मानव जीवनको अपरिहार्य आवश्यकता हो, त्यसैले राजनीतिबारे जनताले चासो राख्नुपर्छ । हाम्रा जीवनका हरेक पाइला राजनीतिले प्रभावित पार्ने हुनाले युवा राजनीतिबाट निरपेक्ष रहन असम्भव छ । नेपालको राजनीतिक पार्टी, नेतृत्व र प्रवृत्ति खराब छ, बेथिति छ । चाकडी, चाप्लुसी, खुराफात, दलाली राजनीतिक शक्ति र स्रोत आर्जनका पर्याय बनेका छन् । देश आफैं यस्तो बेथितियुक्त राजनीतिबाट उम्किँदैन । त्यसैले खराब राजनीतिको रूपान्तरणको जिम्मेवारी सचेत, सशक्त र गतिशील युवामा आइपुगेको छ । युवा र आगामी पुस्ताको सुखद भविष्यका लागि यस्तो राजनीतिक बेथितिविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ । युवा राजनीतिबाट अलग–थलग रहेर यो चुनौती हल हुन सक्दैन ।

चुनौती

भनिन्छ, चुनौती सामना गर्न नसक्ने युवा रहँदैन अर्थात् युवा चुनौतीलाई स्विकार्ने, सामना गर्ने र अग्रगामी रूपान्तरणका पक्षमा दृढतापूर्वक उभिने शक्ति हो । त्यसैले राजनीतिक रूपान्तरणका सबैजसो आन्दोलनमा विद्यार्थी, युवा संगठनको अथाह योगदान रहने गरेको छ । तिनै संघर्षबाट व्यवस्था परिवर्तन भयो तर न त युवाका मुद्दा सम्बोधन भए न सामाजिक–आर्थिक रूपान्तरणले नै यथोचित गति लियो । यसो हुनुको पछाडि धेरै कारणहरू छन्, तीमध्ये केही यहाँ चर्चा गरिएको छ ।

विसं. २०२२ मा तत्कालीन कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु स्थापित भयो भने २०२७ मा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको गठन भयो । यस्ता विद्यार्थी संगठनको मूल उद्देश्य राजनीतिक रूपमा पञ्चायती व्यवस्थाको अन्त्य गर्नु थियो भने विद्यार्थीको गुणस्तरीय शैक्षिक अधिकार सुनिश्चितता गर्नु थियो । राजनीतिक रूपमा नेपाल गणतन्त्रमा रूपान्तरित भयो तर शैक्षिक रूपमा रहेका तमाम समस्या यथावत् छन् । शिक्षा क्षेत्र वर्गीय छ, असमावेशी छ, अव्यावहारिक छ, चरम व्यापार छ र अनेकौं बेथितिले भरिएको छ । यस्तो गन्जागोल शैक्षिक अवस्थाको रूपान्तरणका लागि कुनै पनि राजनीतिक विद्यार्थी संगठनसँग स्पष्ट विचार, दृष्टिकोण, योजना र रणनीति छैन । यस्ता विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन केवल पद प्राप्तिमा सीमित हुन पुगेका छन् । यसैगरी २०१० मा बीपीको सक्रियतामा नेपाल तरुण दल स्थापित भयो भने २०४७ मा राष्ट्रिय युवा संघ गठन भयो । यसैगरी माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा योङ कम्युनिस्ट लिग (वाईसीएल) स्थापित भयो । यी संगठनले माउपार्टीको विचार दृष्टिकोण बोक्ने कुरा स्वाभाविक हो तर समग्र युवाका समस्या सम्बोधन गर्ने दायित्व पनि उनीहरूको हो । तर, यी संगठनहरूले युवाको होस् वा विद्यार्थीका आम समस्या हल गर्ने स्पष्ट वैचारिक दृष्टिकोण र मार्गचित्र पेस गर्न सकेका छैनन् । राज्य र पार्टीलाई जवाफदेही बनाउन सकेका छैनन् । वर्तमान सामाजिक–राजनीतिक परिवेशको विश्लेषण गर्ने, समस्याको पहिचान र समाधानको मार्गचित्र प्रस्तुत गर्ने जिम्मेवारी युवाको हो । तर, यी संगठन यस्ता गम्भीर सवालबाट बिमुख भइरहेका छन् । भर्खरै सम्पन्न युवा संघ र वाईसीएलको सम्मेलनले राष्ट्रिय समस्या हल गर्ने र युवाका सरोकार सम्बोधन गर्ने कुनै ठोस विचार, दृष्टिकोण र रणनीति प्रस्तुत नगर्नु यसैको परिणाम हो ।

सैद्धान्तिक रूपमा नेतृत्वलाई विचारको संवाहकका रूपमा हेरिन्छ । तर, विद्यार्थी र युवा संगठनको अभ्यास हेर्दा नेतृत्वको मुख्य लक्ष्य शक्ति प्राप्ति हो भन्ने स्पष्ट देखिन्छ । जसरी राजनीतिक पार्टीमा कुनै पनि हालतमा पार्टीसत्तामा वर्चस्व स्थापित गरेर शक्तिको वैभव प्रदर्शन हुने गर्छ, यसको प्रस्ट प्रतिबिम्ब युवा र विद्यार्थी संगठनमा पनि देखिन्छ । विचार, दृष्टिकोण र कार्यक्रममार्फत होइन, जसरी पनि शक्तिमा पुग्ने होडबाजीले आम युवा र विद्यार्थीको जीवनमा कुनै परिवर्तन हुँदैन । यस्तो परिपाटीले न राष्ट्रिय राजनीतिक संकट हल गर्न सहयोग गर्छ, न त युवा र विद्यार्थीका समस्या सम्बोधनमा नै कुनै इँटा थप्छ ।

आलोचनात्मक चेत र दृष्टिकोण युवा राजनीतिकर्मीमा नभई नहुने गुण हुन् । आलोचनात्मक चेतना युवाको शक्ति र परिचय हो । व्यावहारिक रूपमा यो चेतनाको निर्माण, व्यावहारिक अभ्यास र रूपान्तरण पर्याप्त मात्रामा हुन सकिरहेको छैन । वैचारिक रूपमा पार्टीहरू स्खलित भइसके । व्यावहारिक रूपमा अधिकांश पार्टी नेतृत्व जनताप्रतिभन्दा स्वार्थ समूह, बिचौलिया र दलालप्रति बफादार छन् । अराजकता, बेथिति, भ्रष्टाचार, अनियमिततामा पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति संलग्न छन् । देशका ठूला–ठूला भ्रष्टाचार र तस्करी काण्डमा पार्टीको नेतृत्व सामेल छन् । तर, पार्टीमा यस्ता प्रश्न उठाउन वर्जित छ । युवा नेतृत्व यस्ता गम्भीर अपराध र बेथितिमा संलग्न नेतृत्वको बचाउमा समय र ऊर्जा खर्चिन विवश छन् । त्यसैले त देशमा भएका ठूल्ठूला भ्रष्टाचार र अनियतिताका काण्डमा युवा र विद्यार्थी प्रतिरोध गर्दैनन् । नेता युवा/विद्यार्थीलाई दास बनाउन चाहन्छन्, प्याट्रोनाइज राजनीतिक सम्बन्धका कारण प्रतिरोधी युवा चुपचाप बस्छन् । विचार, दृष्टिकोण र व्यवहारमा देखिएको चरम अराजकता, भ्रष्ट, निरंकुशता र दासतायुक्त शक्ति–सम्बन्धलाई युवाले चुनौती दिन सक्नुपर्छ । राजनीतिक भविष्य जनताले निर्धारण गर्ने हुन्, त्यसैले जनताको पक्षमा दृढतापूर्वक उभिने युवा नेतृत्व अहिलेको आवश्यकता हो ।

नेपाली राजनीतिमा देखिएको भयंकर डरलाग्दो समस्या नेतृत्वमा रहेको निरंकुशता हो । युवाले नेताको अहंकार, जनविरोधी हर्कत र बेइमानीको रक्षा गरिदिनुपर्ने बाध्यता छ । पटक–पटक सत्तामा पुगेर असफल भइसकेको नेतृत्वको भूमिकाको समीक्षा गर्ने ल्याकत युवा नेतृत्वले राख्दैन । जनताको भविष्यमाथि खेलबाड गर्ने राजनीतिक नेतृत्वलाई नाङ्गेझार पार्न हिम्मत गर्न सक्दैन । यस्तो अराजनीतिक परिपाटीविरुद्ध युवा र विद्यार्थी संगठन प्रतिरोध गर्न नसक्ने हो भने भविष्यमा युवा नेतृत्वबाट के आशा गर्न सकिन्छ ? त्यसैले विद्यार्थी र युवा संगठन र नेतृत्वले आफ्नो भूमिकाको गम्भीर समीक्षा गर्न जरुरी छ । यति मात्रै होइन, राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक संकटको हल खोज्ने विचार, दृष्टिकोण र रणनीति निर्माण गरी राजनीतिक हस्तक्षेप गर्न सक्नुपर्छ ।

भोलिको राजनीतिक नेतृत्व अहिलेको युवा नै हुन् । यो नेतृत्व खराब भएपछि देश झन् संकटतर्फ धकेलिन्छ । त्यसैले युवा नेतृत्व इमानदार, जवाफदेही र जनमुखी हुनैपर्छ । राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्ने, समग्र आर्थिक–राजनीतिक रूपान्तरणका लागि आवश्यक विचार, दृष्टिकोण र रणनीति निर्माण गर्ने, युवा र आगामी पुस्ताका साथै देशको प्रगति र अग्रगामनका लागि युवाले सचेततापूर्वक योगदान गर्नैपर्छ । युवाले निरंकुशता, दासता र पश्चगमनलाई किमार्थ स्विकार्दैन । विचार र दृष्टिकोणमा प्रस्ट, व्यवहारमा जिम्मेवार र जवाफदेही युवा नेतृत्व आजको आवश्यकता हो ।

प्रकाशित : जेष्ठ २९, २०८२
स्रोत : https://ekantipur.com/opinion/2025/06/12/youth-in-politics-the-challenge-of-transformation-18-19.html?author=1


About the Author

JB Biswokarma जेबी विश्वकर्मा

विश्वकर्मा लेखक एवं अनुसन्धाता हुन्। उनले नेपाली मिडिया, सामाजिक समावेशीकरण, जात व्यवस्था, लैंगिक समानता र उत्पीडित तथा सीमान्तीकृत समुदायका सामाजिक-राजनीति सवालमा लेखन र अनुसन्धान गरेका छन्।

More Blogs