कोमल भट्ट
एक महिनाअघि वैशाख २८ मा अन्नपूर्ण फुर्सदमा देवराज हुमागाईं र सफल घिमिरेका जर्नल विशेष दुई सामग्री पढेपछि मलाई पनि केही कोर्ने, भनौं न मपाइँत्व गर्नेजस्तो जोश पलाएर आयो। अनि म २० वर्षअघि फर्किएँ। डोटीमा बिग्रेका घडी रेडियो बनाउने सपनाबाट म कसरी कसरी उछिट्टिएर एउटा आरनमा छिरेँ भन्ने गन्थन मैले यहाँ लेखेको छु।
२०५५ कात्तिक ८ मा म रेडियोमा मात्र सुनेको मायानगरी काठमाडौं छिरेँ। हरेक पटक दाइ (प्रमोद) काठमाडौंबाट घर आउँदा मेरो उहाँसँग एउटै जिद्दी हुन्थ्यो, मलाई तपाईंसँगै काठमाडौं लैजानु न।
डोटी क्याम्पसमा आईए पढ्दा राजनीतिको हावाले कसरी छोयो भने मैले पढ्न पनि राम्ररी जानिनँ। त्यसैले त्यही उत्तीर्ण गर्न मलाई आवश्यकभन्दा बढी समय लाग्यो। म काठमाडौं आउँदा पनि एक ऐच्छिक अंग्रेजीमा उत्तीर्ण हुन बाँकी थियो। त्यसको जाँच दिएर म दाइ दसैं–तिहारमा घर गएको छेक पारेर उहाँकै पछि लागेर आएँ।
यहाँ आइपुगेको केही समयपछि म बाँकी रहेको विषयमा उत्तीर्ण भएँ। स्नातक भर्ना हुन केही समय बाँकी थियो। त्यसैले सुरुका केही दिन त घुमेरै बिते तर खुट्टाले नाप्ने इच्छा पनि नकारेपछि त्यसै कोठामा बस्नुभन्दा दाइकै सुझाव र सहयोगमा म नेपाल प्रेस इन्स्टिच्युटको १० महिने पत्रकारिता तालिममा सहभागी भएँ, १९ वर्षअघि।
डोटीमा हुँदा बिग्रेका घडी, रेडियो आदि बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। काठमाडौं बुझिनसक्दै दाइले पत्रकारिता पढ्छस् त, राम्रै हुन्छ भनेपछि उहाँले नै भर्ना गरिदिएपछि जीवनको बाटो मोडियो। त्यसैले अहिलेसम्म पनि म यो क्षेत्रमा प्रत्यक्ष होइन, परोक्ष रूपमा जोडिन पुगेको छु।
पछि पत्रकारितामै स्नातक गर्ने रहर जागेको थियो तर त्रिविको नियमअनुसार नमिल्ने भएपछि लागेँ समाजशास्त्र पढ्न। अझ स्नातकोत्तरमा त झन् त्यति बेलाको हट विषय ग्रामीण विकास अध्ययन गरेँ। जिन्दगीमा पढेँ एक थोक र अहिलेसम्म गरिरा’छु अर्कै थोक। मलाई लाग्छ, धेरैको जीवनमा यस्तो भएको छ, हुन्छ।
प्रेस इन्स्टिच्युटको तालिम सकेपछि ममा पत्रकारिता (रिपोर्टिङ) गर्ने भूत सवार थियो तर गर्ने कहाँ ? चिनेजानेका पढ्दाका केही साथीभाइ र इन्टर्नसिपमा गएका गोरखापत्रका केहीबाहेक कोही थिएनन्। एक दिन लहैलहैमा कान्तिपुरका अहिलेका प्रधान सम्पादक नारायण दाइलाई (सायद समाचार प्रमुख हुनुहुन्थ्यो त्यति बेला) भेटेर दाइ मलाई काम दिनु न भनेँ। नारायण दाइले यता त खाली छैन, डोटी जान्छौ त भने। मैले पनि हुन्छ भनिदिएँ।
यसको कारण थियो, दाइ त्यही वर्ष उच्च अध्ययनका लागि जापान सरकारको छात्रवृत्ति पाएर जानुभयो। बिरानो सहरमा म एक्लोपन र आर्थिक जोहोको पीरले मनमनै डराएँ। जुन दिन दाइलाई म अब काठमाडौं बस्दिनँ, डोटी जान्छु भनेँ; दाइले मलाई उपाय सुझाउनुभयो, जा प्रत्यूष (वन्त) दाइलाई गएर भेट।
यसरी म मेरा अनुसन्धानका पहिलो गुरु प्रत्यूष दाइलाई उहाँकै घरमा भेट्न गएँ। पहिलो भेटमै प्रत्यूष दाइले धेरै कुरा भनेको हुनुपर्छ तर मेरो दिमागले कति पक्डे कुन्नि। मलाई थोरै मात्र सम्झनामा छन्। अरू कुराकानीपछि उहाँले स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) भन्ने जर्नल छ, त्यसका लागि काठमाडौंबाट साँझपख प्रकाशन हुने सन्ध्याकालीन पत्रिकाको अनुसन्धान गरेर लेख्न सक्छौ ? भनेर सोध्नुभयो।
जीवनमा पहिलोपटक जर्नल भनेको के हो भन्ने थाहै नपाई म त्यसैका लागि लेख्न भनेर महासागरमा हामफालेँ। पौडिन मलाई अहिले पनि आउँदैन तर यहाँ लेखनमा भने प्रत्यूष दाइले लाइफ ज्याकेट लगाएर डुबिहाले पनि तार्ने गरी ढाडस पाएपछि मलाई हामफाल्न सजिलो भयो।
केही मुक्तक र रेडियो नेपाल सुन्दै नारायणगोपालका गीत कापीमा सारेकाबाहेक जीवनमा केही लेखिएको थिएन। विद्यालय र विश्वविद्यालयको अध्ययनले उत्तर रट्ने र त्यही परीक्षामा लेख्नेबाहेक केही सिकाएन। तर भर्खरै सकिएको पत्रकारिताको तालिमले लेखनको पंख जगाइदिएको थियो। सायद त्यसैको आँटले होला, मैले प्रत्यूष दाइलाई म गर्न सक्छु भनेँ।
यसरी म लेखनको महासागरमा हेलिएँ। अनि दैनिकजसो प्रत्यूष दाइको निजी पुस्तकालयमा बसेर सन्ध्याकालीन पत्रिका पल्टाउन थालेँ। अन्यत्रै र नेपालमै तीबारे कतै केही लेखिएका छन् कि भनेर पुस्तक अनि म्यागेजिनमा खोज्न थालेँ। जेनतेन पहिलोपटक मैले हातैले करिब आठ पाना जति लेखेँ हुँला।
टाइप गर्न आउँदैनथ्यो, कम्प्युटर त पहिलो पटक यतै आएर देखेको मैले। मैले लेखेका ती आठ पाना प्रत्यूष दाइलाई देखाएँ। मलाई लाग्छ, मैले काम लाग्ने मुस्किलले एक पाना जति लेखेको थिएँ हुँला जब मैले त्यो फिर्ता पाएँ। यसरी हातैले कैयनपटक केर्दै लेख्दै देखाउँदै कति पटक लेखेँ, म अहिले सम्झन्नँ। म कमेन्ट पढेर तिनलाई सच्याउन, पुन : लेखन गर्न बस्थेँ अनि कतै झनक्क रिस उठ्थ्यो, कतै यत्ति त मैले भनेको पनि हुन्छ नि, किन अरूले लेखेकै कुरा पढेर राख्न पर्यो, बीचैमा छोडेर भागौं कि जस्तो लाग्थ्यो।
कमेन्ट पढ्दा गर्न सक्छु जस्तो लाग्थ्यो तर लेख्न बस्दा फेरि लेखेको मिल्दैनथ्यो। अनि आपैmंले मेहनत गरेको फाल्यो, फेरि लेख्यो। यसरी धेरै पटक लेखेपछि बल्ल त्यसले एक दिन आकार लियो र म त्यसलाई कम्प्युटरमा टाइप गराउन किशोर प्रधान दाइको इन्स्टिच्युटमा पुगेँ। त्यति बेला किशोर दाइ बानेश्वरमा कम्प्युटर इन्स्टिच्युट चलाउँथे र सिन्हासका लेखहरू सायद त्यतै टाइप हुन्थे। उनले टाइप गर्दासम्म म साथै हुन्थँे, मेरा अक्षर नबुझिएर अर्कै टाइप होला भन्ने चिन्तामा र उनको आग्रहमा।
मैले जीवनमै लेख्न कति गाह्रो हुन्छ भन्ने प्रत्यूष दाइको सान्निध्यबाट थाहा पाएँ। मैले सच्याएर, परिमार्जन गरेर किशोर दाइले टाइप गरेको प्रिन्टआउट लग्यो प्रत्यूष दाइबाट फर्कंदा त्यो पूरै रातो वा कालो कोरिएको हुन्थ्यो। म किशोरसमक्ष पनि यति धेरै चोटि पुगेँ कि पछि त उनी पनि हैरान, कहिले त्यही राखेको छ फेरि त्यही काटेर अर्को लेखेको छ। लेख्न बस्दा यताको डर, टाइप गराउन जाँदा उताको डर।
त्यसैले मलाई अचेल कसैले बोलेको भन्दा लेखेको बढी बिझ्छ। किनभने लेख्दा सोचेर लेखिन्छ, बोल्दा त्यति सोचिन्न। त्यति बेला गाली गरेजस्तो लाग्ने टिप्पणी अहिले सम्झँदा ती जो मेरा लागि हौसला थिए। तिनले जीवन सिकाए। अध्ययनको रुचि भरे। किन सन्दर्भ सामग्री महत्वपूर्ण छन् र हुन्छन् भन्ने चेत भरे।
मार्टिन चौतारीको अनुसन्धान समूहको नियमित सदस्य हुनुअघि गुज्रिएको परीक्षाले एकजना कान्छो र काँचो सदस्यका रूपमा नियमित काम गर्ने मौका पाएको थिएँ। लेखन प्रकाशनका विभिन्न चरणसँग साक्षात्कार गर्ने मौका पाएँ। पछि त आफ्नै समूहका सदस्य र बाहिरका लेखकले लेखेका लेखमाथि टिप्पणी गर्नसक्ने भएँ।
मार्टिन चौतारीमा नियमित रूपमा काम थालेलगत्तै हामी नेपाली मिडिया सन्दर्भ ग्रन्थको तयारीमा जुट्यौं। सुरुमा त किन गरेको होला, के गरेको होला भन्ने प्रश्न मेरो मनमा आएकै थियो तर पछि गर्दै जाँदा अध्ययन अनुसन्धानमा सन्दर्भ सामग्री कति महत्वपूर्ण र आवश्यक हुन्छ र गर्न थालिएको अनुसन्धानबारे अरूले पहिले के के लेखेका छन् र के गर्न बाँकी छ र त्यसले के नयाँ ज्ञान दिन्छ भन्ने थाहा भयो।
नेपाली मिडियाबारे कसले, कहिले, कहाँ, के लेखे भनी खोज्ने काममा कीर्तिपुरको केन्द्रीय पुस्तकालयमा बिहान ८ बजे नै पुगेर पुराना म्यागेजिन, पत्रिका, किताब पल्टाउँदै मिडियासम्बन्धी लेख भेट्यो भने त्यसको शीर्षक, लेखक, पत्रिकाको नाम र पृष्ठ नम्बर टिप्दै अनि चाङका चाङ बोकेर त्यहाँको फोटोकपीमा लाइन लाग्दाका सम्झना अचेल खेलिरहन्छन्।
मेसै नपाई थालेको कामबाट सुरु भएको मेरो यात्रा नेपाली मिडिया सन्दर्भ ग्रन्थका लागि तयारी गर्नु अनुसन्धान कर्म गर्ने क्रमको दोस्रो तर आधारभूत खुट्किला थियो। अहिले फर्केर हेर्दा लाग्छ, त्यो प्रत्यूष दाइको औपचारिक कक्षा नलिई नै गर्दै सिक्दै त्यसको गहिराइमा पुर्याउने तरिका थियो। अहिलेको ओजेटी भनेजस्तै। पछि रेडियो नेपाल, खोज पत्रकारिता केन्द्र, एफएम रेडियोमा हुने अन्तरक्रिया, रेडियो नेटवर्क, मिडिया अध्ययनका प्राज्ञिक अभ्यास अदि क्षेत्रमा अनुसन्धान जारी रह्यो।
म संलग्न भएका केही प्रकाशनहरूको यहाँ कुरा गरिहालैाँ न त, कोही नयाँ अनुसन्धातालाई काम लागिहाल्ला कि ? सम्पादनमा मसमेत संलग्न भएका पुस्तक÷जर्नल : नेपाली मिडिया सन्दर्भ ग्रन्थ (२०६०), रेडियो नेपालको सामाजिक इतिहास (२०६१), रेडियो पत्रकारिता : एफएममा समाचार र संवाद (२०६२), स्वतन्त्र रेडियोको एक दशक (२०६५), मिडिया अध्ययन (१—२०६३, २—२०६४ र ३—२०६५)। मसमेतको लेखनमा तयार भएका पुस्तक— मिडिया अनुसन्धान : प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास (२०६४), रेडियो नेटवर्क : अभ्यास, अन्तर्वस्तु र स्थानीय प्रभाव (२०६५)। अनि, जर्नल÷पुस्तकमा प्रकाशित अनुसन्धानमा आधारित केही लेख : सन्ध्याकालीन पत्रिका के पस्किरहेछन ? कसरी चलिरहेछन, स्टडिज इन नेपाली हिस्ट्री एण्ड सोसाइटी जर्नल (२०६०, वर्ष ६ अङ्क १, जुन २००१), काठमाडौँका सन्ध्याकालीन पत्रिका : विषयवस्तु विश्लेषण (२०५९, मिडियाको अन्तर्वस्तु : विविध विश्लेषण), खोज सामग्री उत्पादन : खोज पत्रकारिता केन्द्रको प्रयास : (२०६०, मिडिया उत्पादन र अन्तर्वस्तु), मिडिया र समावेशीकरण : अध्ययन सामग्री (२०६४, समावेशी मिडिया), एफएम रेडियोमा हुर्कँदो अन्तत्र्रिmया (२०६२, रेडियो पत्रकारिता : एफएममा समाचार र संवाद), नेपालमा एफएम रेडियोको नेटवर्क (२०६५, स्वतन्त्र रेडियोको एक दशक)।
प्रत्यूष दाइको संगतले जीवनमा दुई कुरा गहिरोसँग सिकायो। उहाँले बारम्बार भन्ने सिद्धान्त, भूतबाट नतर्स र जुन भाषामा लेखे पनि लेख तर प्राज्ञिक लेखनमा बस्दा अरूलाई उद्धृत गर। ज्ञान निर्माणको प्रक्रिया यसरी नै चलेको छ।
पहिला मिडिया निकै सानो क्षेत्र हो जस्तो लाग्थ्यो तर गर्दै गएपछि त्यसैमा यति धेरै आयाम देख्न थालियो कि त्यही महाभारत लाग्न थाल्यो। अनुसन्धान गर्दा सबैभन्दा पहिला विषयको आधारभूत संरचनामा छलफल गरिसकेपछि त्यसमा कसले के गर्ने र कसरी मासु भर्ने कामका लागि सामूहिक रूपमै डेडलाइन तय हुन्थ्यो।
आपैmं सम्मिलित भई तय गरेका १५ दिन एक महिनाका डेडलाइन सुरुमा त समय छँदै छ नि सजिलै सकिइहाल्छ भनेर उम्किइन्थ्यो तर दिन जान त कति बेर लाग्थ्यो र, त्यो दिन आइहाल्थ्यो। जति जति डेडलाइन नजिक आउँथ्यो, मुटुको चाल पनि बढ्दै जान्थ्यो। अनि चाल बढेको मुटुले लेख्न बस्न खोज्थ्यो तर एक अक्षर सर्दैनथ्यो। कति डेडलाइन मिट गर्न कनेर लेखियो र मजाकै दनक खाइयो।
ती दिन सम्झँदा अहिले आपैंmलाई हाँसो उठ्छ। प्रत्यूष दाइलाई हामीले दिने मस्यौदाहरू उहाँले पढेर भनेकै समयमा त्यसको प्रतिक्रिया दिनुहुन्थ्यो। त्यस्ता प्रतिक्रिया उहाँले हार्ड कपीमै लेखेर अनि भेटेर एक एक गरी भनेर दुवै गर्नुहुन्थ्यो। मलाई सबैभन्दा अचम्म त के लाथ्यो भने उहाँले टिप्पणी गर्दा फलानो किताबको फलानो पेजमा यो छ भनेर भनिदिने अनि त्यही किताब ल्याएर दिने। आरनमा फलाम गलाएर पिट्यो भने मात्र बनाउन खोजेको के हो, त्यसको आकार निस्केझैं म पनि प्रत्यूष दाइका आरनका फलामजस्तै थिएँ। आगोले गल्ने तर हतपती आकार लिन नसक्ने।
ज्ञान उत्पादनको क्षेत्रमा रहँदा मैले के सिकेँ भने मैले त यो जानिसकेँ नि, मलाई त लेख्न आयो नि भन्ने कहिल्यै भएन। जति गर्दै गयो, लेख्दै गयो; आफ्ना अज्ञानताका सीमाहरू पनि बुझिँदै गयो। त्यसैले हिजोआज मलाई सद्गुरु जग्गी वासुदेवले भन्ने गरेको सधैं घत पर्छ। उनी भन्छन्, ‘जब म जान्दछु भन्ने लाग्छ, तब थप जान्ने आकांक्षा मर्छ। तर जब म जान्दिनँ भन्ने लाग्छ अनि बल्ल त्यो जान्ने चाहना वा इच्छा पलाउँछ।”
बिग्रेका रेडियो घडी बनाउने मेरो पहिलाको रुचिमा प्रमोद दाइले इँटा नथपेको भए अनि प्रत्यूष दाइको सान्निध्य नपाएको भए म अहिले के हुन्थेँ, मलाई नै थाहा छैन। आरनमा पस्दा फलामलाई लाग्दो हो, रातो फिलिंगो हुने गरी पोलेर र फेरि त्यहाँबाट निकालेर घनले ठटाएर कति तड्पाएको मलाई। तर जब त्यही आरनबाट फलामले सुन्दर वस्तुको आकार लिन्छ अनि मात्र ए यो पो भन्ने लाग्छ।
भन्न त अचेल साथीहरू भन्छन्, ‘तपाईंहरूको बेलाभन्दा प्रत्यूष दाइ अचेल निकै चेन्ज भइसक्नुभो।’ तर म त्यो पेलानको प्रत्यूष दाइ सम्झन्छु— घरिघरि मुसुमुसु आफैं हाँस्छु।@BhattaKomal