‘सूचनाप्रविधिले विचारको सिण्डिकेट भत्कायो’

- रामबहादुर केसी | 2023-04-14

अहिले सञ्चारमाध्यमसँग पाठक, दर्शक र श्रोता दोहोरो संवाद गर्न सक्छन् । हिजोसम्म समाचारमा आफ्ना टिप्पणी राख्न उनीहरूले सम्पादकको माध्यमबाट जानुपथ्र्यो तर, आज सम्पादकको त्यो पर्खाल भत्किएको छ ।

सूचनाप्रविधिले ‘वान वे कम्युनिकेशन’लाई दोहोरो बनाएको छ । व्यक्ति, संस्था र सरकारले एकोहोरो आफ्ना कुरा मात्र सुनाउने अभ्यास सूचनाप्रविधिको प्रयोगसँगै हराएको छ ।

सूचनाप्रविधिकै उपज सामाजिक सञ्जालले दुईतर्फी संवादको बाटो खुल्ला गरेको छ । दोहोरो संवादले सार्वजनिक संस्थाहरूलाई लोकतान्त्रिक लयमा हिंड्न सिकाएको छ । समाजलाई लोकतान्त्रिक लयको बाटोमा डोर्‍याउन सामाजिक सञ्जालमा तत्काल गर्न सकिने दोहोरो संवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सामाजिक सञ्जाल नहुँदासम्म आवाजविहीनहरूको आवाज सहजै दबाइन्थ्यो । उनीहरूले आफ्नो आवाज राख्ने थलो पाएका थिएनन् । अहिले सामाजिक सञ्जाल मानिसहरूले आफ्नो आवाज राख्ने ठाउँ भएको छ ।

हर–कोही आफूलाई लागेका कुरा सहजै सञ्जालमा व्यक्त गर्न सक्छ । भ्वाइसलेसहरूको भ्वाइस राख्ने उनीहरूको भ्वाइसलाई एम्पिलीफाई गर्ने माध्यम बनेको छ, यो । नेता, सरकार वा अरू कसैले पनि गरेका निर्णय, काममा सर्वसाधारणले आफ्नो धारणा व्यक्त गर्न सक्छन् ।

हिजो सूचना र समाचारका लागि निश्चित माध्यम मात्रै थिए । तिनले मात्रै आफूले चाहे जसरी सूचना, समाचार, विचार र जानकारी दिन्थे । तर, आज अवस्था बदलिएको छ । हरेक मान्छे आफैंमा मिडिया बनेको छ ।

अहिले सञ्चारमाध्यमसँग पाठक, दर्शक, श्रोता दोहोरो संवाद गर्न सक्छन् । हिजोसम्म समाचारमा पाठक, दर्शक र श्रोताले आफ्ना टिप्पणी राख्न सम्पादकको माध्यमबाट जानुपथ्र्यो तर, आज सम्पादकको त्यो पर्खाल भत्किएको छ । पाठक, दर्शक, श्रोता सञ्चारमाध्यमका सामाजिक सञ्जालमा मात्र होइन वेब पोर्टलमै कमेन्ट गर्न सक्छन् । सूचनामा सहज पहुँच भएको छ, सूचनामा सहज पहुँच हुनु भनेको ज्ञानको दायरा विस्तार हुनु पनि हो ।

मान्छेले आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्ति गर्न पाउनु नै यो दशकमा सूचनाप्रविधिले दिएको सुन्दर उपहार हो । विचार अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर विशेषता पनि हो । र, यसको अभ्यास हामीले पछिल्लो दशकदेखि भरपुर मात्रामा गरिरहेका छौं ।

सामाजिक सञ्जालले सामाजिक सम्बन्धका आयाममा पनि परिवर्तन ल्याएको छ । ७० को दशक अगाडि सामाजिक सञ्जाल सबै मानिसको पहुँचमा थिएन । संवादका लागि एकआपसमा भौतिक रूपमा भेट्नुको विकल्प थिएन । तर, सामाजिक सञ्जालको प्रयोगले यो बाध्यता हटायो । हाम्रो कम्युनिकेशन दायरा बढ्यो ।

पछिल्लो दशकमा नेपाली काम, शिक्षाको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जाने चलन बढ्यो । वैदेशिक रोजगारीले बसाइँसराइ पनि बढायो । यो अभ्यासले मान्छेहरू आफ्ना परिवार, आफन्त र समाजबाट टाढा भए । तर, सामाजिक सञ्जालले भने मानिसहरू भौतिक रूपमा जतिसुकै टाढा भए पनि नजिक ल्याइदियो । संवादले मानिसबीच एकता र अपनत्व महसुस गराउँछ ।

संवादसँगै सामाजिक सञ्जालको प्रयोगले मानिसहरूलाई आफ्नो गाउँ–ठाउँ वा आफन्तहरूले के गरिरहेका छन् ? कस्तो भइरहेको छ ? आफ्नो ठाउँको अवस्था के कस्तो छ भन्ने पनि प्रत्यक्ष हेर्ने, सुन्ने र पढ्ने वातावरण बनाइदियो । अर्थात् मानिस जतिसुकै टाढा भए पनि आफ्नो समाज, गाउँघरसँग डिजिटल रूपमा जोडिरहन पाइयो । अहिले हामीसँग एकातिर भौतिक रूपमा अवस्थित भएको समुदाय छ भने अर्कोतिर डिजिटल समुदाय पनि छ ।

सूचनाप्रविधिले संस्थागत र संरचनागत परिवर्तन पनि ल्याएको छ । सामाजिक संरचनामा पनि यसको प्रभाव छ । सरकार वा कुनै संस्थाले दिने सेवाप्रवाह छिटोछरितो भएको छ । संस्था, सेवा प्रदायकहरू चुस्तदुरुस्त भएका छन् । मानिसले टिकट काट्ने, फारम भर्ने जस्ता काम घरैबाट गर्न पाएका छन् । एउटा सानो कामका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सेवा प्रदायकहरू डिजिटल र अनलाइन माध्यमबाट सेवा दिन थालेका छन् ।

सेवा प्रदायकले आफ्ना सेवा, सुविधा र तिनको प्रयोगका बारेमा पनि सेवाग्राहीलाई सूचनाप्रविधिकै माध्यमबाट जानकारी दिन्छन् र सेवाग्राहीले लिन्छन् । यसले सेवा प्रदायक र सेवाग्राहीको समय बचत गरेको छ । झन्झटबाट मुक्त गरेको छ ।

कोभिड कालमा अनलाइन पढाउने मात्रै होइन परीक्षा पनि अनलाइन नै भयो । टेलिमेडिसिन अभ्यास गरियो । ‘वर्क फ्रम होम’ को अवधारणामा काम भयो । यसले हामीलाई डिजिटल अभ्यासमा जाने बाटो झन् फराकियो बनायो ।

६० को दशकमा कोभिड जस्तै महामारी आएको भए हाम्रा संस्थाहरूले, हामीले यति सजिलै काम गर्न संभव नै थिएन । स्थानीय सरकारदेखि संघीय सरकारसम्म ई–गभर्नेन्सको अभ्यास गरिरहेका छन् । डिजिटल माध्यमबाट भइरहेको सेवा, सूचना प्रवाहले हाम्रो परम्परागत तौरतरिकामा परिवर्तन ल्याएको छ । यही कारण हाम्रा संस्थाहरूको संरचनागत परिवर्तन भएको छ ।

सूचनाप्रविधिले मानिसको मात्रै होइन संस्थागत ज्ञान र सीप विकासमा पनि सहयोग गरेको छ ।  सूचनाप्रविधिले उद्यमका तौरतरिकामा परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल र अनलाइनका माध्यमबाट व्यापार, व्यवसाय गर्न थालेका छन् । साना लगानीकर्ताहरूलाई यो प्रविधिले सजिलो बनाएको छ ।

उद्यमको परम्परागत अभ्यास बदलियो । उद्यमसँगै पेमेन्ट गर्ने तरिका बदलियो । आज शहरी क्षेत्रमा चियापसल, तरकारी पसल होस् वा ठूला मार्ट सबैतिर डिजिटल पेमेन्ट गर्न सकिन्छ । मान्छेले नगद पैसा बोकिरहनुपर्ने बाध्यता हटेको छ ।

फोन, सामाजिक सञ्जाल, बैंक, अस्पताल, सवारी साधन, महत्वपूर्ण कागजात लगायत आफूलाई आवश्यक पर्ने हरेक चिज एउटा मोबाइल वा डिभाइसमा हुन्छन् । यसले मान्छेलाई झोलाभरी कागजात बोकेर हिंड्नुपर्ने बाध्यताबाट मुक्त बनायो । समय बचत भयो । सेवा प्रदायककहाँ गएर लाइन लाग्नुपर्ने, जीहजुरी गर्नुपर्ने झन्झटबाट मुक्त बनायो ।

सूचनाप्रविधिले सहजतासँगै केही अप्ठ्यारा पनि निम्त्याएको छ । सामाजिक सञ्जालमा मिथ्या, भ्रामक सूचनाको खेती पनि उत्तिकै भइरहेको छ । सामाजिक सञ्जाल वा म्यासेज एप मार्फत ठगी गर्ने, झुक्याउने, ब्ल्याकमेल गर्ने काम पनि भइरहेकै छ ।

डिजिटल माध्यमबाट यौन हिंसा, दुव्र्यवहारका घटना बढेका छन् । व्यक्तिको निजी जीवन तहसनहस बनाउने, इज्जत, प्रतिष्ठामा आँच पुग्ने गरी बदनाम गर्ने अभ्यास पनि सूचनाप्रविधिले सजिलो बनाइदिएको छ । इन्टरनेट र सामाजिक सञ्जालमा राखिएका हाम्रा निजी सूचना, तथ्यांक जतिखेर पनि दुरुपयोग हुने खतरा छ । कतिपय देशमा यस्ता सूचनाको दुरुपयोग पनि भइरहेको छ ।

यी समस्याबाट मुक्ति पाउन डिजिटल साक्षरता चाहिन्छ । हामी भर्खरै मात्र डिजिटल दुनियाँमा छिर्दैछौं । यो दुनियाँसँग हामी अझै अभ्यस्त भइसकेका छैनौं ।

‘डिजिटलाइजेशन’ सामाजिक जीवनको हिस्सा बनिसकेको छ । सामाजिक सञ्जाल त झन् हाम्रो जीवनकै अंग बनिसकेको छ । सामाजिक सञ्जालकै माध्यमबाट सामाजिक मुद्दामा बहस, आन्दोलन भएका छन् । २०६९ को अन्त्यतिर भएको ‘अकुपाई बालुवाटार’ सामाजिक सञ्जालबाटै सुरु भएको आन्दोलन हो । त्यसपछि ७० को दशकभरी सामाजिक सञ्जालको बलमा भएका ‘इनफ इन इनफ’, ‘नेपाल खुल्ला छ’, ‘रेज अगेन्सट रेप’, ‘दलित लाइभ्स म्याटर’ लगायत धेरै आन्दोलन हामीले देख्यौं ।

हालै मात्र गृह मन्त्रालयले मावलीको नाममा बच्चाको जन्मदर्ता हुने भनेर गरेको निर्णय सामाजिक सञ्जालमा विरोध भएका कारण सच्यायो । सामाजिक सञ्जालमा विभिन्न समयमा चल्ने ‘ह्यासट्याग मुभमेन्ट’हरू परम्परागत सडक आन्दोलनकै डिजिटल स्वरुप हुन् । सामाजिक सञ्जालका माध्यमबाट आम मानिसले सरकार वा सरोकारवालाहरूलाई कुनै काम गराउन दबाव दिन सक्छन् ।

कुनै समय आन्दोलन गर्न नेता वा राजनीतिक दल चाहिन्थे । तर आज सामाजिक सञ्जालकै भरमा आन्दोलन चर्किन्छ । आन्दोलनका लागि मानिसले भौतिक रूपमा जम्मा भइरहनुपर्ने बाध्यता छैन, सामाजिक सञ्जालबाटै दबाव दिन सक्छन् । सामाजिक सञ्जालले सरकार र आम नागरिक दुवैलाई लोकतन्त्रको अधिकतम अभ्यासतर्फ केन्द्रित गराइरहेको छ ।

(पाटन संयुक्त क्याम्पसमा समाजशास्त्रका एशोसिएट प्रोफेसर केसीसँग अनलाइनखबरका लागि सागर चन्दले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : २०८० वैशाख १
स्रोत : https://www.onlinekhabar.com/2023/04/1292281?utm_source=Facebook&utm_medium=TwitterPost


About the Author

Ram Bahadur KC रामबहादुर केसी

समाजशास्त्री

More Blogs