जिउने तरिका फेरियो

- मधुसूदन सुवेदी | 2021-09-24

जिउने तरिका फेरियो

युरोपमा झन्डै दुई–तीन सय वर्षयता, भारत र चीनमा ७०–८० वर्षयता र नेपालमा ५०–६० वर्षयता जीविकोपार्जनमा ठूलो परिवर्तन आयो । खासगरी नेपालमा तीस वर्षयता जीविकोपार्जनमा निकै फेरबदल आयो । मानिसमा के काम गर्ने, के काम गरेर परिवार पाल्ने र कसरी आफ्नो भविष्य सुरक्षित राख्न सकिन्छ भन्ने सोचमा ठूलो परिवर्तन आएको छ । सँगै अवसर, सम्भावना र चुनौती पनि थपिँदै गएको छ । यो परिवर्तन नेपालमा मात्रै होइन, संसारका सबै ठाउँमा आएको छ, कुनै ठाउँमा अलि द्रुत गतिमा र कुनै ठाउँमा अलि ढिलो ढिलो ।

साठी वर्षपहिले केही सहर छाडेर नेपालीको जीविकोपार्जनको माध्यम कृषि नै थियो । परिवारका सबैजनाले सँगै काम गर्ने, उत्पादन गर्ने, उत्पादित अन्न परिवारकै मान्छेले खाने, कम भएमा गाउँबाट किनेर ल्याउने, बढी भएमा गाउँमै बेच्ने चलन थियो । त्यसवेला आजको जस्तो सञ्चार, यातायातको सुविधा थिएन । ‘मैले यो गर्न सकिनँ’ भनेर मानिसहरू धेरै चिन्तित पनि हुँदैन थिए । किनभने त्यसवेलाका मानिसले देखेको प्रगति आफूवरपरको प्रगति मात्रै थियो । मानिसले गाउँभन्दा बाहिरको संसार खासै देखेका थिएनन् ।

गाउँमै श्रम लिने र दिने चलन थियो । धनी व्यक्तिले चर्को ब्याज लिन्थे । त्यही ब्याजबाट गाउँका र बजारका धनीहरू क्रमशः धनी हुन्थे । गरिब झनै गरिब हुन्थे । उत्पादन भएको अन्न बेचेर किसानले साहुको ऋण तिर्नुपथ्र्यो । त्यो जीविकोपार्जनले पनि समाजमा असमानता जन्माइरहेको थियो ।त्यसवेला भात खान पाउनु, मासु खानु, सुकिलो लुगा लगाउनु सम्पन्नतासँग जोडिन्थ्यो । चाडपर्वमा आर्थिकस्तर कम भएकाहरूले भात खान साहुबाट ऋण नै लिनुपथ्र्यो । त्यो ऋण पछि कमाएर तिरिन्थ्यो । त्यसवेला जग्गा हुने र नहुनेबीच ठूलो खाडल थियो । धान फल्ने खेत जसको धेरै छ, तिनै धनी हुन्थे ।

तर स्थिति सधँै एकनासको रहेन । समय परिवर्तन भयो । खासगरी खुला सिमानाका कारण नेपालबाट भारतमा सजिलै काम गर्न नेपाली जान थालेपछि हाम्रो जीविकोपार्जनमा परिवर्तन हुन थाल्यो । भारत जाने, कमाएकोे पैसाले साहुको ऋण तिर्ने, अलिकति मिठो–मसिनो खाने, श्रीमती, छोराछोरीलाई एकसरो राम्रो लुगा लगाइदिने हुन थाल्यो । यस्ता आवश्यकता पूरा भएपछि गाउँमा अलिकति खेत जोड्न थाले । बाहिर सिकेको जीविकोपार्जनको ज्ञान गाउँमा प्रयोग गर्न थाले ।

अब गाउँका टाठाबाठाले सहरमा अवसर देख्न थाले । उनीहरू बिस्तारै सहर पस्न थाले । गाउँको कमसल जग्गाजमिन बेचेर सहर झर्न थाले । उनीहरूले सहरमा जागिर देखे, व्यापार देखे, अवसर भेटे, गाउँ र सहर जोड्ने सम्भावना देखे । हुँदाहुँदा देशबाहिर पढ्न र कामको खोजीमा जान थाले । यस्ता अवसरले जीविकोपार्जनको सम्भावना बढ्दै गयो, विविधीकरण हुँदै गयो । गाउँमा मोटर बाटो बन्यो । सहर र गाउँ जोडिन थाल्यो । गैरकृषि क्षेत्रको सम्भावना बढ्यो । मानिस व्यापारतर्फ अग्रसर हुन थाले । सरकारी, गैरसरकारी र निजी क्षेत्रमा विभिन्न सीप र क्षमता भएका मान्छेको खाँचो बढ्यो र अवसरका सम्भावना बढे ।

मानिसहरू खेती गरेर खानेभन्दा किनेर खानेतर्फ अग्रसर हुँदै गए । परम्परागत खेतीबाट अलि माथि उठेर नाफामुलक तरकारी खेती, च्याउखेती, पशुपालन, कुखुरापालन, मौरीपालन गरेर पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्नेतर्फ मानिस लाग्न थाले । आम्दानीको स्रोत त्यसैमा देख्न थाले । कृषिभित्र अब व्यवसायीकरण बढ्यो । काठमाडांै उपत्यकामा अहिले प्रशस्त टमाटर खेती, साग, काउली खेती, लसुन खेती गरेको देखिन्छ । यसले कृषिभित्र व्यवसायीकरण बढेको देखाउँछ ।

कृषिबाट व्यवसायीकरणको प्रक्रियामा प्रतिस्पर्धा गर्न सक्नेको स्थिति अलि गतिलो बन्दै गयो । प्रतिस्पर्धामा आउन नसक्नेको स्थिति दुःखजिलो गरेर पनि खान नपुग्ने स्थिति बन्यो । परम्परागत कृषि प्रणाली छोड्न नसक्ने परिवार गरिबीभित्र पिल्सिए । जीविकोपार्जनमा गाह्रो भयो । दलितहरू अलि बढी पीडित भए । बजारको समानसँग प्रतिस्पर्धा गर्न सकेनन्, उनीहरू परम्पराबाट बाहिर निस्किन नसकेपछि अवसरबाट वञ्चित भए । राज्यले पनि दलितलाई पढ्न दिएन, अवसरबाट वञ्चित गरायो । दुर्गममा बस्ने दलित, बाहुन, क्षेत्री, जनजाति सबै अवसरबाट वञ्चित भए ।

आजभोलि मानिसहरू कृषिकर्म गर्नै चाहँदैनन् । किनभने परम्परागत कृषि प्रणालीमा अब आम्दानी हुँदैन भन्ने धेरैले बुझिसके । मानिसको चाहना सरकारी जागिर, वैदेशिक रोजगार, गैरसरकारी क्षेत्र अथवा आफ्नै व्यापार गर्नेतिर मोडियो । आफ्नै व्यवसाय गर्ने पहिलेभन्दा आज सम्भावना पनि बढ्यो । बजार विस्तार भयो । बजारमा छानीछानी सामान किन्ने विकल्प पनि उपलब्ध हुन थाल्यो । मानिसहरू व्यवसायमा संलग्न हुन थाले । यसले गर्दा सामाजिक सम्बन्धमा फेरबदल आयो ।

परिवर्तनको अन्तर्य अहिले देखिएको जीविकोपार्जनको परिवर्तनलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा के देखिन्छ भने जीविकोपार्जनमा परिवर्तन आउँदा सामाजिक सम्बन्धमा परिवर्तन आयो । यसले हाम्रा सम्बन्धमा फेरबदल ल्यायो । यो बदलाव हाम्रो इच्छाले भएको होइन । जसमध्ये एउटा हो, रक्त सम्बन्धमा आएको परिवर्तन ।

पहिले ठूलोबुबा, सानोबुबा, काका, मामा, भाइ–भतिजा भन्ने जुन नाता जोडिन्थ्यो, त्यो निकै महत्वपूर्ण मानिन्थ्यो । अब त्यो सम्बन्धमा परिवर्तन आयो । जीविकोपार्जनका लागि मानिस फरक मान्छेसँग बस्न थाले । घरबाट टाढा बसाइँ सरेर जान थाले । कामको दौरान नाता कुटुम्बभन्दा पेसागत सम्बन्ध बलियो हुँदै गयो । अब आपत्विपत् पर्दा नाताकुटुम्बका मानिस होइन, आफ्नो पेसासँग नजिकका मान्छेबाट सहयोग लिनुपर्ने भयो । भेटघाट, लेनदेन, सुखदुःख बाँड्ने काम एउटै पेसामा आबद्ध मानिसबीच हुन थाल्यो । हिजोको रक्तसम्बन्धमा जोडिएका सम्बन्धभन्दा पेसागत सम्बन्ध बलियो हुन थाल्यो । यो परिवर्तन जीविकोपार्जनमा आएको परिवर्तनले ल्यायो ।

गैरकृषि क्षेत्रमा हिजोको भन्दा फरक वर्ग जन्मियो । त्यो वर्गले खाने ठाउँ फरक भयो, सामान किन्ने ठाउँ फरक भयो । भेटघाट हुने ठाउँ फरक भयो । संस्कार र संस्कृति मान्ने तरिका फरक भयो । जस्तै तिजको दर खाने  ठाउँ होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेस भए । सामान किन्न सपिङ मल जाने भए । खान गतिलो रेस्टुरेन्टमा जाने भए । किनभने त्यो वर्गसँग पैसा भयो । खर्च गर्ने क्षमता पनि भयो । त्यहाँ पुग्न नसक्ने वर्ग १५ रुपैयाँ कपमा सडक र गल्लीमा चिया पिउनुपर्ने भयो । अहिले गाउँ होस् वा सहर, आर्थिक हिसाबले फरक–फरक वर्ग देखिन्छन् । एउटा वर्ग कमाइ गरेर खर्च गर्ने वा लगानी गर्ने ठाउँ खोजिरहेको छ, अर्को वर्ग सडकको सडकमै छ । यो अवस्था जीविकोपार्जनमा आएको परिवर्तनले ल्याएको हो ।

बीस–तीस वर्षअघिसम्म धेरै मान्छेसँग पैसा नै हुँदैन थियो । किनकि त्यसवेला कमाइ नै थोरै हुन्थ्यो । अहिलेको मानिस बिहान एउटा काम गर्छ, दिउँसो अर्को काम गर्छ, साँझ अर्को काम गर्छ । काम गर्न सक्नेले जति पनि काम गरिरहेको छ । सीप, क्षमता र ‘आफ्नो मान्छे’ हुनेले काम र दाम दुवै पाउँछ । अर्को कामै नपाउने वर्ग पनि छ । त्यसैले समाजमा असमानता बढेको छ, भन्ने बिर्सनुहुन्न ।

जीविकोपार्जनमा आएको फेरबदलले जातीय व्यवस्था र जातीय सम्बन्धमा पनि फेरबदल ल्यायो । पहिले जात व्यवस्थाको आधारमा सम्बन्ध स्थापित हुन्थ्यो । अहिले दलित र गैरदलित एकै ठाउँमा बसेर पढ्न, खाना खान र काम गर्न सक्छन् । जातीय आधारमा ‘उच्च’ र ‘निच’ सम्बन्ध अहिले अलि कमजोर हुँदै गएको छ ।

नेपालमा सबैभन्दा ठूला छाला जुत्ता कारखानाका मालिकहरू बाहुन र क्षेत्री छन् । यदि परम्परागत जातको कुरा गर्ने हो भने भने त्यो दलित हुनुपथ्र्यो, सार्कीको हुनुपथ्र्यो । जातको आधारमा काम गर्नुपर्ने परम्परा कमजोर हुँदै गयो । यसको मतलब नेपालमा जात व्यवस्थाको अन्त्य भइसक्यो भन्ने होइन । जात व्यवस्था अझै बलियो छ । यसलाई धेरै भत्काउन बाँकी छ । तर, जातीय व्यवस्था पहिलेको तुलनामा अहिले कमजोर भएको छ । त्यो कमजोर हुनुको मुख्य कारण पनि जीविकोपार्जनमा आएको फेरबदलले नै हो ।

अर्को महत्वपूर्ण पक्ष लैंगिक सम्बन्धमा पनि फेरबदल आयो । जब जीविकोपार्जनमा फेरबदल आयो, त्यसपछि महिलाहरू घरबाहिर निस्किन थाले । महिलाहरूले पढ्ने, काम गर्ने, आम्दानी गर्ने अवसर पाए । पढिसकेपछि विभिन्न क्षेत्रमा उनीहरूको सहभागिता बढ्यो । नेपालमा माओवादी द्वन्द्व र राजनीतिक परिवर्तनपछि महिलाहरूको  सहभागिता झनै बढ्यो । हामीले महिला प्रधानन्याधीश, महिला राष्ट्रपति, महिला सभामुख पायौँ । भर्खर मात्रै सम्पन्न दक्षिण एसियाली खेलमा पनि पुरुषभन्दा महिलाले धेरै पदक पाए । जीविकोपार्जन र आर्थिक पक्षमा आएको फेरबदलले यसमा भूमिका खेलेको छ । यदि समाजमा असमानता हट्ने खालको नियम राज्यले ल्याउने हो भने महिला सहभागिता मात्र होइन, सम्बधविच्छेद पनि बढ्छ, जसलाई अन्यथा ठान्न सकिँदैन ।

समाजमा जीविकोपार्जनका जति बढी सम्भावना बढ्यो, त्यति बढी लोकतान्त्रिक मूल्य–मान्यताको विकास हुन्छ । किनभने मानिसमा डर कम हुन्छ । ऊसँग विकल्प हुन्छन् । मानिस रैतीपनबाट मुक्त हुँदै जान्छ । त्यसले सही अर्थमा लोकतन्त्र बलियो बनाउँछ । जीविकोपार्जनका प्रचुर सम्भावनासहितको आर्थिक विकास भएन र असमानता बढ्दै गयो भने जे–जस्तो राजनीतिक नारा लगाए पनि मानिसको वास्तविक जीवनमा खासै परिवर्तन आउँदैन । राजनीतिक शब्दले भोको पेट भरिँदैन ।

स्रोतः https://jhannaya.nayapatrikadaily.com/news-details/718/2019-12-28?fbclid=IwAR3JOusJzwcvHyqOTDF1c7fjSMzV-EKtGUq2CIhZ6jv8vXpxQovOXzd6W4g


About the Author

Madhusudan Subedi मधुसूदन सुवेदी

Central Dept. of Sociology/Anthropology, Kirtipur