अनि नेपालमा खुल्यो बोर्डिङ स्कुल ! 

- लोकरञ्‍जन पराजुली | 2024-03-16

२००७ सालको राजनीतिक घटनाक्रमले नेपालमा पहिलो अंग्रेजी ‘बोर्डिङ’ खुल्ने प्रयासलाई थप पर धकेल्यो, तर समाप्तै पार्न सकेन राणाकालमा नेपालका कति विद्यार्थी भारतका ‘बोर्डिङ’ स्कुलमा पढ्थे ? कति खर्च विदेशिएको थियो ?

सो स्कुलमा पढ्न पढाउन इच्छा भएका संरक्षकहरूले आफैं वा आफ्नै तहबिलद्वारा यो यो श्रेणीमा यति लडका आउनेछन् भनी आजका १५ दिनभित्र श्री डाइरेक्टर जनरल, शिक्षा विभाग (अंग्रेजी फाँट) घण्टाघरलाई जनाउ दिनुपर्छ । स्थानाभाव भएमा यो सूचनाको ख्याल नराख्नेले ठाउँ पाउने छैनन् ।

तात्कालिक राणा सरकारले नेपालमा ‘आधुनिक’ खाले ‘बोर्डिङ’ स्कुल खोल्ने सोच बनाइरहेको यो सूचनाले बताउँछ । आफू शासनमा आइसकेपछि राणा प्रधानमन्त्री पद्मशमशेरले सार्वजनिक शिक्षा लगायतका क्षेत्रमा विभिन्न परिवर्तन गर्न खोजेका थिए । सोही क्रममा भारतमा मोहनदास गान्धीले अगाडि बढाएको बुनियादी शिक्षालाई नेपालमा आधार शिक्षा प्रणालीका रूपमा लागू गर्ने तयारी गरिँदै थियो । सँगसँगै मुलुकभित्र एउटा अंग्रेजी बोर्डिङ स्कुल खोल्ने योजना पनि पद्मले अगाडि बढाउन खोजेको देखिन्छ ।

नेपालमा ‘आधुनिक’ अर्थात् अंग्रेजीसमेत पढाइने स्कुलको स्थापना जंगबहादुर बेलायतबाट फर्केपछि (वि.सं. १९१० मा) सुरु भयो, जुन पछि गएर दरबार स्कुल नाउँले चिनियो । राणाकालको अन्तिम पाउमा अन्य केही ‘पब्लिक’ स्कुल पनि नेपालमा खोलिए । तर, यी आवासीय (रेजिडेन्सियल वा बोर्डिङ) स्कुल थिएनन् । नेपालमा चलिआएका गुरुकुलीय पाठशाला र गुम्बामा हुने पढाइलाई रेजिडेन्सियल भन्न मिल्थ्यो, तर ती ‘आधुनिक’ स्कुल थिएनन् । अर्थात्, नेपालमा २००३ सालअघि एउटै आधुनिक बोर्डिङ भन्न मिल्ने स्कुल स्थापना भएको थिएन । त्यसैले, राणा शासक, भारदार र हुनेखाने वर्गले सन्तानलाई भारतका विभिन्न सहरमा रहेका त्यस्ता स्कुलमा पढ्न पठाउँथे । यसरी नेपालीहरू लर्को लाएर विदेशिँदा तिनले नेपालबाट रकम त लैजान्थे नै, ती राज्यसत्ताले चाहेभन्दा भिन्न खाले ज्ञान पनि हासिल गर्थे । तर, पछिल्लो समय छिमेकी भारतमा धार्मिक असहिष्णुता बढेको र धर्मकै नाउँमा दंगा–फसादसमेत हुने क्रम देखिएकाले यताबाट भारत पढ्न गएका बालक (केही बालिका पनि) का अभिभावक अलि डराएका थिए । छिमेकी भारतमा भएजस्तै आधुनिक बोर्डिङ स्कुल नेपालमा नै हुँदो हो त आफ्ना सन्तानलाई उता पठाउनु पर्दैनथ्यो भनेर उनीहरूले शासककहाँ कुरा पुर्‍याए ।

भाइ–भारदारको माग र बदलिँदो वैश्विक परिस्थिति मनन गर्दै तात्कालिक शासक पद्मले नेपालमा नयाँ स्कुल खुल्यो भने कति अभिभावकले सन्तान पढाउलान् भनेर बुझ्न माथि उद्धृत सूचना प्रकाशन गरेका हुन् । उक्त सूचनामा पढाइने विषय र प्रतिविद्यार्थी प्रतिमास लाग्ने अनुमानित शुल्क पनि खुलाइएको छ ः ‘साधारण शिक्षा, धर्मशिक्षा, कलाशिक्षा, खान, बस्न, साधारण खेल र औषधि इत्यादिका लागि समेत फिस महिना एकको मोहरू १००।– जति पर्न आउने अन्दाजी लगाइएको छ ।’

‘गोरखापत्र’ मा यो सूचना छापिएकै दिन यसै विषयमा एउटा छोटो सम्पादकीय पनि सो पत्रिकाको दोस्रो पातोमा प्रकाशित छ । आवासीय स्कुल खुल्ने समाचारलाई उसले स्वागत गर्‍यो, ‘नेपालको अंग्रेजी शिक्षा विभागले पनि छात्रावास खोल्ने भयो भने सुन्दा खुसीले आज यो लेखकको कलम पनि लर्बराइरहेछ । ... जसले यो शुभ योजनाको जग बसाल्यो त्यसको जय भगवान् रामले गरून् ।’ तर सँगै, मासिक शुल्क चर्को भएकाले ‘यसबाट धेरै नै मध्यम गृहस्थीका सन्तानहरूको सुधार भै त्यसबाट नेपालैका सौभाग्यको आशा गर्न’ नसकिने पनि सो सम्पादकीयमा लेखिएको छ । ‘कदाचित ... सस्तै दर बस्यो भने ता जमिनदार अफिसरहरूले मात्र होइन, साधारण गृहस्थीले पनि लाभ उठाउन पाउनेछन्’ भन्ने आशासमेत त्यहाँ गरिएको छ । बोर्डिङ स्कुलसम्बन्धी सूचना र सम्पादकीय छापिएको ११ दिनपछिको ‘गोरखापत्र’ मा कुनै कृष्णप्रसाद देवकोटाको नाउँमा ‘छात्रावासको फिस’ शीर्षकको एउटा पाठक–पत्र प्रकाशित छ । पत्रले पनि सम्पादकीय टिप्पणीकै भाका बोलेको छ ः ‘छात्रावाससहितको पाठशाला खुल्ने भयो भन्ने लेख पढ्न पाउनु साह्रै नै खुसीको कुरा हो । लाग्यो, तर साथसाथै खिन्नता पनिÙ किनकि मैह्रा १ को १०० । तिर्नु पर्ने रे ! आङै सिरिङ्ग हुने कुरा !’

देवकोटालाई पनि खिन्न बनाउने कुरा मासिक शुल्क थियो । उनी अगाडि लेख्छन्, ‘बेगर २४००/३००० सालको आमदानी नहुनेले त छोरा पाउनै परेन । नपाउनु क्याहो त पढाउनु पर्दैन । १२०० त छोरालाई मात्रै चाहियो ।’ उनी थप्छन्, ‘१२०० सम्म आम्दानी हुनेले त यस कुरा अर्थात् सो स्कुलमा बच्चा पढाउने कुरो मा सोच्नै पर्दैन । ...अरू जाहान बच्चालाई कसरी ख्वाउनु नि ! सकल जाहान बच्चा त छात्रावासमा पालिने छैनन् क्यारे । अवश्य सबैजना बिर्तावालै मात्र छैनन् ।’ पाठक देवकोटाको जिरहलाई ‘गोरखापत्र’ का सम्पादकले समर्थन गरे, ‘यो चिठीको लेखाइबमोजिम खर्च घट्न सक्छ भने बहुतै बेस कुरा हो । त्यसो भए सर्वसाधारणले पनि लाभ उठाउन सक्ने थिए ।’

राणाकालमा राणा–नीतिको आलोचना गर्दै ‘गोरखापत्र’ मा पत्र छपाउने लेखक देवकोटा को–कसो हुन्, यसै भन्न सकिएन । उनीबाहेक ‘गोरखापत्र’ का सम्पादकले एक होइन दुई–दुई पटक राणा–नीतिप्रति असन्तोष जनाए—पहिले सम्पादकीयमा र पछि देवकोटालाई समर्थन गरेर । तात्कालिक समयमा प्रेमराज शर्मा (पौडेल) ‘गोरखापत्र’ का सम्पादक थिए । हुन त पद्मशमशेर आफ्ना पूर्ववर्ती राणाभन्दा भिन्न थिए, समाजमा अलि खुलापन ल्याएका थिए, तर त्यति हुँदाहुँदै पनि यदि प्रेमराज स्वयंले नै जोखिम उठाएर सो पत्र र टिप्पणी प्रकाश गरेका हुन् भने सो घटना पनि आफैंमा रोचक हो । यहाँनेर ती सबै कृत्य प्रेमराजकै हुन् वा होइनन् भनेर शंका उब्जाउने पर्ने कारण किन छ भने त्यस बखत ‘गोरखापत्र’ को ‘म्याटर’ तयार गरी तालुकवाला राणाकहाँ पठाइन्थ्यो, र उताबाट काँटछाँट वा थपघट गरेर आएको सामग्री मात्रै प्रकाशन हुन्थ्यो ।

कारण जेसुकै भए पनि नेपालमा खोल्ने भनिएको पहिलो अंग्रेजी बोर्डिङ स्कुल त्यतिबेला खुल्न सकेन । पद्मशमशेर प्रधानमन्त्री रहुन्जेल यस विषयमा थप चर्चा भएको पनि देखिएन । तर, चार वर्षपछि, पद्मका पश्चवर्ती राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा, नेपालमा बोर्डिङ खोल्ने विषय पुनः ब्युँतियो ।

२००७ सालको साउन महिनाका ‘गोरखापत्र’ मा शिक्षा विभागको अर्को सूचना प्रकाशित छ । सो सूचना पद्मको पालाको भन्दा थोरै भिन्न छ : ‘हिन्दुस्थान र अरू ठाउँमा भएको किसिमको छात्रावाससहितको रेसिडेन्सियल पब्लिक स्कुल’ यहाा नभई संरक्षकहरूलाई आफ्ना लडकाहरूलाई विदेशमा पठाउनु परिरहेको मर्काको बेहोरा श्री ३ महाराजका हजुरमा जाहेर हुँदा दुनियाँको यस्तो किसिमको संस्था खुलाई पाऊँ भन्न कतिको माग हुन्छ सो बुझ्नू भन्ने हुकुम बक्सेकाले यो सूचना दिने काम भएको छ ।’ नयाँ खुल्ने स्कुलको फी हिन्दुस्तानमा भन्दा कम लाग्ने इन्तजाम गरिएको भन्दै आफ्ना लडकाहरूलाई पढाउन चाहनेले सम्पर्क गर्नसमेत सो सूचनामा भनिएको छ ।

यो नयाँ सूचना जारी भएको दुई महिनापछि मोहनशमशेरले नेपालको पहिलो संसद्को उद्घाटन गरेका थिए । उनको उद्घाटन भाषणमा पनि उक्त नयाँ खोल्ने भनिएको स्कुलको प्रसंग आएको छ, र अझै ‘अध्ययन’ नसकिएको सो भाषणले जनाउँछ ः ‘अंग्रेजी पद्धतिअनुसार यहाँ पनि एक सार्वजनिक स्कुल खोलेमा धेरै अभिभावकहरूले त्यसबाट लाभ उठाई आफ्ना लडका विदेश पठाउन पर्दा उता जाने पैसाको बचाउको साथसाथै यहाँ त्यस प्रकारको एक स्कुलको दरकार पनि हाम्रो शिक्षा विभागले अध्ययन गरी हामीमा जाहेर गर्ने भएका छन् ।’

प्रधानमन्त्रीको भाषणको एक महिनापछि, कार्तिक १८ गते, शिक्षा विभागको अर्को सूचना आउँछ । आवेदनपत्रहरूको अध्ययन सकिएको र अब प्रधानमन्त्रीको निर्देशनबमोजिम ‘छात्रावास सहितको रेजिडेन्सियल पब्लिक स्कुल गोदावरी वा यस्तै अरू स्वास्थ्यकर ठाउँमा चाँडै खुल्ने भएकाले भर्ना गर्न चाहनेहरूले भर्ना हुनेको नाम, थर, उमेर र भर्ना हुने कक्षासमेत खोली चाँडो दरखास्त दिनू’ —उक्त सूचनामा भनिएको छ ।

यो सूचना छापिएको चार दिन नपुग्दै नेपालमा ठूलो राजनीतिक हडकम्प मच्चियो । तात्कालिक राजा त्रिभुवन सपरिवार पहिले भारतीय दूतावास लैनचौरमा र पछि भारतमा शरण लिन गए । कार्तिक २३ गते त उनका माहिला नाति ज्ञानेन्द्रको राज्यारोहणसमेत भयो । यसबीच नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गर्‍यो, जुन केही महिना चलेर (दिल्ली) सम्झौतामा पुगेर टुंगियो । त्रिभुवन सपरिवार नेपाल फर्किए र फागुन ७ गते एउटा घोषणा गरे, जस अनुसार नेपालबाट १०४ वर्षे राणा शासन करिब–करिब समाप्त भयो । नयाँ विकसित राजनीतिक घटनाक्रमले नेपालमा पहिलो अंग्रेजी ‘बोर्डिङ’ खुल्ने प्रयासलाई थप पर धकेल्यो, तर समाप्त नै चाहिँ पार्न सकेन । २००७ सालको चैतको अन्तिम दिन र वैशाखका पहिलो साता शिक्षा मन्त्रालय (पहिलेको पब्लिक इन्स्ट्रक्सन्स डिपार्टमेन्टले गर्ने काम २००७ सालको परिवर्तनपछि शिक्षा मन्त्रालय मातहत आएको हो) ले ‘गोरखापत्र’ मा सूचना प्रकाशन गरेर नेपालमा खुल्न लागेको स्कुलको थप विवरण पस्कियो । पहिले–पहिलेका सूचनामा विद्यालय सञ्चालन हुने स्थान, फी–स्ट्रक्चर, कक्षाहरू आदिबारे प्रस्टता थिएन, जुन यो पछिल्लो सूचनाले चिर्‍यो ।

तात्कालिक समयमा नेपालबाट कति विद्यार्थी भारतका ‘बोर्डिङ’ स्कुलहरूमा पढ्थे, तिनको पढाइमा कतिजति खर्च नेपालबाट विदेशिइरहेको थियो भन्ने जानकारीसमेत यो सूचनाबाट पाउन सकिन्छ । उक्त सूचना अनुसार तात्कालिक समयमा दार्जिलिङ, पटना, नैनीताल, मसुरी, देहरादून, सिमला आदि स्थानमा नेपालीहरूले आफ्ना करिब २०० सन्तान बोर्डिङ स्कुलमा पढ्न पठाइरहेका रहेछन् । त्यसरी जाने विद्यार्थीहरूको पढाइमा लत्ताकपडा र आवतजावत गर्ने खर्चबाहेक कमसेकम १५०० रुपियाँ प्रतिवर्ष लाग्दो रहेछ । अर्थात् ती विद्यार्थीले नेपालबाट सालिन्दा ३ लाख रुपियाँ विदेश लैजाँदा रहेछन् । यसले देखाउँछ, आज मात्रै होइन, उहिलेदेखि नै नेपाली विद्यार्थीले विदेशमा पढ्न पैसा खर्चंदा रहेछन् ।

शिक्षा मन्त्रालयको पछिल्लो सूचनाले नेपालको पहिलो अंग्रेजी बोर्डिङ स्कुल गोदावरीमा खुल्ने भएको निश्चित गर्‍यो । साथै, सो स्कुलमा ७ देखि १३ वर्षसम्मका बालकहरूलाई जाँची भर्ना गरिने, पहिलो वर्ष चार कक्षा मात्र खुल्ने, पछि सालैपिच्छे एकेक कक्षा खोली दस कक्षासम्म पुर्‍याइने भनियो । सो स्कुलले सिनियर केम्ब्रिजको कोर्स पढाउने र यहीं नै केम्ब्रिज सेन्टर सञ्चालन गरी परीक्षा लिनेसमेत सो सूचनामा जनाइएको छ । छात्रावासमा बसेर पढ्ने विद्यार्थीलाई मासिक ६५ रुपियाँ शुल्क तोकिएको देखिन्छ । पहिले लिने भनिएको मासिक अन्दाजी १०० रुपियाँभन्दा यो पछिल्लो शुल्क एक तिहाइले थोरै भए पनि, सो रकम त्यस बखत ठूलै थियो र सामान्यजनको बुताभन्दा बाहिरको विषय थियो ।

तर, सायद यी सबैभन्दा महत्त्वपूर्ण कुरा यो प्रयत्नमा एउटा नयाँ एक्टर (खेलाडी) को प्रवेश थियो । शिक्षा मन्त्रालयको पछिल्लो सूचनामा ‘पटना सन्त जेभियरका प्रिन्सिपल मार्सल डी. मोरानद्वारा अमेरिकन स्टाफ राखी गोदावरीमा स्कुल खुल्ने भएको’ जानकारी दिइएको छ । थप त्यहाँ भनिएको छ, ‘हाम्रो नेपाली दुई जना शिक्षक पनि रहने भएका छन् । तिनीहरूमध्ये एकले नेपाली र संस्कृत पढाउने र अर्काले खेलकुदको काम सिकाउने भएका छन् ।’ साथै, ‘सो संस्थामा हाम्रो धर्मबाहेक अरू कुनै धर्म प्रचार गर्न नपाउने गराइएको’ कुरा पनि सूचनमा उल्लेख छ ।

सरसर्ती हेर्दा २००७ सालको परिवर्तनपछि कहाँबाट अचानक अमेरिकी जेसुइट मिसनरी नेपालमा बोर्डिङ खोल्न छिरे भन्ने लाग्न सक्छ । तर, २००६ सालमै मोरान नेपाल आएका थिए र एक महिना बसेका थिए— पटना विश्वविद्यालयबाट त्रिचन्द्र कलेजको परीक्षा सञ्चालन गर्नका लागि । त्यतिबेला त्रिचन्द्र कलेज पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर चलिरहेको थियो र हरेक वर्ष परीक्षा समयमा सो विश्वविद्यालयबाट परीक्षा सञ्चालक यहाँ आउँथे र परीक्षा चलाउँथे । मोरान पटनाको सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल थिए र पटना विश्वविद्यालयको सिनेट सदस्य पनि । सिनेट सदस्य भएकैले उनी परीक्षा चलाउन नेपाल आउन पाएका थिए— नत्र त्यतिबेला विदेशी पादरी सहजै नेपाल आउन पाउँदैनथे ।

नेपालमा रहँदा उनले शिक्षा विभागका प्रमुख मृगेन्द्रशमशेर र प्रधानमन्त्रीसँग स्कुल खोल्नका लागि कुरा चलाएका थिए । र, सम्भवतः सोही कारण मोहनशमशेर सरकारले बोर्डिङ स्कुल खोल्ने सूचना जारी गरेको थियो । तर, सो स्कुल गोदावरीमै खुल्ने कुरासमेत सो सूचनामा निश्चित गरिएको थिएन— विदेशी पादरीले स्कुल सञ्चालन गर्ने कुरा त परै जाओस् । मोरानका जीवनी–लेखक डोनाल्ड मेसरस्मिड्टलाई मान्ने हो भने मोरानकै जोडबलमा मृगेन्द्र/मोहनशमशेरले सो स्कुल खोल्न आाटेका थिए— यद्यपि, पद्मकै पालामा त्यस्तो स्कुल सरकार आफैंले खोल्ने परिकल्पना भइसकेको कुरा माथि आइसकेको छ । यदि राणा (मोहन) कालमै सो विद्यालय खुल्दो हो त त्यो जेसुइट स्कुल हुन्थ्यो–हुन्थेन, त्यसमा अमेरिकी पादरीहरूको पूरै हालीमुहाली हुन्थ्यो–हुन्थेन यसै भन्न सकिन्न ।

२००७ सालको जनआन्दोलनपछि नृपजंग राणा शिक्षामन्त्री बनाइए । राणालाई मार्शल मोरानले टेलिग्राम पठाए— अघिल्लो सरकारले नेपालमा बोर्डिङ स्कुल खोल्न तयारी गरेर हामीसँग कुराकानी अगाडि बढाएको थियो । नयाँ सरकारले पनि सो योजनालाई अगाडि बढाओस् । नयाँ सरकारले पनि मोरानको कुरा मान्यो र २००७ सालको परिवर्तन लगत्तै गोदावरीमा सेन्ट जेभिएर स्कुल खोल्ने कुरा अघि बढ्यो । मोरान आफ्ना सहयोगीहरूसँग आएर गोदावरीमा डेराडन्डा जमाएर बसे र स्कुल सञ्चालनको तयारी गर्न थाले । सरकारले पनि उनलाई सघायो ।

गोदावरी स्कुलमा पढ्न चाहने विद्यार्थीका लागि २००८ सालको जेठको पहिलो साता सूचना प्रकाशित गरियो । जेठको तेस्रो सातासम्ममा भर्ना हुने विद्यार्थीको सूची पनि प्रकाशन गरिसकिएको थियो । कक्षा १ देखि ५ कक्षासम्म गरी जम्मा ५८ विद्यार्थी प्रारम्भमा भर्नाका लागि छानिए— सबैभन्दा धेरै दुई कक्षामा २२ जना र सबैभन्दा थोरै पाँच कक्षामा एक जना । भर्ना हुनेमा प्रभाकरशमशेर राणा (कक्षा २) देखि भारतदत्त कोइराला (कक्षा ४) सम्म देखिन्छन् । प्रतिमहिना ६८ रुपियाँ फी बुझाउनुपर्ने (६५ पढाइ, २ खेलकुद र १ धोवी) भएकाले यो स्कुलमा प्रारम्भिक दिनमा पढ्नेहरू नेपालका हुनेखाने वर्गकाहरू नै थिए ।

सबै तयारीपछि असार १७, २००८ देखि औपचारिक रूपमा गोदावरीमा ‘आधुनिक’ बोर्डिङ स्कुल खुल्यो । यो सँगसँगै, उपत्यकामा अरू ‘बोर्डिङ’ स्कुल खोलिन थाले ।

गोदावरीमा स्कुल खुलेको एकाध महिना नबित्दै सत्यनारायण बहादुरहरूले फर्पिङमा अर्को बोर्डिङ खोल्ने प्रयास गरे र माघमा सो स्कुल उद्घाटन भई सञ्चालनमा आयो ।

यसरी २००७ सालपछि नेपालमा ‘आधुनिक’ बोर्डिङ स्कुलको इतिहास सुरु भयो ।

प्रकाशित : चैत्र ३, २०८०
स्रोत : https://ekantipur.com/koseli/2024/03/16/and-a-boarding-school-opened-in-nepal-06-17.html


About the Author

More Blogs