इन्टरनेटमा हामी कति सुरक्षित?

- हर्षमान महर्जन | 2022-04-26


हर्षमान महर्जन 

२०७७ चैतमा यूट्युबमा भिडिओ राखिएपछि सुर्खेतकी एक राउटे युवती भाइरल भइन्। राउटे बस्तीमा यूट्युब र टिकटकका लागि उनीसँग भिडिओ बनाउनेको भीड लाग्यो। त्यस्तैमा अर्को भिडिओ बाहिरियो, जसले २०७८ जेठ २१ मा गुर्भाकोट नगरपालिका-९ बोटेचौर बजार घुम्न गएको वेला उनी र अर्की राउटे युवतीलाई मदिरा खुवाई होटलमा लगेर यौन दुर्व्यवहार गरिएको तथ्य सार्वजनिक भयो।

जेठ २३ मा उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरू विरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाइएको छ। उक्त भिडिओमा युवतीको नाम र पहिचान खुलाइएकाले गोपनीयताको हकको समेत हनन भएको थियो।

डिजिटल संसारमा गोपनीयताको संरक्षण आफैंमा जटिल विषय हो। सामाजिक सञ्जालका हकमा यो झनै संवेदनशील छ। व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन, २०७५ ले व्यक्तिको आवास, जीउ, सम्पत्ति, तथ्याङ्क, लिखित पत्राचार र चरित्रबारे गोपनीयताको हक सुनिश्चित गरेको छ।

हामीकहाँ हालै एक अभिनेतालाई लागेको यौन दुर्व्यवहारको अभियोगमा पीडित नाबालिग किशोरीको गोपनीयताबारे चर्चा भइरहेको छ। पत्रकारिताको निगरानी गर्ने प्रेस काउन्सिल नेपाल, नेपाल मानव अधिकार आयोग जस्ता संस्थाले पनि गोपनीयताबारे चासो देखाउन थालेका छन्। सामाजिक सञ्जाल र गोपनीयताको चर्चा गर्दा मुख्यतः तीन मुद्दा महत्त्वपूर्ण छन्।

पीडितको गोपनीयता

२०६३ सालमा अधिवक्ता सपना प्रधान मल्लले गोपनीयताको हक सुरक्षित गर्न नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८ (२) बमोजिम परमादेशको माग गरी त्यस सम्बन्धी कानून नबनेसम्म ‘निर्देशिका जारी गरी पाऊँ’ भनी रिट दर्ता गरेकी थिइन्।

उक्त रिटमा २०६४ पुसमा फैसला गर्दै सर्वोच्च अदालतले ‘पीडित बालबालिका, महिला र एचआईभी लागेका व्यक्ति भएका विशेष प्रकृतिको मुद्दा प्रहरी, अदालत वा अन्य ठाउँमा दर्ता वा फैसला गर्दा तिनको गोपनीयता कायम गर्नू’ भनेको थियो।

त्यस्तै ‘विशेष प्रकृतिका मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४’ जारी गर्दै यस्ता व्यक्तिको सूचना प्रकाशन कानूनी प्रक्रियाबाट वा व्यक्तिको स्वेच्छा बाहेक अरू वेला गर्न बन्देज लगाइयो।

सुर्खेत घटनामा राउटे युवतीको गोपनीयताको अधिकार हनन भएको बहस चलिरहँदा गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पीडितको गोपनीयता भन्ने कुरा केही नै बाँकी नराखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

जेठ २३ मा नेपाल मानव अधिकार आयोगले पनि पीडित युवतीको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा दिन अनुरोध गर्दै विज्ञप्ति जारी गर्‍यो। त्यसपछि पनि युवतीको अनुहार र नाम स्पष्ट खुल्ने थप भिडिओ बनाई सामाजिक सञ्जालमा राख्ने क्रम रोकिएन।

बढीभन्दा बढी ‘भ्यूज’ बटुल्न यूट्युबरहरू युवतीको घरमै गई भिडिओ बनाउनतिर लागे। त्यसपछि नेपाल यूट्युब पत्रकार सङ्घले यूट्युबरहरूलाई यसरी पैसा कमाउनकै लागि सनसनीपूर्ण भिडिओ नबनाउन अनुरोध मात्र गरेन, साइबर ब्यूरोमा उजुरी गर्ने चेतावनी समेत दियो।

तर, यूट्युबमा उपलब्ध सङ्घको उक्त भिडिओमै प्रस्तावित अध्यक्ष प्रकाशचन्द्र दाहालले ती दुई महिलाको नाम लिएका छन्। यसबाट पीडितको नाम उल्लेख गर्न नहुने कानूनबारे जिम्मेवार व्यक्ति नै अनभिज्ञ रहेको या त हेलचेक्य्राइँ गरेको देखिन्छ।

पीडितको गोपनीयताको हकको जानाजान उल्लङ्घन हुँदा पनि यसमा कारबाही गर्न त्यति सजिलो देखिंदैन। सामान्यतया सामाजिक सञ्जाल यस्तो डिजिटल मञ्च हो जसले प्रयोगकर्तालाई सामग्रीको निर्माण, सहनिर्माण, परिवर्तन, वितरणमा संलग्न भई व्यक्ति, समाज र संस्थासँग जोडिन सघाउँछ।

यसको अर्थ कुनै सामग्री एक चोटि सार्वजनिक भएपछि त्यसको प्रयोग जसरी अनि जहिले पनि हुन सक्ने भयो। जस्तो, राउटे युवतीको भिडिओ भाइरल भएपछि त्यसलाई हटाउन प्रहरीले निकै प्रयास गर्‍यो, तर सफल भएन।

बालबालिकाको गोपनीयताको हक

व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन, २०७५ मा १८ वर्षभन्दा कम उमेरका व्यक्तिको वैयक्तिक गोपनीयताको संरक्षक अभिभावकलाई मानिएको छ। तर, व्यवहारमा अभिभावकले सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयताको हकलाई कम महत्त्व दिएको देखिन्छ।

अभिभावकले बालबालिकासँग जोडिएका सामग्री अत्यधिक शेयर गर्दा नैतिकताको प्रश्न समेत उठेको छ। अहिले आमाबुबाले बच्चा गर्भमा रहेदेखि नै तस्वीर/भिडिओ शेयर गर्न थालेका छन्। बच्चा जन्मनु अघिदेखि नै उसका विवरण यस्ता सञ्जालमा पुग्छन्।

बालबालिकाका तस्वीर र भिडिओ यसरी साझा गरिनुलाई ‘सेरेन्टिङ’ भनिन्छ। हुन त अभिभावकले अरूसँग सम्बन्ध स्थापना गर्न अनि आफ्ना समस्या अवगत गराउन यसरी तस्वीर र भिडिओ शेयर गर्छन्।

अस्ट्रेलियाका अभिभावकमाझ गरिएको एक अध्ययनले युवा अभिभावक (२५-३४ उमेर समूह) यसरी शेयर गर्दा हुन सक्ने खतराप्रति सचेत नभएको देखाएको छ। बच्चाको गोपनीयतामा चासो भएका केही अभिभावकले भने बच्चाको अनुहार नचिनिने गरी राख्ने गरेको पनि पाइएको छ।

बालबालिकाको तस्वीर र भिडिओ शेयर गर्दा ती सामग्रीबाट भविष्यमा उनीहरूको जीवनमा केकस्तो असर पर्न सक्छ भन्नेबारे नेपालमा पनि सोच्नुपर्ने वेला आइसकेको छ।

डेटाको गोपनीयता

तेस्रो मुद्दा हो, प्रयोगकर्ताले सामाजिक सञ्जाललाई उपलब्ध गराएको डेटाको गोपनीयता। हुन त जुलाई ५, १९९३ मा अमेरिकी म्यागेजिन द न्यूयोर्करमा छापिएको कार्टूनमा एउटा कुकुरले अर्को कुकुरलाई भने जस्तो ‘इन्टरनेटमा तिमी कुकुर हौ भन्ने कसैलाई थाहा छैन’ भन्ने अवस्था अब रहेन।

सामाजिक सञ्जालसँग प्रयोगकर्ताको जातजाति, धार्मिक आस्था, शारीरिक/मानसिक स्वस्थता, यौनिक अभिमुखीकरण जस्ता वैयक्तिक सूचना मात्र होइन, व्यक्तिको रुचि, सम्बन्धबारेको विवरण समेत छ।

यस्तै विवरणको प्रयोग र प्रशोधनबाटै व्यापार गर्ने र त्यसलाई बढाउने काम सामाजिक सञ्जालले गर्छ। त्यसैले केही व्यक्ति यस्तो सञ्जाल/इन्टरनेटमै गोपनीयताको अन्त्य भएको बहस गरिरहेका छन्।

यस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्ना केकस्ता गोप्य विवरण सार्वजनिक भइरहेका छन् भन्नेमा धेरै जना चनाखो छैनन्। अध्ययनहरूले यस्तो सेवा लिंदा सहमति जनाउन प्रयोग गरिएका गोपनीयता नीति धेरैले नबुझ्ने वा नपढीकनै स्वीकार गर्ने गरेको देखाएका छन्।

अर्को कुरा, यसरी प्राप्त वैयक्तिक विवरण यस्ता सञ्जालले कसरी प्रयोग गरिरहेका छन् भन्नेमा प्रयोगकर्ता बेखबर छन्। त्यसैले यस्ता विवरण सुरक्षाको विषय महत्त्वपूर्ण छ।

हुन त आफ्नो कुरा गोप्य राख्ने/नराख्ने व्यक्तिको निजी सरोकार हो। गोपनीयताको प्रयोग र बुझाइ मुख्यतः तीन प्रकारका पाइन्छन्। पहिलो, गोपनीयतालाई धेरै महत्त्व दिने अनि कानूनी रूपमै यसको संरक्षण गर्नुपर्छ भन्ने। दोस्रो, गोपनीयतालाई त्यति महत्त्व नदिने। तेस्रो, गोपनीयतालाई महत्त्व दिने अनि त्यसको हनन हुन सक्नेमा सचेत रहने।

यी तीनमध्ये जुनै बुझाइका व्यक्ति भए पनि सामाजिक सञ्जालको प्रयोग गर्दा पीडित र बालबालिकाको गोपनीयताको हकको संरक्षण गर्नु सबैको दायित्व हो। अनि सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा केकस्ता वैयक्तिक विवरण डिजिटल कम्पनीलाई दिन मन्जुरी गरिंदै छ र यसको परिणाम के हुन सक्छ भन्नेमा पनि जागरुक हुनैपर्छ।

(मिडिया र प्रविधिमा रूचि राख्ने महर्जन मार्टिन चौतारीका अनुसन्धाता हुन्। हिमालको २०७९ वैशाख अंकबाट।)
प्रकाशन मिति : १३ वैशाख, २०७९
स्रोत : https://www.himalkhabar.com/news/129437


About the Author

हर्षमान महर्जन

Global Postdoctoral Scholar, Institute for Advanced Study in the Global South, Northwestern University in Qatar

More Blogs