पूर्वसैनिक : सबैभन्दा मूल्यवान् तत्त्व

- लोकरञ्‍जन पराजुली | 2023-08-28

नेपाल–अंग्रेज–युद्धमा गोर्खाहरूको बहादुरी देखेर ब्रिटिसहरू यति प्रभावित भए कि उनीहरूलाई आफ्नो सेनामा राख्ने निर्णय गरे

विश्वेश्वरप्रसाद कोइराला

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले लेखेका साहित्य र उनका राजनीतिक विचारहरूका संग्रह थुप्रै छापिएका छन् । ती अद्यापि खोजी–खोजी पढिन्छन् । उनका अप्रकाशित र सहज अप्राप्य लेख–रचना अझै आक्कल–झुक्कल पढ्न पाइन्छन् । प्रस्तुत लेख ५० वर्षअघि (२०३० सालमा) भारतबाट प्रकाशन हुने हिन्दी भाषाको प्रमुख साप्ताहिक म्यागेजिन ‘दिनमान’ मा छापिएको थियो, जतिखेर उनी भारतमा निर्वासित जीवन बिताइरहेका थिए । उनको स्मृति दिवसको छेकोमा पूर्वसैनिकमाथि ‘दिनमान’ मा प्रकाशित उनकै लेखको अनुवाद :

नेपालले निर्यात गर्ने सबैभन्दा मूल्यवान् वस्तु मानिस हो भन्ने एक रसिक अर्थशास्त्रीको भनाइमा ठूलो सत्यता छ, यद्यपि उनले वाक्विलासका लागि मात्रै त्यसो भनेका हुन सक्छन् । विदेशमा पठाइने नेपालको सबैभन्दा नाफा कमाउने कच्चा पदार्थ मान्छे भएकाले यसले उसको उन्नत देशको हैसियत प्रमाणित गरेको अर्का विनोदीले बताए । हुन पनि, यदि हरेक वर्ष हजारौँको संख्यामा नेपाली युवाहरू जीविकोपार्जनको खोजीमा भारत नझर्दा हुन् त नेपालको आर्थिक स्थिति झनै जटिल हुने थियो । मानव–कच्चा–पदार्थको निर्यातबाट नेपालले आफ्नो कष्टसाध्य अवस्थालाई अलि सहज तुल्याएको छ ।

भारतीय भू–भागमा झर्ने हजारौं नेपालीमध्ये केही सदाका लागि भारतीय जनसमूहमै विलय हुन्छन् । केही तल्ला तहका काम गरेर र थोरै कमाइ गरेर आफ्ना घर फर्कन्छन् । पहाडी युवाहरूका लागि सैन्य–सेवा आकर्षक पेसा हो । त्यसैले, भारत पुग्ने अधिकांश नेपाली त्यहाँको सैन्य–सेवामा भर्ती हुने अभिलाषा राख्छन् । सेनामा भर्ती हुन सफल नेपालीलाई लाहुरे भनिन्छ । लाहुरे शब्द लाहोरबाट बनेको हो । विदेशी सेनामा जागिरे हुने नेपालीलाई नेपालमा लाहुरे

(दाइ) भनिन्छ । रणजित सिंहको पालामा लाहोर (हाल पाकिस्तान) सिख साम्राज्यको राजधानी थियो । त्यसै बेलादेखि नेपाली युवाहरू सिख रेजिमेन्टमा भर्ती हुन लाहोर पुग्थे । सिख साम्राज्यको विस्तारमा नेपालीहरूको ठूलै योगदान छ । सन् १८१४–१८१६ को नेपाल–अंग्रेज युद्धक्रममा नालापानीको लडाइँमा दुश्मनहरूको दाँतबाट पसिना झारिदिने नेपालका एक राष्ट्रिय नायक बलभद्र कुँवर युद्धपश्चात् रणजित सिंहको सेनामै सामेल भएका थिए । सिख सम्राज्यको विस्तारक्रममा अफगानिस्तानको लडाइँमा सिख सेनाको तर्फबाट लड्दै गर्दा बलभद्रले वीरगति प्राप्त गरे । पछि, जतिखेर नेपालीहरू बेलायती सेनामा भर्ना हुन थाले, त्यतिखेरसम्म विदेशी सेनामा भर्ती हुने नेपालीहरूलाई लाहुरे भन्न थालिसकिएको थियो । लाहुरे संज्ञा ब्रिटिस सेनामा कार्यरत नेपालीका लागि पनि चल्न थाल्यो । अहिले भारतीय सेनामा भर्ती भएका नेपालीलाई पनि लाहुरे भनिन्छ ।

वर्तमान राजा (वीरेन्द्र) का पुर्खा पृथ्वीनारायण शाह गोरखा नाउँको एउटा सानो राज्यका राजा थिए । आफ्नो राज्यविस्तार क्रममा स–साना पहाडी राज्यहरू र अन्ततः काठमाडौं उपत्यकाका राज्यहरू जितेर उनले वर्तमान नेपाल राज्यको भौगोलिक जग बसाएका थिए । गोरखाका मूल बासिन्दा भएकाले उनीहरू आफूलाई गोर्खाली भनाउनमा गर्व गर्थे । गोर्खालीहरूको पल्टन भएकाले विदेशी सेनामा भर्ती हुनेहरूलाई गोर्खा (ली) भनिन्थ्यो । आज पनि भारतीय सेनाका नेपालीभाषी सैनिकहरूलाई गोर्खा भनिन्छ र तिनीहरू संलग्न भएको एकाइलाई गोर्खा रेजिमेन्ट/बटालियन भनिन्छ । भारतीय वा नेपाली जो भए पनि ती सबै नेपाली नै हुन् । र, गोरखा अहिले नेपालको सानो जिल्ला हो ।

काठमाडौं उपत्यका विश्वकै सुन्दर उपत्यकामध्ये एक त हुँदै हो, यसको समुन्नत कला र संस्कृतिको परापूर्वकालदेखिको अटुट इतिहास पनि छ । गोर्खालीहरूको विजयपछि यो इतिहासमा सैन्य मर्यादाको प्रभुत्व भयो । नेपाली कला–संस्कृतिको उत्थान रोकियो । उपत्यकाको नागरिक संस्कृति र इतिहास उपर पहाडी सैनिक शौर्य तथा वीरताको परम्परा स्थापित भएको छ, जुन आफ्नो हिसाबले गौरवमय छ ।

नेपाल–अंग्रेज–युद्धमा गोर्खाहरूको बहादुरी देखेर ब्रिटिसहरू यति प्रभावित भए कि उनीहरूलाई आफ्नो सेनामा राख्ने निर्णय तिनले गरे । र, सन् १८१६ मा सुगौली सन्धिपछि लडाइँ साम्य भएलगत्तै करिब तीन हजार नेपाली इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती गरिए । र, यसरी नै बेलायती सेनामा नेपालीहरूको एक गोर्खा पलटन तयार भयो । सन् १८२२ मा सबैभन्दा पहिले यी नेपाली सैनिकहरूले हिन्दुस्तान–विजय अभियानमा अंग्रेजहरूको तर्फबाट लडे र विजयी भए । त्यसपछि टाढा–टाढाका अन्यत्र देशमा समेत नेपालीहरूले आफ्नो सैन्य शौर्य र साहसको परिचय दिए ।

भारत स्वतन्त्र भएपछि ८ अगस्ट १९४८ मा भारत, नेपाल र बेलायतमाझ त्रिपक्षीय सम्झौता भएको थियो, जस अनुसार बेलायती सेनामा तत्काल कार्यरत नेपाली सैनिकहरू उनीहरूको रोजाइ अनुसार भारतीय र बेलायती सेनामा रहन पाउने भए । यो विभाजन अन्तर्गत आठौं गोर्खा बटालियनको पहिलो र दोस्रो गोर्खा राइफल्स तथा दोस्रो गोर्खा बटालियनका छैटौं, सातौं र दसौं गोर्खा राइफल्स ब्रिटिस सेनामा र बाँकी भारतीय सेनामा रहने भए । भारतीय भूभागमा रहेका ब्रिटिस गोर्खा भर्ती केन्द्रहरू सन् १९५२ मा भारतले बन्द गरिदियो । ततपश्चात् बेलायतीहरूले पूर्वी र पश्चिम नेपालमा गरी दुईवटा गोर्खा भर्ती केन्द्र स्थापना गरे । ब्रिटिस साम्राज्यको समाप्तिपछि अंग्रेजहरूलाई स्वेज पूर्वको नीति परिवर्तन गर्नुपर्‍यो र त्यसैले पहिलेजस्तो गोर्खालीहरूको आवश्यकता रहेन । अहिले बेलायती सेनामा थोरै गोर्खालीहरू बाँकी छन्, जो मुख्यतया हङकङमा छन् । भारतीय सेनामा ठूलो संख्यामा गोर्खालीहरू छन्, जसमध्ये अधिकांश नेपाली छन्, तर केही भारतीय गोर्खाली पनि छन् ।

पृथ्वीनारायण शाहले आफ्नो सानो पहाडी राज्य गोरखा नजिकैका अन्य पहाडी राज्य र काठमाडौं उपत्यकाका राज्यहरू जितेर विशाल नेपाल राज्य स्थापना गरेका थिए भनेर मैले पहिले नै भनिसकेको छु । उनका सन्तानहरूले पछि थप राज्य–विस्तार गरे । अठारौं शताब्दीको अन्त्यमा उनीहरूले चीनको आक्रमणको सामना गर्नुपर्‍यो । साथै, सन् १८१६ मा सुगौली सन्धि हुँदा आफूले पहिले जितेको केही भू–भाग गुमाउँदै अंग्रेजसँग सन्धि गर्नुपर्‍यो । यसरी गोर्खालीहरूको विजय अभियान उन्नाइसौं शताब्दीको दोस्रो दशकमा अन्त्य भयो । तर, शाह शासकहरूले विशाल नेपाली राज्यलाई सेनाबाहेक अर्को कुनै आधार दिन सकेनन् । बृहत् नेपाल–राज्यको स्थापना भइसकेपछि पनि उनीहरू आफूलाई गोर्खाली भन्नु/भनाउनुमै गौरव गर्थे । न उनीहरूले भावनाको स्तरमा राष्ट्रियताको आधार बनाए, न जनजीवनको स्थूल स्तरमा सांस्कृतिक, धार्मिक र राजनीतिक विकासको आधार नै निर्माण गर्न सके ।

विशुद्ध सेनाको बलमा, नेपाल एउटा विजित भू–भागजस्तै शासित भइरह्यो । परिणामतः सन् १८४६ मा पृथ्वीनारायणका वंशज शासकलाई कठपुतली बनाएर जंगबहादुर राणाले सम्पूर्ण राजाधिकार आफ्नो हातमा लिए । र, उनले आफूलाई महाराजा एवं प्रधानमन्त्री घोषणा गर्दा नयाँ प्रणाली स्थापना गर्नुपर्ने आवश्यकतासमेत परेन । राणा शासन १०४ वर्षसम्म चल्यो । यसबीच शाह शासकहरू प्रभावहीन भएर सिंहासनमा बसेका देखिन्थ्यो—पर्व–विशेषहरूमा, वर्षको २–३ पटक मात्रै । अरू वेला दरबारको विलासी वातावरणमा ती सीमित रहन्थे । शाह शासनजस्तै राणा शासन पनि विशुद्ध सैन्य बलमा टिक्यो ।

नेपाल राज्यको सैन्य आधार र परम्परालाई पाठकले बुझून् भनेर मैले यो संक्षिप्त ऐतिहासिक पृष्ठभूमि उल्लेख गरेको हुँ । यस्तो परम्पराको फलस्वरूप नेपालको पहाडी क्षेत्रमा ठूलो संख्यामा पूर्वसैनिकहरू छन् । जुनजुन पहाडी क्षेत्रमा ठूलो जनसंख्या बसेको छ, ती ठाउँमा पूर्वसैनिकहरूको पनि बस्ती छ । भौगोलिक रूपमा मध्य नेपालको पहाडी क्षेत्रलाई जसरी देशको मेरुदण्ड भन्न सकिन्छ, त्यसै गरी त्यहाँ बसोबास गर्ने चार जात — मगर, गुरुङ, राई र लिम्बू — लाई नेपाली जनसंख्याको प्रमुख जात–समूह भन्न सकिन्छ । नेपाली, बेलायती र भारतीय सैन्य सेवामा मुख्य रूपमा यिनै जातिमध्येबाट भर्ती भएका छन् ।

नेपालको तानाशाही सरकार, चाहे त्यो राणाशाही होस् या शाहशाही, उसको वैधता र मान्यताको मूल आधार सेना हो । तर, यी शासकहरूले सैनिकहरूलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्नुबाहेक अरू केही गरे भने फगत सौतेनी व्यवहार गरे । उनीहरूले सन् १९५० को जनक्रान्तिअघि नेपाली पल्टनमा कहिल्यै उच्च स्थान त पाएनन् नै, बेलायती सरकारलाई अनुरोध गरेर नेपाली सैनिकलाई ब्रिटिस सेनामा समेत बढुवा हुनबाट राणाहरूले रोके । नेपालका राणा शासकले आफ्नो देशमा साधारण नेपालीजनलाई उच्च पदमा जान नदिएकाले विदेशमा काम गर्ने ती नेपालीका दाजुभाइलाई पनि रोक्नु उनीहरूले उपयुक्त ठहर्‍याए । अन्यथा विदेश सेवाबाट फर्किएर आउने लाहुरेहरू सरकारका लागि टाउको दुखाइ हुने थिए । सैनिक सेवाबाट निवृत्त भएपछि लाहुरेहरूको बाँकी बचेको भाउताउ पनि सकिन्छ । विशेष गरी विदेशी सेनामा रहँदा हासिल गरेको शिक्षा र अनुभवलाई देशको हितमा उपयोग गर्न नपाउँदा उनीहरूले आफ्नो नैतिक बल पनि गुमाउँछन् । केही त तल्लो तहको रोजगारीका लागि पुनः भारततिरै हानिन्छन् । तर, अधिसंख्य नेपालमै दयनीय अवस्थामा जीवन बिताउँछन् ।

अविकसित देशका अन्य मानिसहरूको तुलनामा पूर्वसैनिकहरू अलि कम रूढिग्रस्त हुने हाम्रो अनुभव छ । सीमित उद्देश्यका लागि र सीमित क्षेत्रमै सही, सेनाका सिपाहीहरू आधुनिक वातावरणसँग परिचित हुनु यसको एउटा कारण होला । सैन्य–जीवनमा उनीहरूले अत्याधुनिक हतियार चलाएका हुन्छन्, सैनिक पाठ्यक्रम पूरा गर्छन्, शतप्रतिशत साक्षर हुन्छन्, दूर–दराजका देशमा जान्छन् र विदेशको अनुभव लिन्छन्, भूगोलसँग परिचित हुन्छन्, हात–हतियार, गोला–बारुद, सिंग्नलिङ, ट्यांक–युद्धजस्ता विषयहरूमा जटिल प्रशिक्षण प्राप्त गर्छन् । यी सबै कारणले उनीहरूको दिमाग केही हदसम्म खुला हुन्छ र उनीहरू अन्य वर्गका मानिसहरूजस्तो नयाँ–नयाँ प्रयोगप्रति शंकालु हुँदैनन् । यी सबै कुराहरूबाहेक, एक सिपाहीले अनुशासनको महत्त्व बुझ्दछ र कठिन प्रयत्नबाट पनि हडबडाउँदैन । सेनामा रहेका कारण उसमा सामूहिक र सहयोगात्मक भावना/प्रवृत्ति पैदा हुन्छ, किनभने सेनाको कारबाही सामूहिक र योजनाबद्ध हुन्छ । यी काम सम्पन्न गर्ने क्रममा सैनिकहरूमा आपसी सहयोगको भावना स्वतः उत्पन्न हुन्छ । सेनामा प्रशिक्षित व्यक्तिहरूले केही चारित्रिक गुणहरू विकास गर्छन्, जस्तै सहयोगी भावना, अनुशासन, आत्मनिर्भरता र नयाँ प्रयोग गर्ने साहस । यी गुणहरूले भूतपूर्व सैनिकहरूमा समाजका अन्य तत्त्वहरूलाई सुलभ नहुने वैशिष्ट्य प्राप्त हुन्छ । त्यसैले, मेरो विचारमा नेपालको आधुनिकीकरणमा भूतपूर्व सैनिकहरूको ठूलो योगदान हुनुपर्छ । उनीहरू नेपाली समाजका सबैभन्दा उपयोगी मानव तत्त्व हुन् । तर, दुर्भाग्यको कुरा के छ भने नेपालका भूतपूर्व सैनिकहरू प्रतिकूल राजनीतिक वातावरणमा उद्देश्यमूलक दिशा नपाएर क्रमशः निरुत्साहित र क्षमता शून्य बन्दै जान्छन् । अनुत्तरदायी शासनले उनीहरूलाई पहिला त आफ्नो स्वार्थका लागि भाडाका टट्टूको रूपमा प्रयोग गर्छ र सेवामुक्त भएपछि दूधमा परेको झिंगाझैं निकालेर फ्याँकिदिन्छ । नेपालमा यस्ता पूर्वसैनिकहरूको संख्या ७५ हजारदेखि एक लाखसम्म भएको अनुमान गर्न सकिन्छ । एक करोड जनसंख्यामा उनीहरूको यो संख्यालाई नगण्य भन्न मिल्दैन । मुलुकको औद्योगिकीकरण र आधुनिकीकरणमा उनीहरूको ठूलो हिस्सालाई तुरुन्तै उपयोग गर्न सकिन्छ । उनीहरूले स्थानीय नेतृत्व पनि दिन सक्छन् । त्यसैले, नेपाली समाजको सबैभन्दा मूल्यवान् तत्त्व पूर्वसैनिक हुन् ।

सेवाबाट मुक्त भएपछि यी सैनिकहरू थोरै रकम लिएर घर फर्कन्छन् । त्यो रकम जमिनमा लगानी गर्ने र खेती–किसानी गरेर आत्मनिर्भर बन्ने अधिकांशको चाहना रहन्छ । त्यसैले, उनीहरू नयाँ जमिन खोजिरहेका हुन्छन् । यो कामका लागि उनीहरूले सरकारबाट प्रोत्साहन पाउँदैनन् । आफ्नै प्रयासले जंगली क्षेत्रमा गएर खनी–खोस्री गरी जमिनलाई खेतीयोग्य तुल्याउँछन् । तर, सरकारले तुरुन्तै उनीहरूलाई बेदखल गरिदिन्छ र उनीहरूका गाउँहरू उजाड तुल्याइन्छ । उनीहरूलाई बेदखल गरेपछिको जग्गा–जमिन काठमाडौंका दरबारी–चाकर, –भारादारहरूलाई इनामस्वरूप दिइन्छ । यस्तो धाँधली र अन्यायविरुद्ध संगठित हुनेहरूलाई ‘कांग्रेसी’ को आरोप लगाइन्छ र पक्रेर जेलमा जाकिन्छ । अनेक ठाउँमा यिनीहरू प्रहरीको गोलीको सिकार पनि बन्ने गरेका छन् । उनीहरूका घरमा आगो लगाइन्छ वा तिनीहरूका बस्तीलाई हात्ती लगाएर नष्ट गरिन्छ । पछिल्ला केही महिनाभित्र अनेक जंगली क्षेत्रमा यस्तै खाले अत्याचार गरिएको छ— कोलाकोली, कुल झोडा, रानी झोडा, रमाइलो झोडा, तररा, रामागढी, चितवन, राजाबास, आदि क्षेत्रमा ।

वर्तमान पञ्चायती तानाशाही व्यवस्थामा सरकारको मातहत रहेको पूर्वसैनिकहरूको एउटा संगठन पनि छ । पूर्वसैनिकहरूलाई अन्य राष्ट्रिय तत्त्वहरूको भाँति स्वतन्त्र संगठनहरू खोल्ने अधिकार छैन । यो पूर्णरूपेण सरकारी संस्था हो । पञ्चायती व्यवस्थालाई मजबुत तुल्याउन नै यसको गठन गरिएको हो । वर्तमान तानाशाहीलाई मजबुत बनाउन र यसको पक्षमा पूर्वसैनिकहरूमाझ प्रचार र गुप्ती कार्य सञ्चालन गर्न यसलाई गठन गरिएको हो । यो सरकारी पूर्वसैनिक संगठनका तर्फबाट विधायिका — राष्ट्रिय पञ्चायत — मा पनि सदस्य पठाइन्छ । तर, तिनले वास्तवमा भूतपूर्व सैनिकहरूको लोकतान्त्रिक प्रतिनिधित्व नगर्ने भएकाले विधायिकामा उनीहरूको समस्याबारे चर्चासमेत ती सदस्यले गर्दैनन् । त्यसैले, भूतपूर्व सैनिकहरूलाई सरकारी पूर्वसैनिक संगठनप्रति कुनै विश्वास छैन । देशमा ठूला–ठूला काण्डहरू भइरहेका छन् । प्रहरीको गोलीबाट भूतपूर्व सैनिकहरू मारिन्छन्, उनीहरूका बस्तीहरू उजाडिन्छन्, तर सरकारी पूर्वसैनिक संगठनलाई यसले कुनै असर पार्दैन ।

भूतपूर्व सैनिक राष्ट्रका लागि एउटा देन हुन्, सुअवसर हुन् । तर, जनताप्रति अनुत्तरदायी वर्तमान व्यवस्थाले उनीहरूको प्रतिनिधित्व त गर्दैन नै, उनीहरूले आफ्नो विद्यमान अवस्थाबाट विचलित भएर जायज माग राख्दै आवाज उराल्दा वा संगठन गर्न खोज्दा उनीहरूलाई नै समस्याको रूपमा हेर्छ । भूतपूर्व सैनिकहरू परिवर्तनको पक्षमा छन्, त्यस अर्थमा उनीहरू कांग्रेसी हुन् । नेपाली कांग्रेसले जहिले पनि तानाशाहीविरुद्ध आवाज उठाएको छ र वर्तमान व्यवस्थाको ऊ कट्टर शत्रु हो । त्यसैले सरकार र जनता दुवैको नजरमा सबै व्यवस्था–विरोधी तत्त्वहरू कांग्रेसी हुन् । यो पनि सत्य हो कि नेपाली कांग्रेसमा भूतपूर्व सैनिकको सहानुभूति छ किनभने कांग्रेस परिवर्तन, प्रगति, लोकतन्त्र, समाजवाद र क्रान्तिको प्रतीक बनेको छ ।

सन् १९५०–१९५१ को क्रान्तिमा पूर्वसैनिकहरूबाटै ‘कांग्रेसी पल्टन’ गठन भएको थियो । उनीहरू क्रान्तिको मेरुदण्ड नै थिए । यदि उनीहरू कुनै राजनीतिक दलप्रति झुकाव राख्छन् भने त्यो दल नेपाली कांग्रेस नै हुन्छ । नेपालको इतिहासमा भएको एक मात्रै सन् १९५९ को आम निर्वाचनमा उनीहरूले नेपाली कांग्रेसलाई साथ दिएका थिए । आगामी क्रान्तिको आह्वानमा पनि नेपाली कांग्रेसलाई साथ दिन उनीहरू तयार छन् । उनीहरूको मनोभावना कांग्रेसी छ । अहिले सायदै कुनै यस्तो तत्व छ, जो वर्तमान व्यवस्थासित सन्तुष्ट होला । भलै उनीहरू डराएर नबोल्लान्, तर सबैको हृदयमा परिवर्तनको माग छ र यसैले सबै हृदयबाट कांग्रेसी छन् । भूतपूर्व सैनिकहरू समाजका अन्य वर्गहरू जत्तिको असहाय छैनन् । कुनै पनि आन्दोलनमा भाग लिएर उनीहरूले सो आन्दोलनलाई शक्ति प्रदान गर्न सक्छन्, आन्दोलनलाई जीवन दिन सक्छन् ।

(साप्ताहिक ‘दिनमान’, फेब्रुअरी १९७३, पृ. २५–२७ मा प्रकाशित)

अनुवाद : लोकरञ्जन पराजुली

प्रकाशित : भाद्र ९, २०८०

स्रोत : https://ekantipur.com/koseli/2023/08/26/169301548785369319.html


About the Author

More Blogs