साइँला मामाहरू कसरी ‘सम्धी बगान’ पुगे?

- अर्जुन पन्थी | 2022-12-10

कमला (सुन्तला)को बगान हराएपछि हँसीमजाकमा मान्छेहरूले त्यस गाउँलाई ‘सम्धी बगान’ भन्न थालेछन्। एक घरले अर्को छिमेकी घरमा छोराछोरीको बिहेबारी गरिदिने र सम्धी-सम्धेनाको नयाँ नाता जोडिने भएकाले यस्तो नाम बस्न गएछ।

साइँला मामाको परिवार गुवाहाटी, आसामतिर बस्छ भन्ने सुने पनि मैले उनीहरूलाई मैले कहिल्यै देखिनँ। अर्घाखाँचीको बल्कोटमा रहेको उनीहरूको घर सधैं खाली देखिन्थ्यो, पछि हेर्दाहेर्दै ढल्यो। मामा (लेखनाथ खनाल, जन्मः १९८६ साल) र माइजू (देवकला खनाल) उतै बितेको पनि खासै पत्तो भएन। गुवाहाटीतिरै चाँजोपाँजो मिलाएकैले होला, छुटीभिन्न हुँदा पनि छोराहरू आएनन्। एक किसिमले बल्कोटका दाजुभाइ-दिदीबहिनीसँग उनको परिवार टाढिएको थियो। यस्तो उदाहरण गुल्मी, अर्घाखाँचीतिरका धेरै गाउँमा भेटिन्छन्।

मेरो अनुमानमा गण्डकी क्षेत्रका मानिसहरू आफ्नो थलोमा जीविका धान्न धौधौ भएर कामको खोजीमा विक्रमको २०औं र २१औं शताब्दीमा आसामको पहाडतिर लागेका हुन्। भारतमा साम्राज्य फैलाइरहेका ब्रिटिशहरूलाई स्थानीय जनजातिसँग लड्ने लडाकू र काम गर्ने मान्छे चाहिएको थियो। नेपाल राज्यले पनि स्थानीय रजौटा मार्फत रैयतहरूलाई चर्को शोषण गरिरहेकाले मानिसहरू बसाइँसराइका निम्ति छटपटाएका थिए।

यही सन्दर्भमा सय/डेढ सय वर्षअघि आसामतिर पसेका मानिसहरूका कथा हाम्रा गाउँघरमा अहिले पनि बाक्लै सुन्न पाइन्छ। २०७९ असोजमा साथीहरूसँग कामविशेषले सिक्किम, दार्जीलिङ जाँदा पूर्वोत्तर भारतमा रहेको गुवाहाटीको मावल पनि पुगौं कि भन्ने भयो।

टाढिएका ती मावलीको ठेगाना मैले काठमाडौं नछाड्दै खोज्न थालेको थिएँ। फेसबूकबाट नाम र अनुहार खोजेर मामाका छोराहरूलाई खबर पठाएँ, तैपनि केही जवाफ पाइनँ। सिक्किम घुमेर दार्जीलिङ आउँदासम्म कुनै ठेगान थिएन। दार्जीलिङबाट सिलिगुरी झर्दा दिल्ली बस्ने माइला मामाका छोराले ‘गुवाहाटीका माइल्दाइको फोन’ भन्दै मेसेन्जरबाट पठाइदिए।

त्यसपछि साइँला मामाका माइला छोरा (लक्ष्मण खनाल)सँग एयरटेलको फोनमा सीधै बातचित हुन थाल्यो। चिनोजानो गर्दा आफू फुपूको छोरा हुँ भनें। तर दाइ ‘हाम्रा फुपू पनि हुनुहुन्छ र?’ भन्दै थिए। मैले सम्झाउनुपर्‍यो, “हामी दुई बैनाका छोराछोरी हौं दाइ, तपैं दाइको छोरा, म बैनीको।” एक्कासि फोन गर्दा दाइलाई को हो को भन्ने लाग्यो होला। तैपनि, नेपालबाट आफूलाई खोज्दै आउन लागेको भनेपछि उनी खुशी नै थिए।

असोजको एक दिन सिलिगुरीबाट गुवाहाटीका लागि नाइट बस समातें। अर्को दिन बिहानै ब्रह्मपुत्रको पुलमा पुग्दा मेरा आँखा खुले। सुनेको ब्रह्मपुत्र देख्दा ज्यादै प्रसन्न भएँ। मनमा ‘नमो नमामि ब्रह्मोपुत्रों’ गुन्ज्यो। गाडी केहीबेर पूर्वतिर गुडेपछि गुवाहाटी शहरको एकछेउ देखियो।

गुवाहाटीबाट खानापारा पुगेपछि म्याजिक जीप चढेर आठमाइल भन्ने ठाउँ पुगें। फोनले हामी दाजुभाइलाई नजिक नजिक ल्याउँदै थियो। आठमाइलको गणेश मन्दिरमा बिहानै एक मानिस देखिए। फेसबूकमा देखेकाले माइल्दाइलाई चिन्न बेरै लागेन। एकअर्कालाई चिनेपछि हामी अँगालियौं। सराद परेर होला, मुडुलो टाउकोमा दाइले सेतो रुमाल बेरेका थिए। सोह्र सरादको वेला पनि थियो। भेटपछि उनी मलाई ‘जाऊँ’ भन्दै हाइवे तराउन थाले। हाइवेलाई गुवाहाटी शिलोङ (जीएस) रोड भनिँदो रहेछ।

त्यही रोडको पुलमुनि पुगेपछि माइल्दाइ बोले, “यता आसाम हो भाइ, उता मेघालय।” दुई वटा राज्य टेक्न पाउँदा मनमा हर्ष जाग्यो। त्यहीं पुगेपछि थाहा भयो, दाइ बस्ने गुवाहाटी (आसाम)मा होइन रहेछ, मेघालयमा पो रहेछ। अनि हामी जीएस रोड तरेर दक्षिणी पाखोको मेघालयतिर लाग्यौं।

मेघालयतर्फको एउटा कच्ची बाटो निकै बेर कुदाएपछि दाइले टाढैबाट आफ्नो घर देखाउँदै भने, “उः त्यही त हो हाम्रो ग्वाली।” ग्वाली, गाईको गोठ। ‘मेरो घर’ भन्दा पनि ‘मेरो ग्वाली’ भनेर चिनाउने चलन रहेछ त्यहाँ। कसै कसैले त आफू बसेको ठाउँलाई गाईखुट्टी वा खुट्टी मात्र भनेर पनि चिनाउँदा रहेछन्। अलि उचाइमा रहेको दाइको ग्वालीतिरबाट एउटा गोबरको कुलो बगेको देखिन्थ्यो। कुलो तर्न बाँसका ससाना चित्रे पुल बनाइएका रहेछन्।

तिनै पुलबाट कुलोलाई दायाँबायाँ पार्दै सानो पहाडको पाखो बाटो लागियो। वारिपारिका खुट्टी देखाउँदै माइल्दाइले भने, “उः त्यो फाप्रेकाको खुट्टी हो। ऊ त्यो मखातकाको, ऊ त्यो खस्कोटकाको। यी सापकोटा बाग्लुङका हुन्। त्यहाँ खनका साबडाँडे बाहुन बस्छन्” आदि। २०/२५ वटा घर भएको त्यो गाउँ अर्घाखाँची, गुल्मी, बाग्लुङका ग्वालीले भरिएको रहेछ। लगभग सबै बाहुनका घर।

गाउँको नाम रहेछ, कमला बगान। त्यहाँ सुन्तलालाई कमला भनिँदो रहेछ। त्यहाँ पहिला सुन्तलाका थुप्रै बोट थिए रे। अचेल हराएछन्। कमलाको बगान हराएपछि हँसीमजाकमा मान्छेहरूले त्यस गाउँलाई ‘सम्धी बगान’ भन्न थालेछन्। एक घरले अर्को छिमेकी घरमा छोराछोरीको बिहेबारी गरिदिने र सम्धी-सम्धेनाको नयाँ नाता जोडिने भएकाले यस्तो नाम बस्न गएछ।

उता गुल्मी, अर्घाखाँचीमा एउटै गाउँमा एकैथरे बाहुनका बस्ती भएर बिहे गर्न समस्या हुन्थ्यो। तर, कमला बगानमा त्यो समस्या देखिएन। थरीथरीका बाहुन भएकाले छिमेकमै बिहेबारी चल्ने। दाइ पनि बाटोमा कसैलाई देखे ‘ए सम्धी’ भन्दै बोलाउँथे। प्रायः भेटिएकाले आपसमा सम्धी-सम्धेना नातो लाउँथे।

६-७ दिनको बसाइमा माइल्दाइले मलाई आसाम र मेघालयका विभिन्न ठाउँमा थुप्रै सम्धी बगान देखाइदिए। जङ्गलबाट घाँस ओसार्ने दाइको अटोमा चढेर एक दिन म जीएस रोडको आठमाइलदेखि चौधमाइलसम्म पुगें। ६ किलोमिटरको त्यो बाटोमा अटोको टालीबाट वारिपारि पखेरामा थुप्रै गाउँ देखिन्थे। देखिने धेरैजसो खुट्टीहरू नेपालीहरूकै हुन् भन्दै माइल्दाइ चिनाउँदै थिए।

देखिएका यी खुट्टीबाट हरेक बिहान २०-२५ हजार लिटर दूध जीएस रोड ल्याई दूधको व्यापार गर्ने पाइगिरिलाई बेच्दा रहेछन्। यी गौपालाहरूका कारणले परालवाला, पाइगिरिवाला, गाईका व्यापारी, छाला उद्योग, मिठाईवाला, दानावाला, गोठाला धेरैको कामकाज चलिरहेको बुझिन्थ्यो।

कुन समयमा कसरी यी मानिस यहाँ आए होलान्? कसरी यतैको मायामा भुले होलान्? अब यिनै प्रश्नले मलाई कुतकुत्याइरहेका थिए।

आगमन र फैलाइ

भाषा अधिकारवादीले आसाममा २४ लाख नेपाली (गोर्खाली) भएको दाबी गरे पनि तथ्याङ्कमा १० लाखको संख्या देखाइन्छ। जेजसो भनिए पनि आसाम, मेघालयमा ठूला ठूला नेपाली बस्ती भेटिन्छन्। भारतमा इस्ट इन्डिया कम्पनी छँदै नेपालीलाई सेनामा भर्ती गर्ने चलन शुरू भएको थियो। पूर्वोत्तर क्षेत्रको विकासमा आसाम राइफलका धेरै बटालियन खडा गरिएको थियो। इस्टर्न फ्रन्टियर राइफल्स भन्ने पनि थियो। यिनमा धेरै नेपाली भर्ना गरिएका थिए। सेवानिवृत्तिपछि उनीहरूमध्ये कति परिवारसाथ उतै बसोबास गर्न थालेका थिए।

पुर्ख्यौली घर गुल्मी भएका आसामका रतनकुमार पाण्डेले तत्कालीन आसामको पहाडमा गएर संघर्ष गरेका केही मान्छेको जीवनी आफ्नो खोजकृति अतीतका तस्वीरहरू (विसं २०६२)मा उतारेका छन्। त्यसमा उल्लेख गरिए अनुसार, अवकाशपछि पनि अंग्रेज प्रशासकहरूसँगको सम्बन्धबाट फाइदा उठाउँदै मानिसहरू जीविका चलाइरहेका हुन्थे। जस्तो- ‘ग्रेजियर परमिट’ अर्थात् चरनको सुविधा लिँदै अवकाश लिएका सैनिकले पशुपालन, खेतीपाती गरेका हुन्थे। सन् १८७० भन्दा अघिदेखि नै नेपालीहरूले अंग्रेजलाई ‘ग्रेजिङ ट्याक्स’ का रूपमा ठूलो रकम बुझाउने गरेको पाण्डेले उल्लेख गरेका छन्। उनका अनुसार, सन् १८८० को दशकमा भैंसीका लागि आठ आना र गाईका लागि चार आना कर तिरिन्थ्यो।

अंग्रेजका जागीरको गुलाम बन्नुभन्दा पशुपालन नै उचित ठानेर त्यसैमा स्वतन्त्र अनुभूति गर्नेहरू पनि थिए। पाण्डेका अनुसार, अंग्रेज अफिसरको खप्की सहन नसकेका अर्घाखाँची, भगवतीका खगुराम जैशीले सैन्य पेशा त्यागेपछि १२ माउ गाई पाल्न थालेका थिए। यसरी पशुपालनमा लाग्नेहरूलाई परिवारको आवश्यकता पथ्र्यो। त्यस कारण नेपालबाट परिवार पनि लैजान थाले।

२०औं र २१औं शताब्दीमा गण्डकी क्षेत्रका धेरै मानिस आसाम, गुवाहाटी, शिलोङ, मणिपुर, अरुणाचलदेखि २२/२५ सय किलोमिटर टाढाको बर्मासम्म पुगेका थिए। यिनीहरूले पशुपालन र खेती बाहेक खनिज पदार्थ खोज्ने, चिया बगान, चुना उद्योग, कोइला खानी इत्यादिमा काम पाउँथे। केही निवृत्त सैनिकले प्रशासनिक विभागमा पनि काम गरिरहेका थिए। रेल विभागमा पञ्जाबी ठेकेदारहरूसँग पनि धेरै नेपालीले काम गरे। सैन्य सेवामा भर्ती भएका पण्डितहरूले नेपाली बस्ती वरिपरि मन्दिर बनाउने, पाठशाला खोल्ने र पठनपाठनको थालनी गरेर पनि जीविका चलाए। जे पेशामा लागे पनि पशुपालन सबैको अभिन्न अङ्ग जस्तै थियो।

यात्राका क्रममा एक दिन म शिलोङमा थिएँ। शिलोङको टुप्पामा रहेको बडाबजार घुमेर ओर्लिंदै गर्दा बाटोमा एउटा गोर्खा पाठशाला देखियो। केही कुरा त सुन्नुपर्‍यो भनेर भित्र पसें। सायद मीटिङ चलिरहेको थियो। यसो मुन्टो देखाएर ‘म नेपालबाट आएको, केही कुरा गर्नु थियो’ भनेपछि एक जना सर बाहिर निस्किए। पछि चिनोजानो गर्दा थाहा भयो, उनी पर्वत जिल्लामा जन्मेका सूर्यनाथ अधिकारी रहेछन्। पर्वतमा जन्मे पनि शिलोङकै गोर्खा पाठशालामा पढेर पछि त्यहीं शिक्षक भएका रहेछन्। चिनापर्चीपछि मैले उनलाई सोधें, “सर, मेघालयमा पश्चिम नेपालका मानिस धेरै रहेछन्, कारण के होला?”

हामी बेन्चको दुई छेउमा थियौं। एक छेउबाट उनले कहानी शुरू गरे। कुनै वेला बृहत् आसाम (अहिलेको असम र मेघालय)को केन्द्र चेरापुञ्जी रहेछ। त्यहाँ धेरै पानी पर्ने हुनाले गोर्खा पल्टनको एक टोलीलाई ब्रिटिशहरूले राजधानीका लागि उपयुक्त जग्गा खोज्न खटाएछन्। चेरापुञ्जीबाट पश्चिम दक्षिणी भेगमा ठाउँ खोज्दै जाँदा उनीहरूले अहिलेको शिलोङको जग्गा उपयुक्त देखेछन्। सन् १८६० को दशकसम्म शिलोङ क्षेत्र जनशून्य थियो। रतनकुमार पाण्डेका अनुसार, शिलोङ बनाउन क्याप्टेन कालु थापाको नेतृत्व थियो।

उनको नेतृत्वको नेपाली फौजले पुल, बाटाघाटा बनाउँदै गएर सन् १८६१ मा जोवाई भन्ने ठाउँमा सैनिक चौकी खडा गरेको थियो। शायद त्यो शिलोङकै नजिकमा हुनुपर्छ। सूर्यनाथ अधिकारीका अनुसार, शिलोङको जग्गा खोज्ने नेपाली पल्टनको टोलीमा धेरैजसो बाग्लुङ, पर्वततिरका मानिस रहेछन्। पछि तिनै सैनिकले नेपालको गाउँघरका अन्य मानिसलाई आसामको पहाडी क्षेत्र (अहिले मेघालय)मा ल्याएका थिए। एउटा महŒवपूर्ण कारण त्यो पनि होला भन्ने आशय उनको थियो।

उब्जाउ जमीन र घाँसपानी प्रशस्त भएको थाहा पाएर गुल्मी, अर्घाखाँची, पाल्पा, पर्वत, बाग्लुङ, स्याङ्जा, कास्कीतिरका मानिस गाईभैंसी पाल्ने र दूध-घ्यू उत्पादन गरी शिलोङ बजारमा बेचेर गुजारा चलाउन ओइरिन थालेका थिए। यसरी आएका उनीहरू हाफलङ, खार्थुम, बाघेटार आदि ठाउँ वरिपरि बस्न थाले। कतिपय ठाउँमा स्थानीय जनजातिले विरोध गरेपछि ‘ग्रेजियर परमिट’ खारेज हुन्थ्यो र मानिसहरू फेरि जनशून्य ठाउँमा जान्थे। कतिपय ठाउँमा बाघ, चितुवा, ब्वाँसाले गाईबस्तुलाई धेरै नोक्सानी पुर्‍याएपछि मानिसहरू फेरि सर्थे।

कोही गोठमा काम गर्ने बानी पारेर आफूलाई अन्यत्र स्थापित गर्ने प्रयासमा हुन्थे। स्याङ्जाका मनबहादुर क्षेत्री सन् १९४९ मा हाफलङ पुगेर कालुराम महाजनको गोठमा काम गरे। महाजनको पराधीनताबाट फुत्किएर फेरि हेराकिलो भन्ने ठाउँमा गई आफ्नै गाईगोठ बनाएका थिए। रतनकुमार पाण्डेका अनुसार, सन् १९६० को दशकसम्म उनले ५५० वटा गाई पालेका थिए।

गाईगोठको कारोबार थाम्न र स्थानीय जनजातिको विरोधको सामना गर्न पनि आफ्नाहरूको उपस्थिति बढाउने मनोभावना नेपालीहरूले बोकेको देखिन्छ। यस सन्दर्भमा नेपालबाट क्रमशः परिवार र आफन्त लैजाने चलन निरन्तर हुन्थ्यो। बहुविवाह गरेर कारोबार बढाउने चलन पनि देखिन्छ। बसोबास बाक्लिएपछि अन्य कारणबाट पनि नेपालीहरू आसामको पहाडमा मिसिन थाले।

भारत स्वतन्त्रताका लागि गठित सुभाषचन्द्र बोसको आजाद हिन्द फौजमा गण्डक क्षेत्रका धेरै मानिस भर्ती भएका थिए। सन् १९४० को दशकमा सो फौजबाट विस्थापितहरू पुनर्वासको खोजीमा आसामको पहाडतिर गएका थिए। अर्घाखाँचीको ढाँड खिदिमका धनेश्वर घिमिरे पनि बोसको फौजमा बिचल्ली भएर आसामको पहाडतिर पुगी पशुपालनमा लागेका थिए।

एक दिन माइल्दाइ र म आसामको प्रसिद्ध कामाख्या मन्दिर जाँदै थियौं। बाटोमा मैले सोधें, “आसाम पसेपछि तपाईंले के के काम गर्नुभयो?” २०१९ सालमा जन्मेका उनले भने, “सानैमा म बाबासँग शिलोङ आएको हुँ, शुरूमा काठका कुण्डा (मुढा) तान्ने काम गरें। त्यो कामबाट चित्त नबुझेर गाउँकै कुलानन्द महाजनका गोठमा काम गर्न गएँ।”

त्यहाँ काम गर्दा कुलानन्दका ससुराले बिहान-बेलुकी माइल्दाइलाई रामायण र महाभारत पनि पढाएका थिए। उनले पढ्न-लेख्न अलि अलि जानेको त्यही वेला हो। सात वर्ष काम गरेपछि कुलानन्दले त्यो खुट्टी माइल्दाइहरूलाई बेचे। त्यसपछि माइल्दाइहरू त्यही खुट्टीमा केही गाई-भैंसी पालेर र बाहिरफेर सडकको काम गरेर बसिरहेका थिए। सन् १९८७ (विसं २०४४)मा शिलोङ क्षेत्रमा नेपाली विरोधी ठूलो दङ्गा भयो। त्यसपछि धेरै नेपालीले शिलोङ वरिपरिका क्षेत्र छाडे। मेरा मावली पनि त्यही दङ्गाको चेपमा परेका थिए।

द्वन्द्व र सराइ

अंग्रेजका पक्षमा रहेर पूर्वोत्तर भारतको पर्वतीय क्षेत्रको विकास तथा विस्तार गर्न र अंग्रेजको शासन बहाली गर्ने काममा स्थानीय डफला, खसिया, नागा, कुकी, कार्वी, कछारी तथा लुसाई जनजातिका विद्रोही गुटलाई तह लगाउन नेपालबाट भर्ती भएका सैनिकको प्रयोग गरिएको थियो। त्यस वेलादेखि पूर्वोत्तर भारतका पहाडी इलाकाबारे नेपालीहरू जानकार थिए। विसं १९५० दशकको सेरोफेरोमा शिलोङका भीरपहरा, खोलानालासम्म फैलिएका नेपाली समुदाय स्थानीय खासी जातिसँग मिसिँदै गएका थिए।

भनिन्छ, प्रत्येक १० नेपाली युवकमध्ये कम्तीमा तीन जनाले खासी युवतीसँग वैवाहिक सम्बन्ध कायम गरेका थिए। यो कुरा डीपी जोशीले मरेको सिपाही (सन् २००२) किताबमा लेखेका छन्। तर, नेपाली र खासी जनजातिबीच सन् १९७० देखि मतभेद शुरू भयो। सन् १९७९ तिर आसाममा बंगाली विरोधी र दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन चरम बिन्दुमा पुगेको थियो। यही सन्दर्भमा शिलोङ क्षेत्रमा नेपाली र खासी समुदायबीच साम्प्रदायिक भावना फैलाइयो।

‘नेपालीहरू विदेशी हुन्, जहाँ जान्छन् गोर्खाल्यान्डकै जस्तो माग गर्छन्। त्यस कारण तिनलाई बस्न दिनु हुँदैन, सिक्किमका लाटा-सोझा जनता झै खसिया पनि मिचिनेछन्’ भनी त्रास फैलाइयो। जोशीका अनुसार, यस्तो साम्प्रदायिकता भड्काउने काम एउटा स्थानीय पत्रिकाले जोडतोडले गरेको थियो। त्यसपछि दङ्गा भयो।

जोशी लेख्छन्, ‘गुवाहाटी ससुरालीबाट टीका लाएर शिलोङ फर्कंदा मौलाई भन्ने ठाउँमा एक जना नेपालीलाई मटरबाट तल झरी पिटी-पिटी मारियो।’ चिहानघारीमा गाडिएको नेपाली ख्रिस्टानको लास झिकेर ‘यो विदेशीलाई यहाँ गाड्न पाइन्न’ भन्दै फ्याँकियो। सन् १९८७ को त्यो दङ्गामा शिलोङमा १५० नेपालीले ज्यान गुमाएका थिए।

दङ्गा फैलिएपछि कतिपय नेपाली ३०-४० हजार पर्ने गाई एक-दुई हजारमा बेचेर हिंड्नुपरेको थियो। ६-७ महीनादेखि स्कूल बन्द थिए। भाडामा बसेकालाई १२ घण्टाभित्र डेरा छाड्ने आदेश खासी छात्र संघका विद्यार्थीले दिएका थिए। त्यति वेला ५० हजार नेपाली लखेटिएको दाबी नेपाली लेखकहरूको छ। उनीहरूले त्यो वेला बस्तीहरूमा पेट्रोल बम फ्याँकिएको सम्झेका छन्। डर र चिन्ताले परिवारहरू रातभर सुत्न नसकेको अनुभव लेखेका छन्। शिलोङका प्रत्येक गाउँबाट लखेटिएका मानिसहरू शिलोङ बजारको गोर्खा पाठशाला, गोर्खा हाइस्कूल, क्यान्टोनमेन्ट स्कूल आदिमा शरणार्थी बनेको कुरा सूर्यनाथ अधिकारीले पनि सुनाएका थिए।

फेरि बसाइँ

मेघालयको दङ्गापछि मेरा मावली पनि शिलोङबाट बसाइँ सर्न खोजिरहेका थिए। सडक र पशुपालनको काम थालेको १० वर्ष भएको थियो। माइल्दाइका अनुसार, शिलोङको जाडो ठाउँमा भैंसीका पाडा पालेर उवेला केही रकम जम्मा भएको थियो। त्यही पैसाले केही तोला सुन किन्ने योजना थियो। सुनको भाउ ६०० बाट ४०० रुपैयाँ होला कि भनेर कुर्दाकुर्दै समय गयो। आफन्तैले त्यो पैसा सापटी लिए। पछि तिर्न नसकेकाले गुवाहाटी नजिकै उनकै गाईखुट्टी लिएर बसे। माथि बयान गरिएको कमला बगान नजिकै त्यो गाईखुट्टी थियो।

धेरै परिवार भएकाले जीवन चलाउन र पुख्र्यौली घर पनि बिरानो भइसकेका साइँला मामाको परिवारलाई नेपाल फर्कन हिम्मत आएन। त्यहीं बसे। यसबाट कम्तीमा विसं २०२० वा २०३० को दशकमा आसाम पस्नेहरूले उतै स्थायी बसोबास गरेको अनुमान लगाउन सकिन्छ।

शिलोङबाट लखेटिएर आएपछि बनाएको ग्वाली भएको ठाउँमा म पुगेको थिएँ। कमला बगानभन्दा एक किलोमिटर माथिको त्यो जमीन पनि खसियाहरूकै थियो। गुवाहाटी बजारभन्दा १८-२० किलोमिटर पूर्वमा मेघालयपट्टि। पछि खसिया साहुले त्यही सानो पहाडको फेदमा ड्याम बाँधेर माछा पाल्ने भएपछि टुप्पामा रहेका ग्वाली सार्न भन्यो। माथिबाट गोबर बगेर आउँदा माछालाई विषाक्त हुने भन्दै उसले त्यस्तो उर्दी गरेको थियो। त्यसपछि कमला बगान नजिकै ग्वालीको सरुवा भयो। पहाडको टुप्पामा साहुले रबरको बगान बनायो। त्यो अद्यापि छँदै छ।

अहिले साइँला मामाका पाँच भाइ छोरामध्ये दुई जनाले मात्र पशुपालन गरिरहेका छन्। एक भाइले कमला बगानमा वर्षको सात हजार भारतीय रुपैयाँ तिर्ने गरी थोरै जमीनमा माउ बाच्छाबाच्छी गरेर ३०-४० वटा गाई पालेका छन्। सिजन नचलेको समयमा एक घरबाट दिनको ७० लिटर जति दूध जीएस रोड पुर्‍याइन्छ।

दानाको डेढ लाख, पराल ५० हजार, दुई जना गोठालाको तलब नौ-नौ हजार, दूध बेच्नेलाई आठ हजार, गाई दुहुनेलाई चार हजार र ६ जना परिवारको घरखर्च २०-३० हजार गरेर महीनामा दुईदेखि तीन लाख हाराहारी खर्च निस्कन्छ। माइल्दाइका अनुसार, अहिले मासिक एक लाख जति घाटा छ। सिजनमा धेरै गाई दुहुँदा त्यो घाटा पूर्ति हुने उनको विश्वास छ।

माइल्दाइहरू मेघालयका रैथाने नभएकाले सम्धी बगानमा जमीन किन्न पाउँदैनन्। बाटोपारि आसामतिर बसेका नेपालीलाई भने जग्गा किन्ने सुविधा छ। जीएस रोडको वारिपारि रहेका एउटै पृष्ठभूमिका मानिसमध्ये मेघालयका नेपालीभाषीले विभेदको अनुभव गरेका छन्। उनीहरू जम्मा पारेको पैसाले बुटवल, भैरहवातिर जमीन किन्न जान्छन्। उतै बसौंला भनेर होइन, कमाएको थन्क्याउनलाई। “केटाकेटी नै जान मान्दैनन्, हामीलाई रहर लागेर के गर्नु,” माइल्दाइले भने। रुपन्देहीको ढवाह र कपिलवस्तुको चार नम्बरमा उनका दुइटा घडेरी थिए। छोराको बिहेमा ढवाहको घडेरी बिक्री गरे।

अब चाहिं टाढा भएकाले बुटवलतिर नजाने बरु दमक, इटहरीमा जग्गा किन्ने सुर माइल्दाइले बनाएका छन्। पुख्र्यौली थलो पर्वत भएका उनका एक सम्धीले त इटहरीमा घर किनेर भाडामा लगाएका छन्। गुवाहाटीबाट एकैरातमा पुगिने भएकाले पूर्वी नेपालमा बसाइँ सर्ने र उतै बिहे गर्नेहरूको संख्या बढ्दो छ। पश्चिम नेपालका केही जग्गा दलालले यिनै मानिसलाई ताकेर झापातिर जग्गा ‘प्लटिङ’ पनि गरिरहेका छन्।

(पन्थी स्वतन्त्र अनुसन्धाता हुन्। हिमालको २०७९ मंसीर अकंबाट।)

शनिबार, २४ मंसिर, २०७९, १३:३९:०० मा प्रकाशित
स्रोत : https://www.himalkhabar.com/news/133452


About the Author

More Blogs