सिन्हासका २० वर्ष

- लोकरञ्‍जन पराजुली, प्रत्यूष वन्त | 2021-09-24

प्राज्ञिक अध्ययन, अनुसन्धान अहिले विश्वविद्यालयीय अध्ययन, अध्यापनको एउटा अभिन्न पाटो बनिसकेको छ । प्राज्ञिक अनुसन्धानबाट नि:सृत ज्ञान या उपजलाई आफ्ना समकक्षी लगायत बृहत् समुदायमा पुऱ्याउने गुरुत्तर दायित्व पनि अध्येताको भएको मानिन्छ । र त्यस्तो ज्ञानको उपजको प्रचार—प्रसार गर्ने एउटा महत्त्वपूर्ण साधन प्राज्ञिक जर्नल हुन् । प्राज्ञिक जर्नलहरूको इतिहास २ शताब्दीभन्दा लामो भए तापनि खासगरी दोस्रो विश्वयुद्धपछि जर्नलहरूको संख्या ह्वात्तै बढेको हो । अहिले विश्वभरबाट १ लाखभन्दा बढी शीर्षकमा जर्नल प्रकाशन हुन्छन् भनिन्छ, यद्यपि ठ्याक्कै संख्या तोक्न कठिन छ ।

नेपालमा जर्नल

नेपालको जर्नल प्रकाशनको इतिहास भने लामो छैन । किनकि एक त हाम्रा आधुनिक उच्च अध्ययनका केन्द्रको इतिहास छोटो छ । सबैभन्दा पुरानो विश्वविद्यालयको स्थापना नै २०१६ सालमा मात्र भएको हो । दोस्रो, उक्त विश्वविद्यालयको गठन नै अनुसन्धान कम र पढाइ ज्यादा गर्ने हिसाबले भएको हो । तर विश्वविद्यालय स्थापना हुनु एक दशकअघि नै हामीकहाँ प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रकाशनको प्रयत्न भएको देखिन्छ । खासगरी २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा जर्नल प्रकाशन सुरु भएको देखिन्छ । नेपाल सांस्कृतिक परिषद्ले २००९ सालदेखि प्रकाशन गर्न सुरु गरेको नेपाल सांस्कृतिक परिषद् पत्रिकालाई नै नेपालको पहिलो प्राज्ञिक जर्नल भन्न सकिन्छ ।

अहिले नेपालबाट कतिवटा जर्नल प्रकाशन हुन्छन्, यसै भन्न सकिँदैन । किनकि त्यसको व्यवस्थित अभिलेख कहीं छैन । केही वर्षअघि यसबारे खोजी गरेको आधारमा समाज विज्ञानको क्षेत्रमा नेपालबाट २००७ सालयता करिब डेढ सयको हाराहारीमा विभिन्न शीर्षकमा जर्नल प्रकाशन भएको अनुमान गर्न सकिन्छ । पछिल्लो १०–१५ वर्षयता मात्रै २ दर्जनभन्दा बढी नयाँ जर्नल प्रकाशन भएका छन्, भलै तीमध्ये कति नियमित प्रकाशन हुन्छन्, त्यो अर्कै कुरा हो ।

सरसर्ती केलाउँदा नेपालको प्राज्ञिक उन्नयन र जर्नल प्रकाशनजस्ता कर्म राजनीतिक व्यवस्थासँग पनि सम्बन्धित देखिन्छन् । २००७ सालको राजनीतिक परिवर्तनपछि जर्नल प्रकाशनले जरो हाल्यो भने २०४६ को परिवर्तनपछि यो क्षेत्रको ब्यापक विस्तार भयो । २०४६ सालपछि उच्चशिक्षा प्रदायक संस्थाको मुलुकभर भएको विस्तार र केही हदसम्म नयाँ खुलेका विश्वविद्यालयका कारण पनि जर्नलको संख्यामा बढोत्तरी भएको हो भन्नु अत्युक्ति हुँदैन । त्यस बाहेक जर्नलमा प्रकाशन हुने लेखले विश्वविद्यालयको पदोन्नति प्रक्रियामा अंक प्राप्त गर्ने हुनाले पनि नेपालमा जर्नलको संख्या विस्तार भएको हो ।

नेपालबाट प्रकाशन हुने जर्नलका सम्पादक र प्रकाशकहरूको ‘इन्स्टिच्युसनल लोकेसन’ केलाउँदा त्यहाँ विविधता पाइन्छ । यद्यपि अधिकांशको संस्थागत आबद्धता कुनै न कुनै हिसाबले नेपालका क्याम्पस वा विश्वविद्यालय हुन् । नेपालमा विश्वविद्यालय सिस्टमसँग सिधै आबद्ध नभइकन पनि केही जर्नल प्रकाशन भइरहेका छन्, जसको प्रत्यक्ष उदाहरण पूर्णिमा, नेपाली, स्टडिज इन नेपाली हिष्ट्री एन्ड सोसाइटी (सिन्हास) र नेपाली जर्नल अफ कन्टेम्पोररी स्टडिज आदि हुन् । यीमध्ये सिन्हास जर्नलमा प्राज्ञिक गैरसरकारी संस्था मार्टिन चौतारीको संस्थागत संलग्नता छ ।

सिन्हासको २० वर्षे जोवन

गैरसरकारी प्रयत्नमा संयोजित र नेपाली विश्वविद्यालयमा प्रत्यक्ष असम्बन्धितहरूको सक्रियतामा सञ्चालित समाज विज्ञानसम्बन्धी जर्नल स्टडिज इन नेपाली हिष्ट्री एन्ड सोसाइटी (सिन्हास) ले २० वसन्त पार गरिसकेको छ । २०५२ सालमा स्थापित वर्षको २ पटक प्रकाशन हुने समकक्षी समीक्षित (पियर रिभ्युड) यो प्राज्ञिक जर्नलमा धेरै सामग्री अंग्रेजीमा प्रकाशन भएको पाइए पनि यो मूलत: द्वैभाषिक (अंग्रेजी र नेपाली) जर्नल हो ।

संख्यात्मक हिसाबले सिन्हास नेपाली जर्नलहरूको भिडमा फगत एउटा अर्को जर्नल हो, तर निरन्तरता, एकरूपता (कन्सिस्टेन्सी) र गुणवत्ताको हिसाबले यो नेपालबारे छापिने समाज विज्ञानसम्बन्धी उम्दा जर्नल हो । अमेरिकामा उच्च अध्ययन गरेका २ नेपाली (प्रत्यूष वन्त र लाजिमा वन्त (भट्ट) र दुई विदेशी (मेरी डेसेन र मार्क लिक्टी) सम्पादकको सक्रियतामा सुरु गरिएको सिन्हासको प्रारम्भिक उद्देश्य नेपाल केन्द्रित मानविकी र समाज विज्ञानको एउटा विश्वस्तरको समकक्षी समीक्षित जर्नल प्रकाशन गर्ने थियो । जर्नलको सम्पादन एवं अन्तरवस्तुमा नेपाली र अन्तर्राष्ट्रिय सहकार्य गर्ने र कुनै व्यक्तिको नामका आधारमा भन्दा पनि उसको लेखको गुणस्तरका आधारमा प्रकाशन गर्ने नीति तय गरिएको थियो । त्यस्तै उदार हिसाबले समाज विज्ञानलाई व्याख्या गर्ने, कुनै वैचारिक धार विशेषलाई या अनुसन्धान पद्धति विशेषलाई मात्र बोकेर नहिँड्ने तथा वैचारिक बहुलताप्रति प्रतिबद्धता देखाउने आफ्नो नीतिमा सिन्हास अविचलित छ । र यो नै सिन्हासको प्राज्ञिक विशेषता पनि हो । यसले साधारण तर गहन खाले समकक्षी समीक्षा प्रक्रिया अपनाएको छ, जसले गर्दा सिन्हासमा प्रकाशन हुने सामग्रीको गुणवत्ता कायम राख्न सघाएको छ ।

जर्नलको सम्पादन समूहले नेपाल अध्ययनको लागि अन्तर्राष्ट्रिय सहकार्यलाई गहनतापूर्वक लिएको छ । चाहे त्यो सम्पादन समूहमा होस्, चाहे लेख या अन्य सामग्री प्रकाशनमा होस् या समकक्षी समीक्षा प्रक्रियामा होस्, नेपाली/विदेशी सहकार्य त्यहाँ देख्न सकिन्छ । सिन्हासमा प्रकाशित मूल लेखलाई गन्ने हो भने तिनका लेखकमा नेपाली र गैरनेपाली नागरिक करिब बराबरीका संख्यामा छन् । यद्यपि नेपालका कतिपय स्वनामधन्य विश्वविद्यालयका प्राज्ञिकको लेख यो जर्नलमा त्यति धेरै छापिएको छैन । युवा पुस्ताका नेपाली अध्येताको लेख र सम्पादन समूहमा संलग्नता पनि सिन्हासमा बढिरहेको छ । २० वर्षको यो अवधिमा (४० अंकमा) यस जर्नलमा नेपाली समाजका विभिन्न पक्षसँग सम्बन्धित १९१ वटा लामा अनुसन्धानमूलक लेख, ५४ वटा टिप्पणी, ८ वटा साहित्य समीक्षा (लिटरेचर रिभ्यु) निबन्ध, ४ वटा सन्दर्भ सूची, दुइटा अन्तर्वार्ता र एउटा नोट्स फ्रम दि आर्काइभ प्रकाशित भएका छन् । त्यस बाहेक ११४ वटा पुस्तक समीक्षा पनि यो जर्नलमा प्रकाशित भएका छन् । (प्रकाशित सामग्रीको विधागत विविधता, लेखले समेटेका विषय तथा लेखकको भौगोलिक वितरणका लागि बक्स हेर्नुहोस् ।)

सिन्हासका चुनौती र आउँदा दिन

समग्र रूपमा स्वयंसेवामा चलिरहेको सिन्हासको सधैंभरिको समस्या प्रत्येक अंक (डिमाइ साइजको औसत २२० पेज) का लागि आवश्यक पर्ने गुणस्तरीय सामग्री जुटाउनु नै हो । एक त नेपालबारे अनुसन्धानमूलक सामग्री लेख्नेहरूको संख्या निकै कम छ । त्यसमाथि गतिला सामग्री पाउन अमेरिका र युरोपबाट प्रकाशन हुने विधागत तथा नेपाल र हिमालय केन्द्रित जर्नलहरूसँग एक हिसाबले अघोषित प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले नयाँ र पुराना लेखकलाई उनीहरूले गरिरहेका काम सिन्हासमा प्रकाशनका लागि दिन सम्पादकहरूले आग्रह गरिरहेका हुन्छन् । अन्यत्रको जस्तो अनुसन्धानात्मक लेखकहरूको छेलोखेलो हुँदो हो त कसैका पछि लागिरहनपर्ने आवश्यकता हुने थिएन । तर स्थिति त्यस्तो छैन र निकट भविष्यमा पनि चामत्कारिक हिसाबले यसमा परिवर्तन हुने देखिन्न ।

सम्पादकहरूले निरन्तर आग्रह गरेर जुटाएका सामग्रीसमेत जर्नलको बलियो समीक्षा प्रक्रियाको चरणबाट गुज्रनुपर्ने हुन्छ । यसक्रममा सम्पादन समूह बाहिरका समीक्षकहरूले ती सामग्री निकै सुधारेर मात्र प्रकाशन गर्न या छाप्न अनुपयुक्त रहेको टिप्पणी गर्न सक्छन् । त्यसो भएको खण्डमा ती सामग्री अस्वीकारसमेत गर्नुपर्ने अवस्था सिर्जिन्छ । यसले गर्दा केही लेखकले पछिसम्म तुष पालेर बसेका अनुभव सम्पादकहरूलाई छ । निश्चय पनि आफूले आग्रह गरेर हासिल गरेका सामग्री राम्रा आउन् र ती प्रकाशन गर्न सकियोस् भन्ने लाग्छ । तर सधैंभरि त्यस्तो हुँदैन । धेरै नाम चलेका लेखकको पनि सामग्री विभिन्न कारणले अन्यत्र विश्वमा समेत अस्वीकृत हुनसक्छन् भनेर खासगरी अलि पाका नेपाली लेखकले बुझ्नसकेका या चाहेका छैनन् र ‘फुच्चे’हरूले आफूलाई नगनेको उनीहरूको बुझाइ रहने गरेको छ । यो स्थितिबाट पार पाउन सहज छैन ।

तर आउँदा दिनमा सिन्हासमा धेरै युवा नेपालीको सामग्री प्रकाशन हुने अनुमान गर्न कठिन छैन । वर्षेनि थुप्रै नेपाली विद्यार्थी उच्च अध्ययनका लागि विदेशिने र तीमध्ये केहीले समाज विज्ञानमा उच्च अध्ययन गरिरहेकाले उनीहरूको प्रकाशनको पहिलो रोजाइ सिन्हास हुनसक्छ । सिन्हासको सम्पादन समूहमै पनि विस्तारै नयाँ नेपाली पुस्ताको उपस्थिति बढ्दै गएको र उनीहरूले आफ्ना समवयीहरूबाट सामग्री जुटाउन सहज हुने भएकाले सोही दिशामा जर्नल गुड्ने ठानिएको छ ।

नेपाल र नेपाली केन्द्रित काम गर्ने गैरनेपालीहरू र खासगरी नयाँ पुस्ताका अध्येताको पनि पहिलो रोजाइको जर्नल सिन्हास भएको बुझिन्छ । नेपालबारे निरन्तर काम गरिरहन र नेपाल अध्ययन गर्ने प्राज्ञिक समूहसँग वैचारिक हिसाबले ‘इन्गेज’ हुन चाहन्छन् भने उनीहरूले सिन्हासमा प्रकाशन गर्नु वाञ्छनीयजस्तै भइसकेको छ । तथापि उनीहरूको प्रकाशनको पहिलो रोजाइ सिन्हास बन्नका लागि केही व्यावहारिक चुनौती छन् । जस्तो, उनीहरूको विश्वविद्यालयमा पदोन्नतिका लागि यो जर्नलमा प्रकाशन हुनुले कति महत्ता राख्छ भन्नेले उनीहरूले सिन्हासलाई पहिलो रोजाइ बनाउने/नबनाउने निर्धारण हुन्छ । यसमा ‘ज्ञान उत्पादनको राजनीति’को भूमिका ठूलो छ । त्यस बाहेक सिन्हासको अहिलेको प्रिन्टकेन्द्रित उपलब्धतालाई ‘डिजिटल वल्र्ड’मा सहजै पुर्याजउनु अर्को चुनौती देखिएको छ ।

ज्ञान उत्पादनको राजनीति

सिन्हास अन्तर्राष्ट्रिय जर्नल हो कि होइन ? यो हाम्रालागि खासै महत्त्वपूर्ण प्रश्न होइन, तथापि यो प्रश्न बरोबर विभिन्न प्रसंगमा आइरहन्छ । त्यसैले यो कथित अन्तर्राष्ट्रिय र स्थानीय ज्ञान उत्पादनको राजनीतिबारे केही भन्न जरुरी छ । पहिलो, कुनै जर्नल स्थानीय, राष्ट्रिय या अन्तर्राष्ट्रिय हो/होइन, छुट्याउने आवश्यकता नै किन पर्छ ? दोस्रो, छुट्याउने हो भने त्यसका आधार के हुन् ? फगत भौगोलिकता या नश्लीय संलग्नता हेर्ने हो कि, मूल कुरा त्यहाँ प्रकाशन हुने सामग्रीको गुणवत्ता प्रमुख आधार हो ? कि त्यो जर्नलले कभर गर्ने विषय या क्षेत्रमा काम गर्ने अध्येताहरूको समूहले उक्त जर्नलको स्तर मापन गर्ने हो ? छिमेकी मुलुकको भागलपुरबाट प्रकाशन भए पुग्छ कि पश्चिमा मुलुकबाटै छापिनुपर्ने हो ? गोरो छालाले मात्रै लेख्नुपर्ने हो कि खैरा (ब्राउन)हरूले लेखेको पनि अन्तर्राष्ट्रिय हुन्छ ?

यी प्रश्नसँग जोडिएका अझ गहन प्रश्न हुन्– के ‘दक्षिण’बाट ज्ञान उत्पादन सम्भव छ ? के दक्षिणबाट कथित अन्तर्राष्ट्रिय स्तरको पुस्तक या जर्नल प्रकाशन सम्भव छ ? नेपालबाट प्रकाशन हुने पुस्तक या जर्नल ‘उत्तर’का प्रतिष्ठित भनिएका प्रकाशनसरह या तीभन्दा उम्दा भए पनि ती किन स्थानीय र राष्ट्रिय ज्ञान या प्रकाशन भइरहन्छन् ? अथवा ती किन ‘अन्तर्राष्ट्रिय कहिन्नन् ? किनकि उत्तरका आफूलाई ‘श्रेष्ठ’ ठान्नेहरूले पनि नेपालजस्ता दक्षिणका मुलुकबाट त्यो सम्भवै हुँदैन भनेर हेय भावले हेर्छन् र दक्षिणका दमित मानसिकताले ग्रसितहरूले पनि ‘हो, हामीबाट त्यो सम्भव छैन’ भन्ने आत्मस्वीकृति देखाउँछन् । वैचारिक ‘हेजेमोनी’ले कसरी काम गर्छ र कति गहिरोसँग त्यसको जरा गाडिएको हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो ।

माथिका प्रश्नलाई गहिरोगरी केलाउन र ती जवाफको आलोकमा सिन्हासलाई मूल्यांकन गर्न अनुरोध गर्ने सिवाय हामीलाई यसबारे थप भन्नु छैन । तर फगत नेपालबाट प्रकाशित हुनेबाहेक अन्य कुनै ‘पारामिटर’को कसीमा नाप्ने हो भने कथित ‘अन्तर्राष्ट्रिय जर्नल’भन्दा सिन्हास कुनै हिसाबले तल छैन । यो दाबीका साथ भन्न सकिन्छ । यहींनेर एउटा प्रसंग जोड्न पनि उपयुक्त होला– विश्वका थुप्रै जर्नल प्रकाशन गर्ने एउटा प्रतिष्ठत प्रकाशन संस्थाले सिन्हास प्रकाशनको जिम्मा आफूलाई दिन अनुरोध गरेको थियो । यसबारे सम्पादकका माझ पटक—पटक छलफल भएको छ । केही साथीले त्यसको पक्षमा र केहीले विपक्षमा मत राखेका थिए । लामो छलफलपछि केही वैचारिक कारण (खासगरी प्राज्ञिक ज्ञानको सीमित व्यापारीको हातमा केन्द्रीकरण लगायत) ले सिन्हासलाई नेपालबाटै प्रकाशन गर्ने निधोमा पुगिएको हो । त्यसो गर्दा केहीको आँखामा सिन्हास ‘अन्तर्राष्ट्रिय जर्नल’ ठहरिएन भने पनि त्यसलाई बेहिच्किचाहट स्वीकार्न सिन्हास सम्पादक मण्डललाई कुनै समस्या छैन ।

अन्त्यमा,

सिन्हासको यो २ दशकभन्दा लामो यात्रामा लेखक या बाहिरी समीक्षकका रूपमा ३ सयभन्दा बढी स्वदेशी/विदेशी प्राज्ञिक व्यक्ति सिन्हाससँग जोडिएका छन् । नेपाल र नेपालीबारे अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठित स्वदेशी, विदेशी प्राय:को अनुसन्धानमूलक सामग्री सिन्हासमा प्रकाशित भएका छन् । र उनीहरूले आफ्ना महत्त्वपूर्ण अनुसन्धानमूलक सामग्री प्रकाशन गर्नका लागि यो जर्नल रोज्ने गरेका छन् । अहिले नेपाल र नेपालीबारे गहन अध्ययन र अनुसन्धान गर्न चाहने जोसुकैको पनि पहिलो खुट्किलो यो जर्नल हुनुपर्ने अवस्था बनेको छ । बितेको २० वर्षदेखि अविरल सक्रिय रहेर नेपालबाट पनि ‘विश्वस्तरको’ (विश्लेषक सीके लालको शब्दमा) पियर रिभ्युड जर्नल प्रकाशन गर्न सम्भव छ भन्ने उदाहरण सिन्हासले प्रस्तुत गरेको छ, जुन हामी सबैका लागि गौरवको कुरा हो, हुन् ।

पराजुली र वन्त सिन्हासका सम्पादक हुन् ।

स्रोतः https://www.kantipurdaily.com/opinion/2016/12/13/20161213080655.html?author=1


About the Author