स्वतन्त्र उम्मेदवारहरूको दक्षिणपन्थी रुझान

- उज्ज्वल प्रसाई | 2022-11-06

स्वतन्त्र भनिने धेरैजसोको वैचारिक धरातल कमजोर छ। एउटा कुरा सत्य हो, उनीहरूमा आक्रोश र हतारो पक्कै छ। यद्यपि, सबै स्वतन्त्र उम्मेदवारहरू त्यस्तै छन् भन्ने ठहर होइन।

मौजुदा पार्टीहरूले ढंगले काम नगरेको, जनता र समाजलाई आँखा देखाउन र ‘दुःखसुखमा साथी बनाउँछौँ’ भनेर विश्वस्त तुल्याउन नसकेको तथा ‘दलहरूले काम गर्न सक्दैनन्’ भन्ने खालका प्रचारहरू समेत भएको अवस्थामा केही युवाहरूले अहिले आफूलाई ‘स्वतन्त्र’ बताउँदै संघीय र प्रादेशिक चुनावमा आफ्ना लागि भोट मागिरहेका छन्। यद्यपि, उनीहरू कुन विषयबाट स्वतन्त्र हुन् र कस्ता खालको स्वतन्त्र हुन् भन्नेबारेमा तिनमै प्रष्टता छैन। अहिलेका दलहरूभन्दा अलि अलग खालको समूह या व्यक्तिका रूपमा मात्रै स्वतन्त्रलाई बुझिएको छ। स्वतन्त्रको त्यति मात्रै व्याख्या र विश्लेषण हो भने तिनको वैचारिक धरातल बलियो छैन भन्ने स्वतः प्रष्ट हुन्छ। 

परम्परागत पार्टीहरूमा एक खालको थकान भएको र ती पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको या अत्यन्त कमजोर भएको सही हो। आफैँले बनाएको संविधानलाई पुरानो नेतृत्वले निष्ठापूर्वक पालन नगरेका हुन्। उनीहरूले आम युवामात्रै होइन, पुरानो पुस्तामा आशा सञ्चार गर्न नसकेको तथ्य हो। पुराना दलहरूको कमजोरीकै बलमा आजका दिनमा ‘लौरो’ भनेर हिँड्ने या स्वतन्त्रकै नाममा पार्टी खोल्ने अधिकांश ‘स्वतन्त्र’ भनिनेहरूमा विचार र ‘भिजन’ केही पनि देखिँदैन। ‘‘तपाईं गणतन्त्र मान्ने कि नमान्ने?’’ भनेर सोध्दा त्यसको स्पष्ट जवाफ दिन नसक्ने स्वतन्त्र उम्मेदवारहरू हामीसँग पर्याप्त छन्। संघीयता के हो? कसरी चल्छ? संघीयता किन चाहिएको हो? अहिलेको संविधानले अंगीकार गरेको धर्मनिरपेक्षता के हो? स्थानीय तहको संरचना र संघीय संसद्का बीचमा के फरक छ भनेर अलि गहिरोसँग प्रश्न गर्ने हो भने ‘नयाँ गर्छु’, ‘फरक गर्छु’ र ‘पुरानो पार्टीलाई उछिन्छु’ भनेर आएका अधिकांश साथीहरूले राम्रोसँग त्यसको जवाफ दिन सक्दैनन्। 

अतः स्वतन्त्र भनिने धेरैजसोको वैचारिक धरातल कमजोर छ। एउटा कुराचाहिँ सत्य हो, उनीहरूमा आक्रोश र हतारो पक्कै छ। यद्यपि, सबै स्वतन्त्र उम्मेदवारहरू त्यस्तै छन् भन्ने ठहर होइन। आक्रोशका बुई चढेरै अधिकांश आएका भने हुन्। त्यसकै बल र दुष्परिणामका टेकेर ‘स्वतन्त्र’हरू जुरमुराएका देखिन्छन्। कतिपय इमानदार प्रयत्न गर्ने साथीहरू पनि त्यसमा पक्कै छन् होलान्। तर जस्ता खालका प्रवृत्तिहरू देखिएका छन्, त्यसबाट उति आशावादी हुने ठाउँ भने छैन। त्यसको अर्थ फेरि पनि ‘सबै पार्टी र नेताले ठिक गरे’ भन्ने पटक्कै होइन। 

वर्गीय पक्षधरता
पहिले र अहिले पनि ‘राजनीति गर्छु, नयाँ काम गर्छु, चिन्तन मनन र वैचारिक विमर्श गर्छु’ भन्नेहरू ज्यादातर मध्यमवर्ग या उच्च–मध्यम वर्गकै हुने गरेका छन्। अहिलेका स्वतन्त्रहरू पनि आमरूपमा त्यही वर्गका देखिन्छन्। यी स्वतन्त्रहरू अहिले कुनै मुद्दा र विचारभन्दा पनि आफूलाई 'सेल' गर्ने मुडमा देखिन्छन्। ‘मसँग अक्स्फोर्डको डिग्री छ’, ‘म सात लाखको जागिर छोडेर आएँ’ भन्ने भाष्य निर्माण गर्दै यिनीहरूले आफूलाई बजारमा सेल गर्न खोजेका छन्। आफ्नो ‘योग्यता’लाई ब्रान्ड बनाएर उनीहरू त्यसबापत सहानुभूतिको भोट बटुल्न खोज्दैछन्। तर सच्चा त्यागीले त्यसरी आफ्नो ब्रान्ड बनाउनु आवश्यक छैन। 

हामीलाई सहानुभूतियुक्त प्रचार होइन, मुलुक सुधारका कार्यक्रम र चिन्तन आवश्यक छ। नेपाली समाजको जटिलतालाई सम्बोधन गर्ने उपाय तथा संघीय या प्रादेशिक सांसदका रूपमा तिनले केके गर्न सक्छन्, त्यसको खाका चाहिएको छ। स्वतन्त्रहरूले सांसदको कर्तव्य र अधिकारको सीमित दायरामा रहेर आफूले केके गर्न सक्छु भनेर सोचेको र सोही आधारमा कार्यक्रम अघि सारेको देखिन्न। 

‘मेरो त्याग, मेरो सात लाखको जागिर, मेरो फलानो विश्वविद्यालयको उत्रो डिग्री’ भन्नु त हिजोदेखिकै भाष्य पछ्याउनु हो। त्यसमा कुनै नयाँपन देखिँदैन। हिजो रवीन्द्र मिश्रले त्यही भन्नुभयो तर पाँचसात वर्ष त त्यसै गयो। राजनीतिमा मात्रै होइन, अन्य क्षेत्रमा पनि त्यसो भन्नेहरू छन्। र, तिनीहरूले कुनै समाजमा गुणात्मक परिवर्तन ल्याएको देखिँदैन। 

नेपाली समाज हिजो कसरी हिँड्यो, आज कहाँ आइपुगेको छ र अब गर्ने भन्नेबारेमा ‘स्वतन्त्र’हरूले कुनै विमर्श गर्ने चेष्टा गरेका छैनन्। सैद्धान्तिक कुरा छाडौँ, कमसेकम कार्यक्रम र योजनाकै कुरा पनि उहाँहरूसँग छैन। केहीले योजनाका कुरा गरेका छन्, तर त्यहाँ आकाशपाताल जोडिएका असम्भव कुराहरू छन्। तर धेरैजसो स्वतन्त्रको एउटै वाचा सुनिन्छ, ‘मैले जिते स्वर्ण युग आउँछ।’ तर मन्त्र जपेर स्वर्णयुग आउने होइन। त्यसका लागि सिद्धान्त, मार्गदर्शन, योजना त पक्कै हुनुपर्छ।  

स्वतन्त्र उम्मेदवारहरूले समाजका वर्ग, वर्ण, लिंगभेद, शोषण र गरिबीबारे बिरलै सोचेका छन्। उनीहरूले अहिलेको संविधानको सामर्थ्य/सीमितता, अहिलेको संविधानले भोलि झेल्नसक्ने संकट, हामीले हिँड्न खोजेको बाटो तथा हाम्रा विकाश/समृद्धिका जटिलताबारे राम्रोसँग सोचेको देखिँदैन। समाजको तत्कालको अन्तर्विरोध के हो, भोलि हामी कहाँनिर फस्न सक्छौँ, आगामी चुनौती केके हुन्, हाम्रो भूराजनीति कति जटिल छ, यस्तो अवस्थामा हामी देशका रूपमा कसरी रहन सक्छौँ? देशभित्र रहेका विविध समुदायका मान्छेहरूलाई सम्मानित र इज्जतिलो जीवन जिउनका लागि के कुरामा हामीले सोच पुर्‍याउनुपर्छ र सम्बोधन गर्नुपर्छ भन्नेजस्ता विषयहरूमा उहाँहरूले ख्याल पुर्‍याउनुभएको छैन। यस्ता विषयमा उहाँहरू गम्भीर हुनुहुन्न। 

आज बेइमानी गरे पनि, बाटो बिराए पनि हिजोका दिनमा पुराना पार्टीहरूले पर्याप्त वैचारिक र सैद्धान्तिक कामहरू गरेका थिए। समाज रूपान्तरण गर्छु भन्नेले त्यसो गर्नैपर्छ। तर, नेपाली समाजका पछिल्ला समयका अन्तर्विरोधहरूलाई राम्रोसँग सम्बोधन गर्न नसक्दा नै उनीहरू खस्केका थिए। नयाँ या स्वतन्त्रहरूमा बजार र बजारको शैलीको प्रभाव भने पर्याप्त छ। बजारले आज एउटा कमोडिटी (सामान) सिर्जना गर्छ, भोलि ब्रान्ड बनाएर त्यसलाई स्थापित गरेर त्यसबाट नाफा कमाउँछ। स्वतन्त्रहरूले बजारले स्थापित गरेको त्यस्तै भाष्य र सत्यलाई अंगीकार गरेका छन्। आफू र आफ्नो चिह्नलाई ब्रान्डका रूपमा फैलाएर त्यसबाट शक्ति र पद हासिल गरेपछि केही काम गरौँला भन्ने मात्रै सोच छ उहाँहरूमा। 

उहाँहरूमा अलिअलि मसिहागिरी पनि छ। ‘म मसिहा बन्न सक्छु, छुमन्तर गरेर मैले सोचेजस्ता काम फटाफट हुनेछ र त्यसरी मैले गजबै रिजल्ट निकाल्न सक्छु’ भन्ने उहाँहरूमध्ये अधिकांशमा छ। इमानदारीपूर्वक त्यस्तै सोचेको हो भने पनि त्यसले कस्ता जटिलता बेहोर्नुपर्ला, त्यसक्रममा कस्ता हण्डर र चुनौती आउला भन्नेबारे उहाँहरूले गम्भीरतापूर्वक सोचेको, छलफल गरेको र त्यसमा लगानी गरेको जस्तो देखिँदैन। 

मधेसी, जनजाति, महिला तथा उत्पीडितहरूका माग के हुन्? ती समस्यालाई कसरी हल गर्ने, भोलि प्रविधिले ल्याउने अन्तर्विरोधहरू के हुन् भन्नेबारे पनि उहाँहरूमध्ये धेरैलाई ख्याल नभएझैँ लाग्छ। उहाँहरू ‘प्रविधि प्रविधि’ भन्दै हिँड्नु भएको छ र सामाजिक सञ्जालको परिचालनलाई नै उहाँहरूले प्रविधि भन्नुभएको बुझिन्छ। जबकि, प्रविधि भनेको त अलि बृहत्तर विषय हो। यो आफैँमा सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र भूराजनीतिक जटिलतासहित आउँछ भन्ने बोध र गम्भीरता उहाँहरूमा भएको देखिँदैन। केबल आफ्नो 'ब्रान्ड' र 'ब्रान्ड भ्यालु' सिर्जना गरेर सेल गर्ने मात्रै ध्याउन्न छ उहाँहरूको। मार्केटले दिएको सूत्रमा उहाँहरू हिँड्नुहुन्छ र हिँडिरहनुभएको छ। 

राष्ट्रवाद र पुराना प्रतीक
र, उहाँहरूमध्ये धेरैले लगाउने ‘राष्ट्रवादी पहिरन’ पनि ब्रान्डिङकै सिलसिलामै आएको हो। उहाँले हाम्रा जटिलताहरू बुझ्नु भएको भए, हाम्रा विगत दश पन्ध्र वर्ष कसरी बिते भनेर विश्लेषण गर्नुभएको भए, तराई मधेशमा किन आन्दोलन भए, दलित, जनजाति र महिलाहरू किन आन्दोलनमा उत्रिए भन्ने कुरा जानेको भए, त्यसबारे गम्भीरतापूर्वक अध्ययन गर्नुभएको उहाँहरूले ब्रान्डिङ गर्ने कुरालाई भन्दा एजेन्डालाई जोड दिनुहुन्थ्यो होला। तर उहाँहरू सोसल मिडियामा बिक्ने पुराना प्रतीकहरूमा जोड दिनुभयो। खासगरी केपी ओलीको उदयसँगै राष्ट्रवादी मुद्दा फर्केर आयो। त्यसको प्रतीकात्मक र सांस्कृतिक कुरा पनि फर्केर आए। समाजमा राष्ट्रवादी भाष्य बढी स्थापित भयो। ओलीमार्फत नै त्यसको प्रचार ज्यादा भयो। 

ओलीको उदयअघि नेपालमा माओवादी र मधेशवादी एउटा शक्तिको रूपमा स्थापित थियो। तर समाजमा उनीहरूप्रतीको मोहभंग भयानक रूपमा बढ्दै गयो। आफ्ना काम गर्ने शैली र एजेन्डामा उनीहरू टिक्न नसक्दा तिनीहरूप्रति जनतामा रोष बढ्नु स्वाभाविक थियो। त्यसमाथि मधेश आन्दोलन र जनयुद्धले समाजमा छाडेका घाउहरू छँदै थिए। मधेशवादी र माओवादीमा एक खालको थकान थियो। यही थकानको फाइदा उठाउन कतिपय व्यक्ति र शक्तिहरू जुरमुराउन थाले। त्यस थकानलाई कसरी ‘क्यास’ गर्न सकिन्छ भनेर सोच्न थाले।  

र, उनीहरूले ‘‘यसबीचमा जेजे भए ती गलत भए। बरू हाम्रो विगत नै ठीक थियो’’ भन्ने भाष्य स्थापित गराउन थाले। भारतमा आरएसस र मोदीको नेतृत्वमा हिन्दुत्ववादीहरू जाग्न थाले, अमेरिकामा ट्रम्पको नेतृत्वमा श्वेत सर्वोच्चतावादीहरूले मुन्टो उठाए। उसैगरी हाम्रोमा पनि ‘‘पक्कै पनि हिजो  साह्रै राम्रो थियो होला, हामी नेपाली त हिजोका दिनमा वीर थियौँ, महान् थियौँ’’ भन्ने पुनरुत्थानवादी भाष्य बलियो हुन थाल्यो। मान्छेलाई सहजै बेच्न सकिने र गुमराहमा राख्न सकिने त्यस भाष्यलाई ब्रान्डिङ गर्न पनि सजिलो हुन्थ्यो। 

दौरा, सुरुवाल, खुकुरी क्रस र देशको झण्डा स्थापित प्रतीक हो। ती प्रतीकहरू भत्किसकेका छैनन्। पुराना प्रतीकहरूले अलिअलि चुनौती मात्रै झेलेका हुन्। पुराना प्रतीकले ब्रान्डिङमा काम दिन्छ। पुरानो प्रतीकमा सिनेमावाला दारी र चस्मा पनि थपिए। खुकुरी क्रसले त्यसमा काम गर्‍यो। ‘मार्सल रेस’जस्तो अवधारणा सिर्जना गरेर स्थापित गरिएको खुकुरीक्रसको भाष्यको गहिराइमा पुग्न गाह्रो छ, तर ‘हामी हिजो वीर थियौँ’ भन्दै पुराना स्थापित प्रतीकहरूमा खेल्न सजिलो हुन्छ। त्यसैले उनीहरूले सहजै चिनिने र स्थापित प्रतीकको प्रयोग गरेर अघि आए। कतिपय त पहेँला धार्मिक पहिरन लगाएरै पनि चुनावमा हिँडेका छन्। त्यो पनि स्थापित प्रतीककै कुरा हो। 

खतरा !
स्वतन्त्रहरूको उदय देश र पार्टीका लागि राम्रो अवसर पनि हुनसक्छ। हरेक पुराना पार्टीभित्र भएका प्रगतिशील व्यक्तिहरू होलान्, त्यस तप्काले स्वतन्त्रको उदयलाई गम्भीरतापूर्वक सोच्यो र आफ्नो पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन लाग्यो, नयाँ खालको परिकल्पना कसरी गर्न सकिन्छ भनेर सोच्यो भने, आफूलाई सच्यायो भने राम्रै हुन्छ।

गणतन्त्रप्रति पूरा विश्वास नभएका या अलमल भएका स्वतन्त्रहरूले जित्नेबित्तिकै प्रणालीमा उलटफेर नै हुन्छ भन्नेचाहिँ हुन्न। पुराना पार्टीलाई पूरै ध्वस्त पार्ने सामर्थ्य स्वतन्त्रहरूमा छ जस्तो लाग्दैन। अहिलेको अनुमानमा त्यति ठूलो धक्का दिने सामर्थ्य स्वतन्त्रले राख्दैनन्। तर, स्वतन्त्रहरूको चर्चा र चहलपहलले समय बदलिइसकेको संकेत भने हो। स्थापित दलहरूलाई चुनौतीहरू खडा भएकै हुन्। पुराना दलहरू नसच्चिने हो भने अर्को चुनावसम्म पुग्दा अर्कै स्थिति उत्पन्न हुनसक्छ र त्यसले लोकतन्त्रलाई ठूलै खतरा ल्याउनसक्ने सम्भावना हुन्छ। 

(कुराकानीमा आधारित) 

प्रकाशित मिति : २०७९ कार्तिक २०, आइतबार
स्रोत : https://www.ukaalo.com/opinion/221105-indipendent-candidates-rightist-alignment/781


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai