बीपीले जुद्धशमशेरलाई लेखेको त्यो चिठी

- लोकरञ्‍जन पराजुली | 2026-07-22

बीपीले जुद्धशमशेरलाई नेपालीमा लेखेको यो पत्र ब्रिटिस-भारत मातहतको विहार प्रहरीले 'इन्टरसेप्ट' गरेर, रोकेर राखेको देखिन्छ। पत्र रोक्नुको कारण खुलाएर जुद्धशमशेरलाई जानकारी गराउन सकिने टिप्पणी सरकारी अधिकारीले गरेको अभिलेखमा पाइए पनि त्यसो गरिए-नगरिएको थाहा लाग्दैन। 

श्री ३ जुद्धशमशेर र बीपी कोइराला। (स्रोत: ब्रिटिश लाइब्रेरी/सुशीला कोइराला फाउन्डेसन)


बीपी कोइराला। नेपालबाट एक शताब्दीभन्दा लामो जहानियाँ शासन व्यवस्था फ्याँकेर प्रजातान्त्रिक शासन व्यवस्थाको बीजारोपण गर्ने कर्मठ व्यक्तिमध्येका एक। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री। 

बीपीको राजनीति मन नपराउनेहरूले पनि उनको साहित्यलाई प्रेम गरेको देखिएको छ। उनका साहित्यिक सृजना कालजयी मानिन्छन् र अद्यापि चाखसाथ पढिन्छन्। उनको अपूरो आत्मकथा, उनका डायरी वा उनका गैरसाहित्यिक सामग्री (लेख, भाषण, बयान, अन्तर्वार्ता, आदि) का संग्रह पनि प्रकाशित छन्। कतिपय उनका सामग्री खास गरी चिठीपत्र र लेखहरू अझै पनि प्रकाशमा आएका वा सहजप्राप्य छैनन्।

बीपीको जन्म नेपाली सरहदभित्र भए पनि उनका पिता कृष्णप्रसाद कोइराला राणा शासक चन्द्रशमशेर राणाको कोपभाजनमा परी नेपाल छाड्नु परेकाले बीपीले आफ्नो जीवनको महत्त्वपूर्ण समय भारतमा बिताए। उतै हुर्के-बढे, पढे-लेखे, वकालत गरे, राजनीतिमा होमिए। भारतमा निर्वासित जीवन बिताउन बाध्य बीपीको नेपाली राजनीतिमा रुचि पारिवारिक विरासतबाटै आएको भए पनि नेपालको राजनीतिक व्यवस्था परिवर्तनका लागि उनको सक्रियता सन् १९४५ पछि मात्रै हो। यद्यपि, त्यसअघि २७ सेप्टेम्बर १९४२ मा नै उनले प्रधानमन्त्री जुद्धशमशेर राणालाई एउटा पत्र लेखिसकेको पाइएको छ। यो पत्र लेखेको दुई महिनाभित्रै बीपी पक्राउ परे, २५ नोभेम्बर १९४२ मा। 

त्यो बेला बीपी पक्राउ पर्नुका दुइटा कारण देखिन्छन्। एउटा, राणाविरोधी गतिविधिमा संलग्न भएको र अर्को, अंग्रेजविरोधी वा स्वतन्त्रता आन्दोलनमा सक्रिय भएको। तर, अभिलेख केलाउँदा देखिन्छ, ती दुवै कारण अत्यन्त कमजोर भएको स्वयं उनलाई पक्राउ गर्ने अंग्रेज सरकार नै ठान्दथ्यो। यद्यपि, सन् १९३० ताका किशोरवयमै विद्यालय पढ्दै गर्दा अंग्रेजविरोधी गतिविधि गरेकाले उनी पक्राउ परी जेल बसिसकेका थिए। 

बीपी र बुबा कृष्णप्रसाद दुवैलाई राणाविरोधी गतिविधिमा संलग्न भएको मानी एक हिसाबले निगरानीमा राखिएको थियो। बीपीले त्यति बेला बनारस विश्वविद्यालयमा पढिरहेका राजेश्वरीप्रसाद उपाध्यायलाई लेखेको पत्रलाई पनि ब्रिटिस भारतीय गुप्तचर विभागले “इन्टरसेप्ट” गरेको देखिन्छ। पत्रमा उनले नेपालीहरूले भारतीय राष्ट्रिय कांग्रेसलाई साथ दिनुपर्छ भनेका थिए। यही क्रममा
सन् १९४० मा उनको डेरामा प्रहरीले छापा मारेको भए पनि सबुत नभेटिएकाले कारबाही चलाउन सकेको थिएन। 

२००२ सालमा स्वेच्छाले प्रधानमन्त्री पद पद्मशमशेरलाई सुम्पेर सन्यास धारण गर्न पाल्पाको रिडीतर्फ प्रस्थान गर्दै जुद्धशमशेर। (स्रोत: ब्रिटिश लाइब्रेरी)

सेप्टेम्बर १९४२ मा बीपीले जुद्धशमशेरलाई पत्र लेख्दा दोस्रो विश्व युद्ध मच्चिइरहेको थियो। भारतमा पनि स्वतन्त्रता आन्दोलन (भारत छोडो आन्दोलन) पनि चलिरहेकै थियो। अन्य कतिपय नेपालीहरू जस्तै बीपी पनि भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका थिए। राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव आदिहरूको संसर्गमा आई कांग्रेसभित्रैको समाजवादी खेमामा उनी अलि बढी सक्रिय भए। यसै बेला उनले तात्कालिक विश्वपरिस्थितिलाई व्याख्या गर्दै जुद्धशमशेरलाई चिठी लेखेको देखिन्छ। 

यस चिठीबारे बीपी स्वयंले कतै लेखेको र बोलेको अहिलेसम्म सार्वजनिक भएको छैन। उनीउपर अध्ययन-अनुसन्धान गर्नेहरूले पनि चर्चा गरेको पाइँदैन। 

आफ्नो जीवनको उत्तरार्धमा बीपीले गणेशराज शर्मासँग कुराकानी गरेका थिए।  रेकर्डसमेत गरिएको उक्त अन्तर्वार्ता बीपीको मृत्युको डेढ दशकपछि आत्मवृत्तान्त  पुस्तकको रूपमा छापियो। पुस्तकको एक ठाउँमा बीपीले भनेका छन्—

“जुद्ध सम्सेरको बारेमा सबैलाई थाहा थियो, उनी जिद्दी र कठोर शासक थिए, जो नया परिस्थिति विकसित भएको छ, त्यसलाई नबुझ्ने। पद्म सम्सेर अलि नरम किसिमका मानिस थिए। पहिले पनि उनका कुराहरू अलि उदार नीति हुनुपर्छ भन्ने थिए। मलाई खुशी पनि लागेको थियो उनी प्रधानमन्त्री भएपछि। मैले उनी प्रधानमन्त्री भएपछि उनलाई चिठी पनि लेखेको थिएँ कि अब तपाईंले अधिकार पाउनुभयो, अब प्रजातन्त्र दिन पनि थाल्नुपर्छ, जनताको राजनीति थाल्नुपर्छ। त्यसबखत, क्यान्सरको इलाजको लागि म बम्बई बसेकै बेलाका यी कुराहरू हुन्।”

 

राजनीतिक सुधारबारे आफूले पद्मशमशेरलाई लेखेको भनेर बीपीले बताए पनि सो पत्र उपलब्ध नभएकाले सोबारे हामीलाई खासै थाहा छैन। तर, उनले तात्कालिक प्रधानमन्त्री जुद्धशमशेरलाई दोस्रो विश्वयुद्धको समय लेखेको एउटा पत्र भारतीय अभिलेखागारमा फेला परेको छ। यो पनि हुन सक्छ कि बीपीले जुद्धलाई पत्र लेखेका हुँदा हुन्, तर लामो समय (करिब ४० वर्ष) पछि सम्झने बेलामा गल्ती भयो र उनले पद्मको नाउँ लिए।

जुद्ध शमशेरको शासनकालमा नेपालमा प्रजापरिषद्ले राणाविरोधी पर्चा-पम्प्लेट गरेपछि राणा सरकारले सुराकी लगाएर सो दलमा आबद्ध सबैजसोलाई पक्राउ गरी दण्ड-सजाय गरेको थियो। आजीवन कारावास र ज्यान लिनेसम्मको कारबाही जुद्धशमशेरले गरे पनि राणाविरोधी आन्दोलनको धिपधिपे पूर्णतः निभेको थिएन। खास गरी भारतका विभिन्न पत्रिकामा राणाविरोधी सामग्री प्रकाशन भइरहेका थिए। 

आफ्नो शासनको विरोध गर्नेहरूप्रति सुराकी गरी उनीहरूलाई ब्रिटिस-भारतीय प्रहरी लगाएर पक्राउन लगाउने र नेपाल फिर्ता गरी दण्ड-सजाय गर्ने प्रयास जुद्धशमशेरले गरेका थिए। विश्वयुद्धमा आफूहरूलाई राणाहरूले ठूलो सहयोग गरिरहेकाले ब्रिटिसहरूले जुद्धको आग्रह नमान्ने कुरै थिएन। सोही अनुरूप नेपाल सरकारले दुश्मन वा शंकास्पद ठानेका नेपालीहरूलाई ब्रिटिस-भारतीय प्रहरीले अनुसन्धान र पक्राउ गरेको देखिन्छ। यसै क्रममा बीपी (र बुबा कृष्णप्रसाद) पनि शंकाको घेरामा परेका हुन्। यद्यपि, त्यति बेलासम्म राणाविरोधी गतिविधिमा उनी उति संलग्न देखिन्नन्। 

नोभेम्बर १९४२ मा पक्राउ परेपछि बीपीको नागरिकताबारे सोधीखोजी गरिएको थियो। पहिले बीपीले आफू नेपाली नागरिक भएको बताएका थिए, तर उनलाई माया गर्ने र उनीसँगै जेल बसेका राजेन्द्र प्रसाद—जो पछि गएर मन्त्री, संविधानसभा अध्यक्ष र स्वतन्त्र भारतको प्रथम राष्ट्रपति समेत बने—ले 'नेपाली भन्यो भने तिमीलाई नेपालमा सुपुर्दगी गरिदिन्छन् र मारिदिन्छन्' भनेपछि उनले बयान फेरेर आफूलाई ब्रिटिस इण्डियन भनेको देखिन्छ। त्यसपछि उनको जन्मथलोको खोजी भयो। (त्यति बेलासम्म ब्रिटिस भारतमा जन्म हुने जो कोही त्यही देशको रैती मानी तिनलाई त्यहींको नियम-कानुन लागू हुने हुन्थ्यो।) बीपी नेपाली भएको प्रमाण पठाउन उनीहरूले नेपाल सरकारलाई ताकेता गरे पनि नेपालले सो पठाएन र उनी भारतीय भएको भन्ने प्रमाण पनि रेकर्डमा भेटिएन। 

सम्भवतः त्यति बेलासम्म राणाविरोधी आन्दोलनमा बीपी सक्रिय रूपमा लागिनसकेकाले राणाहरूले उनलाई नेपाल फिर्ता ल्याउन उतिसारो चासो देखाएनन्। यद्यपि, उनलाई लामो समय बन्दी बनाई राख्न ब्रिटिसहरूलाई उनीहरूकै कानुनका कारण पनि सहज थिएन। बीपी भारतीय जेलमा परेकै बेला यता बुबा कृष्णप्रसादलाई पनि नेपाल सरकारले पक्राउ गरी जेलमा हालेको थियो। बाहिरी कारण जे भनिए पनि नेपाल छिरेका अंग्रेजविरोधी स्वतन्त्रता आन्दोलनकारीहरूलाई संरक्षण दिएकै कारण कृष्णप्रसाद पक्राउ परेका देखिन्छन्। 

२०१६ सालमा बीपी कोइरालालाई प्रधानमन्त्री पदको सपथ खुवाउँदै राजा महेन्द्र। (स्रोत: विकिपिडिया कमन्स।)

सन् १९४५ को जनवरीमा काठमाडौं जेलमै कृष्णप्रसादले मृत्युवरण गरे। संयोग कस्तो भने सोही दिन बीपी कारामुक्त भई पटनामा स्थानहद गरिएका थिए। बीपी कारामुक्त हुनुको प्रमुख कारण उनलाई लगाइएका अपराधहरूको गाम्भीर्य कम हुनु त छँदै थियो, त्यसमाथि वैश्विक परिस्थिति पनि परिवर्तन आइसकेको थियो। ब्रिटिस र उसका सहयोगीहरू विश्वयुद्धमा विजयी त भएका थिए, तर भारतले स्वतन्त्रता प्राप्त गर्ने कुरा पनि थप बलियो बनिरहेको थियो। 

बीपीले भारतीय राष्ट्रिय कांग्रेसका ठूला नेता राजेन्द्र प्रसादसँगै पटनाको बांकीपुर जेलमा र पछि हजारीबाग जेलमा बन्दी जीवन बिताएका थिए। त्यहीँ उनलाई घाँटीको समस्याले दुःख दिन थालेको थियो। अंग्रेज सरकारले बीपीलाई जनवरी १९४५ मा छाड्यो भने, राजेन्द्र प्रसादहरू सोही साल जुनमा रिहा गरिए। 

जेलमुक्त भएपछि बीपीको टन्सिलको शल्यक्रिया भयो, तर त्यसले पनि उनको स्वास्थ्य ठीक भएन। १९४६ जुलाईको पहिलो साता बम्बईमा भएको भारतीय राष्ट्रिय कांग्रेसको बैठकका बेला राजेन्द्र प्रसादले बीपीलाई पनि साथै लगे र टाटा अस्पतालमा उनको उपचार त्यहाँका ठूला डाक्टरबाट गराए; उनलाई घाँटीको क्यान्सर भएको थियो। त्यही बैठकबाट जवाहरलाल नेहरू भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष बनेका थिए। अनि संयुक्त सरकारमा सामेल भएका थिए।

बम्बईमा केही महिना बसी घाँटीको उपचार गरेर फर्केपछि बीपीले आफूलाई नेपालको राजनीतिमा सक्रिय बनाउने अठोट गरेको बुझ्न सकिन्छ। सोही क्रममा उनले ४ अक्टुबर १९४६ मा भारतभर विभिन्न कुनामा छरिएर रहेका नेपालीहरूलाई सम्बोधन गर्दै एउटा अखिल भारतीय नेपाली संगठन खोली नेपालमा उत्तरदायी सरकारका लागि एकगठ हुन अपिल प्रकाशन गरेका थिए, जुन पटनाबाट प्रकाशन हुने द सर्चलाइट  पत्रिकामा छापिएको थियो। लगत्तै बीपी र अन्य मिलेर राजनीतिक दल खोले, जुन अन्ततः नेपाली राष्ट्रिय कांग्रेस हुँदै नेपाली कांग्रेसमा रूपान्तरित भयो। 

***

दोस्रो विश्वयुद्धमा ब्रिटिस-भारतीय सेनामा भर्ती भई नेपालीहरू त लडेका थिए नै, नेपाल सरकारको सेना पनि उनीहरूलाई सघाउन भारतभित्र र भारतीय सीमाबाहिर गएको थियो। जुद्धशमशेरलाई सम्बोधन गर्दै लेखिएको यो चिठीमार्फत बीपीले सीधै राणा प्रधानमन्त्रीलाई ब्रिटिसहरूको दलाली नै गरेको भनेका त छैनन्, तर नेपालीहरूलाई/नेपाली सेनालाई भारतको आन्तरिक राजनीतिमा संलग्न गराउँदा त्यसले नेपालको भविष्यमा पार्न सक्ने खतरातर्फ सचेत गराउन भने खोजेका छन्। प्रकारान्तरले नेपाली सेनालाई ब्रिटिसहरूको सेवामा नखटाउन उनले भनेका छन्। 

ब्रिटिसहरू ढिलोचाँढो भारतबाट हिँड्ने हुनाले भारतीय आन्तरिक समस्यामा संलग्न हुँदा भोलि स्वतन्त्र भारत र नेपालको सम्बन्धमा त्यसले असर गर्ने र सो नेपालको भविष्यका लागि नराम्रो हुने उनले आफ्नो पत्रमा बताएका छन्। बदलिँदो विश्वपरिवेशबारे र छिमेकमा भइरहेको गतिविधिबारे जुद्धलाई सूचना-जानकारी मिलिरहे पनि ती एकांगी भएका या एकथरी धरातलमा बसेर मात्र हेरिएका विश्लेषण हुन सक्ने हुनाले अलि बिहङ्गम हिसाबले हेर्न या अन्य पाटाहरूबारे पनि जानकारी दिने धृष्टता गरेको बीपीले आफ्नो पत्रमा बताएका छन्। 

बीपीले जुद्धशमशेरलाई नेपालीमा लेखेको यो पत्र ब्रिटिस-भारत मातहतको विहार प्रहरीले “इन्टरसेप्ट” गरेर, रोकेर राखेको देखिन्छ। पत्र रोक्नुको समग्र कारण खुलाएर जुद्धशमशेरलाई जानकारी गराउन सकिने टिप्पणी एक सरकारी अधिकारीले गरेको अभिलेखमा पाइए पनि त्यसो गरिए-नगरिएको थाहा लाग्दैन। खास गरी अंग्रेजको स्वार्थविरुद्ध सो पत्र भएकाले त्यसलाई उनीहरूले कब्जा गरेर राखेको बुझ्न सकिन्छ। भारतीय अभिलेखागारमा भेटिएको र अंग्रेजीमा अनूदित सो पत्रको पंक्तिकारले गरेको नेपाली अनुवाद। 

***

महाराज,


भारतको राजनीतिक अवस्था अध्ययन गर्नका लागि मैले यहाँका विभिन्न ठाउँहरूको भ्रमण गरिरहेको छु। यहाँको वर्तमान परिस्थितिबारे तपाईंले जानकारी पाइरहनुभएकै होला। तर, जेजति तपाईंलाई जानकारी दिइँदैछ सो एउटा पार्टीको भनाइका आधारमा गरिएको एकांगी, एकतर्फी बुझाइ मात्र छ भन्नेमा म विश्वस्त छु। 


हिन्दू महासभाको प्रयासका साथै भविष्यमा हिन्दू र मुस्लिमहरूबीच हुन सक्ने गृहयुद्धको डरले गर्दा भारतमा नेपालप्रति हिन्दूहरूको माया र सद्भाव बढ्दै गइरहेको थियो। यद्यपि, वर्तमान समयानुकूल नेपालको शासन व्यवस्था नचलेको भन्दै हिन्दू महासभाको संगठनका अधिकांश नेताहरू नेपाल सरकारको विरुद्धमा थिए। भारतीयहरूको यो बढ्दो माया र सद्भावको फाइदा नेपालले उठाउन नपाउँदै, नेपाल सरकारले आफ्नो परराष्ट्र नीतिको अनुसरण गर्दै आफ्ना सैनिकहरूलाई ग्यारिसन/ड्युटीका लागि भारत पठाउनुपर्यो। यसले धेरैको मनमा शंका पैदा गर्यो, तर आफ्ना सेनाले हिन्दूहरूमाथि गोली बर्साउने छैनन् र उनीहरू भारतको सरहदभन्दा बाहिर जाने छैनन् भनेर नेपाल सरकारले आश्वस्त पारेपछि मानिसहरू अलि शान्त भए। तर अझै पनि धेरै मानिसहरू दुईवटा कुरामा सशंकित छन् –


१. अन्तर्राष्ट्रिय परिस्थितिको संघर्षको यो अवस्थामा नेपाल आफ्नो वचनमा अडिग रहन सक्दैन कि भन्ने डर उनीहरूमा देखिन्छ। जब भारतमा वा छिमेकमा ठूलो लडाइँ होला, तब युद्ध प्रयोजनका लागि भारतमा जम्मा भएका मित्रशक्तिका र हाल भारतमा दमनमा संलग्न सेनाहरूलाई युद्ध मैदानमा सारिनेछ र तिनीहरूको ठाउँमा दमन कार्यका लागि नेपाली सैनिकहरू खटिनेछन्। त्यति बेला सन्धिका शर्तहरू नेपालले परिपालना गर्न सक्नेछ भन्ने कुरामा धेरैलाई विश्वास छैन। त्यस समय मुख्य समस्या भारतीय सीमा रक्षा गर्नु हुनेछ, जसका लागि राम्रोसँग प्रशिक्षित युरोपेली सेनाहरू त्यहाँ राखिनेछन् र नेपाली सेनाको मुख्य काम भारतभित्र शान्ति कायम राख्नु हुनेछ।


२. भारतमा अहिले स्वतन्त्रता संघर्ष चलिरहेको छ। यस लडाइँमा सबै वर्गका मानिसहरू र दुई प्रमुख समुदाय हिन्दू र मुस्लिमका मानिसहरूले भाग लिइरहेका छन्। सीमाक्षेत्रमा मुख्य गरी मुस्लिमहरू संघर्षरत छन्। ब्रिटिसहरूको अन्तर्निहित स्वार्थले यी दुई समुदायबीच मनोमालिन्य पैदा गराएको छ र यसले उनीहरूलाई आपसमा मिल्नबाट रोक्छ। त्यसैले, एक समुदायलाई अर्कोको विरुद्धमा उचाल्न र उनीहरूलाई लडाउन ब्रिटिसहरू प्रयत्नरत छन्। वर्तमान सरकार विशुद्ध सैन्य शक्तिमा आधारित भएकाले ब्रिटिस सरकार सेनाभित्र पनि फुट ल्याउन प्रयासरत छ। यदि नेपाली सेनालाई मुस्लिम आन्दोलनकारीहरूमाथि गोली चलाउन लगाइयो भने मुसलमान सैनिकहरू हिन्दूहरूमाथि गोली चलाउन हिचकिचाउने छैनन्। यस्तो परिस्थितिमा नेपाली सैनिकहरूले हिन्दूहरूमाथि गोली चलाउने छैनन् भन्ने आश्वासनको कुनै अर्थ रहँदैन, किनभने जुनसुकै तरिकाले पनि हिन्दूहरू नै मारिनेछन्। हिन्दूहरू नेपालीहरूको हातबाट नमारिए पनि मुसलमानहरूको हातबाट मारिन सक्छन्।


बीपी कोइरालाले तात्कालिक प्रधानमन्त्री जुद्धशमशेरलाई लेखेको पत्रको अंग्रेजी अनुवाद। (स्रोत: नेशनल आर्काइभ्स अफ इन्डिया)


यो हिन्दू महासभाको विचार हो। मेरो आफ्नो विचारमा एक-दुई कुराहरू अरू छन् — तपाईंसमक्ष भारतीय परिस्थितिको वास्तविक चित्रण गरिनुपर्छ भन्ने म ठान्छु। भारत चाँडै नै एक दिन स्वतन्त्र हुने कुरा निश्चितै छ। हिन्दू र मुस्लिमहरूबीच गृहयुद्धको सपना देखिरहेका भारतमा रहेका ब्रिटिसहरूले भारत छोड्नु पर्नेछ। हिन्दू र मुस्लिमबीचको शत्रुता ब्रिटिसहरूको उपस्थितिका कारण हो। आफूहरूले भारत छाड्नुअघि यी दुई समुदायबीच विद्यमान शत्रुतालाई ठूलो गृहयुद्धमा परिणत गर्ने प्रयास ब्रिटिसहरूले गर्नेछन्। एकादुई ठाउँमा सानातिना झगडाहरू हुन सक्छन्, तर त्यसको सम्भावना पनि दिनप्रतिदिन घट्दै गइरहेको छ र ब्रिटिसहरू यहाँबाट हट्नेबित्तिकै आपसको मतभेद पूर्णतः समाप्त हुनेछ। समग्रमा भारतीयहरू स्वतन्त्रता चाहन्छन्। जिन्नाको छुट्टै पाकिस्तानको मागबाहेक सम्पूर्ण हिन्दू र मुस्लिम समुदायले स्वतन्त्रताको, स्वतन्त्र भारतको माग गर्छन्। विश्वयुद्धको परिणामस्वरूप भारतमा ठूलो संवैधानिक परिवर्तन हुनेछ। सबै ठाउँमा मित्रराष्ट्र र तिनका सहयोगीहरू पराजय बेहोर्दै छन् र युद्ध अब एउटा साँघुरो मोडमा आइपुगेको छ। त्यो साँघुरो मोड पकडमा राख्न दुवै शक्तिहरूले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछन्। अन्तर्राष्ट्रिय र आन्तरिक दुवै परिस्थिति ब्रिटिसहरूको विरुद्धमा छ। यस्तो परिस्थितिमा नेपालले भारतीयहरूको सहानुभूति जित्ने प्रयास गर्नुपर्छ। महाराज! यहाँको जो मर्जी।


वर्तमान स्वतन्त्रता आन्दोलनलाई दबाउने दायित्व मुख्यतः सेनामाथि छ। भारतीय सेनामाथि ब्रिटिस सरकारलाई कुनै भरोसा छैन। तसर्थ, गोली चलाउनका लागि अग्रपंक्तिमा गोर्खाली सैनिकहरूलाई उनीहरू पठाउँछन्। धेरै ठाउँमा हाम्रा गोर्खाली भाइहरूले गोली चलाइरहेका छन्। भारतीय सेनाहरूमध्ये सिख, जाट र पठानहरूले समेत गोली चलाइरहेका छैनन्, त्यसैले युरोपेली र गोर्खाली सेनाहरूलाई गोली चलाउने काममा लगाइएको छ। (आजभोलि गोर्खालीहरूलाई गोली चलाउन किन विरलै मात्र पठाइन्छ, म भन्न सक्दिनँ)। यसैकारण भारतमा नेपालप्रति ठूलो असन्तोष छ। स्वतन्त्रताको सन्दर्भमा गोर्खालीहरूलाई पनि युरोपेलीहरूजत्तिकै शत्रुको रूपमा हेरिन्छ भन्छन् उनीहरू।


चिनियाँ र अमेरिकी सेनालाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न कडा आदेश छ। भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषणा गरेर उनीहरूले भारतीयहरूको सहानुभूति कमाएका छन्। नेपालले पनि यस्तै गर्नुपर्थ्यो र आफ्ना सैनिकहरूले भारतको कुनै पनि आन्तरिक मामिलामा भाग लिने छैनन् भनी सार्वजनिक घोषणा गर्नुपर्थ्यो। यसबाट भारतीयहरूको सहानुभूति कमाइने थियो। यहाँका जनतालाई नेपालले पठाएका सैनिक र ब्रिटिसहरूले सीधै यहाँ भर्ना गरेका गोर्खाली सैनिकहरूबीचको भिन्नता थाहा छैन। नेपाल सरकारले नेपाली सैनिकहरूका सम्बन्धमा जारी गरेको आदेशबारे जनतालाई राम्ररी जानकारी गराइनुपर्छ। ब्रिटिस सरकारलाई पनि गोर्खाली सैनिकहरूलाई आन्तरिक मामिलामा प्रयोग गर्नु मिल्दैन भनेर अवगत गराइनुपर्छ। ब्रिटिस नीति हामीबीच मतभेद सृजना गर्ने हो र भारतबाट ब्रिटिसहरूको बहिर्गमनको समयसम्ममा उनीहरूले नेपाल र भारतबीच भिडन्त गराइदेलान् भन्ने डर लाग्छ। 


मैले जे देखें र बुझें, त्यो नै यहाँसमक्ष राखेको हुँ। म विननम्रतापूर्वक तपाईंको उच्च प्रतिष्ठा र सफलताको कामना गर्दछु र मेरो आत्माले शान्ति पाओस् भन्नाका लागि मैले जानेबुझेसम्म कुनै कुरा नलुकाई यहाँसमक्ष सबै कुरा राखेको हुँ। सरकार, जो हुकुम।


विश्वेश्वरप्रसाद कोइराला

२७ सेप्टेम्बर १९४२

22 July 2026
स्रोत : https://commons-nepal.com/the-letter-bp-wrote-to-juddha-shumsher/ 


About the Author

More Blogs