सन्जिला तामाङ
केही समयअघि मिस नेपाल २०१९ का लागि लिइएको ‘अडिसन’मा एक प्रतियोगीलाई निर्णायक मण्डलकी एक सदस्यले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा निकै गर्मागर्मी बहस भयो। सामाजिक सञ्जालमा ‘भाइरल’ भएको भिडियोमा निर्णायक मण्डलकी ती सदस्यले ती प्रतियोगीलाई शृंगार किन नगरेको, चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग किन नगरेको भनेर रुखो शैलीमा प्रश्न गरेकी थिइन्। यो घटनाले शृंगार र सुन्दरताबीचको सम्बन्ध के हो, यसलाई कसरी बुझ्ने, बजारले कसलाई सुन्दर ठान्छ भन्नेबारे थप बहस गर्नुपर्ने आवश्यकता औंल्याइदियो। के सुन्दर, कस्तो सुन्दरता?
सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरकफरक रूपले अर्थाइन्छ। कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ।मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। यसका विविध आयाम हुन्छन्। यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्नुपर्छ। जस्तो भूगोल, वर्ण, जातजाति, लिंग, वर्ग, सुमदाय संस्कृतिअनुसार सुन्दरताको परिभाषा फरकफरक हुन्छ।
जस्तो मंगोल समुदायमा सुन्दरताको परिभाषा आफ्नै किसिमको छ। चिम्सो आँखा, नाक थेप्चो यो समुदायको साझा विशेषता हो। यो समुदायमा यिनै अनुहारभित्रबाट सुन्दरता खोजिन्छ। त्यसैगरी इन्डो आर्यन समुदायमा ठुल्ठूला आँखा, चुच्चो नाक, सलक्क परेको जीउ र लामो कपाल भएकोलाई सुन्दर मानिन्छ।
त्यसैगरी काला र गोरा जातिबीच सुन्दरताको परिभाषा अझ फरक छ। यसरी वर्ण तथा जातजाति, संस्कृतिअनुसार पनि सुन्दरता फरकफरक हुन्छ। फरकफरक संस्कृतिका मानिसले फरकफरक मानिसलाई, फरकफरक अवस्थामा सुन्दर वा कुरूप देख्न सक्छन्। त्यसैले सुन्दरता अथवा सौन्दर्यको कुरा गर्दा विविधताको पक्षबाट पनि बहस गर्न जरुरी छ। भूगोलले पनि सुन्दरताको परिभाषालाई फरक पार्छ। तराई, हिमाल र पहाडमा बस्ने मानिसबीच पनि सुन्दरताको परिभाषा फरकफरक हुन्छ। हावापानी जस्तो छ, त्यस्तै खालको शारीरिक संरचना र रूपरङले सुन्दरताको परिभाषालाई नै फरक पारिदिन्छ।
स्थानीय पर्यावरणअनुसार नै मानिसको रङ, रूप, स्वरूप विकास हुन्छ। तर भइदियो के भने ती प्राकृतिक कुरालाई नजरअन्दाज गरी ‘शृंगार’लाई सुन्दरताको मानक मानियो। विविधता हराएको सुन्दरता
अहिले विशेषगरी कथित सुन्दरी छान्न भनेर बर्सेनि आयोजना हुने मिस नेपाल जस्ता कार्यक्रमले ‘शृंगार’लाई सुन्दरताको परिधिभित्र राख्ने गरेका छन्। स्थानीय पर्यावरणअनुसार नै मानिसको रङ, रूप, स्वरूप विकास हुन्छ। तर भइदियो के भने यी आयोजकले ती प्राकृतिक कुराहरूलाई नजरअन्दाज गरी बनिबनाउ सुन्दरताको मानकलाई जोड दिए। र, निश्चित समुदाय, मानिस र विशेषताको मात्र पकड रहने गरी सुन्दरतालाई मापन गरे। कथित सुन्दरी प्रतियोगिताका नाममा आयोजना हुने यी कार्यक्रमले सुन्दरताको विविधता, बहुलताला र परिभाषालाई खुम्च्याउने काम गरे।
यी कथित प्रतियोगिताले खास प्रकारको वर्ण, शारीरिक बनोट र स्वरूपलाई सुन्दर या असुन्दर भनि मापन गर्ने गर्छन्। सुन्दरी प्रतियोगिताहरूले सुन्दरी छान्न केही निश्चित सीमा तथा परिधिभित्र रहेर सुन्दरताका मानकहरू बनाएको हुन्छ। जस्तो तोकिएअनुसारको हाइट, मेकअप, शरीरको बनावट, कम्मर, घाँटी, कपाल, आँखा, अनुहार आदि। त्यसमा सहभागी
हुनका लागि ती मानकहरू पूरा गर्नैपर्ने हुन्छ। सुन्दरताबारे बनिबनाउ नियम सबैलाई लागू हुनै सक्दैन। मेकअपबिना पनि सुन्दर हुन सकिन्छ भन्ने विश्वास हराउन थालेको छ। यस्ता सुन्दरी प्रतियोगिताले शृंगारलाई सुन्दरताका अनिवार्य अस्त्रका रूपमा प्रयोग गरेको हुन्छ। शृंगार गर्ने नगर्ने त्यो नितान्त व्यक्तिगत विषय हो। प्रकृतिले दिएको सुन्दरता पो सुन्दरता। मेरो विचारमा मेकअप अथवा शृंगारले दिने सुन्दरतालाई मात्र सुन्दरता भन्न मिल्दैन। त्यो त बनिबनाउ चिज हो।
सुन्दरतालाई कुन आँखा अथवा कुन चस्मा लगाएर हेर्ने भन्ने कुराले पनि फरक पार्छ। पेसा, व्यवसाय तथा व्यक्तिगत सोचका आधारमा सुन्दरताका कारणहरू फरकफरक हुन सक्छन्। जस्तै मनोरञ्जन क्षेत्रका मानिसहरूसँग बनिबनाउ सुन्दरता बढी नै जोडिएर आउने गरेको देखिन्छ।
यस्ता क्षेत्र बाहिरी सुन्दरतासँग जोडिएको हुन्छ भने बाँकी केही प्रतिशत कला र क्षमतासँग जोडिएको हुन्छ। एयरहोस्टेस, रिसेप्सनिस्ट, वेटरजस्ता पदका लागि पनि सुन्दर र आकर्षक केटी राख्ने चलन हाम्रो नेपाली समाजमा मौलाउँदै गएको छ। यसले हाम्रो चलनचल्तीमा रहेको सुन्दरताको परिभाषालाई प्रस्ट पार्छ कि सुन्दर हुन सुन्दर अनुहार र आकर्षक शारीरिक बनावट पहिलो सूचक हो, त्यसपछि अरू कुराहरूलाई हेरिएको हुन्छ। सुन्दर पुरुषको कल्पना
बजारले महिलाका लागि मात्र होइन, पुरुषका लागि सुन्दरताका मानकहरू निर्माण गर्दै लगेको छ। बजारमा पुरुषका लागि भनेर फेयर एन्ड ह्यान्डसम क्रिम पाइन्छन्। ह्यान्डसम पार्लर पनि खुलेका छन्। पुरुषका लागि सिक्स प्याक, मसल, हाइट, वजन आदि जस्ता विशेषण प्रचलित हुन थालेका छन्। पुरुषहरूका लागि पनि मिस्टर नेपाल प्रतियोगिता भइराखेका छन्। यस्ता कुराहरू धेरै छन्, जसले पुरुषलाई पनि सुन्दरताको परिकल्पनाबाट टाढा राखेको छैन।
हामीले इतिहासलाई केलाउँदै जाने हो भने सुन्दरताको खोजी र व्याख्या परापूर्वकालदेखि नै भएको देखिन्छ। पुरानो समयमा राजा महाराजा र रजौटाहरूले रूपकै आधारमा महिलाहरूलाई रानी र रखौटी बनाउँथे। राज्य विस्तारका क्रममा जुन राज्य जित्यो, त्यहीँकी राजकुमारी र राम्रा केटीहरूलाई विवाह गरेका कैयौं उदाहरण छन्। त्यसकारण राजालाई आफूप्रति आकर्षित पारिराख्न पनि महिलाहरूले रूपरंगको बढी स्याहार गर्नुपर्ने हुन्थ्यो। त्यतिखेर रूपले शक्तिको काम गथ्र्याे। राम्री हुनेबित्तिकै राजाको हुन पाउने भएकाले रूप र शृंगारलाई धेरै महत्व दिइन्थ्यो। यसरी राजा सबैभन्दा शक्तिशाली भएपछि रानीहरूले पनि त्यही अनुपातमा शक्ति प्रयोग गर्ने कुरा भइहाल्यो।
यौनिक पुँजीवाद
अहिलेको बजार व्यवस्थाले महिलालाई वस्तुका रूपमा लिनु र अत्यन्तै यौनिक ढंगले प्रस्तुत गर्नु नै सुन्दरता झल्काउने तरिका बन्दै आएको छ। हरेक व्यक्तिको शरीर नितान्त व्यक्तिगत र निजी हुन्छ तर पछिल्लो समय बजार व्यवस्थाले गर्दा महिलाको शरीरलाई प्रयोग गरिँदै आइएको छ। महिलाको शरीरलाई सार्वजनिक वा राजनीति गर्ने विषयका रूपमा देखाउन खोजिएको छ। जसले महिलालाई वस्तु मात्रै ठान्छ। महिलामाथि आफ्नो उपभोगको हक लाग्ने ठान्छ। यो व्यवस्थाले महिलालाई आफ्ना कारखानामा उत्पादन भएका माल बिकाउनका लागि प्रयोग गर्दछ।
विभिन्न सुन्दर तथा सुन्दरी प्रतियोगिता गर्नुको खासै औचित्य देखिँदैन। तथापि त्यसको पछाडि हाम्रो अर्थतन्त्र, बजार, नाफा जोडिएको हुन्छ। हामीले यसबाट के बुझ्नुपर्छ भने नेपाल अथवा विश्वको अर्थतन्त्र कसरी चलेको छ, त्यहाँ कहीँ न कहीँ यस्ता सुन्दरी प्रतियोगिता तथा कस्मेटिक सामग्रीको उपादेयता अवश्य हुन्छ। अहिलेको विश्वबजार भनेको नाफाको बजार हो। यसमा महिलाको शरीर प्रयोग गरिएको छ। विभिन्न कम्पनीहरूले महिलाको शरीर प्रदर्शन गरेर ठुल्ठूला बिजनेस चलाइरहेका छन् । पहिला राजा महाराजाहरूलाई रिझाउन महिलाको सुन्दरता एउटा शक्तिशाली माध्यम
थियो। त्यसलाई उनीहरू शक्तिका रूपमा लिन्थे। तर अहिले सुन्दरता व्यापार, बजार र नाफासँग जोडिन पुगेको छ। पुँजीवादी बजार व्यवस्थाले महिलाको शरीरलाई एउटा व्यापारको अस्त्रका रूपमा प्रयोग गरिरहेको छ।
सामाजिक संरचनामाथि प्रश्न गर्ने हो कि ?
त्यसो भए यसको मूल जराकहाँ छ त ? हामी अन्तिममा गएर ठोकिने भनेको हाम्रो समाजसँग हो। समाज भनेको हाम्रो सामाजिक प्रणालीसँग हो। हाम्रो सामाजिक प्रणाली भनेको हाम्रो सामाजिक संरचनासँग ठोक्किनु हो। हाम्रो सामाजिक संरचनाभित्र आफ्नै सुन्दरताको परिभाषा छ। जुन परिभाषा परम्परागत सामाजिक मूल्यमान्यताबाट निर्देशित छन्। त्यही सामाजिक मूल्यमान्यताबाटै हाम्रो सामाजिक संरचना अथवा सुन्दरताको संरचना निर्देशित छन्, जसले महिलालाई सुन्दरताको प्रतिमूर्ति बनाएर उभ्याएको छ।
महिला भएपछि सुन्दर हुनैपर्छ अथवा अरूकै लागि भए पनि राम्री बनिदिनैपर्छ भनेर रटान लगाइएको छ। कुनै महिला त्यो परिभाषाभित्र अट्दैन अथवा त्योभन्दा फरक किसिमको छ भने उसलाई कुरूप अथवा नराम्रीको ट्याग भिराइदिन्छ। महिलाको सुन्दरताको परम्परागत परिभाषालाई हाम्रो समाजमा कुनै नयाँ चेतनाले भत्काउन सकेको छैन।
सौन्दर्य आफैंमा बेठीक चिज होइन। तर यसको व्याख्या गर्ने जिम्मा वा ठेक्का कसले लिएको छ भन्ने कुराले खोतल्नुपर्छ। मान्छे यो सुन्दर त्यो कुरूप भन्ने नै हुँदैन। सबै मान्छेहरू सृष्टिका सुन्दर रचनाहरू हुन। बरू हाम्रो सामाजिक प्रणालीले विभिन्न आधार मानेर राम्रो र नराम्रो भन्न सिकाउँछ। त्यसैले महिलालाई वस्तुकरण गरिने कुरामा प्रश्न उठाउन सामाजिक संरचनामा प्रश्न उठाउनुपर्छ। सामाजिक संरचनामा प्रश्न उठाउन पुँजीवादी सामाजिक संरचनामा प्रश्न उठाउनुपर्छ। किनभने यी कुरा आपसमा यसरी जेलिएका छन्, जसलाई छुट्याउन सकिन्न, र छुट्टाछुट्टै परिभाषा गरेर पनि हुन्न। यो नेपालमा मात्र होइन विश्वकै प्रभाव हो।
सुन्दर हुनु आफैंमा राम्रो कुरा हो। तर समस्या भनेको सुन्दरताको परिभाषालाई संकुचित गराएर कसैको आवश्यकताभित्र बाँधिदिनु हो। त्यो कुनै पनि हालतमा मान्य हुन सक्दैन। सुन्दरतासम्बन्धी जुन धारणा छ, त्यो परम्परागत भयो। सुन्दरतालाई मापन गर्ने मापदण्डहरू साँघुरो भयो, यसलाई फराकिलो आयम दिनु पर्यो। अनि फराकिलो दृष्टिकोणबाट हेरिनुपर्यो।
समाजशास्त्रमा स्नातकोत्तर तामाङ अनुसन्धाता हुन् ।