पाँचपोखरीको ‘अध्यात्म यात्रा’

- डा. सुजीत कर्ण | 2023-12-18

नेपाली समाजमा निराशा, अत्यास र अवसाद बढ्दो छ। आम मानिसलाई बेखुसी र उदासीले छोपेको छ। अर्को पाटो हेर्दा प्रकृतिले सिँगारिएको छ नेपाल। निरन्तर शान्त र सम्यक् हुने प्रेरणा दिइरहेको छ।

पाँचपोखरीको यात्रा एउटा यस्तै नमेटिने स्मृतिका रूपमा आत्मसात् गर्न सकिन्छ। काठमाडौंबाट नजिकैको पाँचपोखरीको यात्रा प्राकृतिक ऐश्वर्यको अनुभवबाट, स्वयं, संसार र परमात्माको अनुभव नजिक पुग्ने एउटा माध्यमका रूपमा पनि लिन सकिन्छ।

हुन त नेपाली हिमशृङ्खला र त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको चित्रण थुप्रै मानवशास्त्री र इतिहासविद्ले आआफ्‌नो तवरबाट गरेका छन्। तर थोरैले यसको आध्यात्मिक पाटोलाई औंल्याएका छन्।

हुन त नेपाली हिमशृङ्खलाको वर्णन वा दृष्टान्त वेदमा पनि ठाउँठाउँमा पाइन्छ, तर त्यसको आध्यात्मिक पाटोलाई अहिलेको समाजले त्यति महत्व दिएको पाइँदैन। तर, हिमालको यात्रालाई ‘यात्रा’ वा अनुभूतिका आधारमा हेर्ने हो भने यी हाम्रा हिमालहरू हिमाल मात्र होइनन्।

नेपाली हिमालका हिमचुचुरो र त्यसको फेद‌मा बसेको थलो जसलाई ऋषि र योगीहरूको एकान्त साधना थलोका रूपमा लिइएको छ। त्यसैले सबै हिन्दु र खासगरी सनातनी नेपाली एवम् बौद्धमार्गीहरूका लागि नेपाली हिमशृङ्खला हिउँले भरिएको चुचुरो मात्रै होइनन्, ती हिमालको फेदका गाउँ, अप्ठ्यारो ढुंगाका खुट्किला, कठिन बाटोबाट हिँडेर पुग्ने पुरातन गाउँ मात्रै होइनन्। ती गाउँमा भएका पत्थरको पारम्परिक घरहरू साना अप्ठ्यारा वासस्थान मात्रै होइनन्। नेपालीका लागि आदर्श पनि हुन्।

वास्तवमा ती संरचना र त्यहाँ बस्ने मानिस परापौराणिक कालदेखि मानव विकासको कथाका कथाकार पनि हुन्। हिमालको फेदमा रहेका मानव बसोबास हाम्रो पौराणिक उपस्थितिका आधार पनि हुन्। हामी गौरीशंकर, गणेश, रोल्वालिङ, आमायाङ्ग्री, जुगल वा अन्नपूर्ण हिमालका कुरा गर्दा, ती हिमालका फेदमा बसेकाहरू हाम्रा धार्मिक कथाका प्रतिबिम्ब पनि हुन्।

जस्तै–गौरीशंकर हिमाललाई हामी भगवान् शंकर र पार्वतीको बिहेपछिको पहिलो वासस्थानका रूपमा बुझ्ने गरेका छौं। हाम्रा धर्मग्रन्थहरूमा गौरीशंकर हिमाललाई देवतुल्य मानेको छ। त्यसका केही दृष्टान्त कालिदासरचित कुमारसम्भवमा पाइन्छ।

त्यस्तै जुगल हिमाल र त्यसको फेदमा फैलिएको पाँचपोखरी र विस्तृत पाँचपोखरी उपत्यका जसलाई अहिले पाँचपोखरी थाङपाल गाउँपालिकाले स्थापित गरेको छ।

किंवदन्तीमा पाँचपोखरी ताल वरिपरिको भूभागलाई शिवपार्वतीको खेतीकिसानी, खाद्यान्न उत्पादन गर्ने थलोका रूपमा चिनिएको बुझिन्छ।

स्थानीय किंवदन्तीमा पाँचपोखरी तामाङ‌ सिकारीले पत्ता लगाएको एउटा आध्यात्मिक क्षेत्र हो। ती वाइबा सिकारीले साक्षात् शिव र उनका गणहरूलाई खेतीबाली ओसारेको कथा छ। त्यसैले पाँचपोखरीको फेदमा बस्ती बसाल्ने तामाङको कथामा पाँचपोखरी आध्यात्मिक र धार्मिक थलो हो, जो उनका सिकारी पुर्खाले पत्ता लगाएका हुन्।

पाँचपोखरीको कथा यस्तो छ- एक दिन एउटा सिकारी तामाङ (वाइ‌बा–तामाङ) सिकारको खोजीमा आफ्नो सिकारी कुकुर लिएर पाँचपोखरीको पूर्वी क्षेत्र‌मा पुगेछ। त्यहाँ पुग्दा उसले किंवदन्तीमा शिव र शिवका गणमा सामेल मानिसलाई देखेछ। तर रुम्बा मानिसनजिक जाँदै गर्दा ती खेती गर्दै गरेका मानिसहरू अनायास विलीन भएछन्।

उनले आफ्नो कुकुरको घाँटीको घन्टीलाई त्यो स्थानको साक्षी राखेर तल फर्के। तर ती घटनाले उसलाई त्यो स्थानमा फेरि पुग्न प्रेरित गरेछ। अर्काे दिन रुम्बा त्यहाँ जाँदा ऊ अझै चकित भएछ किनकि अब त्यो उपत्यकाजस्तै ठाउँमा पाँच कुण्ड पनि देखेछ। ती घटनाले रुम्बालाई अत्यधिक रूपमा प्रेरित गरेछ र रुम्बाले आफ्नो कुकुरको घन्टी राखेको ठाउँमा आध्यात्मिक पीठको स्थापना गरेछ।

पाँचपोखरीको रुम्बा तामाङको चेतनामा यो घटना २५०० देखि ३००० वर्ष पुरानो मानिन्छ। त्यसपछि पाँचपोखरी क्षेत्र तामाङलगायत अरू समुदायका लागि पनि आध्यात्मिक क्षेत्रका रूपमा स्थापित भएको पाइन्छ।

अहिले त्यो पीठ शिव मन्दिरका रूपमा अवस्थित छ। मन्दिरभित्र केही अरू देवीदेवताहका मूर्ति पनि स्थापित गरिएको छ। मन्दिरबाहिर मुखबाट इन्द्रावतीको उद्गमधारा निरन्तर चलायमान छ।

पोखरीबाट उत्पन्न इन्द्रावतीको उद्गमधाराले त्यहाँ पुग्ने श्रद्धालु र त्यहाँ आउनेलाई पर्यटन सेवा प्रदान गर्नेहरूका लागि पानीको आवश्यकतालाई पूरा गरेको छ। तसर्थ पाँचपोखरी यात्रा साधकका लागि आध्यात्मिक यात्राको गन्तव्य हो।

पाँचपोखरी काठमाडौंबाट नजिकको आध्यात्मिक गन्तव्य हो। यो बुद्धमार्गीका लागि पनि त्यत्तिकै पवित्रस्थल हो किनकि यहाँ गुरु पद्मसम्भवले ध्यान र साधना गरेको पाइन्छ।

उपल्लो भोटाङमा गुरु पद्मसम्भवले साधना गरेको गुफा बुद्धमार्गी‌का लागि पवित्रस्थल मानिन्छ। यो क्षेत्र फेरि पनि पवित्र मानिएको छ किनकि बोन धर्ममा कालो आत्मालाई यही क्षेत्रमा पद्मसम्भवले पराजित गरेका थिए र बुद्धको ज्ञानलाई साधनाका लागि अझै उचाइमा पुर्‍याउने काम पद्मसम्भवले गरेका थिए।

यो क्षेत्र हाम्रा ज्ञानी पुर्खाको पवित्र थलो पनि हो। त्यसैले यो हाम्रा लागि पवित्र र प्रेरणा क्षेत्र पनि हुन सक्छ। अर्काे दृष्टान्त लिने हो भने किरातका ३२ राजाले पनि पाशुपत धर्मलाई अँगालेका थिए, जसका आराध्य शिव नै हुन्।

तसर्थ शैविज्मलाई हिमाल-धर्मका रूपमा पनि विकसित गरियो र पाँचपोखरी शिवको कर्मथलो भएको हुँदा, किरातहरूका लागि पनि पवित्रस्थलका रूपमा लिइएको छ।

अझ पाँचपोखरीको यात्रालाई तान्त्रिक सिद्धिका लागि फलीभूत गर्ने थलोका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ। जस्तै- जनैपूर्णिमाको दिन पाँच पोखरीमा ठुलो मेला लाग्छ।

विशेषगरी साधकले उसको साधनालाई अर्काे उचाइमा पुर्‍याउन त्यो दिन धामीझाँक्रीहरूले परिक्रमा निकाल्ने गरेका छन् र त्यो दिन त्यहाँ विशेष तान्त्रिक साधना गरे सिद्धि प्राप्त गर्ने तान्त्रिकहरूको विश्वास छ।

त्यसैगरी अरू अद्वैतका साधकहरू जनैपूर्णिमामा दिन त्यहाँ विशेष पूजाअर्चना गरेर जनै फेर्ने गरेका छन्। ती मानिसलाई ज्ञानको बाटोमा पुर्‍याउने विश्वास छ।

यस आध्यात्मिक चेतना उजागर गराउने एउटा उदाहरण छिरिङ लामा (तामाङ) हुन्, जसले चोकर डाँडामा होमस्टे सञ्चालन गरेका छन्। खासगरी पाँचपोखरीको यात्रा काठमाडौंबाट सजिलै गर्न सकिन्छ।

यो काठमाडौंको साँखुदेखि उत्तर–पूर्व सिन्धुपाल्चोकको जुगल हिमाल शृङ्खलाको फेदमा अवस्थित छ। यी दुई प्रसिद्ध धार्मिक–पर्यटकीय क्षेत्र हेलम्बु र गोसाइँकुण्डको छेउमा छन्। जुगल हिमालको चुचुरो यहाँबाट नजिकै देख्न सकिन्छ।

काठमाडौंको गोकर्णेश्वरबाट साँखु हुँदै जर्सिङ‌पौवाको भन्ज्याङ काटेर दुई घण्टामा मेलम्ची पुगिन्छ र त्यहाँबाट चार घण्टाको बसयात्रा गरेर खिम्ची (भोटाङ) पुग्न सकिन्छ। खिम्चीबाट दुई–तीन घण्टाको उकालोपछि टुप्पी डाँडा पुगिन्छ। त्यहाँबाट दुई घण्टामा चोकर डाँडा पुग्न सकिन्छ।

छिरिङ आफू पनि झाँक्री हुन् र उनी ९ वर्षको उमेरमा चोकर डाँडाको अज्ञात जंगलमा एक हप्ता झाँक्रीको साधना गरेको बताउँछन्। त्यसपछि धेरैजसो हिमालको आधार क्षेत्रको यात्रा गरे र अहिले १९ वर्षको हुँदा चोकर डाँडामा एक्लै होमस्टे सञ्चालन गरेका छन्। उनी त्यहाँ एक्लै बस्छन् र पाँचपोखरी यात्रा गर्ने श्रद्धालुलाई खाना र आराम-विश्राम गर्ने व्यवस्था मिलाएर सेवा दिइरहेका छन्।

फागु पूर्णिमाका दिन यात्रा गर्दा चोकर डाँडामा खाना खान र विश्राम गर्न केही बेर रोकिएका थियौं। उनले हँसिलो अनुहारले हामीलाई स्वागत गरेका थिए। छिरिङ भन्छन्, ‘म कलिलो उमेरमै अध्यात्मसँग नजिकिएँ।

हुन सक्छ, यो यहाँको वातावरण र पाँचपोखरीको आशीर्वाद हो। अब मलाई यो अनकन्टार जंगलको फेदीमा एक्लै बस्न डर लाग्दैन। यहाँ आउने श्रद्धालुलाई पाँचपोखरीसम्म पुग्न कुनै न कुनै तवरले सघाइरहेको छु। यही मेरो साधना हो।

यसले मेरो चेतनालाई निरन्तर माझिरहेको छ र मैले श्रद्धालुलाई सेवा पुर्‍याएबापत मेरो जीविकोपार्जन पनि सजिलो भएको छ। तर, यहाँ बस्न शारीरिक, मानसिक र आध्यात्मिक तीनै प्रकारबाट मानिस समृद्ध हुनुपर्छ।

मैले पानी तल खोलाबाट बोकेर ल्याउनुपर्छ। सबै खानेकुरा खिम्तीबाट ल्याउनुपर्छ। तर, मानिसलाई पाँचपोखरीको आध्यात्मिक यात्रामा सघाउनुको आनन्द बेग्लै छ। यहाँ आउने र वास बस्ने मानिसका थुप्रै प्रश्न हुन्छन्।

कुनै प्रश्नको हामीसँग उत्तर हुँदैन। तर ती सबै प्रश्न मेरो साधनाका लागि उपयुक्त छन्। ती प्रश्नप्रतिको साक्षीभावले नै मलाई मेरो साधनामा सघाएको छ। मान्छे यति डाँडा उक्लिँदा पनि खानाको परिकारका बारेमा सोध्छन् तर ती प्रश्नले मलाई विचलित गर्दैनन्। ती प्रश्न मेरा सहयोगी हुन्।’

चोकर डाँडाबाट पाँच–छ घण्टा उक्लेपछि पाँचपोखरी उपत्यका पुग्न सकिन्छ। २०७१ को फागुपूर्णिमामा गरेको पाँचपोखरीको यात्रा प्रकृतिको अनुपम सुन्दरता र सौन्दर्यलाई नजिकबाट नियाल्ने दृष्टान्त नै बन्यो। यात्राअनुभव उल्लेख्य रह्यो।

त्यो यात्रा सरल भने थिएन। यात्राका क्रममा अझै कति उकालो उक्लिनुपर्छ? भन्ने प्रश्न उब्जिरह्यो। के मसँग शारीरिक क्षमता छ, जसले मलाई गन्तव्यमा पुर्‍याउँछ? तर, त्यसको उत्तर उकालो उक्लँदा विचारशून्यतामा विलीन हुँदै गयो।

महत्वपूर्ण सिकाइ के थियो भने यात्राको क्रममा र निरन्तर उकालो उक्लिने क्रममा कति पीडा भयो, त्यो गौण रह्यो र त्यो शारीरिक पीडालाई कसरी आनन्दको कथामा परिणत गर्ने वा अनुभूतिमा प्रकट्याउने भन्ने प्रश्न नै प्रमुख भयो।

ती अथक प्रयासलाई खुसीमा परिणत गर्ने र त्यसको अनुभूति नै आध्यात्मिक यात्राको सार तत्वका रूपमा बाहिरियो, जसलाई छिरिङ‌ले पनि उजागर गरेको थियो। यसैले कठिन सिकाइलाई खुसी, सुख र आनन्द‌मा परिणत गर्नु र त्यसको अनुभूति गर्नु नै यात्राको सारतत्व हो।

हामीले आफैंलाई सुनिराखेका छौं कि छैनौं? हामीले हाम्रा वरिपरिका मानिस र प्रकृतिलाई नजिकबाट बुझेका छौं कि छैनाैं? यी प्रश्नलाई यो यात्राले प्रस्ट्याउँछ। जबसम्म मानिसमा यो क्रम सुरु हुँदैन, हामी एउटा खोजीको निरर्थक बाटोलाई अँगालिरहेको हुन्छ। हिमालको यात्रा यस्तो प्रारम्भिक बाटो हो, जसले स्वयंको खोजीमा सघाउँछ। तसर्थ जीवन, जगत्, ईश्वर र त्यसको सन्तुलन एवम् मौलिकता नै यात्रा हो।

चेतना–विकासको एउटा क्रम छ र त्यसको सुरुवात–बिन्दु अनुशासन हो। क्रमबद्धताले अन्ततः मानिसलाई साधनामा पुर्‍याउँछ। यस्तो कार्य चेतनाको उद्गममा पुग्ने प्रयास पनि हो। त्यो मानिसलाई शरीर, मन र विचारको उद्गममा पुर्‍याउने प्रयास पनि हो। त्यसैले हिँडाइ आफ्नो क्षमताको विसर्जन पनि हो र त्यसले मानिसलाई समर्पणमा लग्छ।

पाँचपोखरी इन्द्रावती सभ्यताको उद्गमस्थल पनि हो। त्यहाँको हिँडाइ कठिन छ तर आनन्ददायी छ। जब क्षमताको विसर्जन हुन्छ, श्रद्धाको आविर्भाव हुन्छ र त्यसले विचारशून्यतामा पुर्‍याउँछ।

पाँचपोखरी यात्रा साधकका लागि साधनाको साधन पनि हो। यात्राको नैसर्गिकतालाई जोगाएर यो साधनलाई (यात्रालाई) कसरी निरन्तरता दिने भन्ने चिन्तनको आवश्यकता छ ताकि यात्रा हाम्रा लागि एउटा घटना मात्रै नभईकन सम्पूर्ण रूपान्तरणको कारक बनोस्। पाँचपोखरी यात्रा पनि यस्तै आध्यात्मिक लक्ष्य हो र यसलाई हामीले निरन्तर सिञ्चित, पल्लवित र पुष्पित गरिराख्नुपर्छ।

प्रकाशित मिति : ३० मंसिर २०८०
स्रोत : https://nagariknews.nagariknetwork.com/arts/1378341-1702702040.html


About the Author

डा. सुजीत कर्ण

University of Hull (UK)