
नेपालमा आउँदै गरेको संघीय निर्वाचन फागुन २१ गते सम्पन्न हुने तयारी भइरहेको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ र विभिन्न दलहरू सक्रिय रूपमा आफ्नो संगठन विस्तार र शक्ति प्रदर्शनमा जुटिरहेका छन्। विशेषगरी एक दलबाट अर्को दलमा कार्यकर्ता प्रवेश गर्ने क्रम तीव्र बनेको देखिन्छ। नयाँ प्रवेशकर्तालाई फूलमाला, स्वागत कार्यक्रम र प्रचारप्रसारमार्फत भव्य रूपमा स्वागत गर्ने प्रवृत्ति बढ्दो छ, जसले निर्वाचनको प्रतिस्पर्धात्मक वातावरणलाई अझ चर्काएको छ।
तर यस्तो स्वागतको पछाडि धेरैजसो दलहरूको मुख्य चिन्ता ती व्यक्तिको विगत, आचरण वा वैचारिक निष्ठाभन्दा पनि कसरी बढी मत बटुल्ने र निर्वाचन जित्ने भन्नेमा केन्द्रित देखिन्छ। अवसरवादको यो प्रवृत्तिले राजनीतिक संस्कार र नैतिकतामाथि प्रश्न उठाएको छ। दीर्घकालीन रूपमा यसले दलहरूको आन्तरिक अनुशासन र जनविश्वासमा असर पार्न सक्ने खतरा पनि रहेको छ, जसतर्फ सबै पक्षले गम्भीर रूपमा सोच्न आवश्यक देखिन्छ।
दल परिवर्तनको प्रवृत्ति र नेपाली राजनीतिक सन्दर्भ
नेपालको राजनीति विगत केही दशकदेखि निरन्तर परिवर्तनको चरणमा रहेको छ। बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिक दलहरू, तिनका विचारधाराहरू र नेताहरूको भूमिकामा व्यापक उतार–चढाव देखिएको छ। लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि राजनीतिक दलप्रति जनविश्वास अत्यन्तै महत्वपूर्ण हुन्छ। तर पछिल्ला वर्षहरूमा निर्वाचन नजिकिँदै गर्दा एक दल परित्याग गरी अर्को दलमा प्रवेश गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको देखिन्छ। यस प्रकारको दल परिवर्तनलाई कतिपयले ‘राजनीतिक परिपक्वता’ वा ‘समयअनुसारको निर्णय’ भनेर व्याख्या गर्ने प्रयास गर्छन् भने धेरैले यसलाई अवसरवाद, व्यक्तिगत स्वार्थको खोजी र विचारधारात्मक प्रतिबद्धताको पतनका रूपमा लिने गरेका छन्। वास्तवमा निर्वाचनअघि दल परिवर्तन गर्नु राजनीतिक अवसरको खोजी हो कि राजनीतिक प्रतिबद्धताको ह्रास हो भन्ने प्रश्न गम्भीर बहसको विषय बनेको छ।
राजनीति मूलतः विचारधारा, सिद्धान्त र जनसेवाप्रतिको प्रतिबद्धतामा आधारित हुनुपर्छ। कुनै पनि राजनीतिक कार्यकर्ता वा नेता कुनै दलमा आबद्ध हुनुको अर्थ उसले त्यस दलको नीति, कार्यक्रम र दीर्घकालीन लक्ष्यप्रति आस्था राखेको हुन्छ भन्ने बुझिन्छ। तर जब निर्वाचनको मुखमा पुगेपछि उम्मेदवार बन्ने सम्भावना, जित्ने गणित वा सत्ता नजिक पुग्ने लालसाका कारण दल परिवर्तन गरिन्छ, तब राजनीतिक मूल्य र मान्यताको अवमूल्यन हुन्छ। यस्तो व्यवहारले राजनीतिलाई सेवा र परिवर्तनको माध्यमभन्दा पनि व्यक्तिगत उन्नतिको साधनमा सीमित बनाइदिन्छ। विचारधाराको निरन्तरता बिना गरिने दल परिवर्तनले राजनीतिक चरित्रलाई कमजोर बनाउँछ र जनतामा राजनीतिप्रतिको वितृष्णा बढाउँछ।
अवसरवाद, राजनीतिक प्रतिबद्धता र विचारधारा
नेपालको राजनीतिक इतिहासमा दल परिवर्तन नयाँ विषय होइन। पञ्चायती व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा थुप्रै नेताहरूले विभिन्न दलहरू बदल्दै आएको देखिन्छ। कतिपय अवस्थामा वैचारिक मतभेद, दलभित्रको आन्तरिक लोकतन्त्रको अभाव, नेतृत्वको अहंकार वा नीतिगत विचलनका कारण दल परित्याग गर्नु स्वाभाविक पनि हुन सक्छ। तर समस्या त्यतिबेला गम्भीर बन्छ, जब दल परिवर्तन समय, सन्दर्भ र उद्देश्यका हिसाबले अवसरवादसँग गाँसिन थाल्छ। विशेषगरी निर्वाचनअघि ठूलो दलमा प्रवेश गर्ने, टिकट सुरक्षित गर्ने र जित सुनिश्चित गर्ने उद्देश्यले गरिने दल परिवर्तनले राजनीतिक नैतिकताको प्रश्न उठाउँछ।
यस्तो प्रवृत्तिले दलहरूको आन्तरिक संरचना र अनुशासनमा पनि नकारात्मक असर पार्छ। लामो समयदेखि दलमा संघर्ष गर्दै आएका कार्यकर्ताहरू टिकट पाउनबाट वञ्चित हुन्छन्, जबकि नयाँ आएका ‘प्रभावशाली’ व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ। यसले समर्पित कार्यकर्ताको मनोबल गिराउँछ र संगठनभित्र असन्तोष बढाउँछ। साथै, दल नेतृत्वले तत्कालीन चुनावी फाइदाका लागि अवसरवादी प्रवृत्तिलाई स्वागत गर्दा दीर्घकालीन रूपमा पार्टीको वैचारिक स्पष्टता र नैतिक धरातल कमजोर बन्दै जान्छ। दलहरू स्वयंले अवसरवादलाई प्रश्रय दिँदा राजनीति नै बजारू प्रवृत्तिमा रूपान्तरित हुने खतरा बढ्छ।
नेपालमा दल परिवर्तन गर्नेहरूलाई स्वागत गर्ने र आलोचना गर्ने दुवै धार देखिन्छन्। जसले दल परिवर्तन गरेर आफ्नो पक्षमा नेता वा प्रभावशाली व्यक्तिलाई ल्याउन सफल हुन्छन्, उनीहरू यसलाई सकारात्मक रूपमा व्याख्या गर्छन् । उनीहरू भन्छन्-“राजनीतिमा विचारभन्दा पनि व्यावहारिकता महत्वपूर्ण हुन्छ, जित्न सक्ने व्यक्ति पार्टीमा आउनु राम्रो हो।” तर जसले आफ्ना नेताहरू गुमाउँछन्, उनीहरू यसलाई स्पष्ट रूपमा अवसरवाद र विश्वासघातको रूपमा लिन्छन्। उनीहरूका लागि दल परिवर्तन गर्ने व्यक्ति प्रतिबद्ध नभएको, सत्ता र पदका लागि जे पनि गर्न सक्ने अवसरवादी पात्र बन्छ। यही द्वन्द्वात्मक दृष्टिकोणले नेपाली राजनीतिमा नैतिकताको बहसलाई झन् जटिल बनाएको छ।
दल परिवर्तन गर्ने नेताहरूले प्रायः ‘दलभित्र आफ्नो विचारको कदर नभएको’, ‘आन्तरिक लोकतन्त्र कमजोर भएको’ वा ‘नयाँ प्लेटफर्मबाट देश र जनताको सेवा गर्न सजिलो हुने’ जस्ता तर्कहरू प्रस्तुत गर्छन्। यस्ता तर्कहरू केही हदसम्म यथार्थपरक देखिए पनि समयको चयनले उनीहरूको नियतमाथि प्रश्न उठाउँछ। यदि साँच्चिकै वैचारिक मतभेद वा सिद्धान्तगत असहमति थियो भने त्यो निर्णय निर्वाचनको मुखमा नभई कुनै पनि समयमा लिन सकिन्थ्यो। निर्वाचनअघि मात्रै दल परिवर्तन गर्नुले राजनीतिक निर्णयभन्दा पनि चुनावी गणित हावी भएको संकेत गर्छ।
दल परिवर्तनको प्रभावः पार्टी संगठन, कार्यकर्ता र मतदाता
यस प्रकारको प्रवृत्तिले मतदाताको मनोविज्ञानमा पनि गहिरो असर पार्छ। मतदाता कुनै दल र त्यसका प्रतिनिधिको विचारधारामा विश्वास गरेर मतदान गर्छन्। तर जब त्यही प्रतिनिधि पटक–पटक दल परिवर्तन गर्छ, मतदाताको विश्वास कमजोर हुन्छ। राजनीतिप्रति ‘सबै उस्तै हुन्’ भन्ने धारणा बलियो बन्छ, जसले लोकतान्त्रिक प्रक्रियामा नागरिक सहभागिता घटाउने खतरा बोकेको हुन्छ। मतदान प्रतिशत घट्नु, राजनीतिक उदासीनता बढ्नु र चरम असन्तुष्टि फैलिनु यस्तै अवसरवादी राजनीतिका दीर्घकालीन परिणाम हुन सक्छन्।
दल परिवर्तनलाई पूर्ण रूपमा नकारात्मक मात्र मान्नु पनि उचित हुँदैन। राजनीतिक जीवन गतिशील हुन्छ र समयसँगै विचारमा परिवर्तन आउन सक्छ। कुनै दलले आफ्नो मूल सिद्धान्तबाट विचलन ग¥यो, जनहितविरुद्ध काम ग¥यो वा अलोकतान्त्रिक अभ्यासलाई प्रश्रय दियो भने त्यस दल परित्याग गर्नु वैचारिक इमान्दारीको परिचायक पनि हुन सक्छ। तर यस्तो परिवर्तन स्पष्ट वैचारिक आधारमा, दीर्घकालीन सोचका साथ र व्यक्तिगत फाइदाभन्दा माथि उठेर हुनुपर्छ। अवसरको खोजीमा गरिने दल परिवर्तन र विचारधारात्मक प्रतिबद्धताका आधारमा गरिने दल परिवर्तनबीच स्पष्ट भिन्नता छुट्याउनु आवश्यक छ।
समाधानका बाटा र राजनीतिक दलको जिम्मेवारी
१.नेपालका राजनीतिक दलहरूले यस विषयमा आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ। दलहरूले निर्वाचन जित्ने अल्पकालीन लक्ष्यका लागि अवसरवादी व्यक्तिहरूलाई स्वागत गर्ने अभ्यास रोक्नुपर्छ। पार्टीको मूल विचारधारा, संगठनात्मक संस्कार र दीर्घकालीन लक्ष्यप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्छ। साथै, दलभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाएर असन्तुष्टि व्यक्त गर्ने स्वस्थ वातावरण सिर्जना गर्नुपर्छ, ताकि कार्यकर्ता र नेताहरू अवसरको खोजीमा बाहिरिन बाध्य नहोस्।
२.कानुनी र संस्थागत रूपमा पनि दल परिवर्तनसम्बन्धी अभ्यासलाई नियमन गर्ने बहस आवश्यक देखिन्छ। संसदमा दल परिवर्तनसम्बन्धी कानुन भए पनि निर्वाचनअघि उम्मेदवार बन्ने सन्दर्भमा दल परिवर्तनलाई रोक्ने स्पष्ट मापदण्ड छैन। राजनीतिक दलसम्बन्धी ऐन र आचारसंहितामा निर्वाचनअघि दल परिवर्तन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रावधान राख्न सकिन्छ। यसले दल परिवर्तनलाई पूर्ण रूपमा रोक्दैन तर अवसरवादी रूपमा गरिने दल परिवर्तनलाई केही हदसम्म नियन्त्रण गर्न सक्छ।
३.राजनीतिको मूल्य तथा मान्यता त्यसको नैतिकता, प्रतिबद्धता र सार्वजनिक हितसँग गाँसिएको हुनुपर्छ। दल परिवर्तन व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि यसको सामाजिक र राजनीतिक प्रभावलाई बेवास्ता गर्न मिल्दैन। निर्वाचनअघि दल परिवर्तन गर्नु अवसरको खोजी हो कि राजनीतिक प्रतिबद्धताको अभिव्यक्ति भन्ने प्रश्नको उत्तर व्यक्तिको नियत, सन्दर्भ र उद्देश्यमा निर्भर गर्छ। तर नेपालमा देखिएको व्यापक प्रवृत्ति हेर्दा यो अभ्यास प्रायः अवसरवादसँग जोडिएको देखिन्छ। जसले स्वागत गर्छन्, उनीहरूका लागि यो ‘राजनीतिक उपलब्धि’ हुन सक्छ; जसले गुमाउँछन्, उनीहरूका लागि यो ‘अवसरवादी विश्वासघात’ नै हुन्छ। दीर्घकालीन रूपमा हेर्दा, यस्ता अभ्यासले नेपाली राजनीतिलाई कमजोर बनाउँछ र लोकतान्त्रिक संस्कारलाई क्षति पु¥याउँछ।
अन्त्यमा,
राजनीतिक दलहरू र नेताहरूले अवसरवादभन्दा माथि उठेर विचारधारात्मक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने समय आएको छ। राजनीति सत्ता प्राप्तिको मात्र खेल होइन; यो समाज रूपान्तरणको माध्यम हो। यदि दल परिवर्तन केवल अवसरको खोजीमा गरिने क्रम जारी रह्यो भने राजनीति जनसेवाको माध्यमबाट विचलित हुँदै व्यक्तिगत स्वार्थको खेलमैदानमा सीमित हुनेछ। लोकतन्त्रको सुदृढीकरणका लागि दल परिवर्तन होइन, दलप्रति इमानदार प्रतिबद्धता आवश्यक छ। (सामाजिक मानवशास्त्री सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन्।)
प्रकाशित मिति : २७ माघ २०८२
स्रोत : https://www.ajakoartha.com/story/138452
मधुसूदन सुवेदी










