२१ फागुनको संसदीय निर्वाचन : लोकतान्त्रिक मूल्य, आचरण र साझा भविष्यको बाटो
- मधुसूदन सुवेदी | 2026-01-25
मुलुक २१ फागुन २०८२ मा संसदीय निर्वाचनतर्फ अग्रसर हुँदैछ। यो निर्वाचन केवल नियमित राजनीतिक प्रक्रिया मात्र होइन। यो देशको लोकतान्त्रिक यात्राको एक निर्णायक मोड हो। पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता, सामाजिक ध्रुवीकरण, आर्थिक चुनौती र नागरिकको घट्दो विश्वासका बीच यो निर्वाचनले लोकतन्त्रलाई पुनर्जीवित गर्ने, समावेशी शासनको अभ्यासलाई बलियो बनाउने र भविष्यप्रति आशा जगाउने अवसर बोकेको छ।
लोकतन्त्रको सार मत हाल्ने प्रक्रियामा मात्र सीमित हुँदैन। लोकतन्त्र भनेको मूल्य, व्यवहार, सहिष्णुता, संवाद र जिम्मेवारीको निरन्तर अभ्यास हो। त्यसैले आगामी निर्वाचनमा राजनीतिक दल, नेताहरू, कार्यकर्ता, बौद्धिक वर्ग, सञ्चारमाध्यम र आम नागरिक-सबैले लोकतान्त्रिक आचरणलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता झन् गहिरिएको छ।
लोकतान्त्रिक मूल्य : विविधता, समानता र समावेशीता
लोकतन्त्र बहुलता स्वीकार्ने व्यवस्था हो। नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपमा अत्यन्त विविध देश हो। यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन। तर दुर्भाग्यवश, निर्वाचनका समयमा यही विविधतालाई विभाजनको हतियार बनाउने प्रवृत्ति देखिँदै आएको छ।
आगामी निर्वाचनमा सबै राजनीतिक दल र नेताहरूले विविधता (Diversity), पहुँच (Accessibility), समानता (Equity) र समावेशीता (Inclusion)प्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ। फरक विचार, फरक पहिचान र फरक जीवनअनुभव भएका नागरिकहरूको सम्मान गर्नु लोकतन्त्रको आधार हो। प्रतिस्पर्धी विचारहरूको खोजी र बहस लोकतन्त्रको आत्मा हो, तर त्यो बहस व्यक्तिको अधिकार, गरिमा र मूल्यप्रति पूर्ण सम्मानका साथ हुनुपर्छ।
घृणात्मक राजनीति : लोकतन्त्रको शत्रु
जातीयता, पहिचान, धर्म, भाषा वा क्षेत्रका आधारमा घृणा फैलाउने राजनीति लोकतन्त्रका लागि घातक हुन्छ। कुनै पनि व्यक्ति वा समूहको जात, धर्म वा पहिचानमाथि आक्रमण गर्नु केवल अनैतिक मात्र होइन, गैर-लोकतान्त्रिक पनि हो। नेताहरू जातिवादी, नस्लवादी वा अतिवादी सोचबाट मुक्त हुनैपर्छ।
लोकतान्त्रिक समाजमा कोही पनि ‘हामी’ र ‘उनीहरू’ को आधारमा विभाजित हुनु हुँदैन। राजनीतिक लाभका लागि समाजलाई टुक्र्याउने प्रवृत्तिले दीर्घकालीन रूपमा देशलाई कमजोर बनाउँछ। त्यसैले सबै नेताहरू, उम्मेदवार र कार्यकर्ताहरूले स्पष्ट रूपमा प्रतिवद्धता जनाउनुपर्छ-घृणात्मक भाषण, जातीय वा धार्मिक उक्साहट र पहिचानमाथिको आक्रमण स्वीकार्य हुँदैन।
सम्मानजनक र सुरक्षित राजनीतिक वातावरण
राजनीतिक मञ्च, चुनावी सभा, बहस कार्यक्रम र सामाजिक सञ्जाल-सबै ठाउँ सुरक्षित, मैत्रीपूर्ण र बौद्धिक रूपमा समृद्ध हुनुपर्छ। उमेर, अपांगता, लैङ्गिक पहिचान, वैवाहिक अवस्था, गर्भावस्था, जात, धर्म, विश्वास, लिङ्ग, यौन अभिमुखता, परम्परा, पोशाक, खाना, सामाजिक–आर्थिक पृष्ठभूमि वा शारीरिक बनावटका आधारमा कसैलाई पनि अपमान, दुव्र्यवहार वा उत्पीडन गरिनु हुँदैन।
नेताहरूले केवल भाषणमा मात्र होइन, व्यवहारमा पनि देखाउनुपर्छ कि उनीहरू सबै नागरिकका नेता हुन्। राजनीतिक पार्टीहरुले आफ्नो पार्टी तथा योजनाका कार्यक्रमहरूमा महिलाहरू, अपांगता भएका व्यक्तिहरू, अल्पसंख्यक समुदाय र युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु आवश्यक छ। लोकतन्त्र तब मात्र बलियो हुन्छ, जब सबैले आफूलाई सुरक्षित र सम्मानित महसुस गर्छन्।
सञ्चारको जिम्मेवारी : शब्दले समाज बनाउँछ
निर्वाचनको समयमा प्रयोग हुने भाषा अत्यन्त संवेदनशील हुन्छ। शब्दहरूले समाजलाई जोड्न पनि सक्छन्, तोड्न पनि सक्छन्। त्यसैले सबै प्रकारका राजनीतिक सञ्चार-भाषण, विज्ञप्ति, पोस्टर, सामाजिक सञ्जाल सामग्री-बहु-पृष्ठभूमि र बहु-अनुभव भएका दर्शकहरूलाई ध्यानमा राखेर तयार गरिनुपर्छ।
कठोर आलोचना लोकतन्त्रको हिस्सा हो, तर अपमान, गाली र अमानवीकरण लोकतन्त्रको शत्रु हो। कृपया दयालु र सम्मानजनक बन्नुहोस्। असहमति राख्न सकिन्छ, तर घृणा होइन। फरक विचारसँग बहस गर्न सकिन्छ, तर व्यक्तिमाथि आक्रमण होइन।
एकल बहुमतको भ्रम र सहकार्यको यथार्थ
नेपालको वर्तमान संबिधान, राजनीतिक संरचना र सामाजिक यथार्थ हेर्दा, एकल पार्टीले सजिलै बहुमत ल्याउने सम्भावना न्यून छ। चुनावमा एक्लाएक्लै जनतासामु जाने, आ-आफ्ना विचार र ब्यबहारको प्रभाव राख्ने गरेपनि चुनाव पछि सहकार्य, समझदारी र गठबन्धनको संस्कृतिलाई नकारात्मक रूपमा होइन, लोकतान्त्रिक अपरिहार्यताका रूपमा बुझ्न आवश्यक छ।
गठबन्धन सरकार कमजोरी होइन। यदि स्पष्ट नीति, पारदर्शी सहमति र पारस्परिक सम्मानका आधारमा बनेको हो भने, त्यो बलियो शासनको माध्यम पनि हुन सक्छ। नेताहरूले अहंकार त्यागेर साझा न्यूनतम कार्यक्रम, सहमतिको राजनीति र संवादको अभ्यास गर्नुपर्छ। देश एक्लै होइन, सँगै हिँडेर मात्र अघि बढ्छ।
बौद्धिक वर्ग, पेशेवर र नागरिक समाजको भूमिका
लोकतन्त्र केवल नेताहरूको जिम्मेवारी होइन। बौद्धिक वर्ग, पेशेवरहरू, शिक्षाविद्, कलाकार, पत्रकार, नागरिक समाज र पार्टी समर्थकहरूको भूमिका झनै महत्वपूर्ण हुन्छ। उनीहरूले नेताहरूलाई प्रश्न गर्नुपर्छ, आलोचना गर्नुपर्छ र सही बाटोमा दबाब दिनुपर्छ।
नेताहरूलाई सम्झाइरहनु आवश्यक छ- राजनीति भनेको सत्ता मात्र होइन, मानवीयता पनि हो। यदि उनीहरू सम्मान र गरिमा चाहन्छन् भने, पहिले अरूको सम्मान गर्न सिक्नुपर्छ। लोकतान्त्रिक नेताको सबैभन्दा ठूलो पहिचान उसको मानवता, संवेदनशीलता र उत्तरदायित्व हो।
मानवीय राजनीतिः भविष्यको आधार
हामीले चाहेको नेपाल कस्तो हो ? घृणा र डरले चलेको कि सम्मान र विश्वासले चलेको ? चुनाव यही प्रश्नको उत्तर खोज्ने अवसर हो। मानवीयता सहितको राजनीति भनेको कमजोरी होइन, त्यो नै दीर्घकालीन स्थायित्वको आधार हो।
नेताहरूले मतदातालाई केवल भोट बैंकका रूपमा होइन, सम्मान योग्य नागरिकका रूपमा हेर्नुपर्छ। कार्यकर्ताहरूले विरोधीलाई शत्रु होइन, फरक विचार राख्ने सहनागरिकका रूपमा बुझ्नुपर्छ। र नागरिकहरूले पनि जिम्मेवार छनोट गर्नुपर्छ-घृणा होइन, लोकतान्त्रिक विचार र सामाजिक रुपान्तरणको घोषणापत्र र सोहीअनुसारको बिगतको व्यवहार पनि।
निष्कर्ष : लोकतन्त्रको परीक्षा
२१ फाल्गुण २०८२ को निर्वाचन नेपालका लागि लोकतन्त्रको परीक्षा हो। यो परीक्षा केवल मतपेटिकामा सीमित छैन । यो हाम्रो सोच, भाषा, व्यवहार र सहअस्तित्वको परीक्षा हो। यदि हामीले विविधतालाई सम्मान गर्यौं, घृणालाई अस्वीकार गर्यौं, संवादलाई प्राथमिकता दियौं र मानवीयता केन्द्रमा राख्यौं भने-यो निर्वाचन इतिहासमा सकारात्मक मोडका रूपमा लेखिनेछ।
लोकतन्त्र कुनै एक दिनमा जितिँदैन । यो हरेक दिन, हरेक ठाउं र व्यक्तिसंग अभ्यास गर्नुपर्छ। यही अभ्यासबाट मात्रै हामी सबैका लागि न्यायपूर्ण, समावेशी र सम्मानजनक नेपाल निर्माण गर्न सक्छौं। लोकतन्त्र जोगाऔं, मानवता जोगाऔं, नेपालको भविष्य सँगै निर्माणको लागि सजग र सचेत हौँ ।(सामाजिक मानवशास्त्री सुबेदी पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् ।)
प्रकाशित मिति : आइतबार, ११ माघ २०८२
स्रोत : https://www.ajakoartha.com/story/137807
मधुसूदन सुवेदी










