मधेश प्रदेशमा पैदल अनुसन्धान’ पुस्तक लोकार्पण
2023-04-29गामघर डेस्क
जनकपुरधाम ।
‘मधेश प्रदेशमा पैदल अनुसन्धान’ पुस्तकको जनकपुरधाममा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । मधेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिता कुमारी राउत ईशर लगायतले शुक्रबार एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
सोहन प्रसाद र देवराज हुमागाईंले संयुक्त रुपमा सम्पादन गरेको यो पुस्तकको विषयवस्तु पाँच खण्डमा विभाजन गरिएको छ । जसमा विभेदका सामाजिक तथा सांस्कृतिक आयाम, संघ र प्रदेशमा सुशासनको विमर्श, भू स्वामित्वका समस्या, नागरिक र जनप्रतिनिधिका संघर्षका गाथा र सामाजिक राजनतिक हिंसा विषयवस्तु समेटिएको छ ।
मार्टिन चौतारीले प्रकाशन गरेको यो पुस्तकमा नागरिकता बिहीन नागरिकको पीडा, संसदीय कोषमा देखिएको बेथिति, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम, दलित भूमिहिनताको समस्या, बलात्कार घटनाका पीडितले भोग्नु पर्ने कहर र न्यायिक जटिलता लगायतको धरातलीय समस्यालाई सुक्ष्म रुपमा उजागर गरिएको छ ।
पुस्तक लोकार्पण गर्दै सभामुख रामचन्द्र मण्डलले जमिनि यथार्थलाई आम पाठकको बिचमा ल्याइ समस्याको उजार गरेको भन्दै पुस्तकको प्रसंसा गरे । उनले शहरमा हुने विज्ञताले ग्राउण्डको वास्तविक यथार्थ छुट्ने गरेको बताउँदै त्यसले विभेद निम्ताउने गरेको तर्क गरे । विज्ञ र सम्बन्धित क्षेत्रकै अगुवाहरुलाई खटाएर पैदल रुपमा गरेको अनुसन्धानले मधेशको मूल समस्या बाहिर ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।
पुस्तकका सम्पादक सोहन प्रसाद साहले करिब ८ सय किलोमिटर मोटरसाइकलमा यात्रा गरि पुस्तकका विषयवस्तु र रुप रेखा तयार पारिएको बताए । पुस्तकमा मधेशका मुख्य विषय बस्तुका लेखकहरुले आ आफनो अनुभव तथा धरातलीय समस्यबारे उल्लेख गरेको उनको भनाइ छ ।
कार्यक्रममा सर्लाही बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवाल, ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक डा.बासुदेव लाल दास, पुस्तकका अर्का सम्पादक देवराज हुमागाई, मुख्यमन्त्री कार्यालयका सचिव नुरहरी खतिवडा, पुस्तकका अनुसन्धानकर्ता तथा लेखकहरुको उपस्थिती थियो । टुडेपाटि
प्रकाशित मिति: २०२३-०४-२९
स्रोत : https://www.gamghar.com/3803.html