भाषा जोगाउन
2021-10-18- राजेन्द्र मानन्धर
देश र प्रवासमा छरिएर रहेका अल्पसंख्यक थामी मातृभाषाको दुई खाले शब्दकोश एकैपटक बजारमा आएको छ । सम्भवत: एकै समयमा बजारमा देखा परेको थामी-नेपाली-अंग्रेजी शब्दसंग्रह'' र 'नेपाली-थामी-अंग्रेजी शब्दकोश प्रकाशनको उद्देश्य एउटै छ ।
सत्रौ शताब्दीमा दोलखा सुस्पाक्षेमावती गाविसस्थित राङ्राङथलीमा उदय भएको मानिएका थामी जातिका आफ्नै मौलिक भाषा र संस्कृति छन् । देश र प्रवासमा समेत बसोबास गर्ने अल्पसंख्यक थामी जातिको संख्या ६५ हजार जति छ । अनौठो खाले संस्कृति र भाषाप्रति गहिरिएर चाख राख्ने विदेशी भाषा अनुसन्धानकर्ताका बलबुतामा थामी भाषाले शब्दकोशमा लिपिबद्ध हुने मौका पाएको हो ।
थामी नेपाली अंग्रेजी शब्दसंग्रह जापानिज एजुकेसनल भोलेन्टियस (जेभ) का टाडायोशी यामामोटो र शुएयोसी तोबाको सल्लाह र सहयोगमा सुस्पा शैक्षिक विकास समितिले प्रकाशमा ल्याएको हो । यो संग्रहमा २ हजार ५ सय थामी भाषाको शब्दलाई अर्थाइएको छ । गोपाल थामी र उनका सहयोगी भक्तबहादुर, बृषबहादुर र कालीमैया थामीले संकलन गरेको थाङ्मी भाषालाई अंग्रेजीमा अनुवाद दिनेशराज सिवाकोटीले गरेका छन् । दोलखामा १५ हजार ६ सय ९५ थामीको बसोबास छ । देशभर २२ हजार ९ सय १९ थामी छन् । प्रवाससमेतको जोड्दा थामीको कुल संख्या ६५ हजार रहेको शब्दसंग्रह भूमिकामा उल्लेख छ ।
अरु जाति र भाषाभाषीहरूसँग घुलमिल हुँदा थामी भाषाको मौलिकतामाथि संकट आउन थालेपछि शब्दसंग्रह प्रकाशनमा ल्याउने जमर्को गरेको शब्द संकलक गोपालबहादुर थामी बताउँछन् । उनको भनाइमा शब्दसंग्रहमा अरु १ सयजति दैनिक बोलिचालीमा आउने शब्दहरू छुटेका छन् । संकलित शब्दहरूमध्ये १८ शब्दका अर्थहरू अनर्थ भएर प्रकाशित छन् ।' उनका अनुसार 'छुटेका र अनर्थ बनेका शब्दहरू अर्को प्रकाशनमा सच्चिने छन् । शब्दसंग्रहमा वर्णानुक्रम गर्ने कार्य राधाकृष्ण सिवाकोटीले गरेका छन् । प्रथम संस्करण ५ सय प्रति छापिएको छ ।
अर्को कृति, नेपाली थामी अंग्रेजी शब्दकोश मार्टिन चौतारी सामाजिक विकास तथा अनुसन्धान केन्द्रबाट प्रकाशित छ । यो शब्दकोश वीरबहादुर थामीको सहयोग लिएर बेलायती नागरिक मार्क टुरिनले तयार पारेका हुन् । चर्चाबिना नै बजारमा देखा परेको यो संग्रहलाई मार्क टुरिनले सन् १९९६ देखि तयार पार्न थालेको बताएका छन् । थामी भाषामा पीएचडीको सोधकार्य तयार गर्न तल्लीन टुरिनले मेहनतका साथ प्रकाशमा ल्याएका यो शब्दकोशमा नेपाली शब्दलाई थामी र अंग्रेजीमा अनुवाद गरिएको छ । सुस्पा शैक्षिक विकास शब्दसंग्रहमा भने थामी भाषालाई नेपाली र अंग्रेजीमा अर्थाइएको छ । त्यसैले पुस्तकको नाम नेपाली-थामी-अंग्रेजी शब्दकोश भए पनि टुरिन स्वयम् भने आफ्नो संग्रहलाई शब्दकोश भन्न रुचाउँदैनन् भाषाको विश्लेषण, उदाहरण र व्याख्या नभउकाले शब्दकोश होइन, उनी भन्छन् । शब्दसूचीमा पहिलो भाषा थाङ्मी नराखेर नेपाली राख्नुमा टुरिनको आफ्नै तर्क छ । उनको भनाइमा थाङ्मीलाई देवनागरीमा लेख्न सकिए पनि यसको लिपि छैन । देवनागरीमा कसरी लेख्ने भन्नेबारे कुनै खास पद्धति अथवा शैलीको विकास पनि भएको छैन । पहिलो पंक्तिमा थाङ्मी भाषा राखिएको भए शब्दकोशको पाठकलाई बुझ्न झन्झट हुने थियो । गैरथाङ्मी नागरिकले पनि बुझुन् भनेर त्यस्तो प्रक्रिया अपनाइएको टुरिनले आफ्नो पुस्तकमा लेखेका छन् । टुरिनको पुस्तकमा मूल आदिवासी थामी शब्दलाई मात्र समावेश गरिएको छ ।
स्रोतः कान्तिपुर, कोसेली २६ असार २०६१