
दायाँबाट क्रमश: सुन्दरराज चालिसे, मोहनशमशेर र गणेशमान सिंह (तस्बिरहरू: विकिपिडिया)
काठमाडौंसम्म हतियार र विस्फोटक पदार्थ ल्याएर विप्लव मच्चाउनेहरूको यत्न असफल बनाएकोमा प्रफुल्ल राणा सरकारको खुसी पाँच महिना पनि टिक्न सकेन।
अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर राणा बाबु चन्द्रशमशेर राणाले झैं कडिकडाउ शासन गर्न चाहन्थे। त्यसैले, आफ्ना पूर्ववर्ती शासक पद्मशमशेर भारततर्फ हिँड्ने बित्तिकै (२००४ चैत मसान्तमा) उनले नेपाली राष्ट्रिय कांग्रेसलाई मुलुकभित्र सञ्चालन हुनबाट प्रतिबन्ध लगाएका थिए। त्यति बेलासम्म औपचारिक रूपमा उनको हातमा शासनसत्ता आइसकेको थिएन। यो प्रतिबन्धपछि कांग्रेससँग सम्बन्धित कसैले “सरकारी वा गैरसरकारी संस्था वा संघको सदस्य चुन्न वा बन्न र अब प्रचलित हुने वैधानिक कानुनबमोजिमका हक अधिकारहरू नपाउने” भए।
सम्भवतः त्यसैको प्रतिक्रियास्वरूप २००५ साउनमा कलकत्तामा अर्को राणा शासन विरोधी राजनीतिक दल नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भयो। त्यसअघि २००३ सालमै बीपी कोइराला, गणेशमान सिंहहरूले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेस आन्तरिक कलहमा फँसेको थियो, तर बिस्तारै ऊ पनि सङ्गठित भएर अगाडि बढ्न थाल्यो। दुवै दलले सीमावर्ती शहरहरूमा सम्पर्क कार्यालय स्थापना गरी नयाँ सदस्य भर्ना गर्न तथा नेपालभित्र साङ्गठनिक प्रभाव विस्तार गर्न थाले। संविधानप्रदत्त भनिएका अधिकार नेपालमा अभ्यास गर्न सकिन्छ-सकिँदैन भनेर समेत उनीहरूले परीक्षण गर्न थाले।
दुई नेपाली कांग्रेस पार्टीहरू २००६ चैतमा एकीकृत भएर नेपाली कांग्रेस बने। पहिलेदेखि अहिंसात्मक नीति लिँदै आएका दुई पार्टी एक भएपछि भने अहिंसात्मकलगायत जुनसुकै उपायसमेत अवलम्बन गर्न सक्ने गरी नीति परिवर्तन गरे। यो एकताले राणा-विपक्षी कार्यकर्तामा नयाँ उत्साह थप्यो र उनीहरूले हतियार जम्मा गरेर सशस्त्र विद्रोहको तयारी थाले।
एकगठ भएको कांग्रेसले नेपालभित्रैबाट लड्नुपर्ने आवश्यकता महसुस गर्यो। नेपालभित्रका विभिन्न शक्तिहरू मिलेर काम गर्न सके राणा शासनको पतन हुन सक्ने उसको धारणा थियो। तसर्थ, उनीहरूले राज्यसत्ताभित्रकै तर मोहनशमशेर र उनको समूहसँग असन्तुष्ट तत्त्वहरू राजा त्रिभुवन, अन्य उच्चपदस्थ राणा र सेनाका हाकिमहरू वा तल्लो तहका सुरक्षा अधिकारीहरूसँग सम्पर्क बढाउने निर्णय गरे। यसै क्रममा २००७ असार अन्त्यमा बीपी कोइराला पाल्पा पुगेर त्यहाँका बडाहाकिम रुद्रशमशेरसँग वार्ता गरेका थिए। त्रिभुवनलाई हेलिकोप्टरमा पाल्पा लैजाने योजना बनाइएको थियो, जुन क्रियान्वित हुन सकेन।
त्यसपछि भदौमा गणेशमान सिंह, सुन्दरराज चालिसे, दिलमानसिंह थापासमेतको १३ जनाको अर्को टोली त्रिभुवनसँग सम्पर्क गर्ने तथा आवश्यक परे र मौका मिले प्रमुख राणा नेताहरूलाई मार्ने उद्देश्यले हातहतियार लिएर काठमाडौंतर्फ बढ्यो। यही बेला मोहनशमशेर नेतृत्वको राणा सरकारले नेपालमा पहिलो पटक राष्ट्रसभा (तल्लो सदन) र भारादारी सभा (उपल्लो सदन) गठन गर्ने “नाटक” गरिरहेको थियो।
यसैबीच सुन्दरराज, दिलमानसिंह र अन्य केहीलाई असोजमा काठमाडौंमा पक्राउ गरियो। कांग्रेसी नेता-कार्यकर्तासँगै तोरणशमशेर राणा, प्रतापविक्रम शाह लगायत राणा/शाहहरू पनि पक्राउ परे। काठमाडौंबाट उम्कन सकेका गणेशमान पनि आफ्ना केही सहयोगीसहित नेपाल-भारत सीमा नजिक ठोरीबाट केही समयपछि पक्राउ परे। कैदीहरूलाई अमानवीय यातना दिइयो, मृत्युदण्डको माग गरियो। विद्रोही कांग्रेसी नेता-कार्यकर्तालाई पक्राउ गर्ने पुलिस/सिपाहीलाई पुरस्कृत गरियो।
नेपाली राजनीतिका यस्ता घटना र विपक्षी दलहरूका गतिविधिबारे सरकारी मुखपत्र गोरखापत्रमा खासै पढ्न पाइन्न। तर, जबजब तात्कालिक सरकारले विपक्षी दलका कार्यकर्ताउपर केही कारबाही गर्थ्यो, अथवा राजनीतिक निर्णय गर्थ्यो तबतब गोरखापत्रमा सरकारी निर्णयलाई समर्थन गर्दै समाचार वा अन्य सरकारी सूचना/इश्तिहार प्रकाशन गरिन्थ्यो।
गणेशमान, सुन्दरराजहरूको पक्राउबाट राणा सरकार निकै उत्साहित थियो। त्यसैले, उनीहरू पक्राउ परेको समाचार, उनीहरूका गतिविधिलाई निन्दा गरिएको सम्पादकीय, पक्राउमा भूमिका खेल्ने सुरक्षाकर्मीलाई पुरस्कृत गरेका केही सामग्री गोरखापत्रमा प्रकाशित भए। आफ्नो यात्रा, उद्देश्य र पक्राउबारे सुन्दरराज र अझ विस्तृत रूपमा गणेशमानले लेखेका छन्।
मूलतः गोरखापत्रमा प्रकाशित सामग्रीमा आधारित रही यो आलेखमा गणेशमान, सुन्दरराज, दिलमानसिंहहरूको गतिविधि/पक्राउबारेको सरकारी धारणाको चर्चा गरिएको छ । राणा शासकहरूलाई नामेट गर्ने उद्योग कसरी असफल हुन पुग्यो भन्नेबारे बताउन खोजिएको छ।

बायाँबाट क्रमश: प्रधानमन्त्री मोहनशमशेर, राजा त्रिभुवन र बीपी कोइराला (तस्बिर: विकिपिडिया)
सुन्दरराज चालिसेहरूको गिरफ्तारी
नेपाली कांग्रेसका नेता सुन्दरराज चालिसे र उनीसँग भारतबाट आएका केही व्यक्तिहरू पक्राउ परेको खबर पहिलो पटक २००७ असोज १३ गते गोरखापत्रको पहिलो पातोमा छापिएको छ। “तथाकथित नेपाली कंग्रेसको निन्दा गरिन सकिने : कालो करतूत” शीर्षकको यो समाचारले केही मानिस पक्राउ परेको बताए पनि को-को पक्राउ परेका थिए भन्ने खुलाउँदैन।
“नेपाल सरकारका उपरको घृणाले अन्धो भई तथाकथित नेपाली कंग्रेसका नेताहरूले रक्तपातको उद्देश्य लिई आफ्ना अनुगामीहरूलाई भारतबाट हातहतियारसहित चोरबाटोबाट काठमाडौं पठाई ठूलाठूला व्यक्तिहरूको हत्या गराई देशभरि आतङ्क मचाउन खोजेकोमा निजहरूको सो मुराद पत्ता लागेकोले” उनीहरूको योजना निष्फल भएको जानकारी मात्र गोरखापत्रबाट पाइन्छ। साथै, कांग्रेसीहरूले हतियार, सञ्चार-सेट र विस्फोटक पदार्थ ल्याएको जानकारी पनि उसले दिन्छ: “सो जघन्य कामको निमित्त आएका मानिसहरूले साथमा ल्याएको पेस्तोल, स्टेनगन र विस्फोटक पदार्थ वायरलेस सेटहरू लुकाएर राखेको ठाउँबाट बरामद भई अहिलेसम्म थाहा भएका सो सम्बन्धका मानिसहरू पक्राउ पनि भइसकेका छन्।” पक्राउ पर्नेहरूलाई नेल ठोकेर थुनामा राखी थप कारबाही हुँदै थियो।
घटनाउपर आफ्नो प्रतिक्रिया व्यक्त नगरी गोरखापत्रले विश्राम लिएन। उसले आफ्नो विचार यसरी राख्यो: “विदेशमा बसी नेपालको शान्तिभङ्ग गरी व्यक्तिगत प्रतिहिंसाको निमित्त यस्तो प्रकारको अतिगर्षित(?) काममा अरूद्वारा सरीक हुने तथाकथित नेपाली कंग्रेसका मानिसले यस्ता उपायद्वारा यो देशको राजा र देशभक्त प्रजाको भावनाका उपर प्रभाव पार्न सक्ने होइनन्। यसबाट ता निजैहरूको नीचताको राम्रो दिग्दर्शन हुन जानेछ। सरकारको कार्रवाई र तहकीकातहरू चाँडो सफलता-पूर्वक समाप्त भई यी देशद्रोहीहरूको कालो कामना र कार्रवाई सबै शुरूमै अन्त भइजाओस् भनी नेपालका प्रत्येक नेपाली नरनारीले हृदयदेखिको प्रार्थना गरेको छ।”
गोरखापत्र यतिमै रोकिँदैन। आफ्नो अर्को अंक (असोज १६) मा “कालो करतूत” शीर्षकमा करिब ५०० शब्दको सम्पादकीय समेत उसले प्रकाशन गर्यो। सम्पादकीयमा मूलतः तीन कुरा पाइन्छ – राणा शासकको भक्तिगान, नेपाली कांग्रेसउपर विषवमन र भारतीय सरकारको भूमिकाप्रति प्रश्न, आक्रोश। यसबाहेक, दुईवटा पेस्तोल, स्टेनगन (सम्भवतः एउटा) र विस्फोटक पदार्थ तथा वायरलेस सेट पक्राउ परेको कुरा यसबाट थाहा हुन्छ।
गोरखापत्रको सम्पादकीयमा भनिएको छ:
“१३ आश्विनमा प्रकाशित भएको नेपालद्रोहीहरूको कालो करतूतको समाचार हाम्रा पाठकवर्गले पढ्नु भएकै होला। सो समाचारले देशभरीमा एक घृणा र रिसको आवेग उत्पन्न गरायो। आफ्नै मातृभूमि र सरकारका उपरको अन्धो रिसले नेपाली कहलाइएका मानिसहरू विदेशमा बसी यस प्रकारको कारबाहीमा लाग्न सक्दा रहेछन् योभन्दा नेपालीलाई दुःख र शर्मको अर्को कुनबाट हुन सक्दछ! देशमा शान्ति र शुख कायम रहोस्, देश अराजकताको डरलाग्दो अवस्थामा पर्न नजाओस् भन्ने परमेश्वरको कृपाद्वारा यस्ता नृशंस काममा लाग्न मनसाय गर्नेहरूको षड्यन्त्र सफल भएन। यसमा सम्पूर्ण देशले हर्ष र निस्फिक्रीको एक दीर्घ निस्वास लिंदै उनै सर्वशक्तिमानका पाउमा धन्यवाद चढाएको छ।
“विदेशमा बसी यस्ता काममा लाग्ने पापीहरूलाई हामीले जति निन्दा गरे पनि पुग्ने होइन। देशको राज्य व्यवस्था, शान्ति र स्वतन्त्रता नै खत्रामा हाल्न केही नमान्ने यी देशद्रोहीहरूले आफ्ना जघन्य प्रयत्नद्वारा राजा र प्रजाप्रति, कर्तव्य र सद्भावको झन् बलियो सूत्रमा बाँधिन गएको देख्नु नै यिनीहरूलाई उपयुक्त नैतिक दण्ड हुन जान्छ, जुन हाम्रो विश्वास छ यिनले पाइ पनि सके। साँचै नै भनेको रहेछ कि आफ्नू देश र धर्म परित्याग गरी अर्को ग्रहण गर्दछन् र आफ्नू पूर्व सम्बन्धसँग सबभन्दा बढी दुश्मनी राख्ने गर्दछन् ! यो नेपालको नाममा कलङ्क लगाउने मानिसले सो उखान चरितार्थ गराए।

सुन्दरराज चालिसे। (सुन्दरराज चालिसे स्मृति ग्रन्थ)
“तर यस विषयमा हाम्रो एक प्रश्न पनि छ। सरकारबाट यो षड्यन्त्रको आदि अन्त सबै पत्ता लगाउने प्रयत्न र कारबाही गरेकामा हामी सारा नेपाली प्रजाले सो चाँडो सफलतापूर्वक समाप्त भई देशमा सबै कुरो पूर्ववत् राम्ररी चलोस् भन्ने हाम्रो अभ्यन्तरको प्रार्थना छ भनी हामीले बताइरहनुपर्ने होइन। तर यी मानिसहरूले साथमा ल्याएका हातहतियार कहाँ पाए, कसरी राखे, कसरी यहाँ ल्याए, यस कुरामा हाम्रो छिमेकी मित्रराष्ट्रसँग हामीले सोध्ने एकदुई कुरा छन् जस्तो हामीलाई लाग्दछ। गएको डेढ दुई वर्षमा कमसे कम दुई पटक यो देश त्यागी नेपालीहरूले हामा निरस्त्र पुलिसहरूमाथि साधारण रखवारी गस्ती गर्न लागेको समयमा झरोखर पोखरियामा पेस्तोल गोली हानी मार्न प्रयत्न गरेको कुरा हामीले सुनेकै छौं। पहिलो पटक गोली हान्नेहरूमध्ये चिनिएका मानिसहरू केही दिन भारत सरकारले पक्राउ गरी थुनामा राखेकोसम्म पनि समाचार पाइएको थियो। तर तिनीहरूउपर मुद्दा चलको छ छैन चलेको भए वर्तमान समयमा सो मुद्दाको रङरूप के छ हामीले थाहा पाउन सकेका छैनौं।
“हाल दुई पेस्तोल, स्टेनगन, विस्फोटक पदार्थ, रेडियो सबै सारजाम जम्मा गरी भारतदेखि ल्याई नेपालभित्र पसी यी पक्रिएका मानिसहरूले ती हातहतियार चोरबाटो गरी काठमाडौंसम्म ल्याएछन्। भारतमा तिनले त्यो माल कहाँ पाए ? यता ल्याउनुअघि कहाँ लुकाएर राखे ? त्यस्ता हातहतियार कति ठाउँमा राखी कतिकति यस्ता डफ्फाहरू नेपालतिर पठाइँदैछन् ? के भारत सरकार यो सब समाचार प्राप्त गर्न अथवा प्राप्त गरेका भए तिनउपर कारबाही गर्न असमर्थ छ? हातहतियार राख्नालाई त्यहाँ पनि लाइसेन्स दरकार पर्छ। मानिसहरूले मनमानी ढाँचासँग यस्ता शस्त्र जम्मा गरी भारतलाई आफ्नू लुक्ने ठाउँ बनाई त्यहाँबाट छिमेकी मित्र राष्ट्रका उपर चढाइ गर्नालाई अखबार पिटाई आफ्नू इरादाको घोषणा गर्दै र अन्तमा लुकुवा हत्याराको फौजसमेत पठाउन लागे। यो काममा लागेका नेता भनाउँदाको नाम नामेसी सबैलाई थाहै भएको कुरा छ। आज भारत सरकार आफ्ना मुलुकबाट नेपालका उपर भएको यस्तो व्यवहार कसरी चुप लागेर हेरिरहला। यस्तो कार्यबाट न नेपाल न भारत औ न संसारका अरू कुनै देशका उपर यसको नतिजा राम्रो हुन्छ। हामी नम्रतापूर्वक भारत सरकारलाई यस कुराको स्मरण गराउन चाहन्छौं।”
असोज २० गतेको गोरखापत्रमा सो घटनाको थप विवरण पस्किइएको छ, “सशस्त्र षडयंत्रको विवरण” शीर्षकमा। यो समाचारबाट सो हतियार/विस्फोटक पदार्थ भित्र्याउने काममा संलग्नमध्ये चार जवानको नाम-नामेसी पत्ता लाग्छ। “तथाकथित नेपाली कंग्रेसका नेता भनाउँदाहरूले श्री ३ महाराजको गाथमा र श्री मिनिटष्टर एण्ड कम्याण्डर इन चीफ र अरू भाइभारदारहरू समेतको ज्यानउपर दगा गरी नेपालमा अराजकता मचाउने उद्देश्यले हाथहतियारसहित हत्याराहरूको डफ्फा काठमाडौंमा पठाएको” गोरखापत्रमा उल्लेख छ।
असोज २० सम्म पक्राउ परेकाको “संक्षिप्त विवरण” यसरी दिइएको छ :
“अघि पनि एक पटक, काठमाडौं आई फौजलाई आफ्नू इमान र निमकबाट डगाई भडकाउन खोज्ने भूतपूर्व क.ज. हिरण्य शमशेरको रानीले कन्यादान गरी विवाह गरिदिइबक्सेको घरको नोकर सुन्दरराज चालिसे १
लडाईको समयमा जापानमा कैदी भइबसेको बखत आइ.एन्.ए.मा ‘मेजर’ भएको अघि भारतीय गोरखा फौजमा जमादार भएको दिलमानसिं थापामगर १
आइ.एन्.ए.कै दुइ सिपाहीहरू कुलमानसिं तामाङ र पूर्णबहादुर मगर २”
यहाँनेर सुन्दरराज चालिसेलाई हिरण्यशमशेरको घरको “नोकर” लेखिएको तथ्य रोचक छ। नेपाली कांग्रेसका नेता सुवर्णशमशेरका बाबु हुन् हिरण्यशमशेर। उल्लिखित चार जवानबाहेक अरू पनि थुप्रै मानिसलाई राणा सरकारले पक्राउ गरी थुनामा राखी कारबाही गरेको थियो। पक्राउ पर्नेमध्ये तोरणशमशेर, प्रतापविक्रम र उनका ड्राइभर, महेन्द्रविक्रम शाह, आदि पनि थिए, तर उनीहरूको नाउँ प्रकाश गरिएको थिएन। गोरखापत्रका अनुसार दिलमानसिंहले साथमा ल्याएको “रिभल्भर, स्टेनगन, टि.एन्.टि., वायरलेस सेटहरू” हिरण्यशमशेरका ज्वाइँ प्रतापविक्रमको “कम्पाउण्डभित्र घरमा बस्ने ड्राइभरको घरभित्रबाट बरामद” भएको थियो।

गणेशमान सिंहहरूको पक्राउ
१९९७ सालको प्रजापरिषद् काण्डमा पक्राउ परेका गणेशमान सिंह २००१ सालमा जेलबाट फरार भई भारत पुगेका थिए। उनी पनि काठमाडौं आएको तर फेला नपरेको गोरखापत्रले जानकारी दिन्छः “अघि यहांको जेलबाट भागी भारतमा फेरार भइरहेको गणेशमान श्रेष्ठ पनि निज चालिसे दिलमानहरूसंग यहां आएको रहेछ तर निज फेला परेको छैन।”
गोरखापत्रका अनुसार “पकडिएका मुख्य व्यक्तिहरू सबैले हामीलाई कलकत्तामा सुवर्णशमशेरले काठमाण्डौं गई इन्द्रजात्राको देश घुमने दिन अथवा त्यस्तै चाडवाड परेको बखतमा श्री ३ महाराज, श्री मिनिष्टर याण्ड कम्याण्डर इनचीफ र अरू ठूला ठूला भाइ भारादारहरूलाई गोली हानी मार्न औ टि.एन्.टि.ले सरकारी खरखजाना, गठ्ठाघर, अड्डाखानाहरू उडाउनू भनी पठाएको हो; निज सुवर्ण शमशेरसंग सम्बन्ध राखनाको लागि वायरलेसबाट खबर पठाउन र लिन हुनेसमेत बन्दोबस्त भएको सेट पठाएको हो भनी वयान गरेका” थिए।
तर, काठमाडौंबाट उम्केका गणेशमान पनि यस पालि भने प्रहरीको पञ्जाबाट फुत्कन सकेनन्; केही दिनपछि आफ्ना केही सहयोगीसहित ठोरीमा पक्राउ परे। यससम्बन्धी समाचार असोज २७ गतेको गोरखापत्रको पहिलो पातोमा प्रकाशित छ — “मशहूर फेरार गिरफ्तार भयो” शीर्षकमा।
गोरखापत्रको समाचारमा भनिएको छ:
“अघि नेपाल सरकारको विरुद्ध षडयंत्र गरी आजन्म कारावासको सजाय पाएको काठमाडौंको झ्यालखानबाट २००१ मा फेरार भैराखेको गणेशमान श्रेष्ठ केही दिनअघि ठोरीमा पक्राउ भई हाल काठमाडौं ल्याइएको छ।
यो व्यक्ति नेपालबाट भागेर भारतमा गएदेखि यसले नेपालविरोधी संस्थाहरूमा प्रमुख भाग लिने गरेको मात्र होइन कि सिमानामा हाम्रा निरस्त्र पुलिसमाथि पेस्तोलले गोली हानी मार्ने चेष्टामा शरीकसमेत भएकाले यसको सुपुर्दगीका निमित्त भारत सरकारसँग लेखापढी चलिरहेको थियो।”

तात्कालिक नेपाली कांग्रेसका कार्यकर्ताले छिमेकी भारतका उत्तरवर्ती इलाकामा अड्डा जमाई त्यहाँबाट गुप्त रूपमा नेपाल छिरी सीमा-इलाकाका गाउँ-गाउँमा संगठन निर्माण गर्थे। यसै क्रममा केदारमान व्यथित लगायतहरू रक्सौल नजिक अड्डा जमाएर नेपाली सरहदभित्रको झरोखर गाउँमा संगठन विस्तारमा लागेका थिए।
यो कुराको सुइँको पाएको नेपाली राणा-प्रशासनले प्रहरीको “वान्टेड लिस्ट” मा रहेका व्यथितहरूलाई पक्राउ गर्न प्रहरी खटायो। प्रहरीसँगको जम्काभेट र धम्काधम्की हुँदा व्यथितले गोली चलाए, र प्रहरी घाइते भयो। उनीहरू भागे र सीमापारि पुगे। तर, पछि भारतीय प्रहरीले उनी लगायत गणेशमान सिंहहरूलाई पक्राउ गर्यो। यो घटनालाई “झरोखर काण्ड” भनिन्छ, र समाचारमा उल्लिखित “सिमानामा हाम्रा निरस्त्र पुलिसमाथि पेस्तोलले गोली हानी मार्ने चेष्टामा सरिकसमेत भएको” प्रसंग त्यहाँबाट जोडिएको हो। वारदातका बेला गणेशमान उपस्थित नभएकाले उनी चाँडै रिहा गरिए पनि व्यथित २००७ सालको आन्दोलनपछि मात्र मुक्त भए।
“हतियार र मतियार” पक्राउ परेको गोरखापत्रको समाचारले काठमाडौंमा सनसनी मच्चियो। सरकारको कमजोरी पनि यसले उजागर गर्यो — विरोधीहरू हात-हतियार लिएर काठमाडौंसम्मै पुग्ने हैसियत राख्ने भैसकेछन्। यस विषयमा नवगठित व्यवस्थापिकामा छलफल भएको कुनै संकेत पाइँदैन।
पक्राउ गर्नेहरू पुरस्कृत
शासकहरूको ज्यान लिनुका साथै ध्वंश मच्चाउने र विप्लव गराउने काममा संलग्न भनिएका कांग्रेसी नेता-कार्यकर्तालाई पक्रन सघाउने सुरक्षाकर्मीहरूलाई सरकारले जागिरमा बढुवा र नगद रकमले पुरस्कृत गरेको थियो। यसरी पुरस्कार पाएका व्यक्ति र तिनको “साहसिकता” लाई गोरखापत्रमा स्थान दिइएको छ।
गणेशमान पक्राउ परेको करिब एक महिनापछि कात्तिक २१ गतेको पत्रिकाको पहिलो पातोमा “नूनको सोझो र मुलुकको हित गर्नेको कदर” शीर्षकमा ततसम्बन्धी यस्तो समाचार प्रकाशित छ:
“९७ सालमा नेपालमा सरकारविरुद्ध प्रजापरिषद् संस्था खडा गरेको समेत विप्लवी काम गरेकामा पक्राउ भई सावित ठहरी जन्मकैद भएकोमा २००१ साल आषाढमा जेलबाट भागेको र सो भागेकोमा १५ दिन म्याद बक्सी हाजिर हुन आउनू नआए ज्यान सजाय हुनेछ भन्ने २००१।३।१५ मा इश्तिहार जारी भएकोमा समेत भागी फरार भई विदेशमा रही नेपालको चलिरहेको स्थितिविरुद्ध अशान्ति फैलाउने काममा लागेका मानिसहरूसंग मिली दुनियाँ भडकाउने काम गरिरहेको र हालै सुवर्णशमशेरका भनाइबमोजिम मेजर भन्ने दिलमान, कुलमान, पूर्णबहादुर, सुन्दरराज चालिसे, हर्स श्रेष्ठसमेतका मानिस मद्दत र स्टेनगन १, पेस्तोल २, गन पेस्तोलका गोलीहरू, टी.एन्.टी. ११, वायरलेस सेट १, डुबलीकेटर १ समेत ल्याई नेपालमा शासक वर्ग र ठूला ठूला अफिसरहरूलाई हत्याकाण्ड गर्ने र जंगी खजाना रहेका घरहरूमा टी.एन्.टी.लगाई उडाउनेसमेत उद्देश्यले सो डफ्फाको मुख्य भई आई नेपालमा भित्रभित्र संगठनग गरिरहेको अवस्थामा निजका डफ्फामध्येको सुन्दरराजसमेत पक्राउ भएपछि अबाटोबाट भागी गएको ठोरीमा पुगेपछि पक्रिएको गणेशमान श्रेष्ठलाई पक्रने देहायका मानिसलाई देहायबमोजिम नेपाल सरकारबाट प्रमोशन र बक्स बक्सेको छ।”
पुरस्कृत हुनेमा पुलिस हवल्दार विष्णु सिंह, पुलीस सिपाही जंगी अहीर र ब्यारेक सिपाही नरबहादुर थिए। विष्णु सिंहलाई ठानेदारमा बढुवा र रु. १००० बकस; जंगी अहीरलाई हवल्दार दर्जा र रु. ७०० बकस; नरबहादुरलाई हवल्दार दर्जा र रु. ९०० बकस दिएको देखिन्छ। आफूहरूलाई पक्रने मुख्य व्यक्ति विष्णु सिंह भएको गणेशमान सिंहले पनि आफ्नो किताबमा मेरो कथाका पानाहरूमा उल्लेख गरेका छन्।
त्यस्तै, तेजनन्द जोशीलाई फौजमा विद्रोह गराउन खोजेको आरोप लगाइएको थियो। गोरखापत्रका अनुसार “नेपालमा चलिरहको शान्तिमय वातावरण भङ्ग गरी देश दुनियाँमा अशान्ति फैलाउने उद्देश्यले विदेशमा रही छापा पर्चाद्वारा नभएको झुट्टा कुरा दुनियाँमा प्रचार गरिरहेको नेपाली कांग्रेस भनाउँदो संस्थाको कोषाध्यक्ष हुँ भन्ने सुवर्णशमशेरले आफ्नू अगिको निजायती कारिन्दा मु. बद्री भन्ने तेजनन्द जोशी नेवारलाई रुपैयाँ दिई वीरगञ्ज ब्यारेकका फौज र पुलिसका जवानहरूलाई रुपैयाँ बाँडी आफ्नू मतमा मिलाई सरकारविरुद्ध गराउन खोजेकोमा निज मु. बद्री भन्ने तेजनन्दको सो उद्देश्य पत्ता लगाई पक्राउ गराउने” जमादार पूर्णबहादुर महत क्षत्रीलाई रु.५०० का साथै व्यारेकको सि. समीरबहादुरलाई पनि रु. २०० सरकारले बकस दियो। तेजनन्दको सहयोगीको आरोप लागेका सिपाही जितबहादुरलाई पक्राउ गर्ने हवल्दार गम्भीरबहादुर बस्नेतलाई जमादारको दर्जा दिई र सिपाही कृष्णबहादुरलाई हुद्दा बनाई सरकारले पुरष्कृत गर्यो।
खास गरी सुन्दरराज चालिसे लगायतको सुवर्णको परिवारसँगको सम्पर्क, काठमाडौंबाट हतियार र अन्य सामग्री पक्राउ परेको घर सुवर्णकै नातेदार (बहिनी-ज्वाइँ) र वीरगञ्जमा सेना-भडकाउने काममा लागेको भनिएका तेजनन्द सुवर्णकै कारिन्दा भएको देखिएकाले राणाहरूको आँखाको तारो सुवर्ण शमशेर भएको देखिन्छ। त्यसैले गोरखापत्रको रिपोर्टमा उनको नाउँ पटकपटक उल्लेख छ। तर, पक्राउ परेका अन्य राणा, शाहहरू (तोरण शमशेर, प्रतापविक्रम, महेन्द्रविक्रम, नोदविक्रम) बारे भने समाचारमा खासै उल्लेख छैन।
काठमाडौंसम्म हतियार र विस्फोटक पदार्थ ल्याएर विप्लव मच्चाउने विरोधीहरूको यत्न असफल बनाउन सकेकोमा राणा सरकार प्रफुल्लित रहेको माथिका समाचारहरुबाट बुझ्न सकिन्छ। पक्राउ परेकाहरूलाई राणाहरूले मृत्युदण्ड दिने निर्णयसमेत गरेका थिए। तर, सत्ताधारीहरूको खुसी धेरै दिन टिक्न पाएन।
यो घटना भएको महिना दिन पुग्दा-नपुग्दै त्रिभुवन सपरिवार काठमाडौंस्थित भारतीय राजदूतावासमा र पछि दिल्लीमा शरण लिन पुगे र त्यससँगै सुरु भयो नेपाली कांग्रेसको सशस्त्र आन्दोलन। आक्रोशमा राणाहरूले त्रिभुवनलाई राजगद्दीबाट निकालेर निजका माइला नाति ज्ञानेन्द्रलाई राजगद्दीमा बसाए। तर, एकातिर विद्रोहीको आक्रमण अनि अर्कोतिर बाहिरी मुलुकबाट नयाँ राजाप्रति समर्थन नआउँदा राणा शासन धर्मरायो। अन्ततः “दिल्ली-सम्झौता” हुन पुग्यो। त्यसको केही महिनापछि २००७ फागुन ७ गते राणाशाही पूर्णतः धराशायी भई देशमा प्रजातन्त्र स्थापनाको घोषणा भयो।
प्रकाशित : 12 December 2025
स्रोत : https://commons-nepal.com/a-failed-enterprise-to-kill-rana-rulers/
लोकरञ्जन पराजुली









