आप्रवासी मुद्दामा पद्धतीय राष्ट्रवाद

- गौरव केसी, प्रणव खरेल | 2021-09-24

गौरब केसी/प्रणब खरेल

पछिल्लो समय प्रवासी मुद्दा राजनीतिको प्रमुख आधार बन्न पुग्यो, यिनै कष्टपूर्ण पीडा र भोगाइलाई रैथानेले राजनीति गर्ने प्रमुख आधार बनाए र प्रवासीले पनि

नेपालको समग्र ऐतिहासिक विकासक्रमलाई बृहत्तर तवरमा बुझ्न सघाउने एउटा प्रमुख कडी हो– स्थानान्तरणको इतिहास । गमन र आगमनले भरिएको यो इतिहासमाथि सूक्ष्म बहस र प्राज्ञिक अध्ययनको अभाव हालसम्म पनि खड्किएको देखिन्छ । जबकि, अहिले नेपाली भनेर बनाइएको पहिचान आफैँमा आगन्तुकहरूको समयक्रममा भएको आगमनले निर्मित गरेको छ । मात्र कुरा के हो भने, यी आगन्तुकमध्ये को कति पहिले आए, को पछि ? को आउँदै छन्, को गइसके र को जाँदै छन् भन्ने हो । विशेषतः यी आगन्तुकको स्थानान्तरणको प्रमुख दुई धार हेर्ने हो भने एउटा लहर तिब्बती बर्मेलीमा पर्छ भने अर्को लहर सिन्धु घाटीबाट आएका भन्ने बुझाइ छ । यदि त्यसो हो भने, यिनैका सन्ततिभित्र पर्छौं, हामी सबै नेपाली । तसर्थ, नेपाली पहिचान निर्धारण गर्ने अमूर्त पक्षहरू भन्दा पनि स्थानान्तरणको प्रभाव निकै नै महत्वपूर्ण र निर्धारक छ । नागरिकता र राहदानीद्वारा निर्धारित युग सुरु हुनुभन्दा धेरैअघिदेखि नै यस भेगमा यहाँ–वहाँ स्थानान्तरगमन हुने प्रचलन व्याप्त थियो । मानिसले आफ्नो थातथलो छाडी अन्य स्थान गई बसोवास गर्ने कारण असंख्य छन् । अभाव, अर्थोपार्जन र बाध्यता प्रमुख कारकमध्येका हुन् । केवल घुम्नका लागि मात्रै पनि नेपालीले स्थानान्तरण गरेको इतिहास देखिन्छ ।

राष्ट्र राज्यको व्यापक अवधारणा र राज्यले अवलम्बन गरेको शक्तिकेन्द्रित वैधताले यस स्थानान्तरणलाई क्रमभंग गरिदियो । विशेषतः सन् १८१४–१६ उप्रान्त भएका सिलसिलाबद्ध विकासक्रममा नेपाली स्थानान्तरणको इतिहास धेरै लेखिएको हामी पाउँछौँ । प्रकारन्तरमा अधिकांश यी लेखोटले प्रदान गर्ने कथ्य मुख्यतः पद्धतीय राष्ट्रवाद अर्थात् मेथोडोलोजिकल नेसनालिजम वरिपरि लेखिएको देखिन्छ । यस मन्यताले राष्ट्र–राज्यलाई ग्राह्यता दिँदै समाज विश्लेषण गर्ने एक मात्र आधार बनायो । समाजशात्री उल्रिच बेक, सुजाता पटेल साथै मानावशास्त्री एन्ड्रिएस विमेर र नीना ग्लिक स्किलरले सविस्तारमा आफ्ना लेखमा यस सिद्धान्तमाथि समीक्षा गर्दै स्थानान्तरणको नौलो बहसलाई अघि सारेका छन् । यी लेख पढ्दा समाज विज्ञानले राष्ट्र–राज्यको अवधारणालाई प्राकृतिक सिद्धान्तको मान्यतामा साघुँरो बनाइदिँदै केवल राष्ट्रिय स्वार्थभित्र खुम्च्याइदियो । स्थानान्तरणका अधिकांश प्रकाशित लिखत हेर्दा यसैवरपर घुम्छ । नेपालको सन्दर्भमा पनि यो त्यत्तिकै प्रसंगोचित छ ।

राष्ट्रसँगै राज्यले अवलम्बन गरेको राष्ट्रवाद पनि सँगसँगै आयो । यसै राष्ट्रवादभित्र समेटिएनन्, परदेशमा घरजम गरी बसेका नेपालीभाषीहरू । जो, दुवै राज्यका अभिरुचिमा खासै परेनन् । चाहे ती नेपाली मूलका बर्मेली हुन् वा भुटानी वा पूर्वोत्तर भारतमा घरजम गरी बसेका नेपाली नै किन नहून् । यी सबैका आ–आफ्नै कथा र भोगाइ छन् । जुनवेला यी पुस्ताका नेपाली आफ्नो थातथलो छाडी परदेसिए, ती पुस्तासँगसँगै स्थानान्तरण हुन्छ, तिनको इतिहास, संस्कृति, मूल्य, मान्यता, भाषा, ग्राह्यता, संसर्ग, विश्व दर्शन, सम्बद्धता र पुख्र्यौली पहिचान । यीसँगसँगै जोडिन आउँछ, नेपाल भन्ने राष्ट्र पनि । जसलाई यिनले सहजै बिर्सन सक्दैनन् । जब ती नेपाली जीवनयापन वा जीविकोपार्जन गर्ने प्रक्रियामा विभिन्न पेसालाई अँगाल्न पुग्छन्, तब यिनको पहिचानमाथि नै संकट आइपर्छ ।

पहिलो, स्थानीयले आफूलाई रैथाने ठान्छन् र तिनलाई आगन्तुक वा बाहिरिया । यसले एक–अर्काबीच मतभेद बढ्दै गई कालान्तरमा कलह निम्त्याउँछ । दोस्रो, राज्यले समदर्शी भावना नलिइदिँदा ती झन् एक्लो महसुस गर्न पुग्छन् । किनकि, राज्यले स्थापित गरेको राष्ट्रवादको मान्यताअन्तर्गत ती नवआगन्तुक सधैँ राष्ट्रियतामाथिको अवरोध वा त्रास भइरहने हुनाले तिनलाई तथाकथित रैथानेअनुरूप स्विकारिँदैन । तिनलाई छुट्टै एक सांस्कृतिक र सामाजिक पहिचान बोकेको समुदायका रूपमा ग्रहण गरिन्छ । जसले ‘हामी’ र ‘तिनी’ भन्ने धुमिल घेरा कोरिदिन्छ । तसर्थ, आफ्नो सिमाना वा भूगोलमा तिनको बफादारीलाई चाहे राज्य होस् वा स्थानीयले सधैँ सन्देहको दृष्टिकोणले हेर्ने गरियो । राज्यको एकरूपी वा विविध संस्कृतिभित्र यी आगन्तुक नेपाली समेटिएनन् । तसर्थ, लामो समयदेखि राष्ट्रवादभित्र आफूलाई पनि समावेश गर्न यी नेपालीले कुनै न कुनै रूपमा आफ्ना भावना प्रकट गरी नै रहे । आफ्नो बफादारी जहाँ खाइबसी आएको छ, त्यहीँ रहेको विश्वास दिलाउन मात्रै यी अहिलेसम्म पनि संघर्षरत छन् । माथि प्रसंग गरिएका मुलुकको राष्ट्रिय अखण्डतामाथि यी सधैँ आशंकाको मानक बनिरहे र सधैँ द्वैध राष्ट्रियतामा बाँचिरहे । पहिचानको संकट यिनलाई सधैँ भइरह्यो ।

यही असमन्जस्यको परिस्थितिमा लेखपढ गरेका पूर्वोतर भारत वा दार्जिलिङमा बस्ने केही प्रवासी नेपालीले त्यस्तो परिस्थिति र अनुभूतिलाई साहित्यमा उतारेका छन् । यिनै दार्जिलिङे नेपालीले नेपाली साहित्यको विकासक्रममा ठूलो भूमिका खेल्दै नेपाली भाषाको विस्तारमा पनि योगदान गरेको देखिन्छ । यस प्रक्रियाअन्तर्गत यी नेपालीभाषीको भोगाइ यी लेखनमार्फत गन्तव्य स्थानमा आफ्नो उपस्थितिलाई पुर्ख्यौली थलोसँग आबद्धता जनाउँदै अपेक्षाकृत तुलना (दुवै देशबाट) गरी नै रहे । यस प्रक्रियाले दुवै स्थानलाई प्रतिकृति गरी नै रह्यो । यिनै विषयवस्तु समेटिएर लेखिएका लिखत हेर्दा गैरआख्यानभन्दा आख्यानले समेटिएका विषयवस्तु बढी ज्वलन्त र जीवन्त देखिन्छन् । उदाहरणका लागि दार्जिलिङका प्रवासी नेपालीमाथि केन्द्रित रही विसं १९९३ मा रूपनारायण सिंहद्वारा लिखित उपन्यास ‘भ्रमर’, त्यसैगरी नेपालको पहाडी भेकबाट कष्टकर जीवनबाट उन्मुक्ति पाउन हजारौँ संख्यामा मुग्लान भासिन बाध्य भएका विसं ००५ सालमा प्रकाशित लैनसिंह वाङदेलको कृति ‘मुलुकबाहिर’, समान विषयवस्तुमा आधारित भई विसं ०१४ सालमा लिखित ‘बसाइँ’ ।

यिनै पदचापलाई पछ्याउँदै पछिल्लो समय भारत र बर्मामा बसोवास गरिरहेका वा धपाइएका प्रवासीमाथि अन्य नेपालीले पनि कलम चलाएका छन् । यिनै स्थानान्तरणको विषयसँग सम्बन्धित रही लेखिएका कृतिलाई एकै ठाउँमा जम्मा गरी सन् ०१८ मा जनकराज सापकोटाद्वारा लिखित महत्वपूर्ण काम हो– ‘नेपाली उपन्यासमा बसाइँ सराई ः दुःखदेखि दुःखसम्म’ । साहित्यिक उत्पादनमार्फत स्थानान्तरणमा काम गर्न खोज्नेहरू जो–कोहीलाई यस पुस्तकले महत्वपूर्ण जानकारी प्रदान गर्छ । पद्धतीय राष्ट्रवादलाई प्रश्न गर्ने विषयवस्तु कुनै न कुनै रूपमा माथि उल्लेख गरिएका आख्यानमा पनि प्रस्ट झल्किन्छ । यिनले प्रतिविम्बित गरेका मानवीय अनुभव र अनुभूति निकै नै यथार्थपरक छन् । नेपालीले भोगेका दुःख र कष्ट एकातिर छ भने अर्कोतिर आफू बाहिरिया हुनुको पीडा झनै प्रतिविम्बित छ । यी आख्यानले भावुक र भावनात्मक शैलीमा गरेको चित्रणले प्रवासी नेपालीको अवस्था र भोगाइलाई दर्शाउँछ ।

अर्कोतर्फ भने दुवै भूगोललाई प्रतिनिधित्व गर्ने राष्ट्रियता र राष्ट्रवादका मानक आ–आफ्नै बने । तर, दुवै देशको सामूहिक आदर्शको मापदण्डचाहिँ पाश्चात्य ढाँचामा आधारित राष्ट्र–राज्यको अवधारणाले पायो । यसैलाई आदर्श बनाउँदै दुवै राज्यले यहाँ–वहाँ भइरहेको स्थानान्तरणको इतिहासलाई बिर्सिए र नागरिकका हैसियतले उनीहरूबाट पूर्ण बफादारी मात्रै खोजे । परिणामतः भारतमा रहेका प्रवासी नेपालीलाई असली भारतीय नागरिक मानिएन वा ती मूलधारका भारतीय होइनन् भन्ने हिसाबले व्यवहार गरियो । साथै तिनको बफादारीमाथि सधैँ प्रश्न खडा भई नै रह्यो । नेपालीले ब्रिटिसविरुद्धको आन्दोलनमा आफ्नो आबद्धता जनाएको कथनलाई अघि सारी नै रहे (उल्लेखित उपन्यासहरूमा पनि देखिन्छ) । तर, पनि, स्थानीय र राज्य दुवैका मनोविज्ञानमा नेपाली, बाहिरिया र छुट्टै सामाजिक तथा सांस्कृतिक समूहका रूपमा रही नै रहे । नेपाली मूलका भारतीय नागरिक दुई किसिमको पद्धतीय चपेटामा परे । एउटा नेपाल भन्ने छुट्टै राज्य छ । तर, भारतीयले गर्ने व्यवहार नेपाल हेरेर गर्छ । यता, नेपाल छाडेर गइसकेकाले तिनको बफादारीलाई नेपालले पनि खासै अभिरुचि दिएन ।

अन्त्यमा, अर्को बुझ्नुपर्ने विषय के पनि हो भने, भारतले ग्रहण गरेको राष्ट्रवाद होस् वा नेपालले, यी दुवैका मानकचाहिँ पाश्चात्य ढाँचामा आधारित राष्ट्र–राज्यको अवधारणा नै हो । ब्रिटिसले आफ्नो उपनिवेशमा लादेको यस काल्पनिक अवधारणाले ब्रिटिसउप्रान्त पनि निरन्तरता पाइरह्यो । यो नेपालमा पनि आयतीत भयो र समयक्रममा नेपालका विविध शासकले यसलाई राजनीतिको प्रमुख कडी बनाए । तसर्थ, नेपालमा पनि राष्ट्रवाद विभिन्न स्वरूपमा प्रयोग भएका छन् । त्यसको एउटा स्वरूप पञ्चायतमा देखियो । जसको प्रभुत्व हालसम्म पनि छ । तर, पञ्चायतअगावै यसको बीजारोपण भइसकेको थियो । स्थानान्तरणको यो इतिहास हेर्दा वा यी प्रकाशित सामग्री हेर्दा राष्ट्रवादको अवधारणा पञ्चायतभन्दा धेरैअघि नै नेपालमा प्रष्फुटित भइसकेको स्पस्ट देखिन्छ । ब्रिटिस शासनकालमा स्थानान्तरगमन भई गएका नेपालीले घरजम गरी भारतका विभिन्न प्रान्तमा बस्न पाए । तर, ब्रिटिसउप्रान्त भारत स्वतन्त्र भएपछि भने नेपालीभाषी राष्ट्रिय एकीकरणको योजनाअन्तर्गत परेनन् वा समेटिएनन् । तसर्थ, यी भारतमा रहेका प्रवासीका हकमा एउटा स्वतन्त्र नेपाल भनिने राज्य रहनुले त्यहाँका भारतीय नागरिक भइसकेका नेपालीभाषिमाथि संयम कायमै रहिरह्यो । यसले अध्ययन–अध्यापनमा पद्धीतय राष्ट्रवादलाई निरन्तरता दिई नै रह्यो । पछिल्लो समयमा त प्रवासी मुद्दा राजनीति गर्ने प्रमुख आधार बन्न पुग्यो । यिनै कष्टपूर्ण पीडा र भोगाइलाई मुद्दाका रूपमा उठान गर्दै रैथाने (दल विशेष)ले राजनीति गर्ने प्रमुख आधार बनाए र प्रवासीले पनि ।

स्रोतः https://www.nayapatrikadaily.com/news-details/29162/2019-11-17?fbclid=IwAR2cmkQ_yNzFpFfZ8dU8GOKH70WAXd7yRpczCjR29FBkq9XFEUGqWGGkJGs


About the Author

प्रणव खरेल

समाजशास्त्री, काठमाडौँ स्कुल अफ ल