बङ्किमचन्द्रदेखि जयपृथ्वी बहादुरसम्म

- उज्ज्वल प्रसाई | 2022-09-09

नेपालमा शैक्षिक र बौद्धिक काम गरेको, पश्चिमका विभिन्न ठाउँमा आफ्ना मानवतावादी विचार प्रसार गर्दै हिँडेको र संस्थासमेत खडा गरेका कारण जयपृथ्वी बहादुर सिंहको योगदानलाई बर्लिनको हम्बोल्ट विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका स्टिफन ल्योडरले वैश्विक स्तरको मानेको अन्दाज गर्न सकिन्छ ।

प्राज्ञिक दुनियाँमा ‘इन्टिलेक्चुअल हिस्ट्री’ अर्थात् बौद्धिक इतिहासबारे बहस उर्लने, साम्य हुने र फेरि बौरिने क्रम सुरु भएको धेरै भयो । केही वर्षपहिले ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ नाममा बौद्धिक इतिहासबारे फेरि एक चरण विमर्शहरू चले ।

त्यस उपक्रममा सोही नामबाट प्राज्ञिक जर्नल सुरु भयो, गोष्ठी र सम्मेलन आयोजना गरिए । र साथै, पुस्तक पनि प्रकाशित भए । खास गरी यस्तो एउटा महत्त्वपूर्ण सम्मेलनको उपजस्वरूप इतिहासवेत्ता सामुअल मोइन र एन्ड्र्यु सार्टोरीको सम्पादनमा ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ शीर्षक किताब छापियो ।

यस विमर्शको लहरमा भारतीय इतिहासकार मिसिनु स्वाभाविक छ । त्यसो त विमर्श सञ्चालन गर्ने र पुस्तक सम्पादनमा लागेका सार्टोरी स्वयं भारतको बंगाल केन्द्रित अध्ययन–अनुसन्धानमा लागेका प्राध्यापक हुन् । नाम चलेका अन्य भारतीय प्राध्यापकहरू सुदीप्त कविराज र जानकी बाख्ले पनि विमर्शमा सहभागी भए । वैश्विक स्तरमा हुनुपर्ने (र भएका) बौद्धिक इतिहासको खोजी र लेखनबारे आयोजित सम्मेलन, त्यहाँ पढिएका आलेख र प्रकाशित पुस्तकमा प्रश्न उठाउँदै आलोचनात्मक लेख लेखे अर्का भारतीय इतिहासकार सञ्जय सुब्रमण्यमले । सन् २०१५ मा माथि उद्धृत किताबको आलोचनात्मक समीक्षा लेखे, दुई वर्षपछि सोही विषयमा अलि विस्तारित प्राज्ञिक लेख प्रकाशित गरे । ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ का नाममा नयाँ खास केही नगरेर, उही ‘युजुअल सस्पेक्ट’ अर्थात् पुरानै र सहजै अन्दाज गर्न सकिने केही व्यक्तिबारे गफगाफ गरेछौ भनेर उनले व्यङ्ग्य कसे । न्युयोर्क वरपर भएका केहीलाई निम्त्याएर गरिने यस्तो काम ‘ग्लोबल‘ हुन नसकेको पनि उनको टिप्पणी थियो ।

यस विमर्शमा नेपाल कतै देखा परेको छ कि छैन ? छ भने, कहाँ कसरी जोडियो ? यस विषयमा प्रवेश गर्नुअघि दक्षिण एसिया शीर्षकमा गरिने ‘ग्लोबल प्राज्ञिक अध्ययन’ बारे केही पुराना बहसको स्मरण गर्नु उपयुक्त हुन्छ ।

जाहेर छ, ‘दक्षिण एसियाली अध्ययन’ नामले परिचित प्राज्ञिक अध्ययन र खोजमा मूलतः भारत पढिन्छ । आकारमा ठूलो, भूराजनीतिक महत्त्वको र पश्चिमसँगको घनिष्ठतम सम्बन्धमा धेरै पहिलेदेखि हेलिएका कारण पनि भारत र भारतीय प्राज्ञिकहरू पश्चिमा विश्वविद्यालय र अनुसन्धान संस्थामा बढी सक्रिय भएका होलान् । यसको अर्थ भारतीयहरूले गतिला काम गरेका होइनन् र केवल ठूलो भएकैले मात्रै महत्त्व पाएका हुन् भन्ने हुँदै होइन । बरु, दुनियाँलाई नै कामलाग्दा असङ्ख्य अध्ययन गरेका छन् भारतीयहरूले । भन्न खोजेको जम्मा यति हो- अमेरिका लगायत देशबाट सुरु हुने र हुर्कने यस्ता विमर्शहरूमा दक्षिण एसियाका सबै मुलुकलाई ओझेल पार्ने भारतको दबदबा आफैंमा अध्ययन र लेखनको रोचक विषय हो । कम्तीमा, भारत सम्बन्धी कुनै महत्त्वको लिखत तयार गर्नुपरे भारतीयहरूलाई नै संलग्न नगराउँदा अप्ठ्यारो आइपर्ने स्थिति छ ।

त्यसैले वैश्विक स्तरमा बौद्धिक प्रभाव पार्ने भारतीय व्यक्ति र घटनाबारे स्वयं भारतीयहरू निम्त्याइएर लेखाइने गरेका हुन् ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ जस्ता किताबमा । कविराज, बाख्ले र सुब्रमण्यमहरूको महत्त्व त्यसै स्थापित भएको होइन । भारतइतरका अन्य दक्षिण एसियाली मुलुकबारेका यस्ता विमर्श भने तत् क्षेत्रका प्राज्ञिकको संलग्नताबिना भएका थुप्रै उदाहरण छन् । यसबारे टिप्पणी गर्दै नेपालकेन्द्रित प्राज्ञिक अनुसन्धान गर्ने मानवशास्त्री मेरी डेसेन र नेपाली इतिहासवेत्ता प्रत्यूष वन्तले सन् १९९५ मै लेखेका थिए, ‘नेपालको जटिल र परिवर्तनशील अवस्थाबारे आलोचनात्मक अध्ययन र लेखनका लागि स्वयं नेपाली प्राज्ञिकलाई किन निम्ता गरिँदैन ?’ खास गरी नेपालमा सुपरिचित अनुसन्धाता माइकल हटले सम्पादन गरेको किताब ‘नेपाल इन द नाइन्टिज’ को समीक्षा गर्ने क्रममा यो प्रश्न उठाइएको थियो । त्यसो त डेसेनले यसै विषयलाई विस्तारमा व्याख्या गर्दै सन् २००७ मा प्रकाशित सिन्हास जर्नलको एक अंकमा लेख लेखिन्- ‘इज नेपाल इन साउथ एसिया ? द कन्डिसन अफ नन पोस्ट–कोलोनियालिटी’ ।

यस लेखमा डेसेनले अमेरिकी विश्वविद्यालयका दक्षिण एसियाली अध्ययनमा बंगाली साहित्यकार बङ्किमचन्द्र चट्टोपाध्यायको नाम मात्रै दोहोरिएको दोहोरियै गर्न थालेपछि सोही नाममा हँस्यौली बनेको उल्लेख गरेकी छन् । अर्थात्, दक्षिण एसिया पढ्न पुग्ने जोकोहीले उनै बङ्किमचन्द्र र भारत मात्रै भनिरहने अवस्था उत्पन्न भएकामा त्यो ठट्टा रचिएको थियो । तर, उनै बङ्किमचन्द्रको उपन्यास ‘चन्द्रशेखर’ सन् १९१५ मै गम्भीरध्वज शाहले नेपाली भाषामा अनुवाद गरेका थिए । केही समयपछि शंकरदेव पन्तले अर्को उत्तिकै चर्चित र अति उद्धृत भएको ‘आनन्दमठ’ पनि नेपालीमा अनुवाद गरी नेपाली पाठकमाझ पुर्‍याएका थिए । यति मात्रै होइन, सन् १९४० सम्ममा अन्य थुप्रै बंगाली कृतिहरू नेपालीमा अनूदित भएर प्रसारित भएको अनुवाद सम्बन्धी अध्ययन गरेका बलराम अधिकारीले आफ्नो एउटा लेखमा उल्लेख गरेका छन् । तर यी अनूदित कृति, यिनले पारेका बौद्धिक प्रभाव र यीबारे भएका अन्य विमर्शको खोजी गराउन दक्षिण एसियाली अध्ययनका विभागमा भने कुनै तत्परता देखिएन ।

डेसेनले उठाउन खोजेको प्रश्न थियो- भारतमा प्रचलित भाषाका यति धेरै र महत्त्वपूर्ण साहित्य अनुवाद हुने र प्रसारित हुने नेपालजस्तो मुलुक दक्षिण एसियाली अध्ययन वा सबाल्टर्न स्टडिजजस्ता प्राज्ञिक उद्यमको नजरमा कहिल्यै किन पर्दैन ? ठूलो गाइँगुइँ मच्चाएको उस बेलाको उत्तरऔपनिवेशिक अध्ययनमा नेपालको उपस्थिति नहुनुको अर्थ के हो ?

पछिल्लो समय ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ लेखिने उपक्रममा नेपाल जोडिन थालेको छ । आम धारणामा सन् १९५० सम्म बन्दप्रायः रहेको नेपालका विद्वान्हरूले उस बेलै पनि विश्वका धेरै ठाउँमा प्रभाव पारेका हुन सक्छन् भनेर खोज्दै जाँदा एक अध्येताले जयपृथ्वीबहादुर सिंह (सन् १८७७–१९४०) फेला पारेका छन् । नेपालमा शैक्षिक र बौद्धिक काम गरेको, भारतको बेङ्लोरमा अड्डा जमाएर बसेको, पश्चिमका विभिन्न ठाउँमा आफ्ना मानवतावादी विचार प्रसार गर्दै हिँडेको र संस्थासमेत खडा गरेका कारण यी बझाङी बौद्धिकको योगदानलाई बर्लिनको हम्बोल्ट विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका स्टिफन ल्योडरले वैश्विक स्तरको मानेको अन्दाज गर्न सकिन्छ ।

सिंह सम्बन्धी प्राज्ञिक लेख तयार पार्न ल्योडरले मिहिनेत गरेका छन् । नेपाली इतिहासमा काम गरेका धेरैका लिखतसँग उनको राम्रो परिचय भएको लेखमा उद्धृत सामग्रीहरूले पुष्टि गर्छन् । तर, लेख्ने क्रममा भएका सानातिनाजस्ता देखिने त्रुटिले जानकारहरूलाई बिझाउँछन् । जस्तो, एक ठाउँमा उनले सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानहरूसँगै बालकृष्ण समको पनि दार्जिलिङमै बौद्धिक हुर्काइ भएको भाव जनाउने वाक्य लेखेका छन् । लेख प्रकाशित भएको हिमालय जर्नलका नेपाली सम्पादकहरूबाट पनि यो कमजोरी चिप्लेकामा नेपाली इतिहासका जानकारले ताज्जुब मानेका छन् ।

करिब दस महिनापहिले सार्वजनिक भएको ल्योडरको लेखमा सिंहको एकसरो जीवनी र उनका केही लिखतहरूको चर्चा गरिएको छ । नेपाली इतिहासका अध्येतालाई नौलो लाग्ने धेरै सूचना वा विश्लेषण नभए पनि, यस लेखले ‘ग्लोबल इन्टिलेक्चुअल हिस्ट्री’ को फलकमा वैश्विक स्तरमा चर्चा हुनलायक नेपाली बौद्धिकका रूपमा सिंहलाई स्थापित गर्ने कोसिस गरेको छ । ल्योडरको पहुँचमा भएका सिंहका लेख, भाषण र उनले गरेका कामहरूको रेकर्डले सिंहका योगदान महत्त्वपूर्ण छन् भन्नेमा उनलाई विश्वस्त तुल्याएको बुझिन्छ । सञ्जय सुब्रमण्यमले भने जस्तो सहजै अन्दाज गर्न सकिने ‘युजुअल सस्पेक्ट’ होइनन् सिंह, बरु नेपालबाहिरको दुनियाँमा उनी नौला (र, महत्त्वपूर्ण) व्यक्तित्व हुन् भन्नेमा ढुक्क भएर यो लेख तयार भएको छ ।

ल्योडरजस्ता अध्येता ढुक्क हुन सक्ने गरी सिंहले जति नै वा त्योभन्दा धेरै महत्त्वका किताब लेखेका, बौद्धिक उद्यम गरेका अरू कति बौद्धिक होलान् नेपाली इतिहासमा ? नेपालका हिमाल, पहाड र तराईमा जन्मे–हुर्केका, भारतका केही सहरबाहेक अन्यत्र खासै नपुगेका र अन्तर्राष्ट्रिय मञ्चहरू पनि नपाएका त्यस्ता नेपाली बौद्धिक नहोलान्, जसका विचार, साहित्य वा तिनले आफ्नो समाजमा चलाएका अभियान वा गरेका काम अन्यत्रका मान्छेको बौद्धिक उन्नयनमा उपयोगी होऊन् ? त्यस्ता मान्छे छन् भनेर अनुमान गर्ने हो भने, तिनका बारे कसले र कसरी खोजी गर्ने ? यी प्रश्नहरू केवल कुनै राष्ट्रको महिमाका खातिर सोधिएका होइनन् । नेपालको हाँक र सान बढाउने सवाललाई केन्द्रमा राखेर नभई, वैश्विक बौद्धिक इतिहासकै जग बलियो बनाउने हेतुले यी प्रश्न जरुरी ठानिएका हुन् । सुब्रमण्यमजस्ता आलोचकका गम्भीर सन्देहहरूलाई सम्बोधन गर्न पनि यस्ता खोजी आवश्यक छन् ।

नेपाल भनिने यस चौहद्दीभित्रका बौद्धिकबारे खोज–अनुसन्धान गर्न यहाँका भाषाहरूमा पकड बनाउन आवश्यक हुन्छ । नेपाली भाषा मात्रले पनि त्यो काम पूरा नगर्न सक्छ । नेपालभित्रका विविध भाषा साथै भारतमा प्रचलित केही भाषामा समेत पकड बनाउन सक्दा मात्रै सम्भवतः त्यस्ता बौद्धिकको खोजी गर्न सकिन्छ । तीमध्ये कतिपयले आफ्नो समयमा दुनियाँमा प्रचलित अनेक वैचारिक र सैद्धान्तिक मीमांसासँग आफ्नै ढंगले संवाद गरेका हुन सक्छन् । कतिले भने आफ्नो समाजअनुकूल जीवन–व्यवहार, आदर्श वा कलाको उम्दा सृजना गरेका हुन सक्छन् । अथवा, त्यस्ता बौद्धिक व्यक्तित्व, अभियान वा गतिविधिका असफलताकै पनि अध्ययन गरियो भने वैश्विक स्तरको बौद्धिक इतिहासको लेखनीलाई समृद्ध तुल्याउन सकिँदो हो । सामर्थ्य र सीमितताको विशद अध्ययनका लागि आवश्यक तयारी उत्तिकै विशद हुन जरुरी हुन्छ । ल्योडरहरूका योगदान आफैंमा महत्त्वपूर्ण हुँदाहुँदै, नेपालभित्रैका अध्येताले अवसर पाउँदा अझै गहकिला बौद्धिक इतिहास लेखिन सक्ने सम्भावना बढी हुन्छ ।

कम्तीमा, नेपालबारे अन्यत्र भएका प्राज्ञिक सामग्री र अध्ययन–अनुसन्धानबारे आलोचनात्मक ढंगले सोच्न सिकेका नेपाली बौद्धिकहरू समेतको संलग्नतामा विमर्श सञ्चालन हुनु महत्त्वपूर्ण छ । यसो भन्नुको तात्पर्य सामान्य छ- शक्ति संरचनामा लैश कुन क्षेत्र होला जहाँ न्याय र अन्यायको सवाल नउठोस्, घर्षण र रस्साकस्सी नचलोस् ! प्राज्ञिक जगत् बिलकुल अनौठो हुन सक्दैन, किनभने त्यो पर कुनै निर्जन टापुमा सञ्चालन हुने उद्यम होइन । चाहे अनुसन्धानमूलक सामग्री प्रकाशन हुने प्राज्ञिक जर्नल हेरौं वा विश्वविद्यालयमा चल्ने सैद्धान्तिक बहस पहिल्याऔं, प्रशस्त नोंकझोंक, सेखी झाराझार, व्यङ्ग्य र कहिलेकाहीँ आक्रोशको विनिमय चलेको भेटिन्छ । चनाखा प्राज्ञिकहरू आफ्ना तर्क, तथ्य, आक्रोश र परिहासलाई भद्रताको ओढनी पहिर्‍याउन खप्पिस हुन्छन्; कोही भने फुक्काफाल मैदानमा उत्रिन्छन् । यस्तो ‘ग्लोबल’ बौद्धिक विनिमयमा नेपालीहरूको संख्या बढ्नु आवश्यक छ ।

प्रकाशित : भाद्र २४, २०७९
स्रोत : https://ekantipur.com/opinion/2022/09/09/166268715670639889.html


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai