नेपाली सञ्चार माध्यममा आएको विषयवस्तुको गहिरो खोजविन

2021-10-18

- श्रीश भण्डारी

नेपाली पत्रकारिताको इतिहास एक दशक लामो भए पनि यसले सशक्त गति लिने थालेको पुगनपुग डेढ दशक मात्र भएको छ । लामो समयसम्म परम्परागत यथास्थितिबाट गुज्रेको यो विधाले २०४६ सालयता आएरमात्र परिवर्तनको द्रुततर गति लिन सकेको हो । यस वर्षको उपलब्धि स्वरूप नेपाली सञ्चारमाध्यम (मिडिया) आम पाठक/श्रोतामाझ देश-विदेशका समाचार तथा विचार सम्प्रेषणमा व्यावसायिक प्रतिस्पर्धाको स्थितिसम्म आइपुगेका छन् । यो प्रतिस्पर्धा संख्यात्मक र प्राविधिक दृष्टिले सन्तोषजनक देखिए पनि मुलुकमा सञ्चार-अनुसन्धानको परम्परा स्थापित भइनसकेकाले गुणात्मक पक्ष कुन अवस्थामा छ भनेर केलाउन बाँकी नै छ ।

यही आवश्यकता महसुस गरेर मार्टिन चौतारीले नेपाली सञ्चार माध्यममा आएका विविध विषयवस्तुमाथिको विश्लेषणात्मक किताब हालै सार्वजनिक गरेको छ । 'मिडियाको अन्तर्वस्तु विविध विश्लेषण' शीर्षकमा आएको यस कृतिमा नेपाली छापा र टेलिभिजनबाट सम्प्रेषति केही सीमित विषयका समाचार-सामग्री विश्लेषण गरी तिनका कमी कमजोरी र उपलब्धि केलाउने प्रयत्न गरिएको छ ।

पुस्तकमा राजनीति, पर्यावरण र विविध विषयका गरी १० विश्लेषणात्मक लेख छन् ‍। राजनीति खण्डमा माओवादी आन्दोलन र राजदरबार हत्याकाण्डबारे छापामा आएका सामग्रीको खोजविन गरिएको छ । माओवादी आन्दोलनबारे छापा माध्यममा क्रियाशील तीन पत्रकारले अनुसन्धानात्मक लेख प्रस्तुत गरेका छन् । २०५७ सालसम्मको माओवादी आन्दोलनका बेला प्रेसले निर्बाह गरेको भूमिकाबारे राजेन्द्र दाहालले र त्यसपछिको एक वर्षको स्थितिको प्रशान्त अर्यालले विश्लेषण गरेका छन् । अर्का पत्रकार गुणराज लुइँटेलले माओवादी आन्दोलनका प्रारम्भिक दिनदेखि संकटकाल लागेपछिको स्थितिसम्मकै विवेचना गरेका छन् ।

तीनवटै लेखमा माओवादी आन्दोलनले मुलुकमा जन्माएको असहज परिस्थितिमा प्रेसले निर्वाह गरेको जिम्बेवारी के कस्तो रह्यो भनी मूल्यांकन गर्ने प्रयत्न भएको छ । माओवादी आन्दोलनप्रति सुरुका दिनमा नेपाली प्रेसले बढी चासो र महत्व दिएको, त्यसपछि एकाएक उनीहरुप्रति आक्रमक भएको र पछिल्लो समयमा बाध्यात्मक परिस्थितिका कारण उदासीनजस्तो देखिएको तीनै जनाको समानप्राय: विश्लेषण छ । तर, प्रेसको भूमिका किन यस्तो हुन गयो भन्ने बारेमा चाँहि सबैले आ-आफ्नै तर्क दिएका छन् ।  

लुइँटेलका विचारमा प्रेसले माओवादीप्रति भिन्न-भिन्न भूमिका निर्वाह गरेजस्तो देखिए पनि त्यसको अभीष्ट बदनियतपूर्ण नरहेकाले यो सही बाटोमा हिँडेको छ । माओवादी सामाजिक क्षेत्रमा सुरुका दिनमा चलाएका आन्दोलन सकारात्मक रहेकाले त्यसको प्रशंसा भएको तर अहिले आएर तिनै माओवादीका नकारात्मक क्रियाकलापले प्रेसलाई आलोचक दृष्टि राख्ने अवस्थामा पुर्‍याएको उनको ठहर छ । प्रेस प्रारम्भिक अन्योलको अवस्थाबाट अब क्रमश: मुक्त हुँदै गएकाले यसको भूमिका अझ सकारात्मक हुने उनको अनुमान छ । २०५७ कार्तिकदेखि २०५८ असोजसम्मका ठूलो साइजका नेपाली अखबारहरुमा प्रकाशित माओवादी आन्दोलनबारेका समाचार सामग्रीको लामो विश्लेषण गरेका अर्यालले भने प्रेसले घटना-विवरण प्रकाशित गरेको तर गहिरिएर जान नसकेको मूल्यांकन गरेका छन् । 'सदरमुकाम कब्जा गरेर माओवादीले मारेको छलाङको रिपोर्टिङ गर्न अखबारहरुले हेलिकोप्टरबाट छलाङ मारे पनि अपेक्षित गहन र गुणस्तरीय सामग्री दिन नसकेको' उनको ठहर छ । घटनाक्रमको तीव्र विकासलाई उनले गुणस्तर हासिल हुन नसक्नुको एउटा कारण आ‍ैँल्याएका छन् ।

दाहालले भने नेपाली प्रेसमा माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा सन्तुलान र संगति नै नभएको धारण व्यक्त गरेका छन्‍ । यो समस्याका बारे प्रेस पनि अन्योलमा रहेको उनको टिप्पणी छ । यसो हुनुको कारण पत्रकारहरुमाथि जोखिम बढनु र समस्याबारे सरकार, राजनीतिक दल र माओवादीप्रति तटस्थ रहेर तर्क राख्न सक्ने बुद्धिजीवीको अभाव हुनु हो भन्ने उनको निष्कर्ष छ ।

सामान्य मतभेदलाई छाडेर समग्रमा भन्नुपर्दा तीनवटै लेखले माओवादी आन्दोलनप्रति नेपाली प्रेस सुरुमा जानेर वा नजानी सकारात्मक रहेको, माओवादी गतिविधिले उग्र रूप लिन थालेपछि 'यू टर्न' गरेको र संकटकालपछि बाध्यात्मक परिस्थितिका कारण उदासीन रहेको निष्कर्ष दिएका छन् । माओवादी आन्दोलनप्रति प्रेसले अख्तियार गरेको बाटो सही थियो/थिएन र छ/छैन थप अनुसन्धानको विषय हुन सक्छ । तत्कालका लागि यी अनुसन्धानात्मक लेखहरुले कम्तीमा माओवादीप्रतिको प्रेसको दृष्टिकोण एउटै सरले रेखाबाट अघि नबढेको तथ्य देखाइदिएका छन् ।

राजनीति खण्ड अन्तर्गत नै रमा पराजुली र प्रकाश अधिकारीले राजदरबार हत्याकाण्डबारे नेपाली ठूला आकारका अखबारमा आएका सामग्रीको विश्लेषण गरेका छन् यसबारेको समाचार र सम्पादकीय अध्यन गरी विश्लेषण लेख तयार पारेकी पराजुलीले नेपाली अखबारहरु साधन, स्रोत सम्पन्न भइसकेर पनि संकटको बेला कमजोर देखिएको टिप्पणी गरेकी छिन् । कमजोर विश्लेषण, स्रोतहरुको पर्याप्त उपयोग हुन नसक्नु, समूहगत कार्य नहुनु, गहन खोजीतफ चासो नदिइनुजस्ता कारणले दरबार हत्यकाण्डबारे नेपाली अखबारहरुले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको उनको निष्कर्ष छ । अन्योलको घडीमा सर्वसाधारणलाई संयमित राख्नमा भने प्रेसले पर्याप्त दायित्व बहन गरेको उनको विश्लेषण छ । त्यस्तै अधिकारीले पनि दरबारकाण्डका बेला ठूला साइजका अखबारहरूले अपेक्षित जिम्बेवारी बहन गर्न नसकेको निष्कर्ष दिएका छन् ।     

कृतिमा पर्यावरणसँग सम्बन्धित विषयका सामग्री विश्लेषण गरिएका दुई लेख समाविष्ट छन् । जल उत्पन्न प्रकोपबारे छापामा आएका सामग्रीको ङमिन्द्र दाहालले र वायु प्रदुषणविरोधी आन्दोलनबारे रमेश पराजुलीले अध्ययन विश्लेषणमा जल उत्पन्न प्रकोपबारेका सामग्री अखबारहरूमा पर्याप्त मात्रामा छापिए पनि प्रभावकारी नहुनाले समाधानको बाटो बनाउनमा योगदान दिन नसकेको निष्कर्ष आएको छ । २०५५ असोजदेखि ०५८ असोजसम्म तीन वर्ष अवधिका वायु प्रदूषणसम्बन्धी सामग्रीका विश्लेषक पराजुलीले भने छापाहरूले आन्दोलन अघि बढाउन र सरकारका गलत निर्णय फिर्ता गराउन सशक्त भूमिका खेलेको तर थप खोजी र कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ अझै आवाज उठाउन नसकेको ठहर्‍याएका छन् ।

विविध खण्ड अन्तर्गत अनुप सुवेदीले श्रव्य-दृष्य माध्यम टेलिभिजनबाट प्रसारित सूचनामूलक सामग्रीको विश्लेषण गरेका छन् । उनले नेपाल टेलिभिजनबाट प्रसारित 'आँखीझ्याल', 'अचेल' र हिजो-अस्ति' को विषयवस्तुदेखि प्रस्तुतिसम्मकै तुलनात्मक अध्ययन, विश्लेषण गरी गुणस्तर वृद्धिका लागि सुझाव दिएका छन् । त्यस्तै कोमल भट्टको लेखमा काठमाडौंका सन्ध्याकालीन पत्रिकाका विषयवस्तुको सकारात्मक तथा नकारात्मक पक्ष केलाइएको छ । कृतिको अन्त्यतिर समाविष्ट लाजिमा वन्त-भट्टको अलि बेग्लै लेखमा असहाय भएर सडकमा जीवनयापन गर्न विवश बालबालिकाहरूलाई जनाउन सञ्चार माध्यमले 'खाते' शब्द के कसरी प्रयोग गरेका छन्‍ भन्ने खोजी गरिएको छ । लेखमा कतिपय सडक बालबालिकाले 'खाते' संज्ञाबाट आफू अपमानित भएको महसुस गरेकाले यसतफ सञ्चार माध्यम सचेत हुनुपर्ने सुझाव दिइएको छ ।

सञ्चार माध्यमको भूमिका समाचार वा विचार सम्प्रेषणमा मात्र सीमित छैन । परिपक्व सञ्चार माध्यमले आफूलाई सूचना प्रसारकका रूपमा मात्र सीमित नराखी समाजमा भइरहेका गतिविधिको पहरेदारी गर्ने र आम पाठक/श्रोतामा अवधारणा निर्माण गर्ने कार्यको अभिभावकत्वसमेत बहन गर्नुपर्ने हुन्छ । सञ्चार माध्यमले यस्तो भूमिका निर्वाह गर्नु भनेको सामग्री सम्प्रेषणपछिको सामाजिक प्रभावप्रति ध्यन पुर्‍याउनु हो । यो प्रभावप्रति नेपाली सञ्चार माध्यममा आएका विषयवस्तुले कत्तिको ध्यान दिन सकेका छन् भन्ने कृतिमा लेखाजोखा भएको छ । पुस्तकमा समेटिएका लेखहरूमा सञ्चार माध्यममा आएका सामग्रीको आ-आफ्नै ढंगबाट विवेचना गरिएको छ । सबै लेख नेपाली सञ्चार माध्यममा आएका सामग्रीका विषयवस्तुका कमी र उपलब्धिको वास्तविक चित्र उतार्न सफल छन् । समग्र कृतिको अध्ययनपछि समकालीन नेपाली पत्रकारिता सामाजिक उत्तरदायित्वप्रति कत्तिको सचेत छ भनी ठम्याउने एउटा सामान्य आधार पाएको महसुस हुन्छ ।

कृतिका सबै लेख परम्परित अनुसन्धान पद्धतिमा आधारित रहेकाले तिनमा परिमाणात्मकताको अपेक्षा गुणात्मकताको प्रभत्व छ । विश्लेषणमा मनोगत अन्तर्दृष्टिको आधिक्य छ । प्रत्यूष वन्त, रमेश पराजुली र रमा पराजुली तीन जनाको सह-सम्पादनमा आएको कृतिको भाषा सरल हुँदाहुँदै पनि मीठास भने खोज्दा केही बढी मनोगत हुन गएको छ । गुणात्मक पद्धतिबाटै अनुसन्धान गरिएको भए पनि अध्ययन-विश्लेषणमा प्रयुक्त भाषालाई भावुकतापूर्ण हुन नदिई अझै वस्तुपरक बनाउन सकिने पर्याप्त सम्भावना देखिन्छ ।     

अध्ययन-विश्लेषणका क्रममा सबै लेखकले प्रशस्तै अखबार र अन्य सन्दर्भ-ग्रन्थको अध्ययन गरेको देखिन्छ । समग्र कृतिबाट एउटै निष्कर्ष नखोजी हरेक लेखबाट गुण-ग्रहणको प्रयत्न गरे सञ्चारकर्मी र यस क्षेत्रमै अध्ययन-अनुसन्धानमा लागेका शोधार्थीसमेतले पर्याप्त लाभ उठान सक्ने देखिन्छ । र, यही पक्षलाई नै कृतिको मुख्य उपलब्धि मान्न सकिन्छ । सुधारका सम्भावनाहरू जहीँसुकै अन्त्यहीन हुन्छन् नै । सञ्चार-सामग्री अनुसन्धानको परम्परा नबसिसकेको अहिलेको अवस्थामा यस कृतिले जे जति दिन सकेको छ त्यसलाई कम आँक्न मिल्दैन ।

 

स्रोतः कान्तिपुर, भदौ १८, २०५९, पृ ७


About the Author