नेपालमा गरिबीको बहस

2021-10-18

- पीताम्बर शर्मा

नेपालमा गरिबीको बहस किताब एउटा ल्याण्ड मार्क हो । यस्तो किताब पहिला निस्केकै थिएन । यो किताबमा पाँच वटा कुरा छन्‍ । पहिलो खण्डमा गरिबीको अवधारणा छ । दोस्रो खण्डमा गरिबीको अन्तरसम्बन्ध छ । तेस्रो खण्डमा गरिबीको विभेद छ । चौथो खण्डमा गरिबीको योजना छ र पाँचौँ खण्डमा भोलिको सम्भावना छ ।

गरिबीको सैद्धान्तिक पक्षमा युएनडिपि, एडिबि, वल्र्ड बैंक र अरू संसारले गरिबीलार्इ कसरी मापन र विश्लेषण गर्छन्‍ भन्नेबारे तथ्यपरक राम्रा लेखहरू छन्‍ । संरचनात्मक समायोजन र गरिबीसँगको सम्बन्धबारे हरि रोकाको लेखमा निकै राम्रो विवेचना छ । अर्को पढ्‍नै पर्ने लेख सेरा तामाङको 'असफल राज्य, गरिबी र वैदेशिक हस्तक्षेपको भूमिका' हो, जसमा विदेशी सहायताले नेपाल कसरी असफल राज्य भयो र कसरी त्यो निरत्र कायम राखिँदैछ भन्ने मार्मिक विवेचना छ । गरिबीको सैद्धान्तिक पक्षमा जगन्नाथ अधिकारीका दुर्इ वटा निकै राम्रा विवेचनात्मक लेखहरू छन्‍ ।

दोस्रो, गरिबी, समाज र राजनीति खण्डको परिवेश निकै ठूलो छ । यसमा गरिबीका विभिन्न अन्तरसम्बन्धहरूको चर्चा छ, जसमध्ये दुर्इ वटा लेख मन छुने छन्‍ । 'कमैया आन्दोलन र धैर्यताको राजनीति' भन्ने तात्सुरो फुजिकुराको छोटो लेख कमैया अन्दोलनको मर्मभित्र पुगेर त्यसभित्रका समस्याहरू उजागर गर्न सफल छ । २०५५ सालमा प्रकाशित टि लुर्इस ब्राउनको 'नेपाली प्रजातन्त्रका चुनौतीहरू' भन्ने निकै राम्रो लेखले अनुमान गरेका कुराहरू अहिले घटित भइसके । त्यो लेखले प्रजातन्त्रको चुनौती भनेको थियो, अहिले हामीलार्इ लोकतन्त्रको चुनौती छ, किनभने प्रजातन्त्र गइसक्यो ।

गरिबीका विभिन्न पक्षहरू बुझ्न तेस्रो खण्ड निकै महत्वपूर्ण छ, जसमा क्षेत्रगत असमानता र पहुँचमा विभेदहरूको चर्चा छ । कर्णाली प्रदेशप्रति भएको एेतिहासिक उपेक्षाको बारेमा सौभाग्य शाहको राम्रो लेख छ । अरू लेखमा गरिबी निवारण गर्ने नाममा कसरी गरिबहरू स्रोतबाट पन्छाइँदै छन्‍ भन्ने कुराको राम्रो उद्‍घाटन छ । यस खण्डमा एउटा पढ्‍नै पर्ने एेतिहासिक लेख छ, उल्फ लेडिजेस्कीको । नेपालमा भूमिसुधार लागू हुने क्रममा फोर्ड पाउण्डेसनका सल्लाहकार रहेका उल्फले यहाँ भूमिसुधारसम्बन्धी निकै ठूलो अध्ययन गरे र चिठीको माध्यमबाट नेपालका राजा महेन्द्रसँग निकै वादविवाद पनि गरे । यो किताबमा परेको लेख तिनै चिठीहरूको सारांश हो ।

अर्थतन्त्र, योजना र विकास भन्ने चौथो खण्ड पढ्‍दा निकै चिन्ता लाग्छ । गरिबीसँग जुध्ने हामीसँग न योजना छ, न लक्ष्य छ, न जाने बाटोको हेक्का छ, न गन्तव्यको भन्ने कुरा यो खण्डले राम्रोसँग देखाउँछ । यसमा वैदेशिक सहायतामाथि आलोचनात्मक विश्लेषण गरिएका लेखहरू छन्‍ । र, गरिबी निवारणका प्रयत्नहरूमाथि सटिक लेखहरू पनि छन्‍ । झलक सुवेदीको गरिबी न्यूनीकरण नीति र कार्यान्वयनको समीक्षामा गरिबी न्यूनीकरण नीति एकातिर र कार्यान्वयन अर्कातिर कसरी गइरहेको छ भन्ने चर्चा छ । महेश पन्तको जनताबाट अलग्गिएको विकास भन्ने लेखमा नेपालको सन्दर्भमा कसरी विकासलार्इ पुन:परिभाषित गरिनुपर्छ भन्ने गहन विश्लेषण छ ।

सम्भावना र बहस भन्ने अन्तिम खण्डमा जगन्नाथ अधिकारीले गरिबी न्यूनीकरण रणनीतिपत्रको राम्रो आलोचनात्मक समीक्षा गर्नुभएको छ । त्यसपछि विश्व बैंकका निशिमिजुको लेखमा विश्व बैंकले देखेका सपना छ । अधिकारी र निशिमिजुको लेखसँगै पढ्‍दा आश्चर्य लाग्छ । मेरो लेख पहाडी विकासको रणनीतिको आसय गरिबीको चर्चा गर्दा हामीले विकासको एउटा बृहत्‍ सन्दर्भ बिर्सियौं भन्ने हो । किन यहाँ पहाडी विकास र तरार्इको विकासलार्इ समग्र रूपमा हुर्नपर्छ, त्यसका लागि किन पहाडी विकासको रणनीति आवश्यक छ र त्यो रणनीतिको सन्दर्भमा मात्र लिङ्ग, जातिजस्ता विभिन्न कुराले अर्थ पाउँछन्‍ भन्ने तर्क गर्न खोजेको छु । चैतन्य मिश्रको 'सामुदायिक राजनीतिक संगठनहरूको दायित्व' भन्ने अन्तिम लेखले एउटा गजबको प्रश्न उठाउँछ । नेपालमा गरिबीबारे विश्व बैंक, एसियाली विकास बैंक, योजना आयोग, राजनीतिक पार्टी, राजा सबैले कुरा गर्छन्‍ । तर गरिबी नेपाली राजनीतिको एजेण्डामा कहिल्यै पनि देखिएन, जुन निकै अनौठो कुरा हो । मिश्रले यसबारे राम्रो चर्चा गर्दै विभिन्न सम्भावनाहरू उल्लेख गर्नुभएको छ ।

यो पुस्तकका केही उपलब्धिहरू छन्‍ । नेपाल गरिब देश हो तर गरिबीको धेरै चर्चा हामीले स्टार होटलहरूमा सबैजसो गरिब र बहुसंख्यक नेपालीहरूले नबुझ्ने भाषामा गर्‍र्यौं । अनौठो लाग्ने अर्को कुरा के छ भने गरिबीसम्बन्धी गतिलो लेख नेपालीमा पाउन सकिँदैन, सबै अंग्रेजीमा छन्‍ । यो किताबले नेपालमा पहिलोपल्ट गरिबीलार्इ पहुँचमा ल्याइदियो । आश्चर्यको कुरा, गरिबी पनि पहुँचमा आउनुपर्ने रहेछ । यहाँ गरिबीको चर्चा एकतर्फीमात्रै थियो, त्यसलार्इ तोडेर संवाद, बहस, तर्क-वितर्कमा ल्याएर यसले गरिबीसम्बन्धी बहसको अखडा तयार गरिदियो । यहाँ सोच-विचारको पनि गरिबी छ भन्ने यसले देखाउँछ । गरिबीको कति धेरै पक्ष छन्‍, जसबारे हामीले चिन्तन-मनन गरेकै छैनौं भन्ने कुरा यो पढिसकेपछि महसुस हुन्छ । यसको परिचयमा नेपालमा गरिबीको बहस किन सतही छ भन्ने कुराको राम्रो विश्लेषण गरिएको छ ।

यसको प्रत्येक खण्डको सुरुमा कविता राखिउको छ, जुन नेपालीमा राम्रो चलनको सुरुवात हो । गरिबीजस्तो संवेदनशील कुरा ठाडो भाषामा भन्दा मर्मभित्र पस्दैन । वेन एम्जिसस्‍, आहुति र विमल निभाको कविताले विभिन्न खण्डको मर्म छुन्छ । वर्तमानमा त्यो निकै सटिक पनि छ । खण्ड विभाजनको रूपमा कविताको प्रयोगले गहिरो विषयको चर्चा गर्दा त्यति सारो संवेदनशील पनि हुनुपर्छ है भन्ने कुरा देखाएको छ ।

यो किताबमा नेपालमा गरिबीको एेतिहासिक पक्ष छैन । अहिले यहाँ 'हामीले यो देशको वर्चश्व र अस्मिता एेतिहासिक कालदेखि अहिलेसम्म कायम गर्‍र्यौं, यो देशको सारा भार हाम्रो हो' भन्ने मान्छेहरू देखिएका छन्‍ । तर यहाँको गरिबीको पनि एेतिहासिक पक्ष छ, जसले देशको सारा भार हाम्रो हो भन्छ, उसले गरिबीको भार पनि लिनुपर्छ । गरिबी आज जन्मिएको होइन, यसमा सुरुदेखि नै राज्य-संयन्त्रको ठूलो भूमिका छ, जसबारे यसमा केही पनि छैन । दलित, बालबालिका, वृद्ध र जनजातिबारे चर्चा छैन । गरिबी निवारणका स-साना प्रयत्नहरू र तिनका पाठहरूबारे चर्चा छैन ।

गरिबीबारे जति कुरा हामीलार्इ थाहा छ भन्ठान्छौं, त्योबारे धेरै कुरा हामीलार्इ थाहा छैन । त्यसैले जे यो किताबमा छ, त्यतिमा मात्र यसको महत्व होइन, जे यो किताबमा छैन त्यसमा पनि यो किताबको महत्व छ ।

मूल्याङ्कन, जेठ २०६२, पृ ३५


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai