स्मृतिकथामा सत्व - समाज अध्ययन १६

2021-09-27

अर्चना थापा, सं. । २०७७ । स्मृतिकथामा सत्व । काठमाडौँ : अक्षर क्रिएसन्स नेपाल ।

स्मृतिकथामा सत्त्व अर्चना थापाद्वारा संकलित विभिन्न स्मृति-कथाहरूको सँगालो हो । यो पुस्तकलाई संकलक थापाका अघिल्ला दुई संकलन टेलिङ अ टेल (सन् २०१०) र स्वअस्तित्वको खोज (२०६८) को तेस्रो शृंखला भन्न सकिन्छ । स्मृति, सत्य, सत्त्व जस्ता शब्दले नयाँ आयाम खोजिरहेको वेलामा केही समययता यी शब्द नारीवादी लेखनका महत्त्वपूर्ण अंश बनेका छन् । र, स्मृति-कथा नारीवादी लेखनमा कम्तिमा नेपालमा नयाँ प्रयोगको रूपमा आएको छ । दलन, उत्पीडनमा परेका/पारिएका, सीमान्तकृत समुदायका एकल वा सामूहिक पीडा, अनि राज्यको संरचनागत विभेदका शिकार भएका र विभिन्न खाले हिंसामा परेकाहरूको भोगाइले विरलै औपचारिक अभिव्यक्तिका माध्यम पाउँछन् । स्वयं भोक्तालाई अति सामान्य लाग्ने हुनाले वा कहिले अत्यन्त विषम भोगाइहरू सम्झनेभन्दा बिर्सने प्रयासमा लागिने हुँदा सामान्यजनका स्मृतिहरूले सार्वजनिक वृत्तमा खासै स्थान पाउँदैनन् । तर सामान्य लाग्ने भोगाइहरूले पनि मानिसको गन्तव्य र पहिचान बनाउन सहयोग गरिरहेका हुन्छन् । स्मृतिकथामा सत्त्वमा संगृहीत कथाहरूले पनि सोही कुरातर्फ इंगित गर्छन् ।

परिचय खण्ड बाहेक स्मृतिकथामा सत्वमा चौबीस जना व्यक्ति (महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यक) का भोगाइले ठाउँ पाएका छन् । सम्पादक अर्चना थापाले परिचयमा किताबको परिकल्पना र प्रकाशन गर्दा सामना गर्नुपरेका चुनौतीको बेलिविस्तार लगाएकी छन् । सत्त्वको शाब्दिक अर्थ खोतल्दा पौराणिकदेखि लैंगिक सम्मको अर्थ लाग्छ । थापाले सत्त्वको अर्थ “म, स्वपरिचय, अस्तित्व र आख्यानकर्ताको परिचय” (पृ. ख) भनेकी छन् । नारीवादी लेखनमा स्मृति-कथाको महत्त्वपूर्ण स्थान छ । यस्ता कथाले लेखकको आफ्नो “अनुभव र अनुभूति” (पृ. ङ) वर्णन गर्छन् । स्मृति-कथामा सामान्य लाग्ने तर संवेदनशील विषयलाई उठाइएको पाइन्छ । तिनमा वर्तमानका आँखाबाट विगतका घटना-विशेषलाई केलाइन्छ । पुस्तकलाई तिनमा संगृहीत स्मृति-कथाले समेटेका विषयवस्तुका आधारमा तीन भागमा बाँडेर हेर्न सकिन्छ । केही स्मृति महिलाका विभिन्न कोणबाट लेखिएका छन्; केही समाजले तोकेको लैंगिक नियमभन्दा भिन्न व्यवहार गर्ने पुरुषका कथा छन् । त्यस बाहेक, लैंगिक र यौनिक अल्पसंख्यक तथा विस्मृतिका कथा पनि छन् ।

प्रभावदेवी कैनीको “अनिच्छित आगन्तुक,” बिना थिङको “म पुतली,” राधा पौडेलको “मृत्यु पछिको राजनिति” र सरिता तिवारीको “फरुवाको लय” जस्ता कथाले महिला भएर जन्मिएपछि बेहोर्नुपर्ने लैंगिक भेदभाव र महिलाले सधैँ आफूलाई पुष्टि गरिरहनुपर्ने तथ्यको झल्को दिन्छन् । कतिपय अवस्थामा महिलाको अस्तित्व नै इतिहासको महत्त्वपूर्ण प्रविधिको आविष्कारसँग जोडिएको हुन सक्ने प्रभादेवीको “अनिच्छित आगन्तुक” ले देखाउँछ । आफ्नै दुनियाँमा मग्न भैरहेकी बिनालाई एक्कासी विवाह गरिदिँदा उनलाई आफू खेलौना बनेको जस्तो लाग्छ । छोराले मात्र गर्ने चलन भएका मृत्यु-संस्कार विधि वा बाउसे-कर्म गरेर राधा र सरिताले समाजमा छोरी मात्र भएकालाई हियाउने प्रवृत्तिलाई चुनौती दिएका छन् । महिला-पुरुषको परम्परागत कार्य विभाजनबाट हुने विभेदलाई चिर्न सहज नहुने यी कथाहरूले बताउँछन् ।

देवकी विष्टको “मध्यवर्तीको यात्रा” र रोजिता बुद्धाचार्यको “आमा र सगरमाथामा” मा महिनावारीका वेलामा गरिएका चुनौतीपूर्ण यात्राका कथा छन् । छाउगोठमा बस्नुपर्ने र आफ्नो काम नसकिने डरले विकट भौगोलिक स्थानमा रहँदा देवकीले महिनावारीको कुरा खोल्दिनन्, तर यसले उनलाई द्विविधामा भने पारिरहन्छ । दुई अग्ला र चुनौतीपूर्ण हिमाल चढ्ने क्रममा महिनावारी हुँदा शारीरिक असहजताका बावजुद रोजिता आफ्नो लक्ष्य पूरा गरेरै छाड्छिन् । लाक्पा फुटी शेर्पाको हिमाल चढ्दाको केही यस्तै अनुभव “चुचुरो नजिक एक्लै” कथामा आउँछ । सगरमाथामा एक्लै हुनु, शिखर चढ्ने उद्देश्य पूरा नहुनु र सँगै साथीको मृत्युलाई पनि आत्मसात गर्नु परेको उनको स्मृति-कथा छ ।

“जातीय अनुभुति” र “जातले बिझाउँदा” मा धनकुमारी सुनार र पवित्रा सुनारले दलित महिला हुँदा बेहोर्नु परेको दोहोरो उत्पीडनको कथा लेखेका छन् । राजनीतिक परिवर्तनले वा संवैधानिक-कानूनी व्यवस्थाले पनि जात व्यवस्था ढाल्न नसकेको मात्र होइन, देशविदेशमा घुमेका, दलित अगुवाहरूदेखि आत्मीय सम्बन्ध भएका सम्मले छुवाछुत गर्न नछोडेको उनीहरूको अनुभव छ । जातीय पहिचानकै कारण शहरमा डेरा नदिने, सँगै बस्नेले छुवाछूत गर्ने प्रवृत्ति आफूले मात्र नभई पछिको पुस्ताले समेत भोग्नु परेको अनुभवले दिएको पीडा यी कथामा पाइन्छन् ।

पूर्वी पहाडको गाँउमा कठीन परिश्रम गरिरहेकी कैलाश राई जब बिरामी हुन्छिन् तब आफ्नो दुःख र सानी आमाको खटनबाट मुक्ति पाउने अठोट गर्छिन्; एसएलसी उत्तीर्ण गर्छिन् र “नयाँ क्षितिज” मा अघि बढ्छिन् । यस्तै कथा नारायणी देवकोटाको पनि छ । प्रत्येक वर्ष एसएलसीको नतिजापछि विशेष गरी किशोरीहरूको आत्महत्याको समाचारले उनलाई आफ्नो बाल्यकालमा पु¥याउँछ । स्कूलको वातावरणदेखि घरायसी कामको बोझले र अन्य कारणले किशोरीहरूको पढाइमा अवरोध हुने र फेल भएपछि बिहे गरिदिने चलन व्याप्त छ । परीक्षामा पुनः प्रयास गरेर र बिहे नगर्ने अठोट गरेर नारायणी आफ्नो भविष्यका लागि काठमाडौँमा संघर्ष गर्न पुग्छिन् । हिन्दू उच्च जातकी जवान विधवा महिलाले घर र समाजमा भोग्नुपर्ने लाञ्छना र घृणालाई छोरीहरूको लागि सहँदै बसेकी रञ्जनाले अन्ततः श्रीमान्‌को घर छोड्ने निर्णय गर्छिन् । सम्पत्ति माथिको हकका लागि उनी अद्यापि लडाइँ लड्दैछिन् । उनको यो लडाइँ “पीडादेखि सपना” मा समेटिएको छ ।

प्रभा बरालको स्मृति “लोग्नेको दर्जा” मा दिदीको मृत्युपछि सानो छोरोको हवाला दिएर बिहेको प्रस्ताव राख्ने आफ्नै भिनाजुसँग लड्नु परेको कथा छ । पुरुषले महिलालाई आफ्नो वस्तु सरह व्यवहार गर्ने कारण कसरी महिला उत्पीडनमा पर्छन् भन्ने उनको कथाले देखाउँछ । विनिता बरालको “बदनाम वाइन” ले कलाकार हुनका लागि उनले सानै उमेरदेखि खाएको हण्डर, परिवारको साथ र ग्ल्यामर क्षेत्रमा आउनका लागि गर्नुपरेको संघर्षलाई उतारेको छ । मधेसी समाजमा जन्मिएकी रीता साहले सानैदेखि पालेको पढ्ने र राम्रो जागिर खाने सपना पूरा गर्नका लागि घर, समाजसँग निरन्तर चर्काचर्की गरिरहनु प¥यो । आफ्नो स्व-पहिचान बनाउन उनी बिहेपछि पनि संघर्षरत छन् । दुर्गा कार्कीको “हजुरआमा” कथामा फरक समयमा तीन भिन्दै मन मिल्ने साथीहरू र उनीहरूसँग बिताएका रमाइला पलको वर्णन छ । तर सबैसँग अन्ततः छुट्टिनु परेकोले उनी आफूमै प्रश्न गर्न थाल्छिन् र साथीले भने झैँ “हजुरआमा बन्नु” (पृ. ३५) लाई आत्मसात गर्छिन् ।

विष्णु सापकोटाको “साइकल ‘इपिफेनी’” मा उनी कलेज पढ्ने क्रममा साथीले दिएको थोत्रो साइकलले गरेको सहयोगको कथा छ । वर्तमानमा उनी पर्यटक बनेर साइकल र पोखरालाई हेर्दा आफ्नो दुरुह विगत सम्झिरहन्छन् । रुद्र चुडालको “मर्द बन्ने संघर्ष” र सञ्जीव उप्रेतीको “स्मृतिका झिल्का” ले कसरी पितृसत्ताले पुरुषलाई एकल पहिचानमा सीमित गर्छ भन्ने कुरा प्रस्तुत गर्दछ । माया गर्ने, दया राख्ने, घरको काम सघाउने, अहंकार नहुने पुरुषलाई “नामर्द” (पृ. १९१) मान्ने हाम्रो समाजिकीकरणले पुरुषहरूलाई पनि छुट्टै खाले अन्याय गरिरहेको हुन्छ । जसरी पनि मान, सम्मान, नाम र पैसा कमाउनुपर्ने बाध्यतामा पुरुषहरू फँसेका हुन्छन् । उप्रेतीका स्मृतिमा पनि यस्तै बाध्यता र साथीहरू सँगका केही मीठा-तीता अनुभवहरू छन् । प्रमोद मिश्रको स्मृति “जोहिठिना रहले, सेहिठिकार” मा बाल्यकाल र किशोर वयमा उनले विभिन्न भाषाहरू सिक्दाको अनुभव छ । बहुभाषी हुँदा आफ्नो पहिचान के हो भन्ने प्रश्न तेर्सिइरहने गरेको, तर अब आफूलाई त्यही पहिचानमा गर्व लाग्न थालेको उनी लेख्छन् । दौलत झाको स्मृतिभन्दा विस्मृतिको कथाले स्मृति-लेखनलाई नै चुनौती दिएको छ । विस्मृतिको कथा कहाँ अटाउँछ भन्ने प्रश्न संकलक थापा पनि गर्छिन् । समलिंगी अनुज पिटर, पारलिंगी महिला पिंकी गुरुङ र पारलिंगी पुरुष सुदीप गौतमका आफ्ना भोगाइले पनि पुस्तकमा स्थान पाएका छन् । आफ्नो लैंगिक र यौनिक पहिचान समाजले तय गरेको नियमभन्दा भिन्न भएका कारण उनीहरूले भोग्नु परेको आन्तरिक र बाह्य द्वन्द्वको फेहरिस्तले समाजमा फरक लैंगिक र यौनिक पहिचान हुनेहरूको संघर्षलाई प्रतिनिधित्व गर्छ ।

स्मृतिकथामा सत्त्वमा संगृहीत कथाले हामीले बुझ्दै आएको “सत्य” लाई चुनौती दिएका छन् । र हामी सबैका अत्यन्तै निजी बहुल अनुभवहरू हुने कुरा प्रस्तुत गरेका छन् । नयाँ प्रयोग हुँदाहुँदै पनि यसमा केही प्रश्न गर्नुपर्ने ठाउँहरू पनि छन् । स्मृति-लेखकहरूले आफ्ना कथा लेख्दा जुन खाले व्यक्ति, परिवेश र प्रवृत्तिसँग आफूलाई तुलना गरेका छन्, तिनले पनि फेरि समाजमा स्थापित पितृसत्तालाई नै स्वीकारेका भान हुन्छ । उदाहरणका लागि : आफ्ना साथीहरू वैंशमा भागेका तर आफू “जोगिएको” (पृ. २२८); असामान्य साहसले सगरमाथा चढ्ने अठोट गरेको तर ज्योतिषिलाई देखाई भविष्य हेरेको (पृ. २०९); अन्यभन्दा आफूलाई भिन्न देखाउन शृंगार गर्ने महिलाको विपरीतमा आफूलाई राख्ने; परिस्थितिवश कहीँ फँसेका हुन सक्ने महिलालाई उही संकीर्ण दृष्टिकोणले हेर्ने (“बूढोसँग लप्पछप्प गरेर बसेकी एक जना केटी,” पृ. १४२); सुन्दरताको उही थोत्रो परिभाषा (“चामलको पीठोजस्तो रङ, बानीव्यहोरा, शीलस्वभाव सबै कुराले युक्त,” पृ. १०४); “रत्नपार्कमा जम्मा हुने तेस्रो लिंगीहरूको व्यवहार अत्यन्त छाडा थियो,” (पृ. ८५); “जनजाति केटीहरू हाँस्दै आफूले रोजेको सोल्टीसँग भाग्थे” (पृ. ६२), आदि । यस्ता उदाहरण या वाक्यांशहरूले “मल्टिपल सब्जेक्टिभिटी” हुन्छन् भन्ने भाष्य बनाउन खोजेको दाबी गर्ने यो किताबतिरै औँला उठाउँछन् ।

सत्यको बारेमा लेखिएका कथामा लेखकको मात्र नभई तिनमा उल्लिखित अन्य पात्रहरूको पनि “एजेन्सी” को प्रश्न उठ्छ । दुर्गा कार्कीकी साथीले उनलाई हजुरआमा भन्दा उनले आफ्नी साथीको पनि एजेन्सी हुन्छ भन्ने नबुझेको प्रस्ट हुन्छ । परिचय खण्डमा यथेष्ट सैद्धान्तिक टिप्पणीहरू गर्दागर्दै पनि संकलकले नेपाली भाषामा महिलाले लेखेका आत्मकथा/संस्मरणको इतिहास चटक्कै बिर्सिएको देखिन्छ । मंगलादेवी सिंह, शान्ता श्रेष्ठ, पारिजात जस्ता महिलाको स्मृति-लेखनको इतिहास र समाजको बुझाइलाई तिनले के-कस्तो टेवा दिएका छन् भन्ने कुरा, र यो संग्रहले त्यो इतिहासमा के थप्छ भन्ने पनि छुटाएको देखिन्छ । संकलक थापाले प्रयोग गरेका केही शब्द जस्तै “सीमान्तीकृत,” “मदेसी” (पृ. छ), कहीँ अंग्रेजी “ट्रान्स” त कहीँ “पारलिंगी,” कहीँ “जेन्डर” त कहीँ “लैंगिक” जस्ता एउटा अर्थ दिने दुई शब्दले पाठकलाई असजिलो हुन्छ । त्यस्तै, आफ्नो परिचय लुकाउनुभन्दा खुलाएर अघि बढ्नुपर्ने (पृ. २४८) कुरा पनि धेरैलाई बोझिलो तर्क लाग्न सक्छ ।

यति हुँदाहुँदै पनि व्यक्तिगत भोगाइ र स्मृतिले किताबको स्वरूप पाउनु महिला आन्दोलनको नयाँ भाष्यका लागि महत्त्वपूर्ण दस्तावेज हो । ऐन्टोनिट बर्टनको भनाइ “स्मृतिहरूले इतिहासमा आफ्नो स्थान दाबी गरिरहेका हुन्छन्” सँग सहमत हुँदै भन्न सकिन्छ—यो संग्रहले पनि समकालीन नेपालको सामाजिक इतिहासको प्रतिविम्ब देखाउँछ । ठूला सिद्धान्त (थिएरी) ले मात्र होइन, यस्ता नलेखिएका कथाहरूले पनि मिहिन तरिकाबाट समाज अध्ययनका लागि सहयोग गर्न सक्छन् । निजी स्मृतिहरू पनि समाजकै अंश भएकाले व्यक्ति सम्बन्धित घटना सामाजिक घटना पनि हुन् । जब ती कुनै विशेष समयमा लेखिन्छन् या कुनै हिसाबले अभिलेखबद्ध गरिन्छन् तब तिनले तात्कालिक सामाजिक परिवेशलाई पनि उजागर गर्छन् । त्यसैले, नेपाली महिलाको अवस्था, लैंगिक विभेद वा समग्र समाज अध्ययन गर्न चाहनेहरूका लागि यो स्मृतिकथा उपयोगी हुनेछ ।

 

पुष्पा पौडेल

त्रिभुवन विश्वविद्यालय


About the Author

More Blogs