काठमाडौ — नेपालमा समावेशिताको जरा गाड्ने मख्य जिम्मेवारी राज्यकै हो।
नेपालमा समावेशिताको जरा गाड्ने मुख्य जिम्मेवारी राज्यकै हो। तर यस विषयलाई राजनीतिक मुद्दाको रूपमा संस्थागत गर्ने अभ्यासमा रहेका पहिचानवादी आन्दोलनरत समूहहरूको पनि दायित्व हो। राज्य संरचनामा समावेशिताको लागि ती समूहहरू निरन्तर लडिरहेका छन्। तर तिनै समूहहरू आफूचाहिँ कत्तिको समावेशी छन् त? विडम्बना, समूहभित्रै समावेशिताको मुद्दालाई सफल पार्न गतिलो अभ्यास भएको देखिँदैन। जस्तै, नेपालको मूलधारका महिला आन्दोलन, जसको स्वरूपबारे यहाँ चर्चा गर्दैछौँ।
समावेशी चरित्र र कामको पूर्वाधार समावेशी सोच र संरचना हो। त्यस्तो सोच र संरचना हुन आन्दोलनको सैद्धान्तिक बुझाइ र आधार नै समावेशी हुनुपर्छ। नेपालको महिला आन्दोलनका पात्रहरूलाई सैद्धान्तिक तवरमा कहिले महिला अधिकारकर्मी त कहिले नारीवादी भन्ने गरिन्छ। यी दुबै शब्द उस्ताउस्तै हुन् भन्ने हिसाबले सार्वजनिक वृत्तमा प्रयोग पनि हुँदै आइरहेको छ। तर यी दुई शब्द र शब्दले प्रतिनिधित्व गर्ने सिद्धान्तबीच आधारभूत भिन्नता छ। महिला अधिकारबारे कुरा गर्नेहरूले प्रायः महिलालाई समरूपी समूहको रूपमा लिने गर्छन्। राज्य, समाज, राजनीति, धर्म लगायतमा उनीहरूको समावेशिता र विस्तृत रूपमा अधिकार प्राप्तिमा ध्यान केन्दि्रत गर्ने गर्छन्।
नारीवादको सोच फरक हुन्छ। पहिलो, नारीवादीहरूले महिलाको मात्रै नभएर लैंगिकताको सवाललाई प्राथमिकता दिने गर्छन्, जसमा महिला, पुरुष, तेस्रो लिंगी आदि विविध खाले समूह वा समुदाय र समुदाय बीचको अन्तरसंवाद पर्छन्। दोस्रो, नारीवादले लैंगिक पहिचान -महिला/पुरुष) अपरिवर्तनीय र शाश्वत हुन् भन्ने मान्दैन। महिला/पुरुषबाहेक पनि लैंगिक पहिचान हुन्छ र ती प्राकृतिक हुन् भन्ने मान्यता राख्छ। जुन कुरा नेपालका यौनिक-लैंगिक-अल्पसंख्यकहरूको आन्दोलनले स्पष्ट पारिसकेको छ। तेस्रो, नारीवादको लागि लैंगिक राजनीति महत्त्वपूर्ण हुनुका साथै उनीहरू राजनीति, समाज र परिवारमा पुस्तौंदेखि जरा गाडेर प्राकृतिक मानिएका शक्तिसत्ता सम्बन्धका उचनिचलाई आंैल्याउने गर्छन्। र त्यही उचनिचतालाई परिवर्तन गर्नेतिर जोड दिने गर्छन्। नेपालको सन्दर्भमा लौंगिकता, पहिचान र समावेशितालाई संस्थागत गर्ने हो भने महिला अधिकारको मात्रै कुरा पर्याप्त छैन। नारीवादी सोच र दृष्टिकोणको खाँचो पर्छ।
हामी कति समावेशी?
महिला आन्दोलनको समावेशी चरित्रमाथि प्रश्न गर्ने धेरै पक्ष छन्। जस्तै- महिला आन्दोलनको 'हिरो' सूचीमा पुरानै छविहरू ः योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहाना प्रधान आदिमात्रै अटाएका छन्। यी नामहरू नेपालको ऐतिहासिक कालखण्डहरूमा महत्त्वपूर्ण योगदान दिएबापत, त्याग गरेपछि बनेका हुन्। र समग्र नारीवादी आन्दोलन, समाज र राजनीतिक परिवेशलाई यहाँसम्म ल्याउन विशेष भूमिका खेलेका उल्लेखनीय छविहरू हुन् भन्नेमा दुईमत छैन। तर पछिल्लो समय आइपुग्दा मन्दिर प्रवेश आन्दोलन -सन् २०१०) का हिरो मिठाइदेवी विश्वकर्मा र मोतीमाया कपालीजस्ता व्यक्तिहरूको भूमिका र योगदानको चर्चा पनि उत्तिकै उल्लेखनीय रूपमा हुनुपर्छ। दलित समुदायको नेतृत्वमा भएको यो आन्दोलनले पशुपतिनाथको प्रवेशद्वारमा अंकित 'दलितलाई प्रवेश निषेध' भन्ने सूचना हटाउन र मन्दिर प्रवेशमा सफलता हासिल गर्यो। आन्दोलनमा संलग्न दलित महिलाहरूले योगदान दिएरै समुदायमा ख्याति कमाएका थिए। तर यी नामहरू मूलधारे महिला आन्दोलनको 'हिरो'को सूचीमा कहीँ कतै दर्ज भएको देखिँदैन। के मूलधारे आन्दोलनले यी कुनै एक समुदाय वा समूहका मात्रै अधिकारकर्मी हुन्, नारीवादी अधिकारकर्मी होइनन् भन्ने कुरा सम्प्रेषण गर्न खोजेको हो?
नारीवादभित्र पुरानाहरूसँगै नयाँ छविहरू अटाउने पर्याप्त ठाउँ नभएको होइन। र यी छविहरू एकअर्कासँग सहमत हुनैपर्छ भन्ने पनि होइन। उनीहरू बीचमा विभिन्न कुरामा आधारभूत मतभेद पक्कै हुन्छ, जुन कहिल्यै सुल्झिदैंन। र यो स्वाभाविक पनि हो। तर उनीहरू बीचको त्यही मतभेद, वादविवाद, असहमति र लडाइँ नारीवादको एउटा ठूलो अंग हो। जहाँ खुल्लमखुल्ला असहमतिका साथ र असहमतिका बीचमा पनि एकापसमा रणनीतिक सम्बन्ध र समन्वयलाई निरन्तर अघि बढाउने गरिन्छ। जस्तै- अघिल्लो र पछिल्लो पुस्ताका नारीवादीहरू बीचमा मतमतान्तर हुने गर्छ। त्यही मतमतान्तरको प्रक्रियासँगसँगै नेपालको नारीवादले धेरथोर निरन्तरता पनि पाउँदै गइरहेको छ। यो लेख न पूर्णरूपमा सहमति नत विमतिको विन्दुमा उभिएको छ। नयाँ पुस्ताले अघिल्लो पुस्ताका नारीवादी र महिला आन्दोलनले गरेका काम र उपलब्धिहरूलाई स्वीकार्दै पहिले र अहिलेको परिवेशअनुसार नेपालमा नारीवादी आन्दोलनलाई वास्तविक रूपमा बुझ्नका लागि केलाउनमात्र खोजेका हौँ। त्यो बुझाइको क्षितिज फराकिलो पार्नका लागि सबै पुस्ताका नारीवादीहरू एकैथलोमा बसेर अन्तरक्रिया गर्नु आवश्यक छ। अन्तरक्रियाको विषयवस्तु जुनसुकै पनि हुनुपर्छ र हुनसक्छ।
नारीवादी युवा महिलाहरूको अगुवाइमा हालै छलफल भएको थियो। छलफलमा यौनिक, प्रजनन र मानसिक स्वास्थ्य, निजामती सेवामा आरक्षण, थकाली महिलाका निजी कथा, बसाइँ-सराइको लैंगिक पक्षहरूसहित विशेषगरी महिलावादका राजनीतिक, सामाजिक पहिचान र सिमान्तीकृत समुदायको आन्दोलनका आयामहरूमा सघन छलफल र विश्लेषण भयो। छलफलका क्रममा मूलधारे र विविध पृष्ठभूमिका महिला -आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र यौनिक-लैंगिक(अल्पसंख्यक) हरूको आन्दोलन आधारभूत मुद्दाको रूपमा उठेको थियो। ती आन्दोलनहरूको मूल्यांकन र विश्लेषणले मूलधारे महिला आन्दोलनको असमावेशी चरित्र र असफल नारीवादलाई औँल्यायो।
नारीवादको असफलता
काठमाडौँमा रहेका सामाजिक संघ/संस्था, जसको राज्यशक्ति, राष्ट्रिय/अन्तर्राष्ट्रिय दातृ निकाय र सञ्चारमाध्यममा पहुँच हुने र क्षेत्रीय र स्थानीय तहमा समेत राम्रो पकड भएकाहरूलाई हामीले मूलधारे भन्न खोजेका हौँ। त्यही पकडको कारणले ती संघ/संस्थाहरूले नेपालका महिलामाथिको छलफलको स्वरूप पनि निर्धारण गर्ने गर्छन्। त्यसरी मूलधारे सोचले निर्धारण गरिएको छलफलले विविध पहिचान बोकेका सिमान्तीकृत महिलाहरूको मुद्दालाई समेट्ने प्रयत्न नै गरेको छैन। जुन कुरा मूलधारे र विविध पहिचानवाला महिलाहरू सँगै बसेर गरिएको महिनाभरको अन्तरक्रियाले प्रस्ट देखायो। जस्तै- आदिवासी जनजाति महिलाहरूले उनीहरूमाथि हुँदै आएको लैंगिक र जातीय विभेदको प्रमुख जड हिन्दुकरण भएको कुरा तथ्यसहित दाबी गर्ने गर्छन्। पहिचानको आन्दोलन बारेको अन्तरक्रियामा हिन्दुकरणले जनजाति महिलालाई प्रभाव नपारेको एक अग्रज नारीवादी अध्येताको टिप्पणी थियो। मूलधारे आन्दोलनका प्रतिनिधित्व गरेका अन्य वक्ताहरूले पनि महिलाभित्रको विविध पहिचान र सवालहरूमा उठेका जिज्ञासाप्रति खासै चासो दिएका थिएनन्। यस प्रवृत्तिको जवाफ कसले दिन सक्छ? कसरी यस्तो स्थिति सिर्जना भयो भन्ने बारेमा खोजी हुनु आवश्यक छ र यसलाई दुबै पक्षले गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ। किनकि यसले नेपालको नारीवादी आन्दो लनलाई कुनै न कुनै रूपमा कमजोर बनाएको छ।
अर्कोतिर विविध सामाजिक/जातजातीय समूह ः मुस्लिम, मधेसी, दलित, आदिवासी जनजाति महिलाहरू आफ्नै समुदायको आन्दोलनभित्र पनि अल्पमतमा छन्। आन्दोलन हाँक्ने अगुवा प्रायः पुरुषहरू नै हुनु र महिलाका मुद्दालाई सँगसँगै लान तत्पर नहुनु समुदायभित्रको ठूलो चुनौती हो। नेपाली समाज र मूलधारे आन्दोलनझैं 'प्रगतिशील' भनिएका पहिचानका आन्दोलनहरू पनि लैंगिक रूपमा र सामान्य नारीवादको स्वरूप ग्रहण गर्ने आधारभूत चरणमै चुकेका छन्।
अब उपाय के हुनसक्ला भन्नेबारे छलफलकै क्रममा धेरै चिन्तन, मनन भएको थियो। त्यसैको आधारमा भन्नुपर्दा प्रक्रियागत र सवालगत दुबै हिसाबले मूलधार समावेशी र फराकिलो हुनुपर्छ। तर यसो भनिरहँदा हामीले मूलधारलाई शक्तिकेन्द्रको रूपमै फेरि पनि स्थापित गर्न खोजेको होइन भन्ने कुरा बुझ्न जरुरी छ। किनकि त्यसो भएमा सिमान्तीकृत समूहको पहिचान र मुद्दा पुनः ओझेलमा पर्छ र नारीवादले समुच्च महिलाहरूलाई समेट्नुपर्छ भन्ने हाम्रो भावना विपरीत हुनजान्छ। त्यसैले यस्तो अवस्थामा विभिन्न समूहको कुरा उठाउने मूलधारे आन्दोलन वा केन्द्रीकृत नारीवाद मात्रैले पुग्दैन। यस्तो नारीवादले चाहँदा-चाहँदै पनि अपेक्षाकृत सवाल समेट्न सक्दैन। त्यसैले सरकारदेखि सञ्चारसम्म उत्तिकै पहुँच भएका महिला आन्दोलनहरूको खाँचो छ। त्यस्ता आन्दोलनहरू हामीकहाँ धेरै उठिराखेका पनि छन्। जस्तै- अनेकौँ बाधा र चुनौतीका बाबजुद कम्लहरी आन्दोलन निरन्तर चलिरहेको छ। यस्तो नमुना आन्दोलन समग्र राष्ट्रिय संरचनाको पुनःसंरचनासँग गाँसिएको कुरा हो। जुन छोटो समयावधिमा हुनसक्ने कुरा पक्कै होइन।
तत्काल के गर्न सकिन्छ त? विभिन्न ठाउँ, समूह, समुदायहरूले गरिराखेको आन्दोलनबाट नेपाली नारीवादको विविध मुद्दा, मूल्य-मान्यता र त्यसको आधारमा परिकल्पना गरेको समाज बुझ्न सकिन्छ। यस्तो बुझाइले परिवार, समाज र राजनीतिभित्र वर्षौंदेखि चलिआएको, सामान्य र प्राकृतिकझैं लाग्ने उचनिचलाई के लाउन सकिन्छ। यिनै उचनिचका सवालहरूको बुझाइपश्चात नै पारिवारिक, सामाजिक र राजनीतिक पुनःसंरचनातर्फको आवश्यक बाटो तय गर्न सकिन्छ।
राई र पुडासैनी चौकठ नारीवादी सञ्जालका सदस्य हुन्।
प्रकाशित मिति : वैशाख ९, २०७२
स्रोत : https://ekantipur.com/opinion/2015/04/22/407729.html