अपेक्षित प्रश्नहरूका मौन उत्तर

- गौरव केसी, प्रणव खरेल | 2021-09-24

गौरब केसी / प्रणब खरेल

प्रत्येक संकटले एउटा नयाँ पाठ सिकाउँछ, चेतनालाई रूपान्तरण गर्छ, नयाँ सुरुआत गर्न आत्मबल दिन्छ र परिवर्तनको एउटा मर्गनिर्देशन दिन्छ

कोरोना भाइरसका कारणले गरिएको यस बन्दाबन्दीमा नेपाली मिडियाले समेटेका विषयवस्तुलाई सरसर्ती हेर्दा मूलतः दुई प्रमुख विषयवस्तुवरिपरि केन्द्रित भएको देखिन्छ । पहिलो, विश्वव्यापी र नेपाली सन्दर्भमा कोरोना नामक जीवाणुले ल्याएको त्रास र प्रभाव । दोस्रो, ओली नेतृत्वको वाम गठबन्धनभित्रको आन्तरिक कलह र क्रमशः निर्मित र सिर्जित नेतृत्वको विफलता । प्रधानतः यिनै दुई विषयवस्तुवरपर हजारौँ अक्षर बुनिएको र खर्चिएको छ । यस आलेखमा दोस्रो विषयवस्तुमाथि दृष्टिकोण प्रस्तुत गरिनेछ ।

लोकप्रिय र अलोकप्रिय ओली सरकार

बन्दाबन्दीको प्रारम्भिक चरणको संकटमय परिस्थितिमा आशाजगाउँदो कदम ओली सरकारले चालेको भान हुन्छ । प्रधानमन्त्रीले जनतालाई गरेको देशव्यापी सम्बोधन, कोरोना पीडितले पाउने निःशुल्क उपचार, विभिन्न प्रकारका शुल्कमा छुट र राहत वितरण यसका केही प्रमुख उदाहरण हुन् । संकट र त्रासबाट ग्रसित जनमानसलाई केही भए पनि यसले एउटा आत्मबल प्रदान ग-यो । साथै, राज्यले लिएको निर्णयलाई सबैजसो नागरिकले पालना गरे ।

नेपालजस्तो देशमा यस डरलाग्दो जीवाणुले ल्याएको महामारीविरुद्ध केही गर्न नसकिने अवस्थिति र आशाहीन परिस्थितिमा सरकारले देखाएको उच्च आत्मविश्वासले सम्पूर्ण देशवासीलाई केही भए पनि राहत दिलायो । सरकारको यस कदमले उसको दिगोपनालाई अभिवृद्धि गर्ने राम्रो मौका दियो । अर्कोतिर भोलिका दिनमा चुनाव भएको स्थितिमा आफ्नो पकड मजबुत गर्न सक्ने अड्कलबाजी गर्ने परिस्थितिको आभास पनि दिलायो ।

तर, दिन बित्दै जाँदा यस संकटको घडीमा वर्तमान सरकारभित्रको अस्थिरता, अनियमितता र भ्रष्टाचारसँग जोडिएका केही मुद्दा सञ्चारमाध्यमले प्रमुखताका साथ उठान गर्ने क्रम जारी गरे । परिणामतः सरकारले सुरुवाती अवस्थामा पाएको प्रशंसा बिस्तारै ह्रासोन्मुख हुँदै गयो ।

अर्कोतर्फ, सरकार वा पार्टीभित्रका केही जिम्मेवार प्रवक्ताले मिडियाले उठान गरेका विषयवस्तुको प्रतिरोध गरिरहे । हुन नहुने क्षति भइसकेको थियो । तसर्थ, यस संकटजन्य परिस्थितिमा पाएको एउटा राम्रो राजनीतिक अवसर यस सरकारले गुमायो भनेर भन्न सकिन्छ । वर्तमान राजनीतिक घटनाक्रमलाई लिएर यो सरकार केही समयमै ढल्ने, सिर्जित हुन सक्ने दलिय समीकरण, नयाँ चयन हुने सरकार र भावी प्रधानमन्त्रीबारे अड्कलबाजी अर्को किसिमका लाभदायक समुदाय र आलोचकमाझ हुन थालिसकेको छ ।

आलोचकलाई प्रश्न

के यस किसिमको परिघटना र परिस्थिति नेपाली राजनीतिमा पहिलो हो ? वा, नौलो हो ? के ओली र उनीद्वारा सञ्चालित सरकारमा जे जसो देख्न पाइयो, विगतका सरकारमा देख्न पाइएको थिएन र ? अन्य राजनीतिक पात्र (वा दल) दूधले नुहाएका वा पूर्ण स्वच्छ छवि भएका हुन् वा थिए ? दल, गुट र फुट नेपाली राजनीतिको विशेषता होइन र ? ऐतिहासिक रूपमा नेपालका राजनीतिक पात्र वा दलले हिंसालाई संस्थागत गर्दै त्यसको उपयोग गरेका छैनन् र ? के विगतका प्रधानमन्त्रीले आफ्नो शक्तिको रवाफ र दुरुपयोग प्रदर्शन गरेका थिएनन् ?

व्यक्ति वा दलिय भ्रष्टाचार यसअघि कहिल्यै देखिएन र ? नेपालमा राजनीति गर्नु आफैँमा एउटा नाफामुखी व्यवसाय होइन र ? प्रत्येकपटक निर्वाचनमा तिनै परिचित पात्रलाई आफ्नो मतमार्फत प्रतिनिधित्व गराउने भेडे जनता हामी नै होइनौँ ? के यी प्रश्नको निदान छ ? छ भने कसले गर्ने हो ? यी प्रश्नको उत्तरको खोजी अनगिन्ती कृतिका लागि आफैँमा महŒवपूर्ण परियोजना हुन सक्छन् । तसर्थ, यस आलेखमा यी प्रश्नलाई हामी खुला छाड्न चाहन्छौँ, जसको मनन सरोकारवाला र पाठक आफैँले गरून् । दलगत राजनीतिको आफ्नै नियम हुन्छ । ती नियम बनाउने मूलतः शीर्ष राजनीतिक खेलाडी नै हुन् । त्यस्ता नियम आफू र आफूबाट लाभ हुने समुदायलाई लक्षित गरी बनाउने गरिन्छ ।

महत्वपूर्ण निरुत्सुक समुदाय

हुन त, त्यस्ता बहुसंख्यक नेपाली पनि छन्, जसलाई जुनसुकै सरकार आए पनि कुनै लिनुदिनु र चासो छैन । सरकार भए पनि वा नभए पनि दिनानुदिनको तिनका जीवनमा त्यसले कुनै अर्थ राख्दैन । बढीमा, यी समुदायले निर्वाचन भएको परिस्थितिमा मतदान गर्नु वा आफ्नो एउटा मत दिनु अतिरिक्त अन्य राजनीतिक घटनाक्रममा ती निरुत्सुक देखिन्छन् ।

मुख्यतः आर्थिक रूपमा मध्यम र निम्नवर्गका व्यक्ति, जसले औपचारिक शिक्षा हासिल गरेका हुन् वा नगरेका जो कोही पनि, यसभित्र पर्न सक्छन् । यस्ता किसिमका समुदाय सहर र गाउँ दुवैमा देख्न पाइन्छ । तर, जबजब निर्वाचन नजिकिँदै जान्छ, दलका कार्यकर्ता यीमाथि हावी हुन्छन् । यी समुदायलाई तिनले डर, धम्की र प्रलोभन देखाएर चुनावी दौरानमा केही भए पनि सक्रिय बनाउँछन् । तसर्थ, यो सरकार रहिरहनु र नरहनु वा कसैले यसलाई प्रतिस्थापित गर्नुले यिनलाई केही फरक पार्दैन ।

जसरी यस संकटका दौरान सरकारले केही भए पनि राहत र सेवाग्राहीलाई छुट र सुविधाको निर्णय ग-यो, त्यसैगरी दिनानुदिनका भोगाइमा यस्ता किसिमका सुविधा प्रत्येक सरकारले निरन्तर गरोस् भन्ने अपेक्षा यी समुदायको हुन्छ। तर, यिनको दिनहुँको जीवनयापनमा दलीय कलहले निम्त्याइराख्ने पटक–पटकको अवरोध र अड्चनले भने यिनलाई विरक्त बनाएको छ । यस विरक्तजन्य परिस्थितिले कतिलाई मुलुक छाड्न बाध्य बनायो त कति छाड्ने प्रक्रियामा लागिपरेका छन् । यी जनसमुदायको मनोभाव मिडिया, राजनीतिशास्त्री वा राजनीतिक विश्लेषकको अभिरुचिभित्र खासै परेको देखिँदैन ।

तसर्थ, शक्तिको संरचनाभित्र आममानिस मुकदर्शक मात्र हुन् । तर, यी आममानिसलाई बुझ्न निकै जरुरी छ । माथिका हरफमा मध्यमवर्गीय भन्ने शब्द आर्थिक सूचकांकका आधारमा बुझिएको छ । सामाजिक सम्बन्धका हिसाबले यो एउटा सानो क्याटेगोरी हो । नजिकबाट नियाल्ने हो भने यी समुदाय एउटा मध्यमवर्गीय समाजको प्रतिनिधित्व गर्ने पात्र पनि हुन् । तर, यस अवस्थामा नेपालको सन्दर्भमा सो चित्रण एउटा सानो समुदायको हो, किनकि बहुसंख्यक जनता त्यो श्रेणीभित्र पर्दैनन् ।

प्रभावशाली समुदाय

०४६ उपरान्त नेपालको भोटमा आधारित दलीय राजनीतिमा प्रभावशाली समुदाय भनेको नै आफ्नो पकड जमाएको एकाध केही दल, ती दललाई प्रतिनिधित्व गर्ने केही शक्तिशाली प्रमुख नेतृत्व र तिनका आसपास सधैँ सक्रिय रहने तिनका प्रभावशाली कायकर्ता हुन् । यसअलावा ती दल वा दलका नेतृत्वसँग जोडिएका केही अग्रगामी व्यवसायी, उद्यमी, बौद्धिक वर्ग, मिडिया मालिक र मिडियाकर्मी हुन् । जसलाई हामी प्रायः प्रत्यक्ष लाभदायक समुदाय भन्न रुचाउँछौँ । यी लाभदायक समुदाय विभिन्न दलका कित्तामा बाँडिएका छन् ।

त्यसैगरी, यी व्यक्तिविशेषको राजनीतिक दल र तिनका नेतृत्वसँग प्रत्यक्ष र परोक्ष रूपमा व्यावसायिक लेनदेन चल्छ । यस लेनदेनमा जब आफूलाई फाइदा नहुने अवस्थिति सिर्जना हुन्छ वा आशंका महसुस गरिन्छ, त्यसले द्वन्द्व सिर्जना गर्छ । त्यसैगरी, अर्कोतिर प्रत्येक दलभित्रैका शीर्ष नेतृत्वबीचको सम्बन्ध सैद्धान्तिक तहमा एकीकृत देखिए तापनि व्यवहारतः ती आफैँमा ध्रुवीकृत छन् ।

समयक्रममा ती पात्रबीचको कुर्सीमोहको रस्साकस्सी कुनै न कुनै रूपमा प्रकट भई नै हाल्दछ । परिणामतः यसले नै राजनीतिक तरलता र आस्थिरताको माहोल सिर्जना गर्ने हो । यही सिर्जित परिस्थिति कहिले आउला भनेर कुरेर बसेका लाभदायक समुदायका लागि हितकर बन्न पुग्छ र तिनले यस सिर्जित परिस्थितिमाथि खेल्ने हो र अत्यधिक चर्काउने हो । नेपालको राजनीतिक उतारचढावको संस्कृति यही खेलोमा स्थापित र संस्थागत भएको छ । वर्तमान सरकारमा देख्न पाइएको वास्तविकता पनि यही हो ।

वैचारिक दर्शन

अब आउँ, दलसँग जोडिएको वैचारिक दर्शनमा । प्रत्येक दलका वैचारिक दर्शन के रहेछ भन्ने कुराको विश्लेषण राजनीतिशास्त्री वा विश्लेषकले गरिरहन आवश्यक छैन । यी वैचारिक दर्शनको मिथ्यापन साधारणभन्दा पनि साधारण नेपालीले बुझिसके । प्रत्येक दलको वैचारिक दर्शन त फगत एउटा सैद्धान्तिक परिकल्पना मात्र रहेछ । प्रमुख कुरा त प्रशासनिक शक्ति रहेछ, जुन कुनै पदविशेषसँग जोडिएर आउँदोरहेछ । र, प्राथमिकता पनि त्यही हुँदोरहेछ । किनभने, नेपाली समाज र राज्यको अन्तरसम्बन्धलाई नियाल्दा प्रशासनिक शक्ति आर्जन गर्नु र जति सक्यो चाँडो द्रव्य कुम्ल्याउनुचाहिँ जुनसुकै राजनीतिक पात्रको ध्येय हुँदोरहेछ ।

यसअलावा नेपालको दलीय राजनीतिको इतिहास हेर्दा प्रतिशोधको संस्कृति संस्थागत भएको देखिन्छ । यस्तो संस्कृतिलाई अगाडि बढाउने सन्दर्भमा चाहिँ आफ्नै दलभित्र वा बाहिरका प्रतिद्वन्द्वीलाई सिध्याउने परम्परा बस्न गई यसले निरन्तरता पाएको देखिन्छ । साथै, यस परम्परालाई अघि बढाउन राजनीतिक पात्रले जसरी पनि सत्तामा जाने प्रयास गर्ने र सो प्राप्ति भइसकेपछि आफ्ना अभीष्ट पूरा गर्न राज्य संयन्त्रलाई प्रयोग गर्ने गरेको पाइन्छ ।

अन्तमा,

समाज र संस्कृतिका अन्य विविध पाटोमा परिवर्तन गर्न हामी जति आतुर देखियौँ र सफल पनि भयौँ, तर यति लामो समयसम्म संस्थागत यस राजनीतिक सिकन्जालाई तोड्न हामी किन अभिप्रेरित र प्रयासरत नभएको ? वास्तवमा यसको अग्रज भूमिका माथि उल्लेखित निरुत्सुक बहुसंख्यक समुदायको सक्रिय भूमिका र एकताबाट नै सम्भव छ । तिनको प्रयास नै वास्तविक रूपमा सफल र जीवन्त क्रान्ति ठहरिनेछ । अन्यथा, हामी नेपालीको दुर्दशा सदैव राजनीतिक तरलता, अस्थिरता र संक्रमणमा नै बित्नेछ । आउने भावी पुस्ताको जिन्दगी र जवानी पनि कांग्रेसको इतिहास, १० वर्षे युद्ध, झापा विद्रोह र ०६२÷०६३ को आन्दोलनको बढाइचढाइ, स्तुतिगान र जयजयकार गर्दै र जप्दैमा जानेछ ।

प्रत्येक संकटले एउटा नयाँ पाठ सिकाउँछ । चेतनालाई रूपान्तरण गर्छ । नयाँ सुरुआत गर्न आत्मबल दिन्छ । र, परिवर्तनको एउटा मर्गनिर्देशन दिन्छ । तसर्थ, हाम्रा सामु पनि एउटा राम्रो अवसर आएको छ । भोटमा आधारित यस प्रभावविहीन दलीय राजनीतिको विकल्प खोज्नलाई । हुन त, केही सकारात्मक भइहाल्ला भन्ने आशावादी चिन्तन हामी लेखकद्वयले पनि रत्तिभर गरेका छैनौँ । किनकि, हामी दुवैलाई थाहा छ, यस लेखको आयु एकदिने हो । अर्थात्, प्रकाशित भएको दिन केही पाठक र निकट मित्रले सामाजिक सञ्जालमा सेयर गर्लान् वा केही मित्रले वैचारिक तहमा आलेखमा उठान गरिएको तर्कसँग विमति राख्लान् । यसअलावा न यसको कुनै रचनात्मक प्रभाव हुनेछ । यी फुटकर विचारलाई गम्भीर रूपमा लिइनेछ । सबैले बुझिदिनुहोला, बन्दाबन्दीमा पाएको समयलाई प्रयोगमा ल्याई गरिएको यो केवल एउटा मत दर्ज मात्र हो ।

स्रोतः https://www.nayapatrikadaily.com/news-details/42731/2020-05-05


About the Author

प्रणव खरेल

समाजशास्त्री, काठमाडौँ स्कुल अफ ल