बजारको कब्जामा प्रकृति

- दीपक अर्याल | 2022-09-02

लुम्बिनी करिडोरमा रहेका सिमेन्ट लगायत उद्योग।

 

प्रकृतिले सित्तैमा दिएको प्राकृतिक स्रोतमाथि त हाम्रो बजारले यो हदसम्म कब्जा गरेको छ भने अन्य स्रोतको हालत के होला?

मैंने शहर को देखा और मैं मुस्कराया
वहाँ कोई कैसे रह सकता है
यह जानने मैं गया
और वापस न आया।

- मंगलेश डबराल

विदेश जाँदा देश र शहर छिर्दा गाउँ फर्कन्छु जस्तो लाग्नु अनौठो होइन। बाध्यता र विवशताले थातथलो छाडेर हिंड्नेहरूलाई पनि जीवनको कुनै मोडमा आफ्नै ठाउँ फर्कूं जस्तो नलाग्ने पनि होइन। तर, धेरैलाई एक पटक हिंडिसकेको बाटो फेरि फर्कन रमाइलो लाग्दैन।

संसारमा थोरै मान्छे छन् जसले गाउँको विषयमा चिन्ता गर्छन् र गाउँ बुझ्न खोज्छन्। प्रकृति र वातावरणका चिन्ता गर्छन्। दक्षिणएशियामा गाउँ र गाउँलेको चिन्ता गर्ने, त्यसका लागि योजना बनाउने र कार्यान्वयन गर्ने काम महात्मा गान्धी र जेसी कुमारप्पाले गरे। नेपालका सन्दर्भमा व्यवहारमा हेर्न नपाए पनि बोली र विचारमा गाउँको विकासको वकालत गर्दै ठूला ठूला भौतिक संरचना र पश्चिमी देशहरूमा भइरहेको विकासको नक्कल गर्ने प्रवृत्तिको विरोध गर्ने काम बीपी कोइरालाले मात्र गरे। अर्थशास्त्रीय दृष्टिकोणले ‘बजार’ले हाम्रा सामाजिक, सांस्कृतिक सम्बन्धहरू निर्धारण गर्दै गएको र सबैतिर बजार हावी हुँदै जाँदा देखापर्ने असरका विषयमा कार्ल पोलानीले व्याख्या गरे।

कार्ल पोलानी (सन् १८८६-१९६४) आफ्नो प्रसिद्ध किताब द ग्रेट ट्रान्सफर्मेशन (१९४४) बाट चिनिन्छन्। जहाँ उनले औद्योगिक क्रान्तिको गतिविधि र सम्भावित परिणामलाई आफ्नो अध्ययन र विचारको आधार बनाएका छन्। उनले कसरी औद्योगिक क्रान्तिसँगै सामाजिक सम्बन्धहरूमा विचलन आएको छ र स्वायत्त संस्थाका रूपमा बजारको निर्माण तथा विकास हुँदै गएको छ भन्ने कुराको सविस्तार व्याख्या गरेका छन्।

उनले भने जस्तै बजार सामाजिक सम्बन्ध र सामाजिक आवश्यकताभन्दा धेरै अगाडि बढिसकेको र यसमाथि समाजले नियन्त्रण गुमाइसकेको छ। ऐतिहासिक रूपमा समाजको नियन्त्रणमा रहँदै आएको अर्थव्यवस्था बजारको नियन्त्रणमा पुगेको र समाज र सामाजिक सम्बन्धहरूलाई नियन्त्रण गर्ने भरपर्दो माध्यम बनेको छ। फलस्वरूप संसारभर अर्थव्यवस्था र अर्थतन्त्र प्रमुख भएर देखा परेको छ र मानव तथा मानवीय सम्बन्ध र सामाजिक जीवन हराउँदै गएको छ।

पोलानीले यस्तो सोचिरहेको वा लेखिरहेको समयमा महात्मा गान्धी (सन् १८६९-१९४८) र जेसी कुमारप्पा (सन् १८९२-१९६०)हरूले भारतीय समाज, अर्थतन्त्र र सम्भावित विकासका चुनौतीका विषयमा ध्यान दिइरहेका थिए। उनीहरूले विकास, विनाश, साधन, साध्य, स्रोत, स्रोतको उपयोग/दुरुपयोग तथा मानवीय नैतिकताको कुरा गर्दै थिए र आफ्नो समाजलाई बजारीकरणबाट बच्न सचेत बनाउँदै थिए। तर, संसार बजारको चपेटामा आइसकेको थियो।

नाफा र बजारको विस्तारका अगाडि मानवीय नैतिकता र आदर्शका मानक तथा व्यवहारहरू गौण बन्दै गएका थिए। नाफा र लाभ-हानि प्रमुख उद्देश्य हुनासाथ केही व्यक्ति, संस्था वा राष्ट्रहरूलाई आर्थिक रूपमा फाइदा पुगे पनि आम जनताका निम्ति भने त्यसले विनाश निम्त्याउँदै थियो। जसले आज विकराल रूप लिएको छ।

नेपाल सन्दर्भ

नेपालका बीपी स्मृतिग्रन्थ वा सभामा सीमित छन्। तीव्र शहरीकरण, प्राकृतिक स्रोतसाधनको अत्यधिक खपत र भौतिक संरचना निर्माणका नाममा गाउँ र बस्ती उजाड्ने होड गरेर हामीले विकासको नयाँ उचाइ छुने रहर गरिरहेका छौं। कृषिले हातमुख जोर्न धौधौ भएको मात्र होइन, कृषि पेशा नै अवहेलित बनिरहेको सन्दर्भमा पैसा कमाउने धुन र बाध्यता दुवैले हामीलाई शहर वा विदेश पस्न बाध्य तुल्याएको छ।

त्यसैले नै हाम्रा लागि पोलानी, गान्धी वा कुमारप्पा बिस्तारै असान्दर्भिक भएका हुन्। आदर्शका कुराले व्यवहार चल्दैन भन्न थालेका हौं। तैपनि, आफ्नो महत्त्वपूर्ण जीवन गाउँ र गाउँमा आधारित जीवनपद्धतिको पक्षमा उभिएका यस्ता व्यक्तिहरूलाई समय समयमा सम्झने र पढ्ने बाध्यता भने प्रकृति आफैंले दिने रहेछ। कोभिड-१९ महामारीले हाम्रो दैनिक जीवनपद्धति र कतिपय मान्यताहरूलाई नराम्रोसँग हल्लाइदिएको छ।

समय समयमा देखापर्ने यस्तै फरक प्रकृतिका सामाजिक लहरहरूलाई ध्यान दिंदै पोलानीले अर्थव्यवस्थालाई दुई फरक अर्थबाट बुझ्न सकिने भनेका हुन्। उनका विचारमा अर्थव्यवस्थाको एउटा अर्थ वा अहिलेको औपचारिक अर्थ हामीले भोगिरहेको वा व्यवहारमा अपनाइरहेको अर्थव्यवस्था हो जसले अर्थनीति तर्कमूलक व्यवहार र निर्णयमा आधारित छ भन्ने मान्यता राख्छ। तर, दोस्रो अर्थ भने योभन्दा पृथक् छ।

‘सब्स्टान्टिभ’ (स्वाधीनता)को अर्थमा हेर्ने हो भने हाम्रो आर्थिक व्यवस्था न त तर्कमूलक व्यवहार र निर्णयमा आधारित छ न त अभावमा विकल्पहरूको खोजी गर्ने र सोही अनुसारको निर्णय गर्ने दिशामा प्रभावकारी देखिन्छ। बरू, मानिसहरूको अर्थनीति उनीहरूले आफ्ना वरिपरिका सामाजिक, प्राकृतिक वातावरणसँग कसरी व्यवहार गरिरहेका छन् भन्ने कुरामा निर्भर गर्छ।

यस अर्थमा हेर्ने हो भने मान्छेको पैसा कमाउने इच्छा, खर्च गर्ने इच्छा र सामथ्र्यको तर्क वा पैसा कमाउनका लागि गरिने काम र त्यसका लागि अपनाइने उपायहरू एउटै हुन सक्दैनन्। सबै व्यक्ति वा समाजले सधैं तर्कमूलक व्यवहार र निर्णय गर्छन् भन्ने पनि छैन। असीमित कमाउने, असीमित खर्च गर्ने केहीभन्दा तर्कमूलक व्यवहार गर्ने धेरै हुने भएकाले वर्तमान अर्थनीतिले काम गरेको हो। तर, असीमित कमाउने र खर्च गर्नेहरूको जमात निकै सानो हुने भएकाले हाम्रो अर्थनीति सोही साँघुरो घेरामा अल्झिएको छ। फलस्वरूप प्राकृतिक स्रोतसाधनमाथि सबैको समान अधिकार लाग्नुपर्ने, त्यसबाट सबैले लाभ लिनुपर्नेमा केही व्यक्ति वा समूहको बदमासीका कारण धेरैले फाइदा होइन, हानि बेहोर्नुपरेको हो।

कलकारखानाका कारण हुने नाफा/आम्दानीको हिस्सा कारखाना मालिक, कर्मचारी र राजस्वका रूपमा सरकारलाई पुगे पनि त्यसले गरेको हावा, पानी, माटो, रूख-बिरूवाको विनाश र पर्यावरणको समस्याले निम्त्याउने रोगको हिस्सा भने उक्त कारखानासँग कुनै सम्बन्ध नभएका व्यक्ति र समाजले पनि भोग्नुपर्ने हुन्छ।

ठीक त्यसै गरी जसरी विकसित मुलुकका कारण नेपाल जस्तो मुलुकले जलवायु परिवर्तनको जोखिम खप्नुपर्छ। झेल्नुपर्छ। त्यसैले हाम्रा विकास र आर्थिक नीतिहरू आफ्नै जमीनसँग कति जोडिएका छन्? त्यसले जमीनको चिन्ता गर्छ वा गर्दैन भन्ने प्रश्न महत्त्वपूर्ण हुन सक्छ। प्रकृतिले सित्तैमा दिएको तर सबैको अधिकार लाग्ने र सबैलाई उत्तिकै आवश्यक प्राकृतिक स्रोतमाथि त हाम्रो बजारले यो निम्नस्तरको दोहन गरेको छ, कब्जा जमाएको छ भने अन्य स्रोतमाथि उसले कस्तो व्यवहार गरिरहेको होला भन्ने अनुमान गर्न गाह्रो छैन।  

जमीनसँग जोडिने आधार

जमीनसँग जोडिनु किसान हुनु मात्र होइन। कृषिकर्म गर्नु मात्र पनि होइन। ‘पुर्खाको घर वा माटो बेच्दिनँ’ भनेर जोगाउनेले कम्तीमा जमीन नबिर्सन खोजेका हुन्। आफू जहाँ गए पनि आफ्नो जमीनमाथि परायाले मनलाग्दो नगरून् भनेका हुन्। तर, जमीन नै बजारको हिस्सा बनेपछि पुर्खाको माटो बाँडिन थालेको हो र शहरी विकास तथा निर्माणले आकर्षित गर्न थालेको हो। अवसरको खोजीले हामीलाई माटोभन्दा टाढा गराएको मात्र होइन, अवसर नगुमाउने र अरूभन्दा अब्बल, धनी, शक्तिशाली बन्ने र स्रोतमाथि कब्जा जमाउने होडले हामीलाई माटो, पानी, ढुङ्गा, बालुवा, वन बेच्न बाध्य बनाएको हो।

खास समय र सङ्कटको अवस्थामा हाम्रा जीवन पद्धतिका विषयमा चर्चा हुने गर्छन् र हाम्रा आफ्नै मान्यतामा छलफल चल्ने गर्छन्। असहमतिका स्वर देखिन थाल्छन्। नयाँ सम्भावना, परिभाषा र समाधानका विषयमा बहस हुन थाल्छ। त्यसैले पनि वेलाबखत कुमारप्पा, गान्धी वा पोलानीलाई पुनः पढ्न र उनीहरूका अवधारणामाथि बहस चलाउन चाहनेहरूको जमात तयार हुन्छ। कुमारप्पा, गान्धी र बीपी अत्यधिक यान्त्रिकीकरणले निम्त्याउने समस्यामा धेरै चिन्तित देखिन्छन्। पोलानी मान्छेसँग, समुदायसँग जोडिनुपर्ने अर्थशास्त्र बजारको कब्जामा गएकोमा चिन्तित छन्।

यान्त्रिकीकरण र केन्द्रीकृत विकासको सट्टा विकेन्द्रित व्यवस्था स्थायी, सहभागितामूलक र गाउँकेन्द्रित हुने तर्क गान्धीको छ। कुमारप्पाका विचारमा केन्द्रीकृत उत्पादन व्यवस्थाले आवश्यकता अनुसारको उत्पादनमा होइन, बजारका लागि उत्पादन गर्ने कुरामा ध्यान दिन्छ जसले युद्ध, उपनिवेशवाद र अन्याय-अत्याचारको शृङ्खलालाई बढाउँछ।

त्यसो त विकास निर्माणको वर्तमान गति, प्रक्रिया र हामीले चाहेको विकासको परिकल्पनासँग बीपी वा गान्धीका कतिपय तर्कहरू हास्यास्पद लाग्लान्। उनीहरूका विचार मधुरो पनि सुनिएला, तर थप व्याख्या र उपयोग गर्ने प्रशस्त ठाउँहरू नभएका भने होइनन्।

पक्का पनि धेरै अगाडि पुगेपछि पछाडि फर्कन गाह्रो हुन सक्छ वा आवश्यक नहुन सक्छ, तर ‘पृथ्वीले प्रत्येक व्यक्तिको आवश्यकता पूरा गर्न पर्याप्त दिएको छ तर प्रत्येक व्यक्तिको लोभ पूरा गर्न होइन’ भन्ने गान्धीको भनाइमा सहमत हुन सकिएन भने प्रकृतिको प्रकोपबाट जोगिने हाम्रा कैयौं वैज्ञानिक उपायले पनि हामीलाई बचाउन सक्दैनन् भन्नेतर्फ भने सचेत हुनैपर्छ।

(अर्याल मिडिया इतिहासका विद्यार्थी हुन्। हिमालको २०७९ भदौ अंकबाट।)

प्रकाशित मिति : १७ भदौ, २०७९स्रोत : https://www.himalkhabar.com/news/131980
 


About the Author

More Blogs

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष
Publications by Chautarians

एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्‌घर्ष

- उज्ज्वल प्रसाई 2022-10-30
"Ek Baagi : Khagendra Sangraulako Sadhana ra Sangharsha" is a biography of Nepal's renowned writer Khagendra Sangraula by Ujjwal Prasai